Skip to main content

पानी आन्दोलन

पानी खान पाइएन, पानी को हाहाकार छ । पानी नपाउँदा कस्तो हुन्छ, सायद मैले भनिरहनु पर्दैन होला । तर पनि मेरा लागि नयाँ अनुभव नै हो, पानी को लागि तड्पिनुपरेको । शान्तिपुर्ण आन्दोलन नसम्झने अनि बुझेर पनि बुझ पचाउने प्रशासन, अनि तोडफोड नगरी कुनैपनि समस्या को समाधान निस्कँदैन भन्ने जनता, खै, के भन्ने - के भन्ने, कोही पनि कम छैनन् । पानी आन्दोलन को घोषणा गरेको करिब हप्ता दिन अगाडि तर सम्बन्धित पक्ष को ध्यान गएन, या भनौँ सम्झन चाहेनन् । केही दिन अघि यहाँ, "खानेपानी उपभोक्ता समिति" को पुतला पनि बनाइएको थियो । अनि हिन्दु बिधि अनुसार हरियो बाँस मा कात्रो ले नै बेरेर केयु गेट अगाडि जलाइएको थियो, चेतावनि सहित माग पुरा नभए, कडा रुपमा प्रस्तुत हुन्छौँ भनेर । तर त्यतिखेर कसैको कान मा बतास पसेन, कुनै मिडिया ले फुकेन । जब पाइप फुटाइयो, सबैको एकैपटक आँखा खुलेको छ । मिडियामा पनि राम्रै कभरेज छ अनि केयु मा पनि यसै विषयमा मिटिङ चलिरहेको छ । अब पाइप कहिले जोडिने हो, कहिले पानी को सप्लाइ यथावत हुने हो, अनिश्चित नै छ । अनिश्चितताको बिचमै केयुमा भने, केही ट्याङ्कर खानेपानी ल्याइएको छ । तर ओसारेको पानीले, कति नै थेग्ला र ? खासमा खान भन्दा पनि शौच गर्न को लागि पो गाह्रो पार्ने भो त पानी ले ।

पानीको विवाद को विषयमा खासै मैले भनिरहनुपर्ने कुरा छैन । बाँकि कुरा, कान्तिपुर बाट पढौँ है त ।

खानेपानी वितरणमा भेदभाव भएको भन्दै धुलिखेल नगरपालिकाका उपभोक्ता सोमबार पाइप काट्दै । पाइप काट्दैगर्दा आक्काशिएको पानीको फोहोरा ।


खानेपानी वितरणमा विभेद गरेको भन्दै स्थानीय बासिन्दाले धुलिखेलको खानेपानी पाइप सोमबार फुटाइदिएका छन् । पाइप काटिएपछि सदरमुकाममा खानेपानी बन्द भएको छ ।

नेपाल र जर्मन सरकारको अनुदानमा १५ वर्षघि सकिएको परियोजनाबाट धुलिखेल बजारबाहिर नगरपालिकाका आधा बासिन्दाले खानेपानी उपभोग गर्न पाएका थिएनन् । पाइप फुटाउने सामग्री र लाठीसहित पुगेका खानेपानीबाट वञ्चित ती बासिन्दाले पनौतीको चौकोट र ढलमलेस्थित पुण्यमाता खोलानजिक पाइप फुटाएका छन् । अट्ठाइस किलोस्थित काठमाडौं विश्वविद्यालय गेटदेखि बाजागाजा र नाराबाजीसहित उनीहरू त्यहाँ पुगेका थिए । उनीहरूले एक साताअघि उपभोक्ता समिति र स्थानीय प्रशासनलाई खानेपानी नदिए पाइप फुटाउने चेतावनीपत्र दिएका थिए । प्रशासनलाई जानकारी दिएरै पाइप फुटाउन गएका स्थानीय बासिन्दालाई कतैबाट रोक्ने प्रयास भएन । खानेपानी माग गर्दै अघिल्लो दिन पनि उनीहरूले धुलिखेलको २८ किलोमा प्रदर्शन गर्दै एक घन्टा अरनिको राजमार्ग अवरुद्ध गरेका थिए ।

१४ किलोमिटर टाढा कलाँती भूमिडाँडाको खारखोलास्थित मुहानबाट ल्याइएको पानी अत्याधुनिक प्रशोधन प्रणाली भएकाले अन्तराष्ट्रिय गुणस्तरको छ । उपभाक्तालाई हस्तान्तरण गरेदेखि सरकारले कुनै आर्थिक र प्राविधिक सहयोग गर्नुनपरेको यो खानेपानी उपभोक्ता समितिसँग अहिले नगद मौज्दात मात्र १ करोड १८ लाख रुपैयाँ छ । नगरपालिकाको नौ वटा वडामध्ये २, ३, ४ र ५ का सबै क्षेत्रमा र १, ६ र ७ वडामा आंशिक रूपमा खानेपानी वितरण गरिएको छ । त्यसैले समान रूपमा नगरपालिकाका सबै बासिन्दालाई खानेपानी वितरण गर्नुपर्ने माग गर्दै बजार क्षेत्र बाहिरका बासिन्दाले पटकपटक आन्दोलन गरेका थिए । आफूहरूको दबाबमा उपभोक्ता समितिले तीन वर्षघि खानेपानी दिने निर्णय गरेपनि नपाएकाले पाइप काट्न बाध्य भएको बताएका छन् । 'हामी नगरपालिकाको काममा समान रूपमा सहभागी हुनुपरे पनि १५ वर्षेखि खानेपानी पाएनौं,' पीडित संर्घष समितिका अध्यक्ष युद्धबहादुर थापाले भने, 'हाम्रो मूख्य मागै खानेपानी हो, अहिलेको उपभोक्ता समिति विघटन गरी अर्को समितिले खानेपानी दिने काम नगरेसम्म पाइप जोड्दैनौं ।' खानेपानी जोड्न 'च्वाइस नेपाल' र स्थानीय बासिन्दाको आफ्नै १ करोड १३ लाख रुपैयाँ लगानीमा ५ महिनाअघि पाइप लाइन बिस्तार भए पनि अझै नजोडिएको उनले बताए । बजार क्षेत्रमा दैनिक १० घन्टा पानी आए पनि आफूहरूको प्रयासमा स्थानीय स्रोतबाट ल्याएको सामूहिक धारामा एक घन्टा पनि पानी नआउने बजारबाहिरका बासिन्दाले बताए । 'बजारका बासिन्दाको घरघरमै धारा छ । हामीचाहिं सामूहिक धारामा घन्टौं लाइन बस्नुपर्छ,' थापाले भने ।

खानेपानीको पाइप काटिएपछि बजार क्षेत्रका बासिन्दा मात्र होइन, यहाँका पर्यटकीय होटलमा समेत खानेपानी अभाव भएको छ । सरकारी कार्यालय, धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालयमा समेत यही पानी वितरण हु“दै आएको छ । 'स्थानीय बासिन्दालाई भन्दा पनि होटल र अस्पतालमा समस्या परेको छ,' धुलिखेल खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष राजकुमार तखाछेले भने । पानी दिने पक्षमा आफूहरू रहे पनि सहमतिका लागि वार्तामै नआएपछि यो अवस्था आएको उनले बताए । 'पाइप फुट्नुमा प्रशासनको मुख्य कमजोरी छ,' तखाछेले भने, 'प्रशासनले न आन्दोलनकारीलाई वार्तामा बोलाउन सक्यो न पाइप तोडफोड हुनबाट रोक्न सक्यो ।' पाइप तोडफोडअघि दुवै पक्षलाई वार्तामा ल्याई समस्या समाधान गर्न खोजिए पनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी नेत्र न्यौपानेले बताए ।

Comments

  1. पानीको अभाबले पनि तहल्कानै मचाउछ, पानी त मानव जिबनको लागि अती आबश्यक कुरा हो , यस्को अभाब भयो भने तहल्का त हुने नै भयो नि, हुन त जलस्रोत को धनी देश भन्छौ तर त्यही देशमा पानी को हाहाकार, गजब छ बा!!.....

    ReplyDelete
  2. We are rich in water.

    ReplyDelete
  3. खै के भन्ने ? ठिक गरे जस्तो चैं लागेन है ।

    ReplyDelete
  4. पानीको अभाबले पनि तहल्कानै मचाउछ, पानी त मानव जिबनको लागि अती आबश्यक कुरा हो , यस्को अभाब भयो भने तहल्का त हुने नै भयो नि, हुन त जलस्रोत को धनी देश भन्छौ तर त्यही देशमा पानी को हाहाकार, गजब छ बा!!.....

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post