चौथो दिन बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो। घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमाल ! फोटो: प्रेम शेर्पा आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर...