झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो । आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ...