मोनोटोनस फेसबुक स्टोरी


चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो ।

अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राममा मेरा 'अडियन्स' फेसबुकमा भएका भन्दा फरक छन् । सबै एपका प्रयोगकर्ता फरक किसिमका छन् भनेर फेसबुकले नबुझ्ने कुरा त थिएन होला?


एक अरब भन्दा धेरै प्रयोगकर्ताहरु मोबाइलमा फेसबुक चलाउँछन्, जुन इन्स्टाग्राम प्रयोगकर्ताको दाँजोमा धेरै हो । सायद, यति धेरै मोबाइल प्रयोगकर्ताहरु देखेर नै होला, फेसबुकले स्टोरी फिचर फेसबुक एपमा पनि ल्यायो । अर्को कुरा चैँ, केही वर्ष पहिले फेसबुकले स्न्यापच्याटलाई किन्न 'अफर' दिएको थियो । स्न्यापच्याटले फेसबुकको 'अफर' अस्विकार गर्‍यो। स्न्यापच्याट स्टोरीको लोकप्रियता बढेपछि, किन्न नसके त के भो, कपि त गर्न सकिन्छ भन्ने आशयले फेसबुकले स्टोरी फिचर इन्स्टाग्राम, मेसेन्जर अनि फेसबुकमा ल्याएको देखिन्छ । इन्स्टाग्रामको हकमा स्टोरी सफल रह्यो । यसैपनि फेसबुक र इन्स्टाग्राममा फरक अडियन्स छन्, भन्नको मतलब, मैले फेसबुकमा सेयर नगर्ने वा गर्न नसक्ने (परिवार, आफन्तलाई देखाउन अमिल्दो) फोटो, भिडियोहरु इन्स्टाग्राममा निर्धक्क सेयर गर्नसक्छु । फेरि इन्स्टाग्राम फोटो, भिडियो मात्रै सेयर गर्ने एप, स्टोरी थपिँदा खासै समस्या पनि भएन । फेसबुकले इन्स्टाग्राम'मा स्टोरी 'पपुलर' भएको देख्यो, लौ यही कुरा फेसबुकमा पनि दोहोर्‍याउँ भनेर लाग्दा, फेसबुकको स्टोरी फिचर मोनोटोनस देखियो ।

पहिले टेक्स्ट, फोटो, लिंक आदि मात्र राख्न मिल्ने फेसबुकमा अहिले टेक्स्टको ब्याकग्राउन्ड देखि लिएर लाइभ ३६० भिडियो समेत राख्न मिल्छ । अहिले स्टोरी थपिएको छ, केही दिनपछि अर्को नयाँ फिचर थपिएला । पहिले चलाउन एकदमै सजिलो एप, अब 'कन्फ्युजिङ' हुन थालेको छ । फेसबुक एप खोल्दा अब के गर्ने हो भने जस्तो हुनथालेकोछ, सर्च, च्याट (त्यो पनि अर्कै मेसेन्जर एपमा), स्टोरी, डाइरेक्ट, स्टाटस अपडेट (टेक्स्ट, फोटो, भिडियो, लिंक) आदि, इत्यादि । साँच्चै, अतिरञ्जित गरेको होइन तर फेसबुकमा के यो सबै जरुरी छ र?


फेसबुक भन्दा पहिला माइस्पेश, हाइफाइभ थिए । माइस्पेश, हाइफाइभ हुँदा हुँदै किन फेसबुक चाहिएको थियो? अनि माइस्पेश, हाइफाइभ हुँदा हुँदै फेसबुक किन लोकप्रिय बन्न पुग्यो? उ बेलाको माइस्पेशमा आफ्ना साथिहरु छान्न मिल्थ्यो, म्युजिक राख्न मिल्थ्यो, ब्याकग्राउन्ड परिवर्तन गर्न मिल्थ्यो, झिलिमिली बनाउन मिल्थ्यो, यस्तै यावत कुराहरुले माइस्पेशलाई मोनोटोनस बनाइदिएकोथियो । फेसबुक आयो, क्लिन, सिम्पल सेतो र निलो रङमा । माइस्पेश र फेसबुकको प्रायोजन लगभग एकै किसिमको थियो, तर फेसबुकको 'सिम्प्लिसिटि'ले माइस्पेशलाई खाइदियो। माइस्पेश, हाइफाइभका प्रयोगकर्ताहरु फेसबुक तिर सरे, ती कम्पनीहरु बन्द नै भए । यही कुरा बुझेर नै फेसबुकले आफूलाई चुनौती दिनसक्ने कम्पनीहरु किन्ने गरेको छ, इन्स्टाग्राम, ह्वाट्सएप दुईवटा प्रतिनिधि उदाहरण मात्र हुन् । आफ्नै मेसेन्जर, आफ्नै फोटो भिडियो सेयरिङ गर्ने एप हुँदा हुँदै फेसबुकले ह्वाट्सएप र इन्स्टाग्राम खरिद गरेको थियो । स्न्यापच्याटमा युवा प्रयोगकर्ताहरु खासगरि 'टिनेजर' देखेर, फेसबुकले स्न्यापच्याटलाई पनि किन्न खोजेथ्यो, स्न्यापच्याटले अस्विकार गरेपछि, फेसबुकले स्न्यापच्याटमा हुनेजस्तो धेरै फिचरहरु 'ट्राइ' गरिसक्यो, धेरैमा असफल रहेपनि इन्स्टाग्राम स्टोरीमा भने फेसबुक सफल भयो ।

मलाई लाग्छ, फेसबुकले सोचेजस्तो, फेसबुक स्टोरी सफल हुन धेरै गाह्रो छ । आफ्नो हरेक पल राख्ने, साथीभाइ, आफन्तसँग नजिक भइरहने माध्यम बनेको फेसबुकमा २४ घन्टामा उड्ने स्टोरी किन राख्ने? यस्तै उड्ने स्टोरी नै राख्नेभए स्न्यापच्याट, इन्स्टाग्राम लगायतका अरु एप छँदैछन् । फेसबुक स्टोरीले 'इरिटेट' भएर कैयौँ फेसबुक प्रयोगकर्ताहरुले मोबाइल एप फालेर, ब्राउजरबाट नै फेसबुक चलाउन थालेकाछन् । स्टोरीमाथि अहिले दर्जनौँ मिम बनेकाछन् । गुडबाइ फेसबुक स्टोरी !



तस्विर साभार: रिकोड

0 प्रतिक्रिया :

Post a Comment