इन्टरनेट स्पिड चेक गर्ने सजिलो तरिका


नेपालमा धेरै इन्टरनेट प्रयोगकर्ताहरुको गुनासो छ, आइएसपीले (इन्टरनेट सेवा प्रदायक) भने अनुसारको इन्टरनेट स्पिड दिँदैन । तर अधिकांश प्रयोगकर्ताले आफूले कति स्पिडको इन्टरनेट चलाएको छु भन्ने पनि चाल पाएका हुँदैनन् । अनि केही प्रयोगकर्ताहरु 'बिट्' र 'बाइट्'को गोलचक्करमा परेर आफूले भनेको जति इन्टरनेट स्पिड नपाएको गुनासो गर्छन् ।

वर्षौँदेखि इन्टरनेट प्रयोगकर्ताहरु 'स्पिडटेस्ट'बाट आफ्नो इन्टरनेटको स्पिड जाँच गरिरहेकाछन् तर स्पिडटेस्टले देखाउने नतिजाले धेरैलाई दिग्भ्रमित पार्ने गरेको छ । अत: आज हामी इन्टरनेट स्पिड चेक गर्नको लागि नेटफ्लिक्सले केही महिना पहिले सार्वजनिक गरेको 'फास्ट डटकम'बारे यहाँ चर्चा गर्दैछौँ । आइएसपीले दिएको इन्टरनेट स्पिड, (नेटफ्लिक्स) प्रयोगकर्ताहरुले सरल र सहज तरिकाले  चेक गर्न सकुन् भन्ने उद्देश्यले नेटफ्लिक्सले फास्ट डटकम साइट केही पहिले सार्वजनिक गरेको हो ।

फास्ट डटकमका अनुसार, नेटफ्लिक्सको सर्भरहरुबाट डाउनलोड गरेर फास्ट डटकमले आइएसपीले दिएको स्पिड निर्धारण गर्छ । साधारण प्रयोगकर्ताले, 'पिङ', 'लेटेन्सी' आदि 'टेक्निकल' कुरा भन्दा पनि आइएसपीले दिएको 'डाउनलोड स्पिड' खोज्ने भएकोले यसै अनुसार डाउनलोड स्पिड मात्र देखाइने फास्ट डटकमले उल्लेख गरेको छ ।

कसरी चेक गर्ने इन्टरनेट स्पिड?
मोबाइल, ट्याब, कम्प्युटरमा ब्राउजर खोल्नुस् र फास्ट डटकम (fast.com) मा जानुहोस्, बाँकी काम फास्ट डटकम आफैँले गर्छ ।

फास्ट डटकममा भायानेटको 5 Mbps फाइबर टु होम इन्टरनेट स्पिड चेकको नतिजा
बिट् र बाइट्को गोलचक्कर
हामीले आइएसपीबाट पाउने कनेक्सन बिट् एकाइमा हुने गर्छ। जस्तो हाम्रो १ मेगाबिट् प्रति सेकेन्ड (1 Mbps) को कनेक्सन हो भने हाम्रो डाउनलोड स्पिड १२५ किलोबाइट् प्रतिसेकेन्ड (125 KBps) बराबर हुन्छ । तर हामीले डाउनलोड गर्ने फाइलहरु प्राय: मेगाबाइट्मा हुन्छन् । सिधा रुपमा भन्दा हामीले 1MB को फाइल 1 Mbps इन्टरनेट कनेक्सनमा १ सेकेन्डमा डाउनलोड हुन्छ भनेर बुझ्ने गरेका छौँ तर त्यसो हुँदैन। अझ 1 Mbps इन्टरनेट कनेक्सन भएको ठाउँमा, केही फाइल डाउनलोड गर्दा कम्प्युटरले 125 KBps डाउनलोड स्पिड देखाउँदा हामीलाई सही नसक्नु हुन्छ, आइएसपीले झेल गर्यो भनेर । बुझ्नुपर्ने कुरा के हो भने, १ मेगाबिट् प्रति सेकेन्ड बराबर १२५ किलोबाइट प्रति सेकेन्ड कै स्पिड पाइन्छ (1 Mbps = 125 KBps)।

लु भैगो, यो बिट् र बाइट्को गोलचक्करमा नफस्नुस् । सिधा फास्ट डटकम गएर आफ्नो इन्टरनेट स्पिड हेर्नुस्, भनिएको भन्दा कम स्पिड रहेछ भने तुरुन्त आफ्नो आइएसपीलाई सम्पर्क गर्नुस् ।

0 प्रतिक्रिया :

Post a Comment