मार्क जुकरबर्गले सुरक्षाका लागि ल्यापटपको क्यामेरामा टाँसे सेतो टेप [Cyber Security]

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले अघिल्लो हप्ता उनको आफ्नो फेसबुक प्रोफाइलमा सेयर गरेको एउटा फोटोको इन्टरनेटमा व्यापक चर्चा भयो । फोटो सेयरिङ एप् इन्स्टाग्रामको प्रयोगकर्ता ५० करोड पुगेको जानकारी दिन, जुकरबर्गले फेसबुकमा फोटो पोस्ट गरेका थिए ।

Mark Zuckerberg Covers his laptop camera and mic

मार्क जुकरबर्गले अपलोड गरेको फोटोमा, उनको ल्यापटपको वेवक्याम र माइकको ज्याकलाई टेपले छोपिएको देखिन्छ । धेरैलाई सामान्य लाग्ने यो फोटोले ईन्टरनेट सुरक्षाको अर्को खतारनाक पाटो उजागर गरेको छ । केही हप्ता पहिले मात्रै ह्याकरहरुले मार्क जकरबर्गको लिङ्कड्इन र ट्विटर प्रोफाइल ह्याक गरेका कारणबाट पनि यस फोटोको चर्चा चुलिएको हो । मार्क जुकरबर्गले आफ्नो ल्यापटपको वेवक्याम र माइक्रोफोनको ज्याक टेपले टाँसेको कुरा क्रिस ओल्सन नामक ट्विटर प्रयोकर्ताले ट्विटमा औँल्याएका थिए ।


वेवक्यामलाई टेपले छोप्नुलाई केहीले मार्क जुकरबर्गमा, मानसिक समस्या रहेको समेत भन्न भ्याएका छन् । तर सेक्युरिटि एक्पर्टहरुका अनुसार यो मानसिक समस्या भन्दा पनि, ईन्टरनेटमा सुरक्षित रहने तरिका हो । मार्क, हाइप्रोफाइल व्यक्ति भएका कारण उनी ह्याकरहरुको निशानामा छन् । ह्याकरहरुले फिसिङ वा स्क्याम गरेर ल्यापटपको क्यामेरा तथा माइक्रोफोन सजिलै नियन्त्रणमा लिन सक्छन्, जसमार्फत ह्याकरहरुले, प्रयोगकर्ताले बोलेका कुरा र गतिविधीहरु थाहा पाउनसक्छन् । ह्याकरहरुले ल्यापटपको वेबक्यामबाट प्रयोगकर्ताको गतिविधि रेकर्ड गरेर, गोप्य सूचना थाहा पाउने, भिडियो रेकर्ड गरेर ब्ल्याकमेलिङ गर्ने गर्छन् । यही र यस्तै कुराबाट बच्न मार्कले ल्यापटपको क्यामेरामा टेप टाँसेका हुन्, खैर टेपले कुन तहसम्म अडियो र भिडियो रोक्छ भन्ने बेग्लै बहसको विषय होला। समग्रमा भन्दा, मार्क जुकरबर्गको यो फोटोले सुरक्षा सतर्कता अपनाउन सबैलाई झक्झक्याएको छ ।

कम्प्युटर राखेको कोठामा जुत्ता-चप्पल लगाएर जाँदा कम्प्युटरमा भाइरस सर्छ भनेर, पहिले-पहिले जुत्ता-चप्पल बाहिरै खोलेर राख्ने चलन थियो भनेर हामीले मजाक गर्ने गरेको धेरै भएको छैन । तर अब कसैले ल्यापटपको क्यामेरामा टेप टाँस्नु, नभए भाइरस लाग्ला भनेर भन्यो भने त्यो मजाक नहुनसक्छ ।


ईन्टरनेट जतिजति विस्तारित र बृहत हुँदैछ, त्यति नै मात्रामा असुरक्षा पनि बढ्दैछ तर यसो भन्दैमा आत्तिनु पर्ने कुरा भने छैन । आफ्ना ईन्टरनेटमा भएका खाताहरुमा फरक-फरक तथा दोहोरो पासवर्ड राख्ने, कसैले पठाएको शंकास्पद लिंकहरु नखोल्ने, ईन्टरनेटबाट सफ्टवेयर, एप्स, गेम, फिल्म आदि डाउनलोड गर्दा विचार पुर्याउने, ईन्टरनेटका लोट्रि/चिठ्ठा तथा पैसावाला अफरमा लोभ नगर्ने आदि गरियो भने ईन्टरनेटमा सुरक्षित रहन सकिन्छ ।

यो पनि पढ्नुहोस्:
Read Aakar Post in Google Play Newsstand (Android/iOS)

0 प्रतिक्रिया :

Post a Comment