ट्विटरमा ग्रुप डिएम तथा भिडियो ट्विट सुविधा थपियो

१४० क्यारेक्टर मात्र लेख्न मिल्ने ट्विटरमा, ट्विटबाट सिधै भिडियो ट्विट गर्न मिल्ने सुविधा थपिएकोछ । यसका अतिरिक्त 'ग्रुप डिएम' सुविधा पनि ट्विटरले थपेकोछ ।
ट्विटर भन्दा पछि आएका विच्याट, लाइन आदि च्याट मेसेजिङ एपहरुका प्रयोगकर्ता ट्विटरको भन्दा धेरै छन् । ट्विटरमै भएका साथीहरुले पनि समूहमा म्यासेज पठाउनु पर्यो भने, विच्याट, भाइवर जस्ता अर्को मेसेजिङ एपहरु चलाउनुपर्ने बाध्यता थियो । पछिल्ला च्याट एपहरुले गरेको प्रगतिको अनुपातमा, ट्विटरले 'डिएम' (Direct Message) बाट लाभ लिन नसकेको/समयानुकुल सुधार नगरेको, प्राइभेट म्यासेजिङलाई वेवास्ता गरेको, वा भनौँ "माल पाएर पनि चाल नपाएको" आरोप लाग्दै आएको थियो । तर ढिलै सही ट्विटरको वर्षौँ अघिको प्रण अनुरुप, ट्विटरले अघिल्लो साता 'ग्रुप डिएम' सार्वजनिक गरेको हो । ट्विटरको ग्रुप डिएम मार्फत एकपटकमा २० जनासम्म कुरा गर्न सकिन्छ ।

ट्विटरमा आफूलाई फलो नगरेको व्यक्तिलाई डिएम पठाउन सकिन्न तर डिएम ग्रुुप च्याटमा सहभागी भएका अन्य फलोअर्सहरुले भने एक-आपसमा सबैलाई फलो गरेकै हुनु पर्ने बाध्यता छैन, एक-आपसमा फलो नगरिएको भएपनि, सबैले सबैको म्यासेज पढ्न सक्छन्, रिप्लाई गर्न सक्छन् । जस्तो मलाई फलो गर्ने दुईजना साथीलाई मैले एउटा ग्रुपमा डिएम पठाएँ, तर मेरा दुई साथिले एक-आपसलाई फलो गर्दैनन् भनेपनि, अब म मार्फत दुईजनाले आपसमा म्यासेज आदानप्रदान गर्नसक्छन् ।

छ सेकेन्डको भिडियो सेयर गर्न मिल्ने, भाइन सुरु गरेको दुई वर्षपछि ट्विटरले ३० सेकेन्डको भिडियो ट्विटरबाट सिधै ट्विट गर्न सकिने सुविधा थपेकोछ । ट्विटरमा टेक्स्ट र फोटो ट्विट गरे झैँ, अब सिधै ३० सेकेन्डसम्मको भिडियो पनि ट्विट गर्नसकिन्छ ।

यसका साथै, ट्विटरले मोबाइल एपमा आफ्ना हरेक ट्विटको गतिविधि हेर्न सकिने फिचर पनि थपेको छ ।

0 प्रतिक्रिया :

Post a Comment