जोर नम्बरवाला ट्याक्सी

डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण।


आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भएपछि, ट्याक्सीको विकल्प सुझेको थियो, अलिवर नेपाल यातायातको गाडी हल्का खाली देख्दा, ए! नेपाल यातायातमा तिनकुनेसम्म जानुपर्ने रहेछ भन्ने नलागेको पनि होइन।

ट्याक्सी रोकिने बित्तिकै, कहाँ, के नभनी सिधै ढोका खोलेर ट्याक्सीमा चढेँ। करिब ५०-६० का झैँ लाग्ने ट्याक्सी ड्राइभर दाइले हँसिलो मुद्रामा सोधे, भाइ कहाँसम्म? म "एयरपोर्ट"। "एयरपोर्ट पो, तपाईं अलि अगाडि आउनुभएछ, अलिपछि नै बस्नुपर्ने, यताबाट युटर्न गर्न दिँदैन, नयाँ वानेश्वर हुँदै जानुपर्ने भो अब, समय अलिकति बढि लाग्छ" उनले भने। हुन्छ, नयाँ वानेश्वर हुँदै जाउँ मैले भने। ट्याक्सी गुढ्यो, मैले भाडा सोधिन, मिटरमा जाने हो/होइन पनि सोधिन, उनले पनि केही भनेनन्, मिटर चल्दैरहेछ, ल ठिक छ भन्ने लाग्यो।

त्यसो त मिटरमा जाने भन्नेहरुको पनि भर लाग्दैन। करिब ३ महिना अघि बेलुका ८ बजेतिर ठमेलबाट नख्खुसम्म जानुपर्ने थियो, साथमा रवी र एमिलिया पनि थिए। ठमेल चोकमा ट्याक्सी रोक्दै सोध्दै गरियो, एकजना ट्याक्सी ड्राइभर मिटरमा जाने भए। मिटरमा जाने भनेर चढियो, ट्याक्सी गुड्यो, मिटरमा केही अंकहरु पनि देखिए। भद्रकाली पुग्दा पनि ती अंकहरु उही थिए, मैले सोधेँ, मिटर चलेको छैन कि क्या हो? ए बिग्रेछ, मिलाएर दिनु नि भने ड्राइभरले। आज यो ट्याक्सीले डुबाउने भयो भन्ने लाग्यो, नभन्दै नख्खू पुलसम्म आएको सात सय लिए। म कुरा गर्न खोज्दैथिँए, एमिलियाले पैसा दिइहालिन्, केही गर्न सक्ने बाटो रहेन।

ट्याक्सी न्यु प्लाजाबाट अनामनगर मोडिएपछि ड्राइभर दाइले सोधे, "कहाँ जान लाग्नुभयो?" मैले भने, दिल्ली। एयरपोर्ट जान त ट्याक्सी नै चाहिन्छ, बस, माइक्रो, टेम्पुले कहिले पुर्याउने भर हुँदैन, रोकेर मान्छे खाँदेको खाँदेकै गर्छ, उनले भने। मैले पनि सहमति जनाएँ, त्यही त । घर कता भनेर, उनले अर्को प्रश्न सोधे। मैले सर्लाही भनेँ।

"त्यो नयाँरोड भन्दा कता?"
"मेरो घर नयाँरोडकै छेउमा हो।"

तपाईलाई नयाँरोड थाहा रहेछ, तपाईको घर पनि त्यतै हो कि क्या हो, प्रश्न सोध्ने पालो मेरो थियो। उनले भने, मेरो घर त धरान हो। सत्ताइस सालमा नयाँरोडमा काम गरेको छु मैले, त्यो तल जाने बाटो छ नि, के रे... ? बरहथवा? हो, हो त्यही बरहथवा जानेबाटो हाम्ले सत्ताइस सालमा बनाको, चिम्ट्याइलो माटोथ्यो, पानी पर्दा त बिजोक हुन्थ्यो। त्यो जंगलको मुखमा बसेका थियौँ, बाटो आधीजति ग्राभेल पनि गरियो।

मलाई त्यो बाटो कति सालमा बनेको हो, थाहा थिएन । उनले २७ सालमा ग्राभेल गरेको बाटो भनेर झस्किँए। लौ, तपाईले २७ सालमा ग्राभेल गरेको त्यो बाटो आजसम्म पनि पिच भा'को छैन, ग्राभेल नै छ अझै, मैले भनेँ। उनले पत्याएनन्, हैन होला, बरहथवा जस्तो त्यस्तो चल्तिको बजार जोड्ने बाटो पो हो त। हुन त हो दाइ, तर के गर्नु आजसम्म पिच भा'को छैन, यस्सो हिसाब गर्न खोजेँ, टन्नै वर्षहरु बितिसकेका रहेछन्। हामी एकछिन चुपचाप भयौँ।

तपाईं काठमाडौँ चाहिँ कता बस्नुहुन्छ, मैले सोधेँ। म कपन, उनले जवाफ दिए। कपन कहाँनेर? मिलनचोक। ए, म पनि पहिले पञ्चकुमारीमा बसेको थिँए। अनि ट्याक्सीको स्टेसन चाहिँ कता बनाउनु भा'को छ नि? कतै छैन, बिहान घरबाट निस्कियो, कपनबाटै मान्छे बोकेर हिँड्यो, दिनभरी कता कता पुगिन्छ केही ठेगान हुँदैन। त्यो स्टेसन बनाएर बस्ने त "लुटेरा ट्याक्सी" हुन्, मिटरमा नि जाँदैनन्, यता जाने, उता नजाने भन्छन्। आफू त सबैतिर गइन्छ। मैले टाउको हल्लाएँ।

मेरो पनि अनुभवले, रोकेर भन्दा कुदिरहेका ट्याक्सी रोकेर कुरा गर्न सजिलो छ भन्ने लागेकोथियो। पछिल्लो समय सम्भव भएसम्म पर्खिरहेका भन्दा पनि गुडिरहेका ट्या्सी प्राथमिकतामा पर्न थालको थियो, ड्राइभरदाइको कुराले मेरो अनुभव सही नै रहेछ भन्ने लाग्यो।

थापागाउँ हुँदै नयाँ वानेश्वर चोकमा निस्किए पछि, ठूलो सफा सडकमा आइयो। सार्क सम्मेलन भनेर बाटो सफा गर्याछन्, फूल रोप्याछन्। मोदी आउने भएर सबै गर्याहुन्, सम्मेलन सक्केछी केही बाँकी राख्दैनन्, उनले भने। मैले पनि हो मा हो मिलाएँ, अनि सार्कको लागि त, गाडी पनि जोर र बिजोर गरेर चलाउने भा'का छन्, भनेर मैले भनेँ।

ड्राइभर दाइ हाँसे, "गाडी पनि अब जोर बिजोर चलाउने रे, हा हा"। 

यो जोर बिजोर कसरी थाहा हुन्छ? कहिले जोर कहिले बिजोर कसरी हाँक्ने भनेर कसरी थाहा हुन्छ? ड्राइभर दाइले मलाई सोधे, म छक्क परेँ, जोर बिजोर बुझेका रहेनछन् भनेर। त्यसपछि अगाडि गुडेका, ट्याक्सी, कार, मोटरसाइकल, टेम्पुको नम्बर देखाउँदै त्यो जोर, त्यो बिजोर भनेर देखाँए। नम्बरको अन्तिममा २,४,६,८ र ० आउनेजोर भए, १,३,५,७ र ९ आउने बिजोर भए, मैले भनेँ। उनले अगाडीको गाडीको नम्बर हेर्दै त्यो जोर, उ त्यो बिजोर हैन त भन्दै सोधे, मैले कुनै हो कुनै होइनमा जवाफ दिँए। मेरो ७२७२ भनेपछि जोर भयो कि बिजोर भयो? तपाईको ट्याक्सीको अन्तिम अंक २ छ, २ जोर भयो, तपाईले दुई तीन दिन चाहिँ जोर बार मात्र हाँक्न पाउनुहुन्छ। उनले घतलाग्दो कमेन्ट गरे, "चोर नेताहरु, गाडी पनि जोर र बिजोर गरेर चलाउने रे" अनि हाँसे। उनको कुराले म पनि हाँसे।

गर्ने मन भए त गर्न सक्ने रैछन् त। कत्ति छिटो काम गरेको, रुख नि रोपिसके, फूल नि फुल्याछ, ड्राइभरदाइले भने। यस्तै गतिमा काम गर्ने हो भने, ३ महिनामा देश नै अर्को हुन्थ्योहोला मैले थपेँ। यो सब मोदी आउने भएर भा'को हो, उनले भने। म १०-१२ वर्ष विदेशमा बसेँ। साउदी, कतार, मलेसिया पनि गइयो। ट्याक्सी हाँक्नुभन्दा पहिले काठमाडौँबाट पूर्व-पश्चिम नाइट बस नि चलाइयो। बाटो फिटिक्कै राम्रो छैन, सबै बाटो बनाउने हो भने अहिले यो कतार गइरहेकोहरु त्याँ जानै पर्थेन। यहीँ कत्ति काम छ, उनले भने।

तिनकुनेमा एउटा पार्क धमाधम बन्दै थियो, अगाडि बाटो पिच थपिँदैथियो, त्यही भएर एकछिन जाममा पनि परियो। लौ, बिहान सम्म केही थिएन अहिले त दुबो पनि राखिसकेछन्, उनले भने। गर्नु नै थियो भने, पहिले नै गरेको भए नि हुने। 

ड्राइभर दाइको कुरा सुन्दा सुन्दै एयरपोर्ट पनि पुगियो। धन्यवाद सहित मिटरमा उठेको रकममा ३० रुपैँया थपेर उनलाई दिँए। उनी ट्याक्सी घुमाएर फर्किहाले। म काठमाडौँमा यस्ता ट्याक्सी/ट्याक्सीड्राइभर नि छन् है भन्ने सोच्दै बेलुका ६ बजेको जेट एयरको फ्लाइटको लगि साँढे तिनमा एयरपोर्ट भित्र छिरेँ।

2 comments :

  1. ठाउँमा भएका हरुले पनि एस्तो कुरा बुझिदिए....!!!

    ReplyDelete
  2. Gives lots of insights. Might be a reason why you thought it's worth publishing.

    ReplyDelete