मेरो बिहे [कथा]


“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए।

“खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ ।

“एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें ।

म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोले उनका पाखुरा राम्रो सँग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो । चस्मा लगाएकी, गोरी, मोटी-मोटी। मैले त्यो फोटोमा मेरी दुलही खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यही उसिनेको तरुल र टमाटरको चट्नी । मीठो लाग्छ भन्दैमा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेट्छु, कुरा गर्छु अनि मात्र हजुरहरु । आमा मान्नुभयो ।

म पनि दंङ्ग परे । खोजे जस्ती श्रीमती पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो । बुवा पनि ढिलो ढिलै आउनु भयो । ‘बूढाले बियर दन्काएछन्’ थाहा भइहाल्यो। ‘केटी त अर्कै खोजौँ है” बुवाले खाना पछि भन्नुभयो । “किन नि” आमाले अलिक कडा स्वरमा सोध्नुभयो । “आऽऽऽऽऽऽ अर्की खोजौ न, मलाई अलिक मन खाएन" । “बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनुभयो ।

कस्तो कस्तो कल्पना गरिसकेको थिँए, त्यो फोटो कि दुलहीसंग । बुवा, बूढा खुब संसार उनैले बुझेको जस्तो । मेरो मन कुडिंयो ।

“मैले त उ बेला नै ल्याएको नि तँलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।" बुवा हाँस्नु भयो । यसपछि आमाले पनि हुन्छ भन्नुभयो । मैले कुरा बुझिन, त्यसै मन खिन्नभयो ।

रातभरि खट्पटि भईरह्यो । किन बुवाले मन बटार्नुभयो । के भएछ । केटी त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्री पनि हो । बुवा आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यतिको लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुवाले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुवा गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे"

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकी छोरी नदेखि नसुनि बात लाउनहुन्न । अनि पढाईको बिचमा नै दाजुसंग काठमाण्डौं पठाएका रे"

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन् । छोरो मानेन भनिदिउंला” आमाले भन्नुभयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटी नै छ, एसो केही भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc पढ्दा जति केटी साथी संग हिँडे, डुँले, खाजा खाएँ, बरै कसैको बिहे नहुने भयो । कठै मेरा केटी साथीहरु ।" जित्नु केहि थिएन । त्यसैले बुवा, आमाको कुरा मैले प्रतिवाद गरिन । बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोनमा कुरा गर्दै हुनु हुन्थ्यो ।

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।"

-----------------------------------------------------------------------------------------------

नाकको फुली फुकालेकी रहिछन् । उनी बानेश्वरको क्याफे छिर्ने बित्तिकै मैले उनको नाक याद गरे। चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे । ‘भएन’ उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने । मैले मेरो अधुरो काम सम्झिहालें ।

‘कफि लिने?’
‘होइन, म त चिया लिन्छु ।‘ उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा अडिग भए । मैले उनलाई जसरी हेरको थिँए, वेटरले मलाई त्यसरि नै हेर्यो । ‘अरु पछि भनौला’ यति भनेपछि मात्र वेटर गयो ।

केटा र केटी पहिले भेट्ने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर कुरा मैले नै राखेको थिँए । केटी B Sc को जाँच दिएर बसेकी । बिराटनगर कि केटी । सापकोटा, उपाध्याय बाहुन । आमाले को साइनोबाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले भन्नुभएको । कान्छी छोरी, दिदीहरु भन्दा राम्री । पुड्की नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडी त मिल्छ । मैले मन मनै गुने ।

‘अनि फुर्सदमा के गर्दै हुनुहुन्छ?’ निकै सोचेर मैले प्रश्न सोधें ।

‘बफेलोको मेटाबोलिज्मको बारेमा एउटा पेपर फलो गर्दैछु । “मेरो उडेको प्रश्नलाई उनले गह्रौं उत्तर दिइन् । मैले एब्स्ट्याक्ट एक्सप्रेसन देखाएँ । केटी कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।

‘क्यारियरको मेन टर्निङ पोइन्टमा बिबाह सोच्नु भएको?’ मैले पनि वजनदार प्रश्न फालें ।

उनी एकछिन सोच्न थालिन् । मलाई कता कता खुसी लाग्यो । राम्रो प्रश्न गर्न सफल भएकोमा । कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला वेटर आइपुग्यो ।

‘केहि अर्डर गर्नु न ल’ उनले मेनु मतिर फर्काइन् ।

‘दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।' अर्डर गरेपछि आफैलाई गालि गरे । बानेश्वरको क्याफेको रोल एकदम झुर हुन्छ ।

‘एउटा चाहीँ भेज गर्नु ल’ उनले यस पटक पनि अर्डर चेन्ज गरिन् ।

‘चिकेन मिठो लाग्दैन?’ मैले केही नसोची, केटा साथिलाई जस्तो प्रश्न गरें ।

‘आइएम भेजिटेरियन" !

‘एएएऽऽऽऽ' मलाई नराम्रो पनि लागेन । मेरो रियाक्सन न्युट्रल थियो ।

उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबलमा थियो । टिस्यु पेपर झिकेर हातमा लिइन् । ‘म मास्टर्सलाई एप्पलाई गर्दैछु, अष्ट्रेलिया, यो सेसनमा’ । ‘अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदीहरुको बिहे भइसक्यो । घरमा मेरो मात्र बाँकी, ममी बाबाको मन पनि राखिदिनुपर्यो । फेरि पछि आफूलाई पनि ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।"

उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।

‘युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । एडिबीको स्कलरसिप पाएकीछु । त्यसैले राम्रो छ चान्स । अष्ट्रेलियामा डिपेन्डेन्टले काम गर्न पाउँछन ।  सो, टेक्निकल लाइनको पार्टनर भयो भने सजिलो हुन्छ भनेर, हजुरसँग कुरा चलेको हो ।'

‘अनि पढाइ पछि, के गर्ने ?’ मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।

‘क्लियर्ली भनौं है । अब यत्रो ट्राइ गरेर पढेर फेरि यहि नेपालमा स्ट्रगल गर्न त आउँदिन । बरु रिटायर्ड लाइफमा आउँला । दिस इज माइ प्लान, त्यही हो ।' आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।

‘भनेपछि कहिलेको सेसनलाई ट्राइ गरेको?’

‘२ महिनामा सेसन शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र डकुमेन्ट बनाउन ढिला हुन्छ ।‘

कफि हिउँ चुली भएकोथियो । म पनि सोचमा हराएँ । मेरो पुल्चोक क्याम्पसमा मास्टर्स सकिन अझै एक बर्ष बाकीँ । गए पनि मैले युएसको सोचेको हो । अष्ट्रेलियाको त मैले सोचेको नै छैन । यी त तपसिलका कुरा, मलाई सबै भन्दा गाह्रो र अफ्ठ्यारो लागेको को कुरा त “आफु क्वालिफाइड भएर, स्वास्नीको डिपेन्डेन्ट भएर अष्ट्रेलिया जानु, भात पकाउन ??” मलाई मेरो दिमागमा गढेको पारम्परिक पौरुषताको आडम्बर र रुढिबादि सामाजिक सोचले तर्सायो, उकास्यो । कता कता आफैमा डुबेको थिएँ । कुन त क्याफेको नमिठो चिकेन रोल त्यहि माथि चिसिएको ।

‘तपाईंको के छ प्लान?’ उनको पालो थियो सोध्ने ।

म असमन्जस्यमा परें । ‘म सोच्दै छु ।' मैले साँचो उत्तर दिएँ ।

‘अप्ठ्यारो नमानि भनेहुन्छ ।‘

उनको नाकमा टोमेटो सस लागेको रहेछ । उनकै हातबाट टिस्सु पेपर लिएर मैले पुछिदिँए । उनि शर्मिलो मुस्काइन् ।

‘फेरि कफी खाँउ है’ भनेर मैले एउटा ब्ल्याक कफी र एउटा चिया मगाएँ । उनले होइन, दुइवटै ब्ल्याक कफी भनिन् । म हासें । उनि पनि ।

कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।

‘आइ डोन्ट वान्ट टु ब्रेक माइ स्टडि राइट नाउ ! (I don’t want to break my study right now) अब शुरु गरिसके । बिचमा म छोड्न सक्दिन । अनि मैले त्यस्तो परमानेन्टली अब्रोड जाने प्लान गरेको छैन । आइ ह्याव टु वि विद माइ प्यारेन्ट्स'  (I have to be with my parents)

लप्पन-छप्पन नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र वास्तविकता राखेँ ।

'यु आर अ गुड पर्सन' (you are a good person) उनी कफि खादै हांसिन् । नाकमा केही लागेको थिएन र पनि नाक पुछिरहेकी थिईन। चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले मेरोमा पनि हालिदिइन् र चिनि घोलिन् ।

'सरी, मैले हजुरको कफी जुठो गरिदिए’ उनले भनिन् ।

‘अव मीठो हुन्छ होला’ म हाँसे ।

केहि बेरपछि उनले नै भनिन् । ‘अफ्ठ्यारो मान्नु पर्दैन । वि ह्याव आवर ओन पाथ इन लाइफ ! आवर पाथ आर डिफ्रेन्ट सो लिभ दिस इश्यु । टेक इट इजी, आइ क्यान ह्यान्डल माइ प्यारेन्टस' (We have our own paths in life. Our paths are different so leave this issue. Take it easy. I can handle my parents)

उनि इङ्लिस बोल्दा बढि कम्फरटेबल थिइन् । उनको कुराले मलाई पनि सजिलो भयो । नत्र आमा बुवालाई कुरा वुझाउन गाह्रो हुन्थ्यो ।

"मेरा साथीहरु म भन्दा राम्रा छन नि, म हजुर  बारेमा कुरा गर्छु" बाँकि रहेको एक मात्र फिङ्गर चिप्समा धेरै सस दलेर उनले मीठो मानि मानि खाइन् । म हासें ।

‘मेरा पनि ब्याचमेटहरु छन अष्ट्रेलियामा म भन्दा पनि गुड पर्सनहरु । आइविल प्रोभाइड देयर आइडि टु यु'  (I'll provide their id to you.)

हामी दुबै जना मरि मरि हास्यौं । उनले डायरी निकालेर मेरो इमेल मागिन् । मैले सकेसम्म राम्रो अक्षरमा लेखें !
---------------------------------------------------------------------------------------------

“सुष्मा हो नि केटीको नाम, बिर्सेलास!’ आमाले हिड्नु अगाडि भन्नुभयो । म झसँग भए । शंका दह्रो भयो ।
हाम्रै कलेज पढेकी केटी भनेपछि चिनेको त होला भन्दै थिए । न्यौपानेकी छोरी, सुष्मा । सुष्मा न्यौपाने । २ ब्याच जुनियर ।

हेर्ने जाने भनेर जुत्ता लगाइसकेको थिँए । आमालाई केहि भनिन । जुत्तामा पालिस लगाउन बाकिँ थियो । मन लागेन, लगाइन ।

‘सन्तोषको अफेयर चलेको थियो, कलेजमा । डेढ बर्ष अगाडि उ युएस गएको थियो । तर कलेजपछि सुष्माको बारेमा मलाई जानकारी भएन । के भन्ने के गर्ने जस्तो भयो । केहि भनिन । वुवा पनि रेडि हुनुभयो । ‘जाउँ हिड’ भन्नु भयो । म पछि लागे । आमा बाहिरसम्म निस्कनु भयो ।

‘सापकोटा’ केटीको कुरा असफल भएपछि आमा मेरो बिहेलाई लिएर झन जोडतोडका साथ लाग्नु भएको थियो ।

‘यो फाल्गुणमा जसरी पनि कान्छाको बिहे गर्ने’ बुवा संग प्राय: नझर्किने मेरी आमाले एक साँझ कडा स्वरमा भन्नुभयो । त्यो दिन बुवा त केहि बोल्नु भएन, मेरो त के कुरा ।

पुरानो बानेश्वरमा दिदीलाई लिएर हामी मैतिदेवी तिर लाग्यौ । ‘यो DENIM कति धेरै लगाएको’ दिदीले बुवाको आफ्टरसेभको कडा बास्नाको विरोध गरी । ‘आफ्नो गालामा मनलागे जति दल्न पर्छ, हा हा हा हा’ खैनी खाने मेरो बुवाका दाँत कहिल्यै सेता भएनन् ।

दिदी र बुवा गफमा भुल्नुभयो । म, सुष्मा र सन्तोषको पुरानो रिलेसन सम्झन थालेँ । क्यान्टिनमा प्राय: उनीहरु संगै हुन्थे । हामी पनि कहिलेकाहीँ उनिहरुको ग्रुपमा सामेल हुन्थ्यौँ । सन्तोषले प्रपोज गरेको १ बर्षपछि मात्र एसेप्ट गरेकी थिइन् सुष्माले । मैले त्यस्तै सुनेको थिँए । एउटै ब्याच भएपनि फ्याकल्टि फरक भएर होला, सन्तोषसँग त्यस्तो गहिरो र नजिकको दोस्ती भने थिएन मेरो । कस्तो संयोग होला, आज म सुष्मालाई हेर्न जाँदैछु!!! के हो के हो जिवन । कहिले कहाँ डोहोर्याउँछ कहिले कहाँ ।

वान वे भएकोले गाडी वरै पार्क गरेर हामी हिँड्यौ । दिदीले घर देखेकी थिइ, उ नै अघि लागी । बुवा र म पछि । मैतिदेवीको मन्दिर अगाडि सदा झैं यो पटक पनि टाउको निहुर्‌याँए । रेन्टको फ्ल्याटमा बसेका रहेछन् । दोस्रो तल्ला । मिलाएर सजाएको कोठा, सफा ।

नियमित गफ सुरु भए । वातावरण सन्तुलित अनि फ्यामिलियर बनाउने पारम्परिक नेपाली गफ ।

पहाडका गफबाट 'आइस ब्रेक' भयो ।

‘यसका मावलीको चाहीँ भोजपुर भुल्के । पुर्व ४ नंम्बर । हामी चाहिं १८ सालमा झरेका ।' बुवा बोल्दै हुनुहुन्थ्यो । दिदी कता अर्को कोठामा गएकी थिइ । म भने त्यो भाइसंग त्यसै काम न काजसंग दाँत देखाएर बसेको ।

कोठाका सबै थोक नियाल्दै गएँ । भित्ताका सजावटहरु, सोकेसका श्रृंगारहरु, भुईका गलैँचाहरु । टेवल मुनि ‘नेपाल’ पत्रिका रहेछ । सजिलो भयो । बुवा गफमै हुनुहुन्थ्यो । ‘यहि कान्छोको मात्र बाकिँ, यसको बिहे गरेर हामी चाँहि १२ धाम घुम्न जाने सोचेका छौं । हात खुट्टा चल्दै जानु पर्यो नि ।'

‘बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ’ मेरो अफ्ठ्यारो समेत मिसाएर मैले बुआलाई मन मनै गाली गरेँ ।

उनि आइन्, कुर्ता सलवारमा । कपाल पछाडी बाँधेको । ट्रेमा चिया बोकेर । पहिले बुवालाई दिइन । अनि उनका बुवालाई दिँदै थिईन्, वहाँले मतिर इशारा गर्नुभयो । त्यहि कप उनले मतरि राखिन् । मैले अफ्ठ्यारो हातका साथ लिए ।

झन आवाज ननिकालौँ भन्यो, कप त्यसै बज्छ । चिया पोखिएला भन्ने कत्रो त्राही मलाई ।

‘संगै बसे भै गयो नि’ को देखेको मान्छे भनेको त दिदीको साथी पो हुनुहुँदो रहेछ । उठेर नमस्कार गरेँ । ‘म सुष्माको दिदी’ उनले नै भनिन् । बल्ल बुझेँ, लमी त दिदिहरु पो रहेछन् । सुष्मालाई ल्याएर म सँगै राखिन् ।
बस्दा उनलाई अलि अलि छोइएको थियो ।

गाह्रो गरि चियाको पहिलो चुस्कि लिए । आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो । कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें । ‘ल हेर त अफ्ठयारो मानेका, उ पल्लो कोठामा बसेर गफ गर, सजिलो हुन्छ ।' मेरि दिदी बुझ्झकी भईसकेकी थिई । व्यवहार जान्ने, कुरा बुझ्ने, मिलाउने । हामी अर्को कोठामा लाग्यौ । सुष्मा अलिक सहज भईन् । म पनि । म कुर्सिमा बसे, उनि खाटमा । उनकै कोठा रहेछ । चक्लेटि कुराले सजाएको ।

‘सुष्मा, मैले हिँड्ने बेलामा मात्र थाहा पाए । तिमी कहाँ आउँदैछु भनेर ।'

उनि अलिक निन्याउरो भइन् ।

‘मलाई पहिले नै थाहा थियो, तपाई हो भनेर, त्यसैले नाईं पनि भन्न सकिन' ।

मेरो प्रसंसा हो वा बिवाहको मन्जुरि मैले बुझिन ।

‘पढाउँदै छौ हैन?’ मैले प्रसंग बदल्ने प्रश्न गरे ।

‘हो’ उनले केहि कुरा भन्न सास जोगाउँदै थिइन् । यो कुरा म जति बुझ्दै थिए त्यति नै अफ्ठ्यारो लाग्दै थियो ।

‘सुष्मा, आइ डोन्ट नो ह्वाट हापेन्ड बिटविन यु एन्ड सन्तोष, आइ अन्ली नो हि इज अब्रोड'  (I don’t know what happened between you and Santosh. I only know he is abroad.) मैले जति रोक्न खोजे पनि यति नभनि म बस्न सकिन ।

निहुरिएकी थिइन् । उनका आँखा भरिएका थिए । त्यहाँ कुरा गर्न अफ्ठ्यारो थियो । तर पनि हामी त्यहाँबाट उठेपछि धेरै महत्त्वपुर्ण डिसिजनहरु हुन्थे त्यहि भएर कुरा गर्न जरुरि थियो, सजिलो अफ्ठ्यारो एकातिर राखेर ।

‘आइएम इन रियल डेलिमा' (I'm in a real dilemma) ! उनले धेरै बेर पछि आफैँ भनिन् । हो, सन्तोष र मेरो अफेयर थियो । वि स्टिल ह्याव इन सम वे (We still have in some way) ! सँगै युएस जाने प्लान थियो । तर मेरो GRE एकदम खत्तम भयो । TOEFL पनि दिएको थिईन ।  उ गएपछि प्रोसेस गर्न एक्लै पनि भएँ, गाह्रो पनि भयो । अहिले आइडल जस्तो भएर बसेकोले बिहेको कुरा बढेको हो ।'

‘अनि उ के भन्छ?’

‘मैले बिहेको कुरा भनिसके । उसले म समरमा मिलाएर आउँछु भनेको छ । यो ३ महिना पर्ख, होल्ड गर भनेको छ ।'

‘अनि, प्यारेन्टसलाई भनेको छैनौ त?’

‘भनेको हो पहिले नै । अरु बेला ठिकै छ भनेर मान्नु पनि भएको हो । तर यो पालि, केटा गतिलो छ । अब सँधै बिदेशकालाई कुरेर पनि हुदैन । कुरा मिल्यो भने यही सँग गर्नुपर्छ भनेर ममी ड्याडिले जिद गर्नुभयो । मैले उहाँहरुलाई जित्न नै सकिन ।' उनले कुरा नढाँटि राखिन् ।

म सोचमा परे । एक त आफ्नो बिहेको यत्रो संघर्ष अर्को साथीको नासो । सबै कुरा मिलेको छ । घर, परिवार, हाम्रो सोच । सबै थोक । सुष्मासंग बिवाह गर्दा सबै खुसी, उनको परिवार, मेरो परिवार र म पनि । तर पनि मन भन्दा ठुलो कुरा केहि हुन्छ र?

धेरै सोचैर मैले आँट गरेर सोधे ‘म के गरौं?’

'प्लिज रिजेक्ट मी ! इट विल बि इजियर फर मी ! प्लिज!!!' (Please, reject me. It will be easier for me. Please!!!!!)

मैले अपेक्षा गरेको नै उत्तर पाएँ । केहि बेरको मौनता पछि दिदी आई ।

‘एकै चोटि कति लामो कुरा गरेका । जाउँ अब' उ जिस्काउँदै थिई ।

घर फर्कन गाडिमा बसियो । बुवा र दिदी पछाडि मेरो भविष्य बुन्दै हुनुहुन्थ्यो म भने तिनै पालिस नलगाएका जुत्तामा आफुलाई नियाल्दै थिएँ ।

---------------------------------------------------------------------------------------

कुनै अपराधि जस्तो झोक्राएर बसिरहेँ । रिमोट बटारिरहेको थिँए । आमा चिया लिएर आउनु भयो ।

‘आफैँ कोहि हेरेको छस् भने खुरुक्क भन् , के नाटक गर्छस?’ शुरुमै पड्कनु भयो ।

‘छैन, कोहि पनि छैन ।' मैले मधुरो स्वरमा छोटो उत्तर दिएँ ।

‘के भनेर बात लाउँछस्, अर्काकी छोरीलाई । उता तेरी दिदी रिसाएर बम छे । के भन्छस् उसलाई । आउँदिन रे अब देखि तेरो घरमा ।'

‘बिचरीले साथीकि बहिनी भनेर, पक्का होला भन्दै कुरा मिलाएकी रहिछ । मुखै देखाउन नहुने बनायो भाइले भनेर चित्त दुखाएकि थिइ।' आमा सुनाउँदै हुनुहुन्थ्यो ।

मलाई भने यो प्रसंग जति सक्यो छिटो बन्द गर्न मन थियो ।

‘आऽऽऽ, अब छोडिदिनु यो कुरा, म अहिले बिहे गर्दिन । अब मास्टर्स सकेपछि मात्र ।'

‘कसले समातेको छ र? तँलाई जे मन लाग्छ त्यहि गर । हन, सुन कै चाहिएको होकि ? के हो’ आमा सुकाएका लुगा पट्याउँदै बोली रहनुभयो । म ति कुरा सुन्दै गएँ । रिमोट बटार्दै गँए । म सँग बिकल्प थिएन ।

‘कति गतिलि केटी थिई, राम्रि उत्तिकै । बिचार मिल्दैन रे !!!! के का बिचार मिल्न पर्यो ।'

‘तै पनि त आमा’ अलिकति प्रतिवाद गर्न खोजेको थिँए ।

‘स्वास्नीले माया गरिहाल्छे, तँ कमाइ हाल्छस, के हो बिचार नि । हामीले कालो गोरो, बुढो तरुनो, केहि नहेरी बिहे गरियो । खुशी नै छौं, सुखी नै छौं । तैले के खोजेको होस, मैले बुझिन ।'

मैले प्रतिवाद गर्न सकिन । उचित पनि लागेन । फेरि कमै मात्र उठ्ने मेरी आमाको रिसको बेग धेरै हुन्छ ।
आमा लुगा पनि सबै नमिलाई त्यहाँबाट हिड्नु भयो । म भने त्यसै के के सोच्दै सोफामा ढल्केर कुराहरु बुनिरहे । उधारि रहें ।

‘बिचार मिलेन, फेरि म भन्दा अग्ली रहिछ’ यि भन्दा अरु बाहाना मैले दिन सकिन, सुष्मालाई रिजेक्ट गर्न ।

आमा उग्र रिसाउनु भएकोथियो । दिदीको त झन कुरै अर्को । हाम्रोमा अब नआउने रे । बुवाले आफ्नो भाग बिहान नै भनेर हिँड्नु भएकोथियो ।

‘नाक निकेको भागमा झुसिल्किरो पर्छ, कान्छा । सानातिना कुरा खोतल्दा जिन्दगी लडाउलास्, आगे तेरो विचार’ यति भनेर वुवा ४ दिन लाई बाहिर जानु भएकोथियो । आमाको १०० वटा गाली भन्दा बुवाको एकै भनाईले मलाई चिमोटि रह्यो ।

यस्तै यस्तै कुरामा रुमलिईरहें । त्यहि सोफामा निदाएछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछु । टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो । ‘हेर त, आफ्नो खाटमा त सुत्नु’ बिस्तारै आफैँ सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन। टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नुभयो । च्यादर ल्याएर ओढाईदिनु भयो । जाँदा मेरो चियाको गिलास बोकेर जानुभयो । यस पटक चाँहि म मज्जाले निदांए ।

भोलिपल्ट म अफिसबाट छिट्टै निस्केँ । के मन लाग्यो, असन पुगेँ । ईन्द्रचोकमा गएर कालो दाल किने । यता उता हिड्दै लसुन, अदुवा, तेज पत्ता, मरिच , के के के के । यस्तै यस्तै कुराहरु । किन किने थाहा पनि छैन । यसो हेरेको पारिपट्टिको पसलमा चप्पलहरु रहेछन् । राम्रो लाग्यो । आमालाई लिईदिँए । घर पुगेर आमालाई झोला दिए ।

‘अर्को हप्ता सत्यनारायणको पूजा लाउने भनेर आज मात्र गुरुजी सँग सल्लाह गरेको थिँए । स्वस्ति शान्ति गर्नु पर्यो भनेर । कस्तो जानेर ल्याएछ सामान, म अब जानै परेन ।' आमा खुशी हुनुभयो । मलाई पनि हलुका भयो ।

खाजा सँगै आमाले फेरि प्रस्ताव पस्कनु भयो ।

‘आमा, भयो यसपालि बिहे नगरौं । अर्को साल, मेरो पढाई पनि सकिन्छ ‘ मलाई मेरो दुलही खोजिको संघर्षले धेरै थकाएको थियो । मैले टार्न खोजे ।

‘यही एउटी मात्र, तँलाई चित्त खाएन भने म केहि भन्दिन । त्यसपछि तँ जहिले भन्छस तहिले’

म चुप लागें । नाई पनि भन्न सकिन ।

‘दिदीले खोजेकि हो । उसका घरतिर कि केटी हो रे । नर्स।'

निकै बेर चुपलागे पछि मैले भने ‘ल आमा, तपाई र दिदी गएर हेर्नु, तपाई दुई जनालाई मन खायो भने, त्यही केटी जिन्दाबाद । म केहि नभनी बिहे गर्छु । हुन्छ??’

‘बजिया’ यति भनेर आमाले मेरो टाउको मुसार्नु भयो । त्यो पल साह्रै मीठो थियो ।

आमा दिदीसँग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । म स्टार मुभिजमा अडिग भएर सोच्न थालेँ ‘जन्तिमा को को साथीहरु बोलाउने????’
----------------------------------------------------------------------------------------------------

By meaninglessthinkings@somewhereondearth, माघ २०६४ साल

(लेखकको आफ्नै ब्लगमा प्रथम पटक प्रकाशित । लेखकले त्यसको केही समयपछि बिहे गर्नुभयो । यसभन्दा अघि हामीले उहाँको अदितीको साथी कथा प्रकाशित गरेका थियौँ ।)

15 comments :

  1. hehe.... dherai sahi dai.... mailae ta dai ko bihe hunae vayo vanera daanga parera padeko... last ma ta arkai po rahexa.... :D

    ReplyDelete
  2. हाहाहा । बिहे एक्लैले हुँदैन । :D

    ReplyDelete
  3. Very nice. Enjoyed!!

    ReplyDelete
  4. सार्है मनपर्यो लेखनशैलि! "थ्यान्क-यू टू आकार ब्रो टु फर पोस्टिन्ग इट"!! :)

    ReplyDelete
  5. कता कता मिल्न गएका ति कुराहरू..................................

    ReplyDelete
  6. ani @Aakar Anil bro aafnai katha chahi kahile post garne, bela bhayena ra duklai huna?

    ReplyDelete
  7. बल्ल थाह भो ... हुदै न रोइ'च :)

    ReplyDelete
  8. सायद आफु संग पनि केहि मिल्न गएको ले होला ... निकै मन पर्यो कथा र त्यसको शैली !

    ReplyDelete
  9. ok. its a good things.

    ReplyDelete
  10. जिन्दगीको एउटा मोडमा आइपुग्दा सबैले यि र यस्तै परिस्थितिबिच ग्रुजनु पर्छ नै । जब जब विवाहको मौसम आउंछ, तन्नेरी मनहरु खुब तनाबमा पर्छन यो बेलामा । आफुलाई पनि यही मोडमा उभ्याएर यो लेख पढिरहदा कता कता च्वास घोच्दै छ ।
    साह्रै मुन पर्‍यो.......

    ReplyDelete
  11. sarai man paryo , mero aafnai kahani jasto !

    ReplyDelete
  12. antim ka sabda haru atti romanchak... sarai aakarsak katha

    ReplyDelete
  13. Nice one brother, tapaikai story ta hoina ni yo katai :D hehe

    ReplyDelete