सस्तो खाना, बन्दकर्ता र बेठेगानको यात्रा [अनुभव]

१. सस्तो खाना
बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए ।

बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएको याद आयो । रामनगर, मुग्लिन अनि हेटौँडाका रोड छेउका होटलहरुमा खाना खाँदा तिरेको पैसाको सम्झना भयो । गढीमा मैले सोचेभन्दा खाना धेरै सस्तो लाग्यो, पछि थाहा पाएँ त्यो रोडमा भएका होटलव्यवसायीहरुले सबै होटलमा एकै मुल्य कामय गर्ने सहमति पनि गरेका रहेछन् । काठमाडौँ वा जुनसुकै ठाउँमा होस् १ लिटरको पानी किन्दा घटिमा पनि २० रुपैँया लिइदिन्छन् खुद्रा पसलेहरुले तर गढिमा जम्मा १५ रुपैँयामा पाइयो ।


२. सहयोगी बन्दकर्ता
बल्खुबाट सुमो हिँड्नेबेला पार्कमा हल्लिखल्ली मच्चियो, सुमोको ड्राइभर कुटिएको निहुँमा हेटौँडा बन्दछ । गाडी हिँड्ने हो कि नहिँड्ने हो अलमलमा परियो । तर तिन चार घन्टामा त कसो बन्द नखोल्लान भन्दै, बल्खुबाट निर्धारित समयमा नै सुमो कुद्यो । बाटोभरि हेटौँडाबाट काठमाडौँ तर्फ आउने कुनै पनि सुमो भेटिएन, मतलब प्रस्ट थियो हेटौँडामा सुमो गुड्न दिएका छैनन् । अब हेटौँडामा कति घन्टा जाममा फस्नुपर्ने हो भन्ने कुरा सोच्दा पनि दिक्क लाग्थ्यो । बन्दमा फसिने हो कि भन्ने डर लागिरहेथ्यो । हेटौँडा बजार पुग्नुभन्दा २-३ किलोमिटर माथि नै रोडमा मान्छेहरुको भिड देखियो । खाली सुमोहरु पनि लाइन लगाइएकोथियो । अब यिनीहरुले आज बिताउने भए भनेजस्तो लाग्यो, सुमो ती मान्छेहरुको भिड नजिकै पुगेर रोकियो । भिडबाट एउटा व्यक्ति अघि सरेर, यताबाट बाटो बन्द छ, उता खोला छेउबाट जानु, अनि दिउँसो फर्केर नआउनु, बरु अहिले चाँहि छिटो गइहाल्नु भनेर, गाडि खोलातिर मोड्ने इशारा गरे । ड्राइभरले गाडी खोलाछेउको बाटो दौडाए । तल कर्रा खोलाको पुल तरेपछि लौ बन्दमा परिएन भनेर निर्धक्क भइयो । त्यो दिन काठमाडौँबाट आएका सुमोहरुलाई गन्तव्यमा पुग्न दिइएपनि, हेटौँडा तर्फबाट भने काठमाडौँ गाडी जान दिइएन ।

३. बेठेगानको यात्रा
गढीको खाना खाँदै अनि हेटौँडा बन्दमा नअल्झि मामाघर पुगियो । पुगेर झोला राख्न पाइएको थिएन, भाइ र बहिनी मोबाइल दिस्यो, गेम खेल्छु भन्दै आइपुगे । मोबाइलमा ब्याट्रिको अवस्था नाजुक थियो, चार्ज गरौँ भने बिजुली बत्ति थिएन तर पनि मोबाइल उनीहरुले लिएरै छाडे । भोलिपल्ट बिहानै घर जान्छु भन्न प्लान बनेको थियो, अघिल्लो दिन बेलुका तर बिहान भरि पानी परेपछि दिउँसो मात्र निस्किने भइयो मामाघरबाट तर यतिन्जेल सम्ममा आफ्नो प्लान चेन्ज भइसकेको थियो । दिउँसो १ बजेतिर पूर्व सिरहा तिर लागियो ।

सिराहामा पुगेको भोलिपल्ट बिहानै अब घरतिर लाग्नुपर्छ भन्ने योजना बन्यो । सर्लाही जाने बस चढ्नुपर्ने थियो तर अनायासै गाईघाट जाने बस चढियो । बिहान ८ बजेतिर गाईघाट पुगियो, गाईघाट आउँदैछु भनेर कसैलाई भनिएको थिएन अत: एकछिन रमाइलो गरौँ माइला साहूको दिमाग चाटौँ भनेर भुपाल/भुवनदाइको पसलमा पुगियो । माइला साहूको ठाउँमा गोजेसाहू भएको भएर झुट धेरै बेर टिकाएर राख्न त सकिएन तर पछि हाँसो भने धेरैबेर सम्म छुटिरह्यो । दिन गाईघाटमा बिताइयो अनि बेलुका ४ बजेतिर काठमाडौँ जाने रात्री बस चढेर राती ८ बजेतिर घर पुगियो । बेठेगानको यात्रा आफैँलाई रमाइलो लाग्यो । पछि घर पुगेर सोचेँ, गाईघाटबाट कसो धरान वा विराटनगर जाने बस चढेनछु ।


0 प्रतिक्रिया :

Post a Comment