चोरिएको आइप्याड नौ महिनापछि भेटियो

2 comments

करिव ४-५ महिना अघिको कफी भेटमा ब्रजेश दाइले आइप्याड आफ्नै घरबाटै चोरी भएको घटना सुनाउनु भएको थियो । त्यही समयताका आइफोनमा राखिएको ट्रयाकिङ डिभाइसको मद्दतले हराएको आइफोन भेटियो भन्नेबारे  गिजमोडोमा एउटा ब्लग पनि पढेकोथिँए ! नेपालमा सामान्यत: चोरी भएका मोबाइल, कम्प्युटर आदि इलेक्ट्रोनिक्स वस्तुहरु फेला पार्न सकिँदैन । अत: ब्रजेशदाइको चोरिएको आइप्याड अब भेटिँदैन भन्नेमा विश्वस्त थिँए । तर अलि अघि सिभिलमलमा भएको भेटमा ब्रजेशदाइले भन्नुभो, अब आइप्याड फेला पर्लाजस्तो छ । त्यसको केही दिनपछि नै चोरिएको आइप्याड ब्रजेशदाइको हातमा आइपुग्यो ।

चोरीभएको नौ महिना पछि आइप्याड भेटिनु चानचुने कुरा थिएन । के - कसरी भेटियो होला भन्ने कौतुहलता लागिरहेको थियो। मेरो कौतुहलता ब्रजेश दाइले नेपाल साप्ताहिकमा "बायाँ" फन्कोमा समेट्नुभएको रहेछ । आज त्यही आइप्याड भेटिएको कुरा नेपाल साप्ताहिकबाट साभार गरेर यहाँ राख्दैछु ।

चेतन भगत र चोरिएको आइप्याड

जीमेलका स्प्याम अक्सर हेर्दै नहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ। फेब्रुअरी २०१३ को दोस्रो साता खोइ किन हो, फोल्डर खोलेर सबै स्प्याम सरर्र हेर्दै थिएँ, एप्पलबाट ६ महिनाअघि आएको एउटा मेलमा आँखा पर्‍यो। कसैले मेरो एप्पल आईडी प्रयोग गरेर चेतन भगतको किताब डाउनलोड गर्न खोजेको थियो। म रोमाञ्चित भएँ।

नौ महिनाअघि मेरो आइप्याड घरबाटै चोरी भएको थियो। कसले चोरेको भन्ने थाहा त थियो तर ठोस प्रमाणबिना कसैलाई चोर दोष लगाउन नमिल्ने हुनाले र आर्थिक अवस्था कमजोर भएका कारण दुःखजिलो गरेर आफ्ना स-साना सन्तानको लालनपालन गर्ने ती मानिसविरुद्ध पुलिस केस गर्न मनले मानेन। हराएको आइप्याडको स्थान देखाउने सेटिङ् मिलाउन भ्याइएको थिएन। आईएमईआई नम्बरबाट कतै इन्टरनेट चल्छ कि भनेर केही दिनसम्म त अवलोकन गरियो। तर, त्यसको केही सुराक नपाइएपछि आश मारसिकेको थिएँ। तर, एप्पलको इमेलले आशा जगायो।

प्रहरीको सहयोगमा पुनः आईईएमई अनुगमन गर्दा एउटा नम्बरको सिम कार्डबाट नेट चलिरहेको थाहा भयो। त्यो नम्बरमा फोन गर्दा अफ मात्र हुन्थ्यो। सिम लिँदा बुझाएको नागरकिताका अनुसार काठमाडौँ बाहिर स्थायी ठेगाना र अस्थायी ठेगाना ललितपुरको कुनै गाविस उल्लेख थियो। कल विवरण निकाल्दा त झनै निराशा हात लाग्यो। किनभने, २०१० मा क बहादुर भन्ने मानिसले लिएको त्यो नम्बरमा तीन वर्षसम्म न कुनै फोन आएको थियो, न गरएिको थियो। तैपनि, त्यो नम्बरमा क बहादुरका लागि कुरयिर आएको हुनाले कहाँ पुर्‍याउने हो भन्ने बेहोराको एउटा एसएमएस पठाइयो। सम्भावना त कमै थियो। तर पनि उसले कुनै बेला त्यो नम्बर अन गरेको खण्डमा सन्देश देखेर कौतूहलवश फोन गरिहाल्छ कि भन्ने आश थियो। तर, दुई दिनसम्म त्यसको पनि जवाफ आएन। त्यो मान्छेका नाममा अर्को मोबाइल कम्पनीमा कुनै फोन छ कि भनेर रेकर्ड हेर्दा त्यही नामथरका तीन-चार सय मानिस भेटिए। तर, नागरकिता र ठेगाना मिल्दो कुनै पनि रहेनछ।

एकपटक त्यो अस्थायी ठेगाना उल्लेख भएको गाविसतिर रेकी गर्न जानुपर्ला भन्ने विचार आयो। त्यो अति नै दुर्गम भन्न मिल्ने काठमाडौँ उपत्यकाको अन्त्यतिरको गाविस रहेछ। पहाडै पहाड, अनकन्टार त्यस गाविसका केही घर डाँडामा, केही घर खोल्सामा छरएिका थिए। उकालो चढेँ, ओरालो झरेँ, झोलुंगे पुल तरेँ, चिया पसल र अलि चल्तीका जस्ता देखिने किराना पसलहरूमा सोधखोज गरेँ। तर, कसैले पनि क बहादुरलाई चिनेका थिएनन्। सेतो रंगको आइप्याड बोकेर हिँड्छ भन्दा पनि सुराक भेटिएन। अब लाग्यो, त्यो मान्छेले अस्थायी ठेगाना नै गलत लेखाएको हुन सक्छ। नजिकै पुगेर हराउने मृगमरीचिकाको छाँट देखियो आइप्याडको।

पछिल्लो केही महिनादेखि पटक-पटक ललितपुरकै कुनै अर्को स्थानबाट नेट चलेको देखिन्थ्यो। एउटा अर्को नम्बरबाट पनि आइप्याडमा नेट चलेको पत्ता लाग्यो। ख कुमार नामक अर्को मान्छेको त्यो नम्बर पनि ललितपुरकै तेस्रो स्थानमा थियो। अचानक शुक्रबार राती क बहादुरले केही अरू नम्बरमा फोन गरेको देखियो। तीमध्ये एउटा ख कुमारको थियो, जसबाट पनि आइप्याड चलेको थियो। उसले फोन गरेको अर्को ग प्रसादको नम्बर पनि त्यही ठाउँको देखियो, जहाँबाट ख कुमारले आइप्याड चलाएको थियो।

एक जना परिचित इन्स्पेक्टर मित्रलाई गुहारेपछि उनले ग प्रसादलाई फोन गरेर एउटा जानकारीका लगि सहयोग गर्नुपर्‍यो भने। ग प्रसाद त्यही ठाउँमा रहेछ, जुन हामीलाई पहिले नै थाहा थियो। त्यहाँको बसस्टपमा भेट्ने कुरा भयो, ग प्रसाद २५-२६ वर्षको केटो रहेछ। हामीले उसलाई दुई दिनअघि बेलुका फोन गर्ने क बहादुर को हो र कहाँ भेटिन्छ भनेर सोध्यौँ। उसले क बहादुर भन्ने कोही मान्छे नचिनेको तर त्यो नम्बरबाट आफूलाई फलानो दाइले फोन गरेको बतायो।

फलानो दाइको काठमाडौँको कुनै एक स्थानमा मोबाइल बिक्री तथा मर्मत गर्ने पसलमा ग प्रसाद काम गर्दो रहेछ। फलानो दाइलाई फोन गर्दा उसले क बहादुरका बारे थाहा नभएको र कुनै ग्राहकले बनाउन ल्याएर छोडेको फोनमा त्यो सिम थियो भन्ने बतायो। आफू परिवेरसँग काठमाडौँ भन्दा अलि परै भएको हुनाले भोलिपल्ट १० बजे पसलमा आउनू भन्दै आफ्नो पसलको ठेगाना पनि दियो।

मलाई कसैलाई मुद्दामामिलामा फसाउनु र लम्ब्याउनुभन्दा पनि मिहिनेतको पैसाले किनिएको सामान फिर्ता लिनुमा बढी रुचि थियो। किनभने, लहरो तान्दै जाँदा पहरो कहाँ गर्जिन्छ भन्ने कुरा थाहा थियो। दुःखजिलो गरेर स-साना सन्तानको लालनपालन गर्ने मानिसलाई पुलिसको चक्करमा फसाउनु थिएन। त्यसो भन्दैमा कसैले चोरी गर्नुलाई सहज मान्न पनि मिल्दैन। त्यो मानिसलाई आइन्दा अरूको घरमा त्यसो नगर्नू, अपराध लुक्दैन, सबै मानिसले मैले जस्तै सदाशयता नदेखाउन सक्छन् भनेर चेतावनी मात्र दिने मेरो मनसाय थियो।

भोलिपल्ट फलानो दाइलाई प्रहरीले आफ्नो कार्यालयमा बोलायो। साधारण सोधपुछमै उसले आइप्याड आफूले चलाइरहेको कुरा स्वीकार गर्‍यो। उसका अनुसार विश्वासको मान्छेले आफ्नो भाइ भनेर ल्याएको एउटा मान्छेले बेलायतबाट आउँदा ल्याएको तर आफूलाई काम नलागेको भनेर सस्तोमा दिने भनेकाले उसले त्यो किनेको रहेछ। प्रहरीको आदेशमा फलानो दाइले गएर १० मिनेटमा आइप्याड लिएर आयो। मेरो आइप्याडको आईएमईआई नम्बर, सिरयिल नम्बर र हङ्कङ्मा किनेको पसलको बिलका आधारमा नौ महिनापहिले चोरएिर यायावर बनेको ग्याजेट मैले पुनः फिर्ता पाएँ। चेतन भगतलाई धन्यवाद ।

(नेपाल साप्ताहिकमा प्रकाशित भएको ब्रजेशको यो लेख यहाँ पुन: प्रकाशन गरिएको हो । हालसालै मात्र ब्रजेशले आफ्नो नयाँ उपन्यास "यायावर"   प्रकाशित गर्नुभएकोछ । ब्रजेशलाई ट्विटरमा यहाँ (@brazeshk)  फलो गर्नसकिन्छ।)

2 comments :