बैदेबुढाको उखुबारी [कथा]

घर पुग्नै लागेको थिँए, उखुले भरिएको (उखु लोड गरिएको) एउटा ट्रक धुलो उडाउँदै आइपुग्यो । धुलोले बाटो डम्म ढाकियो, भिजिबिलिटि मुस्किलले १-२ मिटर हुँदो हो तर दिमागमा एक्कासी बत्ति बलेझैँ भयो । ए! उखु काट्ने सिजन हो भनेर काठमाडौँबाट घर जाँदा यादै नगरेको । अंग्रेजी नयाँ वर्ष त उखु खाएरै मनाइने भो, घर जो पुगिएको थियो ।

sugarcane-fieldगाउँमा सबैभन्दा धेरै उखुबारी बैदे बुढाको थियो । सबैले बैदे, बैदे भन्या भएर आफूले नि बैदे भनेर चिनियो, उनको नाम धेरै पछि मात्र मलाई थाहा भयो । बैदेको घर नेपालको दक्षिणी सिमा नजिक थियो तर हाम्रो गाउँमा नि एउटा ठूलो घर थियो, खेतबारी थियो, साँच्चै भन्दा हाम्रो गाउँ उसको लागि आराम घर जस्तो थियो । वर्षमा २-३ महिना जति हाम्रो गाउँमा आएर बस्थे अनि बाँकी समय आफ्नै गाउँमा बिताउँथे ।

हाम्रो गाउँको मध्यभागमा, पूर्व फर्किएको एउटा ठूलो घर थियो, त्यसलाई “नौगोल घर” भनिन्थ्यो । घरको पूर्व-उत्तरमा एउटा ठूलो गोठ थियो, जसलाई मकै, गहुँ आदि थन्क्याउन प्रयोग गरिन्थ्यो । त्यस्तै दक्षिणतिर छुट्टै भान्साघर थियो, अनि अलि अगाडी इनार थियो । सय मिटर जति गहिरो इनार गाउँका सबैजनाको पानीको स्रोत थियो । आँखाले हत्तपत्त पानी कहाँछ भनेर इनारमा देखिँदैन थियो, ढुंगा खसाउँदा पानीको आवाज भने सुनिन्थ्यो ।

बैदेबुढालाई मैले सँधै सेतो, धोती कुर्ता तथा कमिज सुरवाल र ठूलो कालो फ्रेमभएको पावरवाला चस्मामा देखेँ, तर म कहिले उनको नजिक भनेँ परिन । उनी ठूला मान्छे थिए, धनी मान्छे थिए, गाउँकै एउटालाई उनको कारोबार हेर्ने म्यानेजर बनाइएकोथियो । बैदे बुढा जब पनि हाम्रो गाउँमा आउँथे, तिनै म्यानेजरले घर सफा सुग्घर पार्ने, रेखदेख गर्ने आदि इत्यादि गर्थे । उखु रोप्ने, काट्ने सिजनमा प्राय बैदेबुढा आफ्नो गाउँबाट हाम्रो गाउँमा आउँथे । महेन्द्को तराईमा वस्ति बसाउने योजना अन्तर्गत नै यो गाउँ बसेको थियो । जंगल फँडानी गरेर बसेका एकजना राईबाजे हामीलाई कहिलेकाँही उनको र गाउँको कहानी सुनाउने गर्थे । म छक्क पर्थेँ, पहाडीमुलका व्यक्तिहरुको घना बसोबास भएको ठाउँमा कहाँबाट एकजना मधेसी मुलका बाहुन आइपुगे, उनी कसरी सबैभन्दा धनी भए भनेर गम खान्थेँ । सायद मैले जिवनमा पहिलो ट्रयाक्टर अनि मोटरसाइकल बैदेबुढाकै देखेँ हुँला । त्यो समयमा ट्रयाक्टर, मोटरसाइकल हुनुभनेको चानचुने कुरा थिएन जस्तो लाग्छ, अझ त्यो पनि हाम्रो गाउँमा, जहाँ सरकारी विकासले कहिले छोएन, जिवनस्तर कहिले उकासिएन । बैदेबुढाका चारभाइ छोराहरु थिए, मोटरसाइकलमा उनीहरु ओहोर-दोहोर गर्थे, हामी मोटरसाइकल पार हुनासाथ बाटोमा घोप्टो पर्थ्यौँ, त्यो धुवाँको वासना साह्रै मन पर्थ्यो । (बुद्धिसागरको कर्णाली ब्लुजमा भनिएझैँ)

बैदे आफू जवान हुँदा बनिबुतो गरेर जिवन चलाउँथे रे । धेरै खाने, अनि काममा ठग्ने भएका कारण कसैले काममा लगाउन चाहँदैन थिए रे । बैदे दुई नम्बरी काम गरेर पछि धनि भएका रे ! उनी बोरा का बोरा गाँजा ओसारपसार गर्थे रे, यस्तै गर्दा एकपटक उनले पैसाले भरिएको बोरा फेला पारे रे, त्यसदिन देखि उनले पछि फर्केर हेर्नुपरेन रे । सत्य के हो म जान्दिन, तर जब पनि बैदेको कुरा निस्किन्थ्यो, सबैले यही ब्यहोराको कुरा सुनाउँथे ।

बैदे बुढाको घर पछाडि एउटा माझी परिवारको घरथियो । ती माझीका परिवार, तराईमा जंगल फँडानी गरेर बस्ति बसाउने बेलामा आएकाथिए रे, त्यसकारण उनीहरुको जग्गाजमिन प्रशस्त थियो रे । तर कालान्तरमा बैदेले ती माझिका सबै जग्गाजमिन चालम र अलुवा (सखरखन्ड) सँग साटेर आफ्नो बनाए रे । बैदे, तिमीहरुलाई चामल, अलुवा चाँहिदैन भनेर माझीहरुलाई सोध्थे रे । माझीहरु पैसा छैन भन्थे रे । बैदे पैसाको किन फिक्री गर्छौ, छ महिना, १ वर्ष पछि दिए भइहाल्छ नि भन्थे रे । मकैमात्र फल्ने ठाउँमा, माझीहरु चामल र अलुवा पाएर मख्ख पर्थे रे । ६ महिनाको भाका सकिन्थ्यो, चालम  र अलुवाको ऋण तिर्ने पैसो हुँदैनथियो । बैदे किन चिन्ता लिन्छौ, जग्गा छ नि भन्थे रे । पैसा छैन भने जग्गा पास गरिदेउ, नाम मात्रै मेरो हुन्छ, कमाउनलाई तिमीहरुलाई नै बटैया (अँधिया) मा दिन्छु भन्थे रे । जग्गा पास गरेर दिइसकेपछि पनि, आफैँले कमाउन पाइने भनेर माझीहरु मख्ख पर्थे रे । मैले देख्दा ती माझिहरु सुकुम्बासी भइसकेका थिए, काम उनै बैदेको गर्थे । यसरी वैद्यनाथ उर्फ बैदे बुढा महाजन भए । अर्का एकजना राईबाजेको कहानी पनि बडो अचम्मको छ ।  जंगल फडाँनी गरेरै बसेका राईबाजे भन्थे, “म घोडा चढेर गाउँ डुल्ने गर्थेँ” । तर अहिले राईबाजेसँग आफ्नै एक टुक्रा जमिन पनि छैन । राईबाजेको कहानी, राईबाजेबाटै सुनेका कारण, बैदे अनि माझीका रे का कुरामा विश्वास जागेर आएकोथियो ।

अरुका बारीमा मकै, गहुँ, तोरी, सुर्ती आदि फल्थे भने, बैदेको बारीमा उखु । बैदेबुढाको बारीमा मात्र उखु हुन्थ्यो । उखुको पगार (घाँस) को लागि, उखु काट्ने सिजनमा बैदेको उखुबारीमा सबैजसो पुग्थे, हामी साना भुराहरु भने उखु खान पाइने लोभमा पुग्थ्यौँ । तर बैदेबुढा उखुबारीमा भएकै बेला उखु खानुभनेको जोखिमको कुरो थियो । उखु काट्ने दिन बैदेबुढा बारीकै एकछेउमा डेरा बसाउँथे, अनि घाँसीहरुको घाँसको भारीमा उखू घर लान्छन् भनेर कहिलेकाँही घाँसीहरुको घाँसको भारी पनि ‘चेक’ गर्थे । अत: हामी भुराहरुले उखु चोरेर खानुको विकल्प थिएन ।

उखु काट्न हामी भुराहरुले सक्ने कुरा भएन, हामी भनेको उखु खानकै लागि उखु काटेको बेला जान्थ्यौँ । तर बारीमा छिर्नु पहिले बैदेबुढा के गर्दैछन् भनेर थाहा पाउन जरुरी हुन्थ्यो । हाम्ले उखु नखाओस् भनेर बैदेबुढा परैदेखि नरम स्वरमा कराउँथे, “केटाकेटी किन आएको, किरामिराको डर हुन्छ, जाउ उता जाउ” । कराउँदा कराउँदै उनी थप्थे, “मलाई प्रेसर छ, रिस उठ्छ धेरै” ।

हाम्रो बारीको सिमाना, बैदे बुढाको बारीसँग जोडिएकोथियो, यसकारण पनि हामीलाई उनको बारीबाट उखु चोर्ने केही सजिलो हुन्थ्यो । उखुकाटेको बेला हाम्रा साना आँखाले भ्याउन्जेल बैदे बुढाको उखुबारी देखिन्थ्यो । एउटा बुढो सिमलको रुख पनि थियो, बारीको पुच्छार तिर । बैदेको उखु काटेको बेला गाउँमा ट्याक्टर र ट्रक धेरै देखिन्थे । ट्रकका पञ्जावी ड्राइभर देख्दा रमाइलो लाग्थ्यो ।

“यहाँको जमिन उखुको लागि राम्रो छ”, बैदेबुढा अरुहरुसँग कुरा गर्दा भन्थे । अलि पछि पछि बैदेको सिको गर्दै अरुले नि बारीमा उखु लगाउन थाले, हाम्ले नि पहिलो पटक उखु लगायौँ, बैदेकै बारीका उखु किनेर । त्यसपछि उखु चोर्न बैदे बुढाको बारीमा जानुपरेन ।

एक वर्ष हाम्रो उखु चिनिमिल लगिएन, बारीमै कोल राखेर, पेल्न र मिठ्ठा (सख्खर) बनाउन ठेक्का दिइएकोथियो । बारीमा ठूला ठूला चुला बनाइए, ठूला ठूला तावा राखिए, पम्पसेटबाट कोल चलाए । एकातिरबाट उखुको बिटो राखिन्थ्यो, अर्को तिरबाट ड्रममा उखुको रस जम्मा हुन्थ्यो, उखूको बाहिरको बोक्राका कारण रस भने निकै कालो हुन्थ्यो । रसलाई ठूला चुलामाथि राखिएको ठूलो तावामा राखेर पकाइन्थ्यो, अनि पाकीसकेपछि बाँसले बनाएको ढाकीमा राखिन्थ्यो । तर त्यसरी बनाइएको मिठ्ठा भने राम्रो हुँदैन थियो ।

ती कामदारहरु पाकीरहेको खुवामा खरानी, माटो आदि हालिदिन्थे, कतिले आफ्नो धोती समेत त्यँही चोबल्थे, धोती सफा गर्न, त्यसरी तयार भएको मिठ्ठा किरिकिरि लाग्नु स्वभाविक हो, अनि अलि कालो-कालो रङ्को हुन्थ्यो । सायद अहिले पनि त्यसरी नै बनाइएको सख्खर बेचिन्छ, जुन चाकु, पुष्टकारी, तिलौरा आदि बनाएर हामी खाने गर्छौँ । तर अलि फुस्रो रंगको मिठ्ठामा भने केही मिसाइँदैनथियो, यो अलि महंगो पर्थ्यो । उखुको रस पाक्दै गर्दा, हामी उखु भाँचेर, उक्त खुवामा डुबाउथ्यौँ अनि निकालेर एकछिन ठन्डा हुनदिन्थ्यौँ । त्यो खुवा साह्रै मिठो हुन्थ्यो । हामी ठेकदारको आँखाछल्दै आफ्नै बारीको उखुको खुवा, चोरेर खान्थ्यौँ ।

बैदेबुढा बितेको ८-१० वर्ष भइसक्यो तर पनि उखु खाँदा कहिलेकाँही उनलाई सम्झिन पुग्छु, किनकी बैदेबुढा उखुका पर्यायावाची थिए मेरा लागि । बैदे भन्नासाथ, म उनको उखुबारी सम्झिन्छु, उनको घर, उनको धमिलो चित्र अनि हाम्रो भैँसी हराएको कथा याद आउँछ । मेरा दाजुभाइ मिलनसुनिललाई पनि, बैदेबुढाको उखुबारी, हाम्रो भैँसी हराएको कथा, अनि उखुको खुवा चोरेर खाएको अलिअलि याद त आउला । :)

3 comments :

  1. uukhu chorera ta maile ni khaako ho yaar, truck ra tractor bata taanera :) ,

    ReplyDelete
  2. उखु र मिठ्ठाका कुरा ले मुख रसायो।

    ReplyDelete
  3. कथा राम्रो लाग्यो,एकछिन त झुक्किए पनि बैदे भन्दा।हो न हो हाम्रै बैदे पो हुनकि जस्तो लाग्यो।

    ReplyDelete