एउटा फेक ट्विटर एकाउन्टको नाममा

डा. बाबुराम भट्टराईको भनिएको ट्विटर एकाउन्टको नाममा हिमाल खबरपत्रिकामा योयो सामाग्री अनि मिडियाकुराकानीमा यो ब्लग र ट्विटरमा केही ट्विटहरु देखेपछि, आफूलाई थाहा भएको उक्त ट्विटर एकाउन्टको बारेका केही कुराहरु यहाँ राख्दैछु ।

fake_twitter_followers

सन् २०११, २३ जुलाईमा, म Simplify360 (Inrev Systems), बेंगलोर अफिसमा थिँए !  ट्विटरमा बाबुराम (@baburamb) नामको एउटा ट्विटर एकाउन्ट देखा पर्यो, केही व्यक्तिहरुलाई फलो गर्यो (मलाई नि फलो गरे) र पहिलो ट्विट गरे, “I would rather die fighting than surrender to injustice and wrong doing !”

baburam-first-tweet

ट्विटरमा प्रचण्ड, बाबुरामलगायतका नेता तथा अभिनेताहरुको नाउँका ३-४ वटा “फेक एकाउन्टहरु” पहिले नै भएका कारण, यो एकाउन्टलाई पनि खासै भाउ दिइएन । फेक ट्विटर एकाउन्टहरुको लिस्टमा अर्को एउटा एकाउन्ट थपियो भनियो, वास्ता गरिएन !

तर त्यसलगत्तैको दोस्रो ट्विटमा मलाई (@aakarpost) लाई मेन्सन गरेर उक्त एकाउन्टबाट ट्विट आयो । ट्विटमा अंग्रेजीमा भनिएको थियो, “यो बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो, यसलाई प्रचार-प्रसार गरेर सहयोग गरिदेउ” ! दोस्रो ट्विटमा एक्कासी मलाई सम्बोधन भएका कारण, एकछिन ट्वाँ परियो, साँच्चै बाबुराम नै ट्विटरमा आएछन् भन्ने भयो, लौ ‘एक्सक्लुसिभ’ ब्लग नि लेखिने भो भन्ने लाग्यो । करिब ३-४ वर्ष अघि तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले फेसबुक च्याटमा, “म विज्ञान तथा प्रविधि मन्त्री गणेश साह हुँ, भोलि आइटिपार्कको कार्यक्रममा आउनु है” भनेर भन्नुभएको थियो । मन्त्री गणेश साहसँग त्यही फेसबुक च्याट मार्फत नै भेटघाट भएका कारण, बाबुरामको दोस्रो ट्विटले उनी बाबुराम नै होलान् भनझैँ लाग्यो । लौ, ट्विटरमा फलोअर बढाउन मलाई सम्झेछन् भनेर अलि गजक्क नि परियो । ;)

baburam bhattarai-tweet-bishow

तेस्रो र चौथो ट्विटमा पनि म सँग दोहोरो सम्बाद भयो । “बाबुराम भट्टराईको एकाउन्ट विश्वदिप पान्डेले बनाएको हो, मलाई फोन गरेर कुरा गर्न सक्छौ” भन्ने व्यहोराको ट्विट पनि आयो । सायद म नेपालमै भएको भए तत्काल फोन गरिहाल्थेँ होला तर आफू बेंगलोरमा भएका कारण फोन गरिहालौँ जस्तो लागेन । “बाबुराम भट्टराई ट्विटरमा” भन्ने व्यहोराको ब्लग लेख्न आफूलाई हतार लागिरहेको थियो, अझ फोन नै गरेर सोध्दा हुन्छ, अनि विश्वदिप पान्डेले नै बनाएको भनेपछि मैले नपत्याउने कुरा पनि थिएन । तर पनि ब्लग लेख्नको लागि मैले चित्तबुझ्दो आधार भेटिसकेको थिइन, गलत कुरा प्रचार गर्दा पछि सबैले मेरै कुरा काट्थे, जान्ने भएर ब्लग लेख्यो भनेर। कसैले उल्लु बनाएको हुनसक्छ भनेजस्तो पनि लाग्यो ।

बाबुरामले फोन गरेर सोध्दा हुन्छ भनेपछि मैले एउटा सर्त राखेँ । मैले ट्विटमा भनेँ, “अहिले म फोन गर्न सक्दिन तर यो एकाउन्ट सक्कली हो र तपाई विश्वदिप पान्डे नै हो भने मलाई फेसबुकमा म्याजेस गर्नु, म यहाँ छु” भनेर आफ्नो फेसबुकको लिंक पनि दिँए ! उक्त ट्विट गरेर, पान्डेको म्यासेज कुरेर बसेँ, तर त्यो दिन फेसबुकमा कुनै म्यासेज आएन ।

उताबाट कुनै म्यासेज नआएपछि, भोलिपल्ट (२४ जुलाई २०११) आफैँले विश्वदिपलाई फेसबुकमा म्यासेज गरेर सोधेँ, “बाबुराम भट्टराई, ट्विटरमा आउनुभएको हो?” अनि माथि राखिएको ट्विटरको दुवै स्क्रिनसट पनि म्यासेज गरिदिँए । विश्वदिपले जवाफमा लेखे, “बाबुराम काम्रेडको कुनै पनि फेसबुक र ट्विटर छैन!”

ट्विटरमा विश्वदिप हुँ भन्ने अनि फेसबुकका असली विश्वदिप पान्डेले “बाबुरामको ट्विटर, फेसबुक छैन” भनेपछि, बाबुराम भट्टराईको ट्विटर एकाउन्ट “फेक” हो भन्न के को आइतबार ! उत्तिनै खेर ट्विट गरेँ, @baburamb को नाममा खोलिएको ट्विटर एकाउन्ट “फेक” हो । ज-जसले “फेक” एकाउन्टसँग अन्तरक्रिया गरेको देखेँ, उनीहरुलाई एकाउन्ट फेक हो भनेर मेन्सन गरेँ । तर केही व्यक्तिहरुले भने मेरो कुरा सुनेको नसुनै गरे, उनीहरु बाबुराम भट्टराई ट्विटरमा आए भन्ने हल्ला गर्दैरहे, भोलि, पर्सी पल्ट देखि  फेक एकाउन्टको वास्तै भएन !

मैले एकाउन्ट फेक भएको कुराहरु लगातार गरेपछि उक्त एकाउन्टले मलाई अनफलो गर्यो, अनि मलाई गरेको मेन्सन पनि सबै डिलिट गर्यो । “फेक एकाउन्ट”ले फलो गर्दा, मेन्सन गर्दा के नै गर्नु थियो र, बालै दिइएन । आज त्यही फेक एकाउन्टले यति कुरा गर्नुपर्यो, यस्तो दिन नि आउला भन्ने थाहा भएको भए, मसँग गरेको दोहोरो कुराकानी सबैको स्क्रिनसट राख्नेथिँए । अब ट्विटरको अर्काइवमा केही दिनपछि आफ्ना ती ट्विटहरु खोजौँला । ट्विटरले नि मौकैमा आफ्ना पुराना ट्विट हेर्न मिल्ने सुविधा ल्याइदे’को छ ।

अब नि उक्त एकाउन्ट सक्कली हो भन्ने तर्क दिँदै हुनुहुन्छ र विश्वदिपलाई गाली गर्दै हुनुहुन्छ भने मेरो भन्नु केही छैन । अन्त्यमा, खबर भेरिफाइ नगरी मैले त उ बेला ब्लग लेखिन भनेँ, हिमाल खबर जस्तो जिम्मेवार प्रकाशन गृहले उक्त ट्विटर “असली” हो भन्ने “भेरिफाइ” नगरी समाचार प्रकाशन गर्नुहुँदैन थियो भन्ने लाग्छ । ट्विटरमा अझै पनि २-३ वटा फेक एकाउन्टहरु छन्, उनीहरुले ट्विट गरेको कुरा टिप्दै समाचार बनाउने र त्यही कुराम बहस गर्न थाल्ने हो भने, म राम राम भन्न मात्र सक्छु ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा ट्विटेहरुको दिमागमा बसिरहला ।

4 comments :

  1. It was a trap!!! and I am glad that you did not fall for it.

    Yes, we can say Ram Ram!

    ReplyDelete
  2. कुरा यस्तो पो रहेछ । ठूला प्रकाशन गृहले जे लेख्छ त्यो सत्य हुन्छ भनेर जनताले बुझ्ने गरेका छन् तर ती गृहले सत्यतथ्य नखोजी समाचार बनाएको देख्दा उदेक लाग्यो । आकारलाई धन्यवाद ।

    ReplyDelete
  3. केशव थापा, दोहा-कतरJanuary 5, 2013 at 1:58 AM

    "उनीहरुले ट्विट गरेको कुरा टिप्दै समाचार बनाउने र त्यही कुरामा बहस गर्न थाल्ने हो भने, म राम राम मात्र भन्न सक्छु...............
    बाबुराम भन्न सक्दिन"....भनेर टुंगाएको भए अझ गज्ज़ब हुनेथियो भन्नी हाम्लाई लाईर'ख !

    ReplyDelete