ओह ! स्टार दुनियाँ… (Oh! Star Duniya)

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए।

oh-star-duniyaनाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ ।

नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती कुराहरु नै दर्शकको लागि हँसाउने गतिला खुराक बनेकाछन् । नाटकको सुरु देखि अन्त्य सम्म हाँसेको हाँसेकै भइन्छ । यसर्थ यसलाई ‘कमेडी ड्रामा’ पनि भन्न सकिन्छ । केही वर्ष पहिले गुरुकुलमा “बादशाहको लुगा” हेर्दा जति हाँसिएको थियो, “ओह! स्टार दुनियाँ” हेर्दा त्यसभन्दा नि धेरै हाँसियो । फिल्मी शैलीमा बोलिने सम्वाद, अनि फिल्मी शैलीको हाउभाउले कतिपय दृश्यमा पेट नै दुख्नेगरि हाँस्न पाइन्छ ।

नाटक हेर्दैजाँदा कहिँ कहिँ आफैँसँग साक्षात्कार गर्न पुगिन्छ । उनीहरुले गरेका संघर्ष र उनीहरुले देख्ने गरेको सपनाबाट हामी पनि गुज्रिएकाछौँ, किनकी हामी पनि फिल्महरुबाट अति नै प्रभावित हुन्छौँ । स्लो मोसनमा देखिने दृश्यहोस् वा एउटै कुरा तिन पटक देखाइने दृश्य हुन्, यी सबैकुराले हामीलाई कहिँ न कहिँ छोएकैहुन्छ ।

अनुप बराल निर्देशित “ओह! स्टार दुनियाँ”  फिल्मि दुनियाँ या भनौँ स्टार बन्ने सपना पालेर बसेका कलाकारहरुको कथा हो । फिल्मकै झल्को दिने २ घन्टा लामो नाटकमा विचमा मध्यान्तर पनि राखिएकोछ । अनि नाटकका दृश्यहरुलाई विभिन्न खन्डमा विभाजन गरिएकोछ। निर्देशक अनुप बरालले आफ्नो निर्देशकीयमा भनेजस्तै, “यो नाटकको सबैभन्दा शक्तिशाली पक्ष भनेको नै जीवनको विकट स्थितीमा पनि आफ्नो इच्छा, रहर र सपनाको मूल्यलाई हराउन नदिनु हो” । "ओह ! स्टार दुनियाँ " भारतका युवा नाटककर निल चौधरीले लेखेको तारामंडल नामक नाटकको नेपाली रुपान्तरण हो, जुन चर्चित फिल्मकार सत्यजित रे को लघु कथामा आधारित छ ।

Oh-star-duniya-dramaतपाई नाटक हेर्न मनपराउनुहुन्छ वा मन खोलेर केहीबेर हाँस्न चाहनुहुन्छ, वा आजसम्म थिएटरमा गएर नाटक नै हेर्नुभएको छैन भने पनि “ओह! स्टार दुनियाँ” हेर्न सुझाउँछु । दशैँ अघि ११औ पटक मन्चन भएको एक्टर्स स्टुडीयोको प्रस्तुति नाटक "ओह ! स्टार दुनियाँ " फेरि मञ्चन भएको छ र यो कार्तिक २५ गते (10th November 2012) सम्म सर्वनाम थिएटर, कालिकास्थान, घट्टेकुलोमा चल्नेछ। यो नाटक प्रत्येक दिन बेलुका ५:०० बजे सुरु हुन्छ ।

दशैँ अघि हेरिएको यो नाटक मलाई पुन: हेरौँ हेरौँ लाग्दैछ, सायद यो हप्तामा फेरि एकपटक सर्वनाम पुगेर मन खोलेर २ घन्टा हाँसिनेछ ।

0 प्रतिक्रिया :

Post a Comment