बर्फी...

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो।

हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो।

त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। parijaat-flowerसेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख रसाएर आऊँथ्यो। कत्ति मिठो होला त्यो भन्ने ‘फिलिंग’ आऊँथ्यो, एक दिन कति हो भनेर सोधेको, पसलेले दुईरुप्याँ भन्यो, मसंग पैसा थिएन, चुप लागेर फर्कें। कहिले दुई रुप्याँ जम्मा गरूँला र त्यो किनुला भन्ने हुन थाल्यो। अन्तत एक दिन कतैबाट दुइ रुप्याँजुगाड गरिछाडेँ। कत्ति खेर स्कुल पुगेर किनूँला जस्तो भयो। स्कुल पुगें, पसले त्यहीं थियो।

'उ यो एउटा दिनु' भनेर दुइ रुप्याँ दिएँ। उसले त्यो सेतो बर्फीजस्तो चीज मलाइ दियो। साथीहरुले देखे भने बाँड्नु पर्ला भनेर खुसुक्क गोजीमा हालें। अनि हुर्रिदै स्कुलको छतमा पुगें। त्यहाँ कोइ थिएनन्। र पनि सुटुक्क कसैले नदेख्ने गरेर निकालें, प्लास्टिक फोरें र मुख नजिक लगेँ। मिठ्ठो बासना आयो। अनि दंग पर्दै मुखमा क्वाप्प हालेँ र ग्वाम ग्वाम चबाएँ। फर्स्ट बाइट हानेर के चबाऊँदै थिएँ, हत्त र पत्त थुक्नु पर्यो, वाकवाकी आउला जस्तो भयो। त्यत्रो मन परेर त्यत्रो धैर्य र बचतले बर्फी भनेर किनेको त्योत पेन्सिल इरेजर पो रहेछ। आधा टुक्रा हातमा बाँकी नै थियो, मेट्न काम लाग्दो हो तर राख्न मन लागेन अनि फ्याकी दिएँ।

मन मनै मुर्मुरिएँ, अनि खिस्स परें, त्यो बेला दुइ रुप्याँ भनेको पनि धेरै हुन्थ्यो, त्यसमा तीन रुप्याँ थप्ने हो भने बिन्दबासिनी हलाँ सेकेन्ड क्लाँसको टिकेटै पाइन्थ्यो। बल्ल बल्लभ’को दुइ रुप्याँ पनि व्यर्थै गयो। त्यो बेला खुब चुकचुकाएँ। अहिले सम्झिँदा हाँसो लाग्छ।

बालापनमा हामी सबै जानेर नजानेर कति बिठ्याईँ गर्छौं, कति बिठ्याईँ कसैलाई भनेको हूँदैनौ अनि त्यति बेलाका तीनै बिठ्याईँ र बठ्याईँ पछी गएर ‘मेमोरी’ भनिदा रहेछन। इरेजर काण्ड खासै स्पेसल नभए पनि जब सम्झिन्छु, दिमाग भरी त्यही वरिपरिको समय फर्केर आइदिन्छ, साथीहरु हाल्फ कट्टु लाएर उफ्रिंदै आइपुग्छन। अनि त्यही हुने रहेछ स्वीट मेमोरी। जस्टलाइक बर्फी...!

- N®B

(यो अनुभुति निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि पनि केही आफ्ना कथा र अनुभुतिहरु लेखिसक्नुभएकोछ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ । अहिले हलहरुमा चलिरहेको ‘बर्फी’ र यो कथाको कुनै सम्बन्ध भने छैन है!)

6 comments :

  1. भर्खरै रिलिज भएको film 'बर्फी' र यो 'बर्फी'
    बीच कुनै सम्बन्ध न भए तापनि दुवै एकै पटक रिलिज भएकोले श्रोतालाई चाही अलि confusionma
    पारिने भइएछ ....
    Anyways a commendable effort...Nicely expressed by the writer...:-)

    ReplyDelete
  2. एकैपटक रिलिज हुनु संयोग मात्र हो । :)

    ReplyDelete
  3. Awesome, marvelous, fabulous. No words to express..Very nice bro. Keep it up.

    ReplyDelete
  4. Pure innocence! What a way to tell the childhood memory?

    ReplyDelete
  5. Tyo
    बिन्दबासिनी hal ko kuro ley malai pani mero bachpan ko yaad aayo... 6-7 class padta ho.. Raja Hindustani lako thiyo butwal ko yeuta hall ma..... bhid ta bhaynkar bhayera hola ticket ta jammai black ma matrai paune. 20 rupya ko ticket 40-50 . tetro paisa kata bata hunu ani yeuta sanibar 7 baje ko morning show ma 5 baje nai puge hall agadai.. ticket counter ma 1 ghanta line layepachi balla 15 rupya ma first class ko ticket kinera film here.. haha .. tyo ni kya jamana thiyo...

    ReplyDelete