५ सेन्टको सिक्काले भरिएका ट्रकहरु मार्फत सामसुङले एप्पललाई १ अर्ब जरिवाना तिरेको खबर झुटो

इन्टरनेटमा फैलिएको खबरहरुका कारण अहिले गफ गर्नेको लागि गज्जबको 'टपिक' मिलेकोछ । सामसुङले जरिवाना स्वरुप १ अर्ब डलर, एप्पललाई तिर्नुपर्ने भएकोछ । यहाँसम्म त ठिकै थियो तर पछिल्लो खबर अनुसार त, सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रकहरु मार्फत एप्पललाई जरिवाना तिर्यो भन्ने खबरहरु फेसबुक र ट्विटरमा छ्याप्पछ्याप्ति फैलिएकाछन् । खबरमा लेखिएकोछ, "Samsung paid Apple its $1bn fine by sending more than 30 trucks to Apple's headquarters loaded with nickels [5-cent pieces]".
एप्पललाई सामसुङले गज्जब तरिकाले बिगो वापतको रकम तिर्यो भन्ने हल्लाका कारण कोही सामसुङको आइडियालाई स्यावासी दिइरहेकाछन् त कोही एप्पललाई अब त भेटिस नि शैलीले धारे हात लगाइरहेकाछन् । खबर आफैँमा रमाइलो र रोचक छ । तर खबर जति रमाइलो छ, त्यति नै यथार्थको धरातलबाट टाढा रहेकोछ । सिधा रुपमा भन्दा, यो एउटा झुटो खबर हो । रमाइलो 'अनिअन' शैलीको मेक्सिकन साइट 'एल्डेफर्मा' नामक साइटबाट फैलिएको आशंका गरिएको यो खबरले अनलाइनमा भने राम्रै तहल्का मच्चाइरहेकोछ । खबर झूटो नै भएपनि अधिकांशले यही खबरलाई सही मानेर फेसबुक, ट्विटर अनि ब्लगमार्फत 'सेयर' गरिरहेकाछन् ।

तर साँच्चै भन्दा, एप्पल र सामसुङ बिचको मुद्दाको छिनोफानो भएको छैन । एप्पल र सामसुङ बिचको मुद्दाको छिनोफानो आगामी सेप्टेम्बर वा डिसेम्बरमा गरिने भएकोछ । सामसुङले साबिक'कै तिर्नुपर्ने हो वा बढि, घटि कति तिर्नुपर्ने हो भन्ने कुरा मुद्दाको फैसला भएपछि मात्र थाहा हुनेछ । हिसाबै गर्न हो भनेनि १ अर्ब डलर बराबरका ५ सेन्टका सिक्काहरु ३० वटा ट्रकमा पक्कै अटाउँदैनन् ।

यो खबर इन्टरनेटमा आगोसरी फैलिएको देख्दा लाग्छ, हामी जे कुरा पनि सहजै विश्वास गर्ने रहेछौँ । सबैलाई त भन्दिन तर फेसबुक र ट्विटरमा हेरिएको 'अपडेट'को आधारमा भन्ने हो भने, अधिकांशले यो 'हावा' खबरलाई पत्याएको देखियो ।

0 प्रतिक्रिया :

Post a Comment