बिजुलीको खम्बा र राजनिती

हामीकहाँ दैनिक लोडसेडिङ हुन्छ, तर लोडसेडिङ हुँदै गर्दा पनि विद्युतिकरणको कार्य भने रोकिएको छैन रे, रोकिनुपनि हुँदैन । लोडसेडिङ भइरहेको छ, अहिले त बिजुलीको माग धान्न सक्या छैन, अन्यत्र विद्युतिकरण किन गर्नुपर्यो भन्ने तर्क नि हुँदो हो । तर मेरो विचारमा विद्युतिकरण सँगसँगै हुँदै जानुपर्छ, हाइड्रोपावरहरुको निर्माण छिटो छिटो हुँदै जानुपर्छ ।

बिजुलीको खम्बा उभ्याइसकेपछि, तार टाँगिसकेपछि, लोडसेडिङ नै हुने भएपनि घरमा बिजुली बल्न कति समय लाग्ला? १ महिना, १ वर्ष ? तर होइन बिजुलीको खम्बा गाडेको दशौँ वर्ष पछि पनि बिजुली नबल्न सक्छ । हो, नबल्न सक्छ? कारण, हाम्रो नेताहरुको राजनितीक दाउपेच । “विकास” भन्ने कुरा, राजनितिक दल र नेताहरुको राजनितिक अस्त्र ।

Electric-Pole-Nepalमाथि फोटोमा बिजुलीका खम्बा र तारहरु देख्न सक्नुहुन्छ । तपाईहरु अनुमान गर्नसक्नुहुन्छ? यो खम्बा कहिले गाडियो? किन गाडियो? निश्चय नै बिजुलीको खम्बा बिजुलीका लागि नै हो । तर बिजुलीको खम्बा गाडिनु चुनावमा भोट माग्ने काइदा रहेछ भनेर, म बल्ल बुझ्दैछु । यो कुरा कुनै दुर्गम गाउँको होइन, यो कुरा धेरै टाढाको पनि होइन । हप्ता दिन पहिले, घरजाँदा आफ्नो जन्मस्थान नि जान मन लागेकोले आफ्नो जन्मस्थान गइएको थियो । बिजुलीका खम्बा अनि तारहरु देख्दा आफ्नो जन्मस्थानमा नि बिजुली आइसकेछ भने जस्तो लाग्यो । तर होइन रहेछ, बिजुलीका खम्बा र तारहरु गाडिएका र टाँगिएका मात्र रहेछन् । यो कुरा देखेपछि, काठमाडौँमा बसेर मधेसी जनता वा भनौँ आम नेपाली जनता भन्दै भाषण ठोक्ने नेताहरु, अनि काठमाडौँ बसेर देश मैले देखेको छु भने जसरी लेख लेख्ने र ट्विटरमा आफ्ना गह्रुङगा प्रवचन दिने पत्रकारहरु प्रति टिठ लाग्यो । काठमाडौँ बसेर, देशका जनता भन्दै गफ हाँक्न जति सजिलो छ, त्यती सजिलो छैन जनताको जिवन । यदि जनताको कुरा सुनेका र बुझेका भए, व्यक्ति पिच्छेका आफ्ना दल हुँदैन थिए । हिजो मात्रै कान्तिपुरमा पढेथेँ, संविधान सभामा ६ वटा रहेका मधेसी दलहरु टुक्रा भएर अहिले १७ वटा भएका छन् रे।

२०५६ सालको आमनिर्वाचनमा भोट बटुल्नका लागि बिजुलीको खम्बा गाडिएको थियो । अहिले २०६९ साल हो । यस हिसाबले बिजुलीको खम्बा गाडेको लगभग १४ वर्ष भइसकेछ (चुनाव हुनु भन्दा छ महिना – एक वर्ष पहिले नै बिजुली आउँछ झैँ गरि, बिजुलीको खम्बा गाडिएको थियो, तारको तल पर्ने रुखहरु काट्न लाइएको थियो) । देशमा ठूला परिवर्तन भइसके, आमनिर्वाचन अघि गाडिएको बिजुलीको खम्बाको स्थिति संविधानसभाको चुनाव भएको ४ वर्ष पछि पनि उस्तै छ । तर जनता जनता भनेर नथाक्ने नेताहर, अनि दलहरुले सायद जनताको बारेमा सोचेको भए, २०५५ सालमा गाडिएको बिजुलीको खम्बा भएका गाउँमा १-२ वर्ष भित्रैमा बिजुली दिन्थे होला । बिजुली नभएर भनौँ भने, अझ त्यस बेला त लोडसेडिङ पनि थिएन ।

मलाई नेताहरु भोट माग्न घर घर गएको दिन अझै याद छ । नेताका पछि पछि सयौँ कार्यकर्ताहरु पनि घर घर छिरेका थिए । महन्थ ठाकुरले, घरैपिच्छे पस्दै नमस्कार गर्दै, भद्र शैलीमा आमनिर्वाचनको लागि भोट मागेका थिए । १० वर्षको फुच्चे म पनि उनकै पछि पछि १०-१२ घर डुलेको थिँए । गाउँमा चर्चा थियो, महन्थ ठाकुरले बाटो बनाइदिए, बिजुलीको खम्बा पनि गाड्न लाइसके, अर्को साल त यो ठाउँ झिलिमिलि हुन्छ । बिजुलीको कल्पनाले मात्रै पनि मन उडेर कहाँ कहाँ पुगेथ्यो । आमनिर्वाचन भयो, अत्याधिक बहुमत ल्याएर महन्थ ठाकुर हाम्रो क्षेत्रको सांसद भए । तर त्यसपछि उनी कहिले गाउँमा आएकाछन् भन्ने हल्ला भयो, न घरघरमा बिजुली नै बल्यो । आज जिल्लामा नेता आएकाछन् रे, भन्ने कुरा चाँही धेरै पटक सुनेँ ।

बिजुलीको खम्बा गाडिएको १४ वर्ष सम्म पनि जनताले बिजुली बाल्न पाएका छैनन् । अत: देश र जनताको बारेमा ठूला ठूला गफ हाँक्ने, आन्दोलनको ध्वाँस दिने नेता र दलहरु प्रति वितृष्णा जागेको छ । काठमाडौँ बसेर, राजनिती गर्ने, अझ भनौँ दलहरुको वकालत गर्ने युवा नेताहरु, पत्रकारहरु देखेर पनि साह्रै टिठ लागेर आउँछ र भन्न मन लाग्छ, एकपटक गाउँ गाउँ डुलेर हेर, जनतालाई के चाहिएको छ, आफैँ थाहा हुन्छ । जनतालाई १४ वर्ष अघि नै बिजुली बाल्न पाउने आश्वासन दिइएको थियो । तर खै, यति एउटा कुरा त १४ वर्ष सम्म पुरा भएको छैन भने, नेताले जनताको हक अधिकार भन्दै बन्द र विरोध गर्नुको कुनै औचित्य छैन । चाहे कांग्रेस होस् वा एमाले, माओवादी र मधेसी दल नै किन नहुन् सबै कुर्सीका पछि छन् । आफू मन्त्री र प्रधानमन्त्री मात्र हुने धुनमा छन् । अनि कांग्रेसको कुरा माओवादीलाई अपाच्य लाग्छ, माओवादिको कुरा अरुलाई अपाच्य लाग्छ ।

मैले राजनिती भन्नेकुरा थाहा पाएदेखि बुझेको कुरा, सबै राजनितिक दलहरु प्रधानमन्त्रीको कुर्सीमा को बस्ने भन्ने ध्याउनन्नमा मात्र लागेका छन् । एउटाको सरकार बनेको भोलिपल्ट, त्यसलाई कसरी छिर्के लाउन सकिन्छ भन्ने योजना बन्न थाल्छ । सरकार ढालिन्छ, अनि अर्को सरकार बन्न कसरत गरिन्छ । अर्को सरकार बन्छ, अनि फेरि अर्को सरकार बन्छ । सरकारहरु फेरिँदै जान्छन्, जनताको लागि नाराहरु घन्काइरहन्छन् तर जनता सँधैको जनता । जुनसुकै सरकार आएपनि, देशमा जे सुकै परिवर्तन भएपनि, जनतामा कुनै परिवर्तन आउँदैन ।

6 comments :

  1. hamro area ma ni eastai ho same as this....

    ReplyDelete
  2. I think the paradox was whether the sansad was supposed to be distributing the dreams or making laws. People had high expectations from the dreams that they spread, and  no return.  No wonder there are Electricity poles, water pipes, etc stranded in the villages. 

    ReplyDelete
  3. nice and true article. thanks for your article, i want to read next article like this.

    ReplyDelete
  4. nice article, i appreciate the issue that you have brought out..

    ReplyDelete