Suscribe via RSS

Thursday, March 01, 2012

ट्वीटरसँगका आफ्ना अनुभवहरु [नितान्त व्यक्तिगत]

|

ट्वीटर चलाउँदा बेग्लै किसिमको रमाइलो हुन्छ, चाहे सूचना समाचार होस् वा सन्चो विसन्चो सोध्न होस् वा अन्य नयाँ कुरा थाहा पाउन वा साथी बनाउन नै होस्, हरपल हरक्षण ट्विटरमा भुलिरहन मनलाग्छ ! केही साथीहरुलाई भर्खरै पनि ट्विटर चलाउन आग्रह गरेँ, यो ट्विटर फेसबुक भन्दा के फरक छ, यसबाट के हुन्छ भन्ने किसिमको जवाफ पाँए ! मेरो सुझाव थियो, रेगुलर एक हप्ता जसरी नि चलाउ, आफैँ थाहा हुन्छ ट्विटर भनेको के हो भनेर ! अनि ट्विटर चलाउनेहरुलाई ट्विटर के हो भनेर, बुझाउनु पर्छ जस्तो पनि लाग्दैन !

माइक्रोब्लगिङ साइट ट्वीटरको बारेमा सबैको आ-आफ्नै किसिमको धारणा होला, अनि यसको प्रायोजनको कारण पनि सबैको लागि फरक-फरक नै होला । कोही ट्वीटर रमाइलोको लागि चलाउँछन्, कोही आफ्नो विचार प्रवाह गर्न चलाउँछन्, कोही सूचना तथा समाचारको लागि प्रयोग गर्छन्, कोही साथीसँग नजिक भइरहनको लागि प्रयोग गर्छन्, कोही आफ्नो व्यापार-व्यवसायको प्रचारप्रसारको लागि प्रयोग गर्छन् । ट्वीटर जसले जसरी पनि चलाउन सक्छ, राम्रो सँग चलाएको खण्डमा रमाइलो हुन्छ, राम्रो प्रतिफल निस्किन्छ ! ट्वीटरको दुरुपयोग गरेको खण्डमा प्रतिफल नराम्रो नै हुन्छ ।

new-twitter१४० “क्यारेक्टर” मा सिमित माइक्रोब्लगिङ साइट ट्वीटरका (Microblogging site Twitter) बारेमा ब्लगमा पहिले पनि धेरै चर्चा गरिसकेँ । यस ब्लगमा ट्वीटरबारेको आफ्नो अनुभवलाई प्रस्तुत गर्ने जमर्को गरेको छु ! करिब ५ वर्ष अघि काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै यो ब्लग सुरुभयो, हाइफाइभ छोडेर फेसबुक चलाउन थालियो, अनि अहिले ट्वीटर, पछि गुगलप्लस र अन्य धेरै सोसल मिडिया साइटहरु । इन्टरनेटले केही व्यक्तिलाई भेटायो, केहीलाई छुटायो । सामाजिक सञ्जाल मार्फत भेटिएका र छुटिएकाहरु प्रति केही गुनासो छैन ! जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने मलाई लाग्छ ।

ट्वीटरको बारेमा केही समय पहिले लेखेको ब्लगले ट्वीटरमा यति धेरै साथीहरुलाई आकर्षित गर्ला भन्ने सोचेको थिइन (आफ्नो साथी सर्कलको कुरा गर्दैछु) । फेसबुकमा रमाइरहेका साथीहरुलाई ट्वीटर चलाउन सुझाव दिनु एक चुनौती झैँ नै थियो । तर पनि केही साथीहरु एकपटक भनेकै भरमा ट्वीटरमा आइपुग्नु भयो, कतिले चलाउनु भयो, कतिले ट्वीटर नबुझेर छोड्नु भयो, छोड्नेहरु सायद कुनै दिन ट्वीटरमा फेरि आउनु हुनेछ । करिब २-३ वर्ष पहिले आफ्नो सर्कलमा ट्वीटर चलाउने साथीहरु थिएनन्, मुस्किलले केही व्यक्ति भेटिन्थे, ती पनि “एक्टिभ” थिएनन् । ट्वीटरमा पहिलो ट्वीट के लेखेँ याद छैन, अनि किन ट्वीटरमा आएँ पनि याद छैन, यत्ति थाहा छ, ट्वीटर मेरा लागि  नयाँ कुरा थियो।

त्यसबेला ट्वीटरमा केही साथी थियौँ, जो हरदम आपसमा कुरा गर्दै ट्विट गर्थ्यौँ । उनीहरु को हुन्, के हुन् केही थाहा थिएन मात्र ट्वीट गरिन्थ्यो । आपसमा रमाइलो कुरा गरिन्थ्यो । “आकार पोष्ट”का साथै “ग्लोबल थट्ज” (अहिले बजम) मा लेख्न थालेपछि मैले ट्वीटरको व्यापक प्रयोग गर्न थालेँ । त्यसै समय देखि प्रविधी र सोसल मिडिया सम्बन्धी सामाग्रीमा विशेष रुची बढ्न थाल्यो । प्रविधी र सोसल मिडियाको सामाग्रीमा रुची बढेपछि, आफूलाई आवश्यक पर्ने खुराकहरुको लागि ट्विटरमा खोज्न थालेँ । 

यतिबेला सम्म म ट्वीटरमा “एडिक्ट” भइसकेको थिएँ, मलाई देशको राजनिती भन्दा “एप्पल र गुगल” बिच चलिरहेको राजनिती प्रति विशेष चासो थियो, अनि ट्विटरमा आइपुग्ने विभिन्न व्यक्तिहरुको ट्वीटरफिडलाई पच्छ्याउँदै, उक्त समाचार सम्म पुग्थेँ, यद्दपी यो क्रम यथावत नै छ । यसबाहेक साथीभाइसँग हुने कुराकानी त छदैँ छ, ब्लगमा मात्र विचार राख्दै आएको म अब ट्वीटरमै समय सान्दर्भिक विचारहरु राख्न थालेँ, अन्जान मै आफ्नो ब्लगको प्रचार प्रसार फेसबुक र ट्वीटरमा गर्न थालियो । अहिले सोच्दा छक्क पर्छु, ट्वीटर, फेसबुक लगायतका सामाजिक सञ्जालका साइट त प्रचार प्रसार गर्नको  लागि निकै गज्जब ले प्रयोग गर्न सकिँदो रहेछ । फेसबुक ट्वीटर मै साथीहरु सँग अन्तरक्रिया गर्न थालियो ।Facebook Twitter

फेसबुकको प्रयोग बढेसँगै केही ब्लगर साथीहरुको गुनासो सुनियो, अब ब्लग खत्तम भयो, कसैले ब्लग पढ्दैनन् । तर “आकार पोष्ट”लाई यही फेसबुक र ट्वीटर वरदान सावित भयो, झन् धेरै साथीहरुले फेसबुक र ट्वीटरको लिंक पच्छ्याउँदै ब्लग हेर्न थाल्नुभयो । आकापोष्टको फेसबुक पेज हेर्नुभयो भने केही अप्ठ्यारो महशुस होला कारण पेजको नाम “आकार पोष्ट” नराखी “युआरएल” (URL) राखिएकोछ, कारण फेसबुकले फेसबुक पेज सार्वजनिक गर्दा यसको उपयोगिता थाहा थिएन तर जहिले फेसबुक पेजको उपयोगिता बुझियो त्यसबेला सम्म ढिलो भइसकेको थियो, सय भन्दा धेरै साथीहरुले फेसबुक पेज लाइक गरिसक्नु भएको थियो ।

ट्विटर के कुराको लागि चलाइन्छ भन्ने कुराले विशेष महत्व राख्दोरै’छ ! सुरु सुरुमा ट्विटर धेरैजसो हाँसो मजाक गर्न प्रयोग गरिन्थ्यो, अनि अहिले चाँहि यसमा थोरै परिवर्तन गरिएकोछ ! हाँसो ठट्टाका अतिरिक्त आफूसँग सम्बन्धित विषय या भनौँ आफ्नो ‘काम’ र ‘क्यारियर’ सम्बन्धित कुराहरुको लागि ट्विटरको उपयोग गरिरहिएकोछ !  दायाँ साइडको फोटोमा भनिएजस्तै कसै-कसैले फेसबुक र ट्विटरमा आफ्नो समय बिताउनेहरुको खिल्ली नि उडाउँछन्, तर आफ्नो कामसँग सम्बन्धित विषयको लागि समय बिताइन्छ भने त्यसले फाइदै गर्छ !

पहिले मलाई थाहा थिएन र खासै ध्यान पनि दिइएको थिएन तर पछिल्लो समयमा ट्विटरमा आफ्नो कामसम्बन्धि कुराहरुमा विशेष चासो दिन थालियो ! जब आफ्नो काम र क्यारियर सँग सम्बन्धित कुराहरु ट्विट गर्न थालियो, त्यही कुराहरु खोज्न थालियो ! संयोग नै मान्नुपर्छ, महिना दिन अघि सोपा/पिपा सम्बन्धि गरिएको ट्विट, ट्रेन्डिङ टपिक पनि बन्न पुग्यो !

@aakarpost's worldwide top trending tweetsअनि केही दिन पहिले फेसबुकमा एउटा म्यासेज आइपुग्यो, जुन तल फोटोमा राखिएकोछ ! उक्त म्यासेज पढेपछि आफैँ छक्क परेँ, आफ्नो कामसँग सम्बन्धित क्षेत्रका व्यक्तिहरुले ट्विटरमा पच्छ्याउने, नियाल्ने गर्दारहेछन् !

fb-msgमहिनादिन पहिले ट्विटरबाटै आफूले सोधेको प्रश्नको जवाफ चर्चित SEO ब्लग SEOMoz मा प्रकाशित भयो, जुन मेरो लागि खुशी  र गौरवको कुरा थियो ! सर्च इन्जिन ल्यान्ड र गिगाओम जस्तो विश्व चर्चित ब्लगका ब्लगरहरु सँग ट्विटरमार्फत अन्तरक्रिया गर्न पाउनु, अनि आफ्नो खुल्दुली सिधै उनीहरु (एक्सपर्ट)बाट मेट्न पाउनु, अर्को खुशीको कुरा हो !

seomoz answerट्विटरमा गरिएको ट्विट र गुगलप्लसमा गरिएको अपडेट हेरेर विश्वका विभिन्न देशहरुबाट ईमेल, म्यासेज आउनु, आफ्नो बारेमा चासो राखिनु पनि आफ्नो लागि त राम्रो नै हो ! हुन त हिजो मात्रै पनि ह्याकर न्युजमा पढ्दै थिँए, एकजनाले लेखेको ब्लग ह्याकरन्युजमा माथि देखिएपछि, उसलाई एक कम्पनीले जागिर नै दिएछ! ह्यासट्याग फलो गरेर पनि ट्विटरमा धेरै कुराहरु गर्न सकिन्छ !

यसबाहेक, ट्विटरका साथीहरुसँग हुने रमाइला अन्तरक्रियाहरुको त कुनै मुल्य नै छैन, ट्विटर मार्फत नै हजारौँ साथी पाइएकोछ ! हरेक पटक नयाँ कुराहरु जान्न र बुझ्न पाइरहिएको हुन्छ ! कति कुराहरुमा सही थापिन्छ भने केही कुराहरुमा बहस र छलफल पनि गरिन्छ ! हालैका दिनमा ट्विटरमार्फत नै समाजसेवा पनि गरिएकोछ भन्दा फरक पर्दैन ! मलाई लाग्छ, ट्विटरबाट अहिलेसम्म पाएको उपलब्धि नि यही हो !

यति हुँदा हुँदै पनि, ट्विटरबाट फाइदा लिन सक्ने वा नसक्ने कुराहरु भने, ट्विटर चलाउने व्यक्तिमा भर पर्छ ! आफ्नो विषयमा केन्द्रित भएर, ट्विटर चलाइन्छ भने, यसबाट फाइदा पुग्छ यदि त्यसो गर्न सकिँदैन भने, ट्विटरबाट आफूले सोचे अनुसार फाइदा नहुन सक्छ!

अहिलेलाई यत्ति बाँकी कुरा कुनै दिन अर्को ब्लगमा गरौँला !

ट्विटरमा आकारपोष्ट @aakarpost

तस्विर: दोस्रो फोटो सिआइडि जोक्स फेसबुकपेजबाट लिइएको हो

0 प्रतिक्रिया:

Hamro-Circle

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^