भीम विरागको सिंगो आकाश

बिहानै एक जना मित्र राजेश केसीको ट्विटमा ‘भीम विराग आर. आइ. पी.’ भनेर लेखिएको देख्दा एक पटक आङ्ग ढक्क फूल्यो । हुन त भीम विरागले ७८ वर्षमा टेकिसकेका थिए । पोहोर साल पनि बेस्मारी बिरामी परेका थिए । यस पटक पनि अस्पतालमा भर्ना भएको कुरा केही दिन अघि थाहा भएको थियो । भेट्न जान पाइएको भने थिएन । संसारमा कसैको पनि अजम्मरी देह हुँदैन भन्ने पनि थाहा नभएको कहाँ हो र ? तर यति सबै हुँदाहुँदै पनि त्यो ट्विट लाई आँखाले सही पढे पनि मनले एकै पटक स्वीकार गरेन । दुइ पटक पढेपछि मात्र जिन्दगीको अन्तिम र कटु यथार्थ घन बनेर दिमागमा ठोक्कियो ।

भीम विराग रहेनन् ।

Bhim Biragव्यक्तिगत रुपमा पनि संगत गर्ने अवसर पाइएका मान्छेहरुको अवसानले अलि धेरै बिचलित बनाउँछ । भीम विरागसंग पनि पछिल्लो समयमा थोरै तर सार्थक र आत्मीय संगत गर्न पाइएको कारणले होला, मन एकतमासको भएर आयो । मित्र आभासलाई फोन लगाएँ, उनले पाटन अस्पतालमै हो भनेपछि त्यता तिर हुइँकिंदा ती केही भेट र उनका कुराहरु मनमा खेलिरहे ।

उनले एकपटक गुनासो गरेका थिए, “मैले सिंगो आकाश कहिले पनि हेर्न पाइनं ।”

उनको संकेत आफ्नो कुप्रिएको शरीर प्रति थियो । ठाडो भएर उभिन नसकेकोमा उनले गरेको त्यो गुनासोको उत्तर मैले नेपाल साप्ताहिकमा भर्खरै लेख्न सुरु गरेको स्तम्भ मार्फत दिएको थिएँ । सिंगो आकाश हेर्नुको अर्थ के हो र जीवनका कष्टलाई जितेर आफ्ना सिर्जनाका माध्यमबाट लाखौं पाठक र श्रोताहरुलाई लोभ्याउने उनी जस्ता अथक सर्जकको तुलनामा हामी पो सिंगो आकाश नदेख्नेहरु हौं भनेर मैले उनको भनाइको प्रतिवाद गरेका थिएँ । मिजासिला र फरासिला भीम विरागसंग त्यसपछि पनि केही आत्मीय भेट भएका थिए । पछि आफ्नो श्वासप्रश्वासको रोगलाई काठमाण्डौंको हावा सुहाएन भनेर आफ्नो जन्मथलो हेटौंडा जानु भएपछि उहाँसंग भेट हुन सकेको थिएन । कहिले कहीं च्याटमा उनकी छोरी आभा भेटिन्थिन्, दाइको हालखबर सोध्थें, उनी ठीक छ भन्थिन्, बुबाले तपाईंलाई खूबै सम्झनुहुन्छ भन्थिन्….बस् ।

पाटन अस्पताल पुग्दा त्यहाँको पछाडि पट्टि मृत शरीरहरु राखिने स्थानमा भीम विरागको निष्प्राण शरीरलाई सेतो कपडाले छोपेर राखिएको थियो । आभास, आभा, उनका पति र एक दुइ जना मात्र पुगेका थिए । आभासले भनेको एउटा कुराले मनमा च्वास्स घोच्यो,
“सहर ठूलो मात्र हैन, निर्दयी पनि भएको छ हगि ?”

हुन पनि हो, ठूलो भएपछि सहरमा मान्छेहरु मात्र नभै प्रतिस्पर्धा र संघर्ष पनि बढ्छ । त्यसले मान्छेको जीवनलाई यन्त्रचालित बनाउँछ । अनि चाहे पनि नचाहे पनि मान्छे नजानिंदो गरी निर्दयी बन्छ । केही दिन अघि थाहा भएर पनि उनलाई भेट्न जान नसक्नुमा आफूमा पनि त्यो निर्दयताको प्रभाव परेको त हैन भनेर डर पनि लाग्यो । तर नढाँटी भन्दा भीम विरागदाई जालान् कि भन्ने एक रति पनि शंका मनमा पलाएको थिएन । उनको जीवन नै एउटा ठूलो संघर्ष थियो, अरु साधारण मान्छेले भए उहिल्यै हरेस खाइसक्ने परिस्थितिहरुलाई पछारेका भीम विरागले अघिल्लो साल पनि अस्पताललाई जितेर देखाएका थिए । सायद उनको जुझारुपनामाथि आवश्यकता भन्दा बढी भरोसा पालेको थिएँ कि त मैले ?

उनको अचल शरीरलाई बेरेको कपडामा अस्पतालले एउटा सानो कागज टाँसिदिएको थियो, जसमा जीवनको सबै भन्दा ठूलो, कटु र अन्तिम सत्य लेखिएको थियो । उनको नाम, अस्पतालको विरामी संख्यामा उनको नम्बर ६५९१८७, आइसीयू नं ३ र एक्स्पायर्ड अन २०६८, ११, १५ ।

Bhim Birag Expired

उनको जुन शरीरका लागि उनले सिंगो आकाश देख्न नपाएको गुनासो गरेका थिए, त्यसैका कारण उत्तानो पारेर सुताइँदा उनको कुम भन्दा माथि शिरको भाग उचालिएको थियो । मलाई लाग्यो, मृत्यु भन्ने सबैभन्दा डरलाग्दो कुरा, जसले मान्छेका हरेक उपलव्धिलाई गौण र निरर्थक बनाउने दम्भ गर्छ, भीम विरागसंग त्यो पनि हारेको हो । किनभने मानिस मरेपछि लमतन्न पर्छ, उसको शरीरले समर्पण गर्छ । सम्राट होस्, अरबौंपति होस्, जो सुकै होस्, उसको टाउकोले जमीन छोएर आफूलाई धरातलमा लैजान्छ । तर, भीम विरागको शिर त गर्वका साथ ठाडो थियो । बाँचुन्जेल जीवनका कठीनभन्दा कठीन समरहरु जितेका भीम विरागले मर्ने बेला पनि मृत्युको दम्भलाई चुनौती दिएर अनन्तयात्रामा निस्केको भान हुन्थ्यो ।

उनले सुन्न सक्ने भए मलाई सोध्न मन लागेको थियो,
देख्नुभो त भीम दाइ ? सिंगो आकाश देख्न नसक्ने तपाईं हैन, हामी हौं ।

- ब्रजेश खनाल (पहिलोपटक लेखक कै ब्लगमा प्रकाशित)

3 comments :

  1.  आभासले भनेको एउटा कुराले मनमा च्वास्स घोच्यो, 
    “सहर ठूलो मात्र हैन, निर्दयी पनि भएको छ हगि ?”

    ReplyDelete
  2.  आभासले भनेको एउटा कुराले मनमा च्वास्स घोच्यो, 
    “सहर ठूलो मात्र हैन, निर्दयी पनि भएको छ हगि ?”

    ReplyDelete
  3. mann chhoyo.. dhanyabaad Aakarpost yo lekh share gareko ma! :)

    ReplyDelete