Suscribe via RSS

Monday, February 20, 2012

चर्चा फेरि पनि जातिय संघियताकै [BBC Sajha Sawal]

|

नेपालमा “संघियता” अत्यन्तै संवेदनशिल विषय बन्दै गएकोछ ! जातपात, ठूलोसानो, उचोँनिचो नमान्ने व्यक्ति तथा पार्टिहरु जातको आधारमा “संघियता”को बहस र वकालत गरिरहेका भेटिन्छन् ! सबै पार्टिका आ-आफ्नै प्रकारको संघियताको मोडल छ, अनि विभिन्न जातजातीका व्यक्तिहरुको आफ्नै प्रकारको माग छ, आफ्नो जात-जातीको पहिचानको आधारमा संघियता चाहिएकोछ, राज्य चाहिएकोछ ।

पार्टिहरु अनि जातजातीले अघि सारेको संघियताको मोडल सबै आ-आफैँमा बाझ्ने किसिमका छन् ! सबैलाई आफ्नै राज्य चाहिएकोछ, तर यस प्रकारको संघियता किन खोजीरहेकाछन् अहिले सम्म बुझ्न सकेको छैन ! भूगोलको आधारमा गरिनुपर्ने राज्यको पुनर्संरचना, यहाँ जातको आधारमा अघि सारिएकोछ । जातपातको विभेद नमान्ने भन्नेहरु नै, जातीय राज्यको प्रणेता छन् !

बिबिसी वल्ड ट्रष्टको हिजोको अंकको “बिबिसी साझा सवाल” सुनेपछि संघियताको बारेमा फेरि पनि सोच्न बाध्य भइयो ! कार्यक्रममा अतिथीका रुपमा माओवादी, एमाले लगायतका पार्टिबाट नेताहरु आएका थिए, अनि आफ्ना कुराहरु मात्र ठिक भन्दै, अरुका कुरा काट्दै थिए, बहस गर्दै थिए !

No Federalismकेन्द्रिकृत राज्यहुँदा, सेवा सुविधाहरु एकैठाउँमा थुप्रिएकै हुन् तर यसो भन्दैमा यसको समाधान जातीय संघियता पक्कै पनि होइन ! मेरो बुझाइमा जनतालाई सुलभ सेवा चाहिएकोछ, जातिय राज्य चाहिएको छैन ! अनि मेरो बुझाइमा जनताका नेता हुँ भन्नेहरुलाई चाहिँ जातिय राज्य चाहिएकोछ, त्यसपछि के गर्न सकिन्छ भन्ने कुरा चाँही उनीहरुलाई नै थाहा होला !

जब पनि नेताहरुको संघियताको तर्क सुन्छु, पारो मात्रै तातेर आउँछ ! मन नपरेरै पनि, कुरा सुन्नुपर्छ ! जातीय आधारमा संघियता हुनुहुँदैन भन्दा, उनीहरु तर्क दिन्छन्, यति धेरै जातजाती छन्, सबैको पहिचान हुनुपर्छ ! तर जातीय पहिचानलाई कसरी परिभाषित गर्ने? कतिवटा राज्य बनाउने?  यति प्रतिशत भन्दा माथिका जातीलाई एउटा छुट्टै राज्य दिने, फेरि नि कुरो बुझ्न सक्दिन, किन चैँ जातीको आधारमा राज्य दिनुपर्यो? मिश्रित जातीको बसोबास रहेको ठाउँमा, जातीय आधारमा राज्य बनाउनु भनको, फेरि पनि आपसी कलह र युद्ध नै निम्त्याउनु हो ।

देश नेपाल, अनि नेपालमा बसोबास गर्ने हामी नेपाली तर अब लाग्छ हामीलाई नेपाल र नेपाली भन्दा पनि, यो बाहुन, यो क्षेत्री, यो मगर, यो नेवार, यो तामाङ भन्न हतार भइरहेछ ! हामी जसरी मिलेर बसेका थियौँ, अब बस्न नसक्ने हुँदै गएका छौँ ! यसलाई म जनतामा आएको चेतना वा परिवर्तन, क्रान्ती वा जनयुद्धले ल्याएको चेतना भनेर मान्नेवाला छैन, यो जनतालाई आपसमा लडाउने खेल मात्र हो !

भोट दिएर हामीले नै चुनाव जिताएर पठाएका हौँ तर पनि ग्यारेन्टि गरेर भन्छु, यिनीहरुले लेख्ने संविधान वा बनाउन खोजेको संघियताले कुनै पनि जनताको भावानाको प्रतिनिधित्व गर्दैन !

राज्यका सेवा सुविधालाई केही हदसम्म विकेन्द्रित गर्ने हो भने, हाम्रो जस्तो सानो देशमा संघियता नै आवश्यक छैन जस्तो लाग्छ ! एउटा विद्युत गृह बनाउन देशमा दशौँ वर्ष लाग्छ, मेलम्चीको कुरा छेपारोको कथा जस्तो भएकोछ, तराईसँग काठमाडौँ जोड्ने द्रुतमार्ग कहिले पुरा हुने हो थाहा छैन, त्रिभुवन विमानस्थल बाहेक अर्को नयाँ अन्तराष्ट्रिय विमानस्थल बन्न सकेको छैन तर संघियताको कुरा चर्को रुपमा उठ्ने गरेको छ! नेताहरु यिनै हुन्, विकासको सपना बाँड्ने नि यिनै हुन्, जनताको सपनामा तुषारापात गर्ने पनि यिनीहरु नै हुन् ! एउटा सिंगै स्रोत लगाएर त विकास निर्माणका कामहरु सम्पन्न हुनसकिरहेका छैनन् भने, एउटा राज्यले यस्ताकामहरु गर्ला भनेर विश्वास गर्न सकिँदैन !

संघियताको सम्बन्धमा साझा सवालको बहस तलको भिडियोमा हेर्नुहोला ! बहसमा नयाँ कुरो केही छैन । सबैको आफ्नै अडान छ, सबैलाई आफ्नो जातको राज्य चाहिएकोछ ! लगभग १ घन्टाको बहसमा मलाई एकजना स्तम्भकारको कुरा मात्र चित्त बुझ्यो ! साँच्चै उनले भने जस्तै काठमाडौँ लगायतका ठाउँलाई नेवा राज्यको सट्टा काष्ठमण्डप प्रदेश, मिथीला भोजपुरा अवधको सट्टामा जनकपुर प्रदेश, लुम्बिनी प्रदेश आदि एतिहासिक, पौराणिक महत्व, भौगोलिक महत्वको आधारमा संघिय राज्य कायम गरिने हो भने, सबैलाई चित्त बुझ्छ जस्तो लाग्छ ।


नेपाललाई कति प्रदेशमा विभाजन गर्ने र प्रदेशहरुका अधिकार के के हुने भन्नेमा पार्टी पार्टी पिच्छे फरक धारणा छ । अझ पार्टीभित्र पनि गुट उपगुटअनुसार प्रदेशहरुको संख्या र अधिकारका बारेमा फरक फरक धारणा सार्वजनिक भइरहेका छन । त्यतिमात्र हैन, साझा धारणा आउला कि भनेर बनाएको राज्य पुनर्संरचना आयोगले पनि ६ र ११ वटा प्रदेशको दुईथरी प्रस्ताव बुझायो । संघीयता सम्वन्धि आजको साझा सवालमा छलफल गर्दैछन्- राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका सदस्य डा. रमेश ढुंगेल, माओवादी नेता सुरेश आले मगर र एमाले नेता रामचन्द्र झा ।


पहिले पनि भनेकै हो (जातिय संघियता को विपक्षमा), फेरि पनि भन्छु, जातीय संघिय राज्य हामीले धान्न सक्दैनौँ, यो एउटा झगडाको बिउ मात्र बन्नेछ ! यदि हामी संघियता नै चाहन्छौँ भने, भौगोलिक, एतिहासिक महत्ताको आधारमा बनाइनु पर्छ! यदि होइन भने, जातीय संघिय राज्य घोषणा गरिएको भोलिपल्ट अर्को युद्द सुरु हुन्छ!

नयाँ नेपाल फुटेर होइन जुटेर मात्र बन्न सक्छ ! सबै मिलेर, आफ्नो देशको बारेमा सोच्नुपर्ने बेलामा, सबै फूटेर आफ्नो जातीको बारेमा मात्रै कुरो गर्छन् भने, देशको हालत कस्तो होला? म नेपाली हुँ र मलाई नेपाली हुनुमा गर्व छ ! म ब्राम्हण परिवारमा जन्मिएँ, यो “अलग” कुरा हो ! नेपाल र नेपाली भनेर सोच्नु नै आजको आवश्यकता हो, अन्यथा हामी अझै पछाडी नै धकेलिने छौँ ! जातको आधारमा फेरि पनि यी नेताहरुले हामीलाई नै उल्लु बनाउनेछन् !

0 प्रतिक्रिया:

Hamro-Circle

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^