भगवान ! [God #Story]

“सञ्जय ! ए सञ्जय ! आज शनिबार हो ।  उठेर नुहा अनी मन्दिर जा त छोरा । कति अल्छि भा’को छस् तँ आजकाल हँ ?” 

“ह्या आमा नकराउनु न । सुत्न पनि नदिने भन्या कस्तो मान्छे तपाईं ।” निन्द्राबाट बिउझेर  सञ्जय झोक्किन्छ । “को उठ्छ एस्तो जाडोमा ? सुत्न दिनुस् न भन्या ।”

“अल्छि नगर त तँ ।  अल्छि गरेर जाडो भाको तँलाई । म एक घण्टा अगाडि उठेर नुहाए । खोइ मरेनौ त हामी जाडोले । भनेको मान उठ खुरुक्क ।”

सञ्जय सिरकले टाउको छोपेर सुतिदिन्छ ।  आमाको स्वर बन्द हुन्छ तर पूजाको  घन्टीले उसलाई झर्को लाग्छ । ह्या ! काम छैन बिहान बिहान उठेर ... ऊ मन मनै सोच्छ । केही बेरमा उठ्छ । एउटा गिजर पनि छैन घरमा । यस्तो चिसो पानीले नुहाउनु पर्ने । हाम्रो बाउले पनि के घर बनाउनु भाको होला यस्तो । जाबो एक तले । छ्या , हेर्दा पनि घर जस्तै छैन, प्रतापको घर हेर, कति दामी छ । खप्पर पनि पाकै रहेछु मैले । नुहाउँदै सोच्छ । नुहाइ सक्दा टेबलमा चिया तयार हुन्छ । सोफामा बसेर ऊ चिया पिउन थाल्छ । ल अब मन्दिर जा त छोरा । भन्साबाट आमाको आवाज सुनिन्छ ।   Shiva-linga

आज उसलाई मन हुँदैन मन्दिर जाने । सोच्छ के जानु मन्दिर । किन जानु ? मैले थाहा पाए देखि आमा दिन दिनै पूजा गर्दै आउनु भाको छ , कति ठाउँको मन्दिर गयौ हामी । टाढा टाढा पनि । के भयो त खोइ ? केही फरक त भएन । जन्मे देखि देखेको यही एउटा घर, थोरै तलब आउने बुवाको सरकारी जागिर । सधैं अभाव मात्रै, केही हुदैन । हुने भए आमाको धर्मले एम बि बि एस् मा किन मेरो नाम् निस्केन । तीन चोटि सम्म पनि । सधैं अलिकति फरकले म नपर्ने ।

दलित भैदिएको भए उहीले कोटामा परिसक्थे, के भयो त जाने देखि गरेको पूजाले । म नजन्मिँदै मेरो नाममा गरिएको पुजाले । सब हावा । उसको मनमा हुरी चल्न थाल्यो । ह्या केइ हुन्न आमा यो धर्मले, छोडी दिनुस् भन्न मन थियो उसलाई , तर सकेन । खोइ के कुराले रोक्यो उसलाई । चुप चाप निस्कियो ऊ मनको हुरीलाई मनमै राखेर । निस्किना साथ उसको नजर प्रतापको घरमा पुग्यो । कति दामी घर । प्रतापेको खप्पर चैँ बलियै रैछ , अनी उसको मनको हुरीको बेग झनै बढ्न थाल्यो । प्रतापेको बाउ ईन्स्पेक्टर मात्रै भएर पनि यत्रो घर बनायो । प्रतापे पनि पैसाले डाक्टर बन्ने भयो । अस्ति बोर्डमा मसंग सिक्न आउँथ्यो । नम्बर पनि मेरो भन्दा कति हो कति कम । यस्तै रैछ संसार । मनको आँधी बढ्दै थियो । उसको पाइला पनि ।

मन्दिर पुग्नै लाग्दा लस्करै बसेका माग्नेहरुतिर उसको ध्यान गयो । अरु दिन १ रुपैयाँ कचौरामा हालेर हिँडिदिन्थ्यो, आज उसको त्यसो गरेन, फेरि गुनासो सुरु भयो भगवानसँग । उफ् कसैलाई पैसा राख्ने ठाउँ छैन, कसैलाई पेट भरि खाना    खाना खाने पैसा छैन । मन्दिर नजिकै जाँदा मनको आँधी बढ्दो थियो । धनी गरीब, असल खराब,  राम्रो नराम्रो, सबैलाई न्याय किन नगरेको ? त्यही आँधी लिएर ऊ मन्दिर पुग्छ । हेर्छ मुर्तीलाई, अरु दिन झै निहुरिएर ढोग्ने जरुरत ठान्दैन । फरक्क फर्किन्छ, सरासर घर आउँछ । मनको आँधी मनमै हुन्छ । दिनहरु बित्छन् । आमाको पूजाको घन्टीले उस्को निद्रा खुल्छ हरेक दिन । उसलाई सधैं झर्को लाग्छ, आजकाल मन्दिर जान छोडिसकेको हुन्छ उसले ।

एक रात खाना खाइवरि सुतेको हुन्छ ऊ । मनको हुरी कम भएको हुन्छ । आमाले पुजा गर्ने घरको मुर्ती र उसले ढोग्ने गरेको मन्दिरको मुर्तीमा भगवान हैन ढुङ्गा मात्र पाउन थालेको हुन्छ उसले । धनी गरीब, असल खराब, राम्रो नराम्रो, सबैमाथी न्याय नभएको कुराले पनि ऊ दुखी हुन छोडेको हुन्छ आजकाल, यत्तिकै निदाउँछ ऊ ।

उसको निद्रा धेरै बेर टिक्दैन, जोडले उसको खाट हल्लिन्छ, ल भूँइचालो  आएछ । ऊ आतिन्छ । आमा बुवा पनि आतिँदै बाहिर निस्कन्छन् । उसकै आँखा अगाडि प्रतापको घर गर्लम्म ढल्छ,  उसको मन चिसो हुन्छ, वरिपरी चिच्याहट सुनिन्छ । "हे भगवान ! ...प्रतापेको परिवारलाई केही  नहोस् " ऊ प्रार्थना गर्छ ।        

--

प्रतिक

3 comments :

  1. कति थोरै लाइनमा कत्ति धेरै कुरा अटाएको ! वास्तविकता भन्दा पनि सजीव कथा !

    ReplyDelete
  2. thanks a lot dilip jee , 

    ReplyDelete
  3. please give feedback as i am a young writer , your feedback can be precious for me to overcome the weakness for future writings , thank you 

    ReplyDelete