मेरो आत्मकथा [Story] Part-1

ए आज त शनिबार पो।

आम्मै....... के सार्हो टाउको दुखेको, लोकलवासा भनेर के खुवाएछन यार हिजो? एकछिन अझै सुते बरु निको हुन्थ्यो कि? हा... चिया पिए पछि सन्चो होला नि आफै, फेरी क्यु लाउन नि जानू छ। बिहान त काठमाडौंमा चिसो सुरु भैसकेछ, अचेल ३-४ दिन भयो रे लगातार पानी परेको रहेछ, हिजो आऊँदा नि पुरै बाटो भरी पानी पर्यो। अब त तीज लाइसक्यो अली-अली त भीड त बढ्नु पर्ने, पानी धेरै परेर हो की धेरै मान्छे नै चलेका छैनन। खै हिजो उताबाट आऊँदा रित्तै आइयो, आज यताबाट जाँदा कस्तो हुने हो कुन्नि.. ?

उता साहु टोपल्लिएको चाँहीं आज यत्रो भाग ल्याउला भनेर कुरेर बसेको होला, उताबाट हिंड्ने बेलामा त २ सिट मात्रै मान्छे देखेर मुख बिगार्दै थियो, बाटोमा त अली अली प्यासेन्जर चढ्ने झर्ने त भएकै थियो, खलाँसी मुर्दार चाँहीं तेल खर्च नि उठेन भन्छ। हिजो राती खाना खाएको पैसा नि तिर्नु छ, त्यसमाथि आउने बित्तिकै ग्यारेजमा लगेर ब्रेक कसियो। यो बर्खांमास गाडी चलाऊँदा यही झ्याऊ... बाटो त्यस्तो छ, फेरी पानी परेको परेई, अनि खटारो गाडी।bus

पानी परेपछी ब्रेक दायाँ तान्छ, उताबाट आऊँदा भीरमा गएर धस्सिने हो कि भन्ने पीर, यताबाट जाँदा त्रिशुलिमा हामफाल्ने हो कि भन्ने चिन्ता। कस्तो दिनमा यस्तो गाडी चलाउन आएछु भनेदेखी...। जताबाट हिंड्ने बेलामा नि ब्रेक कस्नु पर्छ। कुन दिन कहाँ गएर जोतिन्छ अनि सबै दोष मलाई नै आउने होला। फेरी यो खलाँसी आएदेखिन पनौती नै लाएको छ, बाटोमा बस नबिग्रेको दिनै छैन, यो आए देखि मान्छे नि चढ्दैनन्; कस्तो अनुहार नपरेको छ भनेदेखी। महाराजलाई चाहीं एउटा जाबो सापट कस भन्दा पनि जान्दीन भन्छ, टायर फेर्न आफै, पट्टा कस्न आफै तम्सिनु पर्छ। साहुको कताको गोरु बेचेको साइनो पर्ने सालो रे... सालेलाइ गजुरी तिरै झारेर हिँडौ जस्तो लाग्छ कहिले काहिँ त।

हरे.. एकाबिहानै त्यसका बाऊलाई किन याद गर्नु परेको हो मलाई? कसलाई सम्झिने त.....? बुढीलाइ सम्झिम् भने मन त्यसै त्यसै अमिलो भएर आऊँछ, हिंड्ने बेलामा काँचै खाऊँला झैं गरेर गज्रिँदै थी। आफुलाई साहुले भत्ता नदिएकै ४ महिना लागिसक्यो, उसलाई तीजमा हरियो ब्लाउज र नँया फेसन आएको सारी चहियो रे। नल्याउने भए घरै आऊँदै नआउनु भनेकी छ।

पोहोरको तीजमा सक्कली भनेर नक्कली सुनको बाला लैदिएको थिएँ, मख्ख परेकी थिइ; बेचेर खालिस फेरी... तीजमा र चाढबाढमा बाहेक अरुबेला नलगाउनु, अरुलाइ नदेखाउनु भनेको, खूब जतन गरेर राखेकी छ। उतिसारो रंग नि नजादो रहेछ, यो नक्कली सुन आएर हामी गरिबलाई गजबै भएको छ। कुन दिन थाह पाउने हो र घरबाटै निकालिदिने हो। डर लागेर आऊँछ। पोहोर ल्याईदियो, यसपाली नि ल्याऊँछ भन्ने सोचेकी होली त्यसले...... यो त सारै पुल्पुलिई झन्।

घरी घरी माईत गइदिन्छु भनेर घुर्की लाऊँछे अचेल। सारी नलैजाने हो भने फेरी तीजमा माईत गएर आईदिईन भने आँफैलाई गार्हो पर्छ। तर कहाँबाट लैजाम म अब त्यसलाई सारी र ब्लाउज? यी आईमाईलाई नि के के चाहिने हुन कुन्नी? म त छक्कै पर्छु। आफुसँग यहाँ पैसा छैन उनिहरुलाई चाँहीं भनीदिए पुग्ने। उता साहु चाँहीं तीजमा टन्न टिप हान्नु पर्छ अनि सबै हिसाब मिलाईदिऊँला भन्दै थियो। सबैलाइ कहिले तीज आउला भन्ने हुन्छ, मलाई चाही कहिल्यै कुनै चाढबाढ नआइदिए हुन्थ्यो जस्तो लाऊँछ।

बरु यसो रत्नपार्क तीर हेर्न जानूपर्‍यो। केही पाईन्छ कि? गाडी पनि हेर्नुपर्‍यो, खलाँसीले गाडी सफा गर्यो कि गरेन कुन्नि, हिजो हिलै हिलो भएको थियो, बिजोगै फोहोर हुन्छ यो बर्खामास त। तेस्माथि अचेल कस्ता चिल्ला बस त रित्तै दौडीन्छन, यो थोत्रो फोहोर बसमा को चढ्ने? धन्न हाम्रो रुटमा माइक्रो हाल्नै दिएनन्। दुई दिन बाटो बन्द नगरेको भए त धन्नै हालेका। हा... बिहान बिहान कति कुरा खेलेका हुन मनमा आज.. अब उठ्छु भो अब गाडी पनि हेर्छु, बजार नि यसो डुल्छु।

यो समितिका क्यु लाउने मान्छे पनि के सारो बटारिएका हुन, हामी डाईभरलाइ त मान्छे गन्दैनन। "नया क्यु कार्ड माग्छस? साले क्यु नलाई आइस उताबाट; तलाई क्यु नै लाइदिन्न जा" पो भन्छ। मभन्दा त कम्तिमा पनि ५ बर्ष कान्छो देखिन्छ, मु** मलाई तँ पो भन्छ बा। अचेल स्कुलमा सोमत भन्ने कुरा सिकाउन छोडे की के हो? एस्किमाखाने खलाँसीले फेरी हिजो पनि क्यु कार्ड हराएछ, थानकोट चेक्पोस्टमा देखाएपछी यहिँ राखेको हूँ भन्दै थियो। भेटे पो। नया कार्ड बनाएर क्यु लाउनु पर्‍यो भनेको त मर्न नसकेकोले तेसो पो भन्छ। खलाँसीलाइ अहिल्यै गर एक लात हिर्काऊँ झैं लाग्यो। एकछिन समितिको झ्यालको जालीबाट सर्टको बाहुला सार्दै रेलिंग समाएर लाटाले पापा हेरेझैं हेरर बसें, एउटालाइ दया लागेछ '३५ रुपैयाँ निकाल्' भन्यो। निकालेर दिएँ। गाडी नम्बर टिपेर क्यु लगाइदियो; क्युकार्ड झ्यालको खोपीमा फ्याली दियो, म चाहीं कुकुरले हड्डी पाए झैं क्युकार्ड समाएर ख़ुशी हुँदै फर्किएँ।

गाडी भएको ठाउँमा पुगेको, गाडी त दुरुस्तै छ बा... हाकिम महाराज क्यासेट लाएर मेरो सीटमा निदाई राखेको, अब त लात हान्नै मन लायो। कस्ताको फेला परिएछ यार साह्रै दुःख पाइयो। निन्द्राको काललाइ बल्लतल्ल उठाएँ, फकाई वरी गाडी धुन मनाएँ। 'चिया खान्छस?' मात्रै के भनेको थिएँ 'अँ खान्छु' भनेर जवाफ दि’हाल्यो। के नखाँदो हो र त्यसले र मलाई अनुमती लिइराख्नु परेको? खाना खाने ठाऊँमा झन् कति पो खान्छ। हुन त ढुङ्गा खाए नि पचाउने उमेर हो।

यसो क्युकार्ड हेरेको त तेसिमासालेले क्यु १२ बजे पारीदिएछ, भुतले भात खाने बेलामा। अब खाना पो कता खाने? यतै होटेलमा पैसा तिरेर खाऊँ भने नौबिसेमा फेरी रुच्दैन, हामी स्टाफलाई त खाना यहाँ भन्दा उतै ठीक हुन्छ। तर १२ बजेसम्म त आन्द्रा बाटरेरै मरिएला नि। झन् बिहानको खाना खाएको भनेर साठि सत्तरी रूपिया दाम झ्याम पार्न पाईन्थ्यो, त्यो पनि यसपाली नपाईने भो, कस्ता बेलामा पारीदिएको हो यार क्यु पनि।

छि... कस्तो बेस्वादे चिया, मुख नमिठो हो कि चिया नमिठो हो कुन्नि? गोजिमा हेरेको जम्मा पाँच सय असी रुपैयाँ दाम रहेछ । यतीले म अब बुढीलाई के लैदीऊँ खोइ? यतीले त बाटोमा फ्याट्ट गाडी केही भैदियो भने एउटा बोल्ट पनि किन्न पुग्दैन। हरे यो गरीबको जूनी, जसो गरे नि नहुनी। परार बरु ८१२५ को कुले साउदी जाँदा खुरुक्क गएको भए आज कमसेकम यती सारो दु:ख त हुँदैनथ्यो होला। के गर्नु, बुढीको मायाले तान्यो, छोडेरै जान सकिएन। त्यो बेला भर्खरै बिहे भएको, खुब माया गर्थी, हँसीलि थीइ, अचेल के भकी हो कुन्नी? घरी घरी रिसाएरै हैरान पार्छे, घुर्की लाऊँछे। समय अनुसार सबैजना फेरिँदा रहेछन। कि गरीब नहुनु, कि बिहे नगर्नु भन्छु म त।

क्रमश…

- निशांक N®B

(लेखक निशांक रानाभाटको कथा ‘मेरो आत्मकथा’ क्रमश: प्रकाशित गर्दै जानेछौँ ! – आकार पोष्ट)

2 comments :

  1. Driver dai ko katha... haso bhane risaulan... tara ramailo racha...

    ReplyDelete