मेरो आत्मकथा [Story] Part-3

लौ अचम्म...!! फोम पो लोड गर्दै रहेछन छतमा। राम्रै लगेज पाईएछ आज। 'सरले बोलाउनु भएको छ', खलाँसीले भन्यो। को-को न सर होला भनेको अघि उही क्यु लाइदिन्न भन्ने लण्ठु रहेछ।

'बर्खा मास लगेज पायौ, राम्रो भो। ल यो बील र पैसा राख'

'सर यत्रो लगेज छ, १५०० त साह्रै थोरै भयो नि'

'तेरिमासाले फोम हो यो, हल्का छ, हेर्दा मात्रै धेरै देखिएको हो, लिने भए लि नत्र म समान झारिदिन्छु'

'सर ट्राफिकले ३ ठाऊंमा मात्रै समाए भने यति पैसा सबै तिनैलाई बुझाऊँदैमा ठीक्क हुन्छ, साहुलाई के दिनु मैले? यतिमा त म लैजान्न'

'ओइ, त्यो समान झारिदे, पछाडिको गाडीमा हाल'

'सर हाम्रो लगेज बुक भाईसकेको छ, हाल्न मिल्दैन' पछाडिको ड्राइभर बाठो भैहाल्यो।

'सर समान झारिदिनुस्, मेरो समय हुन लाग्यो।' म पनि हल्का बाठो भए झैं गरें।bus

'ल ल भन् कतिमा लैजान्छस?'

'तँ मु**को समान त जती नै दिए नि लान्न' मनले यस्तो भन भन्यो तर भनिन, 'सर अब यत्रो समान, कति दिने आँफै बिचार गर्नुस्।'

'हेर तिमीहरुलाई अर्को पटक लगेज चाहिन्छ की चाहिंदैन? खुरुक्क भन कतिमा लाने हो?'

'सर ३ हजार भन्दा कम्तीमा त लैजान्न'

'तिमी मुला ड्राइभरहरु, समान राखिसके पछी अड्को थाप्छौ, अर्को पटक देखी बिचार गरम्ला, अहिलेलाई ल यो २ हजार राख्'

'सर यो त साह्रै हुन्छ, अलिकती त थपिदिनुस्'

बल्लतल्ल २२०० को लगेज हालियो, यति भएपछी यो टीप चाँहीं राम्रै हूने भो। मान्छे पनि १२ जना भैसकेछन्। अब लोकल प्यासेन्जर पाइयो भने गजब हुन्छ आज। पख् बुढी यो तीजमा तैँले भने जस्तै लाउन पाउने भईस्। हेर्दाहेर्दै १२ बज्यो, जे होस् आज चाँहीं मान्छे चित्त बुझ्दै पाइयो। अब छुट्ने समय भो, हिंड्नु अघी खलाँसीलाई अर्डर दिएँ 'लोकल प्यासेन्जर जस्तो भए पनि हाल'।

'ल श्री परमेश्वरी, रक्षा गर।' यो काठमाडौंको बाटो.... बसपार्कबाट निस्किए पछि थानकोट नछिचोलेसम्म यति गार्हो हुन्छ भनेदेखि। यी साना र माझौला माइक्राले हामीलाई त बाटै दिन्नन बा। टाढा जाने प्यासेन्जर पनि हाल्न नपाईने रे। बाटो पनि छोड्दैनन। छोइएलै जस्तो गरेर ल्याउँछन, छोइहाल्यो भने गल्ती जस्को भए पनि दोश सधैं ठुलो गाडीको हुन्छ। सब मिलेर साह्रै हेपे हामी ठुला गाडीका ड्राइभरलाई। के गर्नु गर्नु। त्यसमाथि चोक चोक मै जाम, थानकोटबाट मुग्लिन पुग्न त्यति समय लाउदैन होला जती बसपार्क देखी थानकोट पुग्न लाग्छ।

बल्ल तल्ल कलंकीको मुख देखियो। अघी-अघी एक हुल धादीङे जस्तैको लस्कर। मुश्किलले बाटो काट्दै छन भनेपछी पक्कै यी बस चढ्न जान लागेका हुन। 'ओइ यी अगाडिका मान्छे जहाँ जाने भए पनि यो जाम मै हाल' खलाँसी दौडेर गयो, के बोल्यो सुनिएन तर लिएर आयो। कुरिनघाटसम्म पुग्ने रहेछन, ठिकै भो। अब त सिटभरी मान्छे देखिए। मन् नै फुरुङ । आजकाल त सिटभरी मान्छे देख्न पनि रहर भैसकेको थियो।

त्यो क्यामरा वाला मोबाइल मसँग भएको भए फोटो खिचेर राख्न हुन्थ्यो। धन्य ५-६ जना मान्छे कलंकीमा पनि थप्न पाइयो। अब बल्ल गाडी चलाऊनको रमाइलो शुरु भो। गीत सुनुँ सुनुँ लाग्यो। हिजो ब्रेक राम्रोसँग मिलाएनछ, ब्रेक लाऊँदा गाडी दाइने तिर बांगिन थाल्यो। बर्खामास यस्तो छ चाला। धन्न प्यासेन्जरले मेसो पाउदैनन। अब त यस्तै बानी परिसक्यो, यो थोत्रो चलाऊँदा चलाऊँदा सद्धे गाडी पाइयो भने बरु चलाऊन जानिन्न की भन्ने पीर लाग्छ। बाटोमा कहिले कहिले त क्या रहर लाग्दा गाडी देखिन्छन भने देखि। त्यस्ता चलाऊन पाए पो अलिकति शान देखाउन नि पाइन्थ्यो। के गर्नु? आफ्नो भाग्यमा यही खटारो लेखेको रहेछ। निफुल्किएर छोड्दिम भने साहुले त अर्को ड्राइभर पाइहाल्छ, आँफैलाइ हातमुख जोढ्न धौ धौ हुन्छ।

यो थानकोटको ओरालो, घुम्ती देख्दा वाक्क लागेर आउछ, स्टेरिङ्ग घुमाउदा घुमाउदै पाखुरा गल्छन। थानकोटबाट स्वाँट्ट नौबिसे पुग्ने गरेर पुल हाले नि हूने नि, क्या मज्जा हुन्थ्यो होला सिधा बाटोमा चलाऊन। यहाँ त सिधा बाटोमा चलाऊने पनि रहरै हुन्छ।

अरबबाट फर्किने लाहुरेहरु क्या फुर्ती लाउछन, १२०, २०० भन्दा कम स्पिड्मा त चलाऊनै पाइन्न रे, बाटो नि सिधा सिलित्त परेका हुन्छन रे, नेपालबाट जाने ड्राइभरलाई त स्वर्गै पुगे जस्तो हुन्छ रे। नेपालमा नि त्यस्तै बाटो बने नि हूने नि, तर यस्ता भीर छन, यस्ता डाँडाकाँडा छन, कसरी बनाउनु त्यस्तो बाटो, मिल्ने भए त बनाउथे होलान नि। त्यही नि तराइ तीरको बाटो त राम्रो छ। यै काठमाडौंबाट मुग्लिनसम्म मात्रै अप्ठेरो हो। बरु यो नौबिसेबाट उक्लेर बिरगन्ज पुग्ने बाटो चाँहीं डेन्जर छ रे, एकताल जान मन लागेको छ।

अब खान खाने ठाऊँ पनि आउन लाग्यो, मान्छे पनि राम्रै छन, भत्ता नि राम्रै देला नि। पहिला पहिला ड्राइभरहरुलाई चाडैपिच्छे के के दिन्थे रे यी होटेलवालाहरुले, दशैमा त सिङै खसी दिन्थे रे, तर ऊ जमानाका कुरा, अहिले त भत्ता दिन पनि मान्दैनन, कति चोटि अर्को पटक मिलाऊँला भनेर टारे मलाई। मलेखुमा जम्मै त्यस्तै, प्यासेन्जर थोरै देखेपछी मुख बिगारिहाल्ने, त्यसैले आजकाल त्यता रोक्नै छोडें। यो नयाँ ठाऊँ अलि ठीक छ। भीत्र छुट्टै बस्ने ठाऊँ छ हामीलाई, एकैछिन भए पनि आराम हुन्छ। खलाँसीलाई के स्पेसल बनाएका छन हेरेर ल्या भनेको, लोकल माछा र पुलाउ ल्याएछ। खलाँसी सोल्टी दुई थाल बजाउन थाले, म त एक भाग मै अघाएँ।

साहुले फ्यान्टा लिएर आयो। खासै फ्यान्टा खान मन् त थिएन, तर कर गर्‍यो । त्यही मेसोमा ३५० रुपैयाँ गोजीमा हाल्दियो। खलाँसी त्यो देखेर मुसुमुसु हाँस्दै थियो, आफ्नो भाग पाइसक्यो होला त्यसले पनि। अब हिंड्नु पर्छ। होटेल अगाडि बोडीका पोका देखेर घरमा दाल सकिएको याद आयो, होटेल साहुलाई एक पोका दिन भनें। मनमनै के सोच्दो हो कुन्नी, बाहिर हाँसी हाँसी दियो। यसो गेडागुडि खाने गरे त बुढीको अनुहारमा अलि रगत देखिन्थ्यो की? मुग्लिनमा केही फलफुल पनि हेर्नुपर्ला। सब चढे, पानी पर्न पो थाल्यो। यो बाटो यस्तो छ। बुढी डराऊँछे, सधैं बिस्तारै चलाऊनु भन्छे।

क्रमश…

- निशांक N®B

(लेखक निशांक रानाभाटको कथा ‘मेरो आत्मकथा’ क्रमश: प्रकाशित गर्दै जानेछौँ ! – आकार पोष्ट)


पहिलो अंक: मेरो आत्मकथा [Story] Part-1

दोस्रो अंक: मेरो आत्मकथा [Story] Part-2

0 प्रतिक्रिया :

Post a Comment