मेरो आत्मकथा [Story] Part-2

हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ।

नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटकालको बेलामा जसरी फेरी चेकीङ् भैदिएbus नि हूने, अनी बल्ल यति समान लगिदे न भनेर आउछन।

'ल दाई लैजानुस...' 'यता आउनुस् यता....' 'कतिमा लैजाने....' (लालुपाते नुघ्यो भुइँ तिर) ओहो यो रत्नपार्क, बिहानै के सारो भीड हो? दोकान पनि कति हुन? बेच्ने पनि कति हुन? किन्ने पनि कति हुन? यति धेरै मान्छे छन संसारमा, मेरो बसको क्यु पर्दा कहाँ जान्छन जम्मै? जहिले पनि खाली दौडाउनु पर्छ। एक गुरुपै आइदिए नि हुन्थ्यो नि आज त।

जता हेर्यो लाहुरे ठोकिन्छन् यहाँ। सुकिला कपडा लगाएका, टिलिक्क टल्किने घडी, सबैको हातमा मोबाइल फोन। मोबाइल त मोबाइल, अस्ती बसमा एउटा ठिटोले लिएको थियो क्या दामी मोबाइल, भिडियो क्यामरावाला। तेस्तै एउटा मोबाइल फोन लिन साह्रै रहर लागेको छ। कति रुपैयाँ को हो? भनेर सोधेको त साठि हजारको आइफोन हो भन्यो केटोले। एकताल झसङ्गै भएँ म। साठि हजारमा अलिकती थप्न पाए त म साउदी नै पुग्थेँ।

रहर लागेको केही कुरा पनि पूगेन यो जूनीमा। न आफ्न रहर पुरा गर्न सकियो, न त बुढीकै। दु:ख त गरेकै हो, जती गरे पनि हुँदैन त म के गरूँ? जे होस त्यस्तो मोबाइल किन्न नसके पनि यसो कतै झुक्किएर फेला पार्न पाए चाँहीं जहाँ जहाँ गाडी बिग्रिन्छ सबै सुटिङ् गरेर लगेर देखाइदिन्थें साहुलाई। नत्र जहिले गाडी बिग्रियो भन्दा गफ हानेको जस्तो ठान्छ।

रत्नपार्कमा बुढीले भनेको जस्ता फरिया त देखिन कतै। जता हेरे नि खाली जिन पाइन्ट र टिशर्ट मात्रै बेच्न राखेका हुन्छन्। ओहो... के लगिदिने हो त त्यसलाई? बाहना बनाऊँ भने पनि केही फुरेको छैन यसपाली। घडी लैदिऊँ भने अघिल्लो पल्टको कुरा बिर्सेंकी छैन होली। अघिल्लो पटक लगिदिएको घडी ३ दिनमै पानी पसेर बिग्रियो। यस्पाली पनि त्यस्तै पर्‍यो भने...? भैगो... के बिच्काउनु बिचरीलाई। हुन पनि त्योबेला कस्तो पर्‍यो भनेदेखी त्यो साले बेच्ने मान्छेले बाल्टीमा डुबाइ डुबाइ पानी पस्दैन भनेर देखाएको थियो, घर लगेपछी कसरी पस्यो कसरी। क्या सुनाइ बुढीले त्यो बेला। जिन्दगीमा बुढीको बचन खानु पनि धिक्कारै हो। तर के गर्नु, आफ्नो परिस्थिती त्यस्तै परेपछी बुढीले जे जे खुवाऊँछे, चुप लागेर खानै पर्‍यो।

तर जे होस् जती रिसाए पनि, जती गाली गरेपनि मनकी पापी छैन, तेइ कुराले मन खुशी हुन्छ। कुलेकी बुढीले घरी-घरी पोइको फुर्ती लगाइदिँदी रहिछ, छिमेकमा अरु एकदुईटि आईमाई मिलेर नानाथरि कुरा सुनाइदिँदा रहेछन् तेही भएर कहिले काहिँ चिढिन्छे। तर थाकेर गएको बेलामा जब मुसुक्क हाँसेर नजिकै आएर बस्छे, सारा थकाई नै हराऊँछ।

भो अब यहाँ केही पाइएन। बरु जे पर्ला-पर्ला साहुसंगै पैसा मागेर जे जे किन्ने हो आँफै किन् भनेर दुई हजार दाम बुढीको हातमा हाल्दिनु पर्ला। चाढबाढको बेलामा के मन खिन्न पारीदिने बिचरीको। खुशी हुँदा बिछिट्टै राम्री देखिन्छे। त्यो भएर दुई बचन साहुको आँफैले सुनेर भए नि माग्नै पर्ला। नभए यताउता सरसापट गर्नुपर्ला।

दस बजिसकेछ, अब फर्किनु पर्‍यो बरु बसतीर। स्टार्ट गरेर राख्नु पर्‍यो। खलाँसीले रातभरी क्यासेट लाएर बसेथ्यो कि कुन्नी? ब्याट्री डाउन भएको रहेछ भने फेरी अहिले स्टार्ट गर्ने बेलामा दु:ख पाईन्छ। स्टार्ट गरेपछी खाना खाँदा ठिक्क हिंड्नी समय हुन्छ, बस चाँहीं लाइनमा लगेर राख्नु पर्‍यो। घरमा बुढी यतिबेला एक्लै खाँदै होली, एक्लै के रुच्दो हो बिचरीलाई, त्यसै त्यसै दुब्लाएर अचेल सिन्का जस्ती भएकी छे। यहाँ आफु एक्लै यस्तो खाएर बस्नु परेको छ। स्वाद न ब्वादको खाना।

यी सस्ता होटेलमा खाना खानु त बेकार छ। दालको नाममा पहेँलो पानी मात्र हुन्छ, तिहुन हेर्यो हिऊँदमा पनि परबल, गर्मीमा पनि परबल। फेरी यताका होटेलवाला पनि कम्ता नेप्परिएका हुन्छन भने देखिन, एउटा खुर्सानी माग्यो, सुनेको नसुन्यै गर्छन्। पैसा तिरेपछी खाना खाइएछ भन्ने भानसम्म भयो, तर न पेट भरियो, न मन नै।

तर केही छैन अहिले नौबिसे पुगेपछी मज्जाले खाइन्छ। प्यासेन्जरलाई जस्तो भए नि हामीलाई चाँहीं स्पेसल खाना हुन्छ। प्यासेन्जर अलि धेरै भए भने राम्रै भत्ता नि पाईन्छ। बरु अब चलानी हेर्न जानु पर्‍यो। अलिअलि त मान्छे भए की यति बेलासम्म।

क्रमश…

- निशांक N®B

(लेखक निशांक रानाभाटको कथा ‘मेरो आत्मकथा’ क्रमश: प्रकाशित गर्दै जानेछौँ ! – आकार पोष्ट)


अघिल्लो अंक: मेरो आत्मकथा [Story] Part-1

2 comments :