अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna

आफ्नो ट्रेन को नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्ता मा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ ।

म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्ता मा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेन को नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसो को ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगा नदी माथि भएको पुल मा जाम मा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेन को टिकट ‘क्यान्सिल’ गरेर, अर्को ट्रेन को टिकट को लागि आवेदन दिएको रहेछ । त्यही भएर उसको टिकट ‘वेटिङ लिस्ट’ मा रहेछ, “बाग्मती एक्सप्रेस” को टिकट पाइन्छ भन्ने झिनो आशा लिएर उ बसेको थियो ।

कोठामा दर्जन भन्दा मान्छेहरु थिए, अनि एउटा मान्छे को घटिमा पनि दुइवटा ठूला ठूला सुटकेश थिए । उक्त केटा पनि ‘बाग्मती एक्सप्रेस’ मै जाने भएकोले, उ सँगै यस्तै, त्यस्तै गफ गर्दै बसियो । राम्री राम्री केटीहरु आउँदा, आँखा सन्काएर मलाई देखाउँथ्यो । मैले उसलाई टिकट कन्फर्म हो भनेर सोध्दा भने, अनुहार निन्याउरो बनाउँथ्यो, खै जान पाइएला जस्तो छैन भन्थ्यो । बेलुका ७ बज्दा सम्म पनि, ट्रेन को कुनै अत्तोपत्तो थिएन, विभिन्न ठाउँमा जाने ट्रेन ‘डिले’ भएको र ‘क्यान्सिल’ भएको कुरा, पट्ना स्टेशन ले फुकेको फुकेकै थियो, अत: आफ्नो ट्रेन पनि त्यसै भयो कि जस्तो लाग्न थाल्यो । राती १ बजेसम्म को ट्रेन को ‘सेड्युल’ मोनिटरमा ‘डिस्प्ले’ गरिरहेको छ, तर आफू जाने ट्रेन को कुनै संकेत छैन ।

patna train station in the morning
दुविधा त तब भयो, जब संघमित्र नाम गरेको ट्रेन, हाम्रो ट्रेन छुट्ने समयमै पट्नाबाट छुट्यो । फेरि संघमित्र एक्सप्रेस, मंगलबार को दिन नछुट्ने कुरा थियो । मलाई लाग्यो, बाग्मती एक्सप्रेस को सट्टामा संघमित्र जाने भएछ । तर खै, कसैले केही भनेकै छैन, त्यस्तो त नहुनु पर्ने हो जस्तो लाग्यो । संघमित्र एक्सप्रेस नामक ट्रेन बेङ्लोर को लागि छुट्यो । मन मा दुविधा थियो, त्यही पनि बाग्मती एक्सप्रेस भन्या दरभंगाबाट आउने ट्रेन भनेर थाहा भएका कारण, बाटो मा आउँदै होला भन्ने लाग्यो । मैले छेउकै होटलमा गएर खाना खाँए ।

हामी बसेको कोठा क्रमश खालि हुँदै थियो, सबैको ट्रेन आउँदै जाँदै थियो । त्यही अनुसार मान्छेहरु पनि क्रमश घट्दै थिए । अनि प्लेटफार्म मा चाँहि फेरि मानवसागर उर्लेको थियो । ट्रेन बाट झरेका यात्रुहरु, सबै भुइमा लम्पसार परिसकेका थिए । अघिसम्म म सँग बोलिरहेको र केही हदसम्म साथि बनिसकेको त्यो केटा पनि ट्रेन आएन भनेर सुतिसकेको थियो । बल्लबल्ल ट्रेन आउने समय मोनिटरमा देखियो तर त्यो पनि ३ पटक ‘डिले’ भयो । ८:२० मा भनेको ट्रेन बल्लतल्ल ११ बजेतिर, पट्ना आइपुग्न लाग्यो भनेर माइकिङ गर्यो । मन दंग र फुरुङ्ग भो । अब पुगिन्छ भन्ने भो, तर ८ वटा प्लेटफार्म मध्ये कुन मा जाने अझै माइकिङ भएको थिएन । ट्रेन आइपुग्नै लाग्दा, माइकिङ भयो ४ नम्बर प्लेटफार्म पर जाइए भनेर ।

१ नम्बर प्लेटफार्म मा भएको हामी, ४ नम्बरमा पुग्न २-३ मिनेट जति लाग्थ्यो, ओभरहेड ब्रिज चढेर जानुपर्थ्यो । मैले, त्यो मेरो साथिलाई ब्युँझाए, चलो ट्रेन आ’गया ! उ उठ्यो र मेरो पछि पछि लाग्यो । तर भिड मा म अगाडि भएँ, मलाई सकेसम्म चाँडो प्लेटफार्म नम्बर  ४ मा पुग्नुथियो । अनि त्यहाँ पनि आफ्नो ‘स्लिपर’ को ३ नम्बर डब्बा खोज्नु थियो । प्लेटफार्म नम्बर ४ मा पुगेको केही समयपछि ट्रेन आयो । आफ्नो डिब्बा, अगाडि बाट यस्तै ६-७ नम्बर मा रहेछ । ३ नम्बर डब्बा लेखेको देख्ने बित्तिकै त्यही डब्बा को पछि पछि दौडिँए, ट्रेन रोकियो ।

३ नम्बर डब्बा भित्र आफ्नो १७ नम्बर सिट खोज्दै अगाडि को ढोका बाट छिरेँ । मैले पहिलोपटक ट्रेन छोएको थिँए । दिउँसो साथि बनाएको त्यो जवलपुर जाने साथि कता पुग्यो, थाहा भएन र मलाई वास्ता पनि भएन । मलाई बेङ्लोर पुग्नु थियो, मेरो ट्रेन आइसकेको थियो र म आफ्नो सिटमा बस्न जाँदै थिए । मेरो सिटमा एकजना बसिरहेको रै’छ । मैले यो मेरो सिट हो भनेँ । उसले भन्यो, ‘हामी अगाडि को स्टेशन मा झर्ने हो’ । मैले कन्फर्म गर्नलाई सोधेँ, अगाडि कै स्टेशनमा हो । उसले हो भन्यो । मैले सोचेँ बसेर आएको मान्छेलाई के उठाउनु, आखिर मलाई पनि अहिले सुतिहाल्नुपर्ने थिएन । मैले भनेँ, ल ठिकै छ, बस्दा हुन्छ ।  आफ्नो झोलालाई आफूसँगै छेउमा राखेँ, झ्यालपट्टि ।

अर्को पट्टि को सिटमा एउटा मान्छे सुतिरहेको रै’छ । अनि त्यो भन्दा पर्तिर को सिटमा एउटी आइमाई रै’छे । म आफ्नो सिटमा बसिसकेको थिँए । अरु ३ जना आइपुगे, सिट नम्बर १८,१९ र २० भएका । उनीहरुको २० नम्बर को सिटमा त्यो मान्छे सुतेको रै’छ । उनीहरुले ‘ये हमारा सिट है’ भने । उसले भन्यो, ‘मेरा सिट पिछे है’ उसले अर्को ‘सिट तिर देखाउँदै भन्यो, ‘ओ मेरी बिबी है, इसलिए मे यहाँ सोरहाहुँ’ । आप मेरे सिटमे जाइए’ । ३ जना को समूहमा आएका उनीहरु के मान्थे । ‘हुँदैन हुँदैन’ भनेर उसलाई उठाए । ती ३ जना त आपसमा नेपाली मा गफ गरिरहेका थिए । उनीहरुले मलाई सोधे, ‘आप का  सिट कौन सा है”, मैले भनेँ ‘१७’ । त्यो अर्को मान्छेले मलाई ‘आप पिछे जाइए भन्यो’ ।

ती ३ जना नेपाली नै हुन् भन्ने कुरा मैले सुइँको पाइसकेको थिँए । अनि नेपाली साथी छोडेर म किन पछाडि सिटमा जान्थेँ र? अनि ती ३ जना ले पनि, म पनि नेपाली हो भन्ने थाहा पाउन भनेर, त्यो मान्छेलाई मैले नेपाली मै जवाफ दिए, “म पछाडी जान्न, यहिँ बस्छु” । फेरि भनेँ, ‘मे यहीँ पर रहुंगा’ । त्यो अघि को मान्छे उठ्यो, मेरो सिटमा बसेको मान्छे नि उठेर गयो । ती ३ जना मध्ये को १ जनाले भन्नुभो, ‘ए लौ, भाइ पनि नेपाली नै पो परेछन्’ । कुरा बुझ्दा थाहा भयो, उनीहरु पनि बेङ्लोर नै जाँदै रहेछन् ।

सामान्य कुराकानी पछि, २ जना दाइहरुले दालमोठ निकालेर, ह्विस्कि निले । मैले दालमोठ मात्र खाँए । छोरालाई बेङलोर मा कलेज मा भर्ना गर्न को लागि उनीहरु बेङ्लोर जाँदै रहेछन् । ट्रेन अघि बढ्यो, म झ्यालबाट बाहिर हेर्दै ट्रेन को अनुभव बटुलिरहेको थिँए । ३ जना नेपाली साथीहरु सँगै को सिटमा भेटिएपछि र हाउभाउ र कुराकानीबाट उनीहरु नराम्रा मान्छे हैनन् भन्ने थाहा पाएपछि, बेङ्लोर पुगिने कुरा मा ढुक्क भएँ । मलाई फेरि १ पटक घरमा, ट्रेन चढेँ, साथीहरु भेटेँ भनेर फोन गर्न मन लाग्यो । तर विडम्वना आफूसँग फोन थिएन । अनि अघि दिउँसो बनाएको साथी पनि, मेरो सिट नम्बर खोज्दै खोज्दै बस्न पाइन्छ की भन्ने आशले आइपुगेछ ।

उसले भन्यो, ‘टिकट वेटिङ’ मै छ । अब ‘टिटि’लाई भनेर मिलाउनु पर्ला । उसलाई बस्ने इशारा गरेँ, उ पनि सिटमा बस्यो । अनि १९ नम्बर सिटमा डबल प्यासेन्जर परेछन् । ‘टिटी’ ले पैसो खाएर ‘वेटिङ’ मा भएकोलाई पनि टिकट दिएछ भनेर कुरा चल्यो । हामी ४ जनाले १७,१८,१९ र २० नम्बर को सिट नछोड्ने भयौँ, आत्मबल पनि बढेको थियो । केही छिन को भलाकुसारी पछि, अब सुत्नुपर्छ भन्ने कुराकानी भयो । तखता, तखता भएको सिटलाई झुन्ड्याइयो । अनि त्यही दिउँसो स्टेशनमा बनाइएको साथिले भन्यो, ‘आप भि सोजाइए’ । उसले फेरि सोध्यो, ‘आपके पास पेपर है’ । मैले झोला को खल्तिमा घुसारेर राखेको, टाइम्स अफ इन्डिया दिएँ । उसले त्यो पत्रिका भुँइमा ओच्छ्याएर सुत्यो । एकछिन पछि ‘टिटि’ आएर टिकट ‘चेक’ गर्यो । ट्रेन कुदिरहेको थियो, सबैलाई गुडनाइट भनेर, १ बजे तिर सुतियो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

4 comments :

  1. रमाइलो रहेछ यो पोस्ट पनि । तर जहाँ-जता गएपनि ठ्याक्कै कथामै जस्तो नेपाली दाजु-भाइ भेटिहालीने संयोग भने भाग्यले नै जुराएको होला । विदेशी भूमिमा पुगेपछि आफ्नो देशको मानिस र आफ्नो भाषा बोल्ने मानिस भेट्दा साँच्चै रमाइलो लाग्छ ।

    ReplyDelete
  2. राता मकै फर्केर नेपाल आइ सक्दा पनि यो भाग नसकिने भयो हैन त?

    ReplyDelete
  3. Dherai Dherai nai ramailo ani khusi lagyo timro posts haru and travelogue padera... all the best for the intern :) :) 

    ReplyDelete