रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

बिहान झिसमिसे मै निन्द्रा खुल्यो । कुदिरहेको रेल बाट बाहिर हेरेँ । रेल पूर्व कि पश्चिम तिर गइरहेको छ, पत्तो पाउन गाह्रो पर्यो । तर बाहिर को दृश्य मलाई नौलौ लागिरहेको थियो । टाढा टाढा सम्म भर्खर जोतिएको झैँ लाग्ने खेतबारीहरु थिए । आफूलाई आफू कुन ठाउँमा आइपुगेँ केही थाहा थिएन । म्याप निकालेर पल्टाएँ, अहँ थाहा पाउन सकिन । रेल गुडिरहेको थियो, सायद ती गाउँका मान्छेहरु नै होलान्, बिहानै सबै 'मैदान’ गर्न मा व्यस्त थिए । बारी मा टाढा टाढा सम्म ती गाउँलेहरु को लस्कर देखियो, जो बिहानै ‘शौच’ गरिरहेका थिए, अनि उनीहरुको शौचालय को छत खुल्ला आकाश थियो ।

म उठेको केही समयपछि सबै साथिहरु उठे ! हामी ४ नेपालीहरु सँगै थियौँ, मैले पटना मा रेल चढिसकेपछि ३ जनालाई भेटेको थिँए । एकजना हुनहुन्थ्यो भक्तपुरमा टायल फ्याक्र्टि चलाउनु हुने ‘प्रजापति’ दाइ, अनि उहाँ को छोरा, अनि अर्को एकजना राजमाझी थरको कलाकार (मुर्तिकार) हुनहुन्थ्यो । हामी ४ जना बिहान उठेर, ‘चायवाला’ ले ल्याएको चिया पियौँ । पटना को प्लेटफार्म मै बनाइएको साथि पनि सँगै थियो, उ जवलपुर भन्ने ठाउँमा झर्नेवाला थियो । अब ५-६ घन्टा मा जवलपुर पुगिन्छ भन्थ्यो ।

train-patna-to-bangalore
हामी ४ जना ले विविध विषयमा छलफल गरेर बस्यौँ, बाटो भरि नै । उहाँहरु का रमाइला ‘प्रोजेक्ट’हरु र ‘परिकल्पना’हरु सुनाउनु भयो । के-कस्तो प्रोजेक्ट थियो भनेर यहाँ उल्लेख नगरौँ, कारण अहिलेसम्म त्यस किसिम को आइडियाहरु मैले कसैबाट सुनेको छैन । र अरुलाई अहिले जानकारी दिनु खासै उपयुक्त पनि लागेको छैन, गोपनियता को हिसावले । तर पनि उहाँहरु ले भनेजस्तो भयो भने, नेपाल मा केही वर्ष भित्रैमा एउटा बेग्लै किसिम को पार्क को निर्माण हुनेछ । प्रजापति दाइ को आफ्नै टायल उद्योग रहेछ भक्तपुर मा जहाँ घरमा लाग्ने विभिन्न किसिम का टायलहरु बनाइने रहेछ, बाटो मा कहिँ पनि टायल, इट्टा वा सिमेन्ट फ्याक्ट्रि देखियो भने,दाइ एक किसिम को ‘कम्पेरिजन’ गर्नुहुन्थ्यो ।

अर्का रायमाझी दाइ, कान अलि कम सुन्ने हुँदा, ‘ईयरपिस’ लगाउनु हुँदोरहेछ, र आफू ‘लो’ प्रोफाइलमा नै बस्न रुचाउनु हुँदोरहेछ । उँहाको प्रचार नेपाल मा खासै छैन, मलाई आफ्नो प्रचार गर्नुछैन भन्नुभएको थियो, राजमाझिदाइ ले । तर उहाँ को कला भने भारत, थाइल्यान्ड, देखि मेरिल्यान्ड सम्म फैलिएको रहेछ । ‘फाइन आर्ट’ पढ्नुभएको दाइ को विशेष दख्खल मुर्तिमा रहेछ र उहाँ जुनसुकै माध्यमबाट पनि मुर्ति बनाउन सक्ने हैसियत को हुनुहुँदोरहेछ । काठमाडौँ मै भएर पनि, उहाँ को खासै चर्चा र परिचर्चा भएको खासै थाहा छैन मलाई, तर पनि उहाँ को कुरा सुन्दा, उहाँ को प्रचार हुनुपर्छ भन्ने जस्तो लाग्यो ।

‘क्याटरिङवाला’ ले के खाने भन्ने सोध्दै आयो, हामीले ४ जना को लागि खाना को अर्डर गर्यौँ, अनि साथमा भएको बिस्कुट, दालमठ, चिप्स र चाउचाउ खान थाल्यौँ । विभिन्न स्टेशन मा रेल रोकिँदै अघि बढ्दै गर्यो, झ्याल को छेउमा बसेको म, धेरैजसो बाहिर हेर्दै रमाइरहेको हुन्थेँ । रेल आफ्नो गति मा चलिरह्यो, मलाई रेल मा यात्रा गर्दा भारत साँच्चै ठूलो रहेछ जस्तो लाग्यो । जब जब पनि परपर डाँडाहरु देख्थेँ, आफूलाई घर बाट देखिने चुरे पहाड को याद आउँथ्यो, ठ्याक्कै उस्तै लाग्थ्यो ।

जब पनि म नेपाल मा रेल कुदेको कल्पना गर्थेँ, तब मलाई लाग्थ्यो, रेल कुदाउन लिक बनाएर मात्र हुँदैन ‘स्टेशन’ चाहिन्छ, स्टेशन को लागि पर्याप्त ठाउँ कहाँ पो छ जस्तो लाग्यो । रेल रोकिने बित्तिकै म प्लेटफार्म मा कुद्दै झर्थेँ, कारण मलाई घरमा फोन गर्नुथियो । म सकुशल छु र यात्रा रमाइलो भइरहेछ भनेर मैले भन्न सकेको खण्डमा सबैलाई पिर कम लाग्ने थियो । तर मैले पहिलो दिन कुनै प्लेटफार्मबाट फोन गर्न पाइँन ।

हाम्रो ‘बाग्मती एक्सप्रेस’ रेल आफ्नै गति मा दौडिरहेथ्यो, दायाँ वाँया का लिक मा पेट्रोल, कोइला र अन्य मालवाहक रेलहरु देखिन्थ्यो । त्यसबेला नेपाल मा निम्तिरहने पेट्रोल संकट को कुरा झल्झली याद आउँथ्यो । जवलपुर मा झर्ने साथीले बाटो मा देखिएका ठाउँहरु को परिचय बेला बेला मा गराउँथ्यो । बिरला, सत्ना जस्ता सिमेन्ट फ्याक्ट्रिहरु परै बाट नियालियो । वस्ति भन्दा धेरै पर, त्यस एरियमा सिमेन्ट फ्याक्ट्रिहरु मात्र रहेछन् । १ बजे खाना खाइयो । समय भन्दा हाम्रो रेल ४ घन्टा ढिलो थियो । जवलपुरमा त्यो साथि उत्रियो, केही सँगै का सिट पनि खालि भयो, तर त्यहाँ अरु चढ्नेहरु टन्नै रहेछन् । जवलपुरमा ‘इन्डियन आर्मी’ को लागि चाहिने गाडिहरु बनाइँदो रहेछ । जवलपुरबाट पनि घरमा फोन गर्ने ट्राइ गरेँ, तर फोन गएन ।

जवलपुरबाट ८ जना को केटाहरु को ग्याङ हामीसँगै को सिटहरुमा आएर बसे । भर्खर इन्जिनियरिङ सकेका उनीहरु जागिर कै सिलसिलामा बेङ्लोर जाँदै रहेछन् । उनीहरु आपसमा कुरा गरेर हाँसेको हाँसेकै गर्थे, हामीलाई झर्को लाग्ने गरि । चिया, खाजा, अनि खाना नियमित डुलाउँदै ल्याउँथे, अनि हामी आफ्नो आवश्यकता अनुसार खाइरहेका थियौँ । नागपुर मा आइपुग्दा साँझ पर्यो, हामीले रेलकै क्याटरिङ को खाना खायौँ । त्यहाँ पनि म फोन गर्न झरेँ तर टेलिफोन बुथ भेटिएन । अँ अर्को कुरा, जुन स्टेशन मा रेल रोकिन्थ्यो, त्यो स्टेशनमा हामी पानी लिनलाई बोतल बोकेर कुदिहाल्थ्यौँ, अनि संघर्ष गरेर पानी भरिन्थ्यो । नागपुरबाट रेल अगाडि बढ्यो, अझै २४ घन्टा भन्दा बढि को यात्रा बाँकि नै थियो । नागपुर कटेपछि हामी फेरि सुत्यौँ ।

अर्को दिन उठेपछि हामीले फेरि अघिल्लो दिन कै दैनिकी दोहोर्यायौँ । बिहान चिया, खाजा, अनि खाना, त्यसपछि फेरि चिया यस्तै यस्तै । दाइहरुले कुरा गर्न थाल्नुभो, यति वर्ष अगाडि मुम्बइबाट जाँदा यस्तो भयो, दिल्ली जाँदा यस्तो भयो । उहाँहरु आफ्नो पहिलेको रेल अनुभव सुनाउनु हुन्थ्यो, छक्का आएर साह्रै दुख्ख दिन्थे, खै अहिले त ट्रेन मा यस्तो हुँदोरहेनछ भन्नुहुन्थ्यो । आफूलाई त के थाहा हुन्छ कि हुँदैन, त्यही नि ट्विटरमा धरान बाट अनिशदाइले, ‘छक्काहरु ले दुख्ख देलान, खुजुरा पैसा बोक्नु, केही गर्दैनन्’ भन्नुभएको थियो । आफुलाई रेल मा केही त्यस्तो भएको थिएन । कोही माग्न आएको पनि थिएन, निकै गज्जब को यात्रा भइरहेको थियो । उहाँहरु सँग मैले नि सही थप्दै, त्यही त हिजोआज रेल मा हुँदैन क्यारे, भन्दिएँ ।

हामी ४ जना झ्यालपट्टि थियौँ, अनि भित्रपट्टि जबलपुरबाट चढेका तिनै ८ जना केटाहरु थिए । सँगै रहँदा बस्दा हामी सबै साथि भइसकेका थियौँ । नाम कसैको थाहा थिएन तर पनि हाम्रो कुराकानी चैँ भइरहन्थ्यो । कुराकानी चलिरहेको थियो, उनीहरुले भने, लौ ताली पड्काउने आए है । मैले नि ताली को आवाज सुनेँ, लौ छक्का आएछन् भनियो । एउटी राम्री केटी आइ, केटा नै पो रहेछ, तर पनि उसले यति सालिनता सँग कुरा गर्यो कि सबै मख्ख भए । उसले पैसा मागि, ‘कोही त दो, तुम दो ना’ भन्दै सबैलाई ईशारा गर्थी । उसको कुरा र बोलाइबाट सबै प्रभावित भएका थिए, एउटा केटो ले पैसा निकालेर दियो, उ गइ । त्यसपछि उसकै चर्चा परिचर्चा हुन थाल्यो ।

हुँदैनन् भनेको त अझै हुँदा रहेछन् भन्ने जस्तो कुरा चल्यो, त्यसपछि अर्को पनि पो आइपुग्यो, ताली पड्काउँदै । साह्रो रुखो स्वर रहेछ, पैसा दो भन्न थाल्यो । तर हामीहरु सबै मुखामुख गरेर बस्यौँ, केही बोलेनौँ । एउटा केटा ले पैसा छैन, यत्ति छ भन्दै ५ को डलर दियो । त्यो ५ को डलर फिर्ता दिँदै फन्केर, सराप्दै हिँड्यो । मलाई लाग्यो, त्यही भएर यिनीहरुलाई छक्का भन्दा रहेछन् । साह्रै रुखो व्यवहार थियो ! फेरि पनि पहिले आउनेकै चर्चा भयो, ‘कम्पेयर’ गरियो ।

विजयवाडा मा रेल रोकियो । मैले बल्लतल्ल त्यहाँबाट भाइलाई फोन गरेँ । ट्विटरमा नानाथरि को हल्ला चलिराको छ भनेर भाइले सुनायो । सबैलाई ठिकठाक छ भन्दिनु भनेर फोन राखेँ । अब यसपछि को ठूलो स्टेशन भनेको चेन्नइ थियो । रेल अघि बढ्यो । फेरि एउटा छक्का आइपुग्यो, त्यो त झन् सबैभन्दा रुखो रहेछ । अनि यति छाडा रहेछ कि, निहुँ खोजेर एउटा साथिलाई ‘देखाउन’ खोजिगयो । धन्न देखाएन, त्यो आउँदा यति ‘इरिटेट फिल’ भएको थियो कि के भन्नु र ? तिनीहरुलाई कसैले कारवाही गर्दैनन् कि क्या हो ? ट्रेन मा यात्रा गर्नेलाई कति सताउँदा होलान् । फेरि पनि पहिले कै केटी को चर्चा भयो, त्यसको बोली कस्तो थियो अनि यिनीहरु को कस्तो छ भन्दै । 

जब का रेलको लिक को साइडमा ‘नुन’ जम्मा पार्ने ठाउँहरु देखियो, तब हामी समुन्द्र को धेरै नजिक छौँ भन्ने आभाष भयो । खेतबारी र नरिवल घारी हुँदै रेल अघि बढिरह्यो । ४ घन्टा भन्दा बढि ढिलो रहेको हाम्रो रेल ले लगभग आफ्नो समयलाई ‘व्यालेन्स’ गरिसकेको थियो । ठाउँ अनुसार, र बाटो अनुसार रेलले कहिले विद्युतिय इन्जिन त कहिले डिजेल इन्जिन जडान गर्थ्यो । हामी यस्तै साँढे ४ बजेतिर चेन्नइ आइपुग्यौँ । चेन्नइ समुन्द्र को नजिक रहेको शहर हो भन्नेकुरा हामीले देखिरहेको समुन्द्र र पानीजहाज ले नै अवगत गराइसकेको थियो । चेन्नइ को स्टेशनमा रले को मुख परिवर्तन हुँदोरहेछ । अघिल्लो सातौँ डिब्बा मा भएका हामी चेन्नइबाट रेल पश्चिमतिर लाग्दा पछिल्लो सातौँ डिब्बा मा थियौँ ।
चेन्नइबाट रेल निरन्तर पश्चिम बढ्यो । साँझ पर्दै थियो । ठाउँठाउँ मा सानातिना डाँडाहरु देखियो । ती ठाउँहरु देख्दा अमलेखगन्ज, चुरे, जस्ता नेपाल का ठाउँहरु को याद आउँथ्यो, दुरुस्तै उस्तै लाग्थ्यो । अब हाम्रो स्टेशन केही घन्टामै आउने निश्चित थियो, अत रेलमा बेलुका को खाना नखाइने भइयो । स्टेशन आउन लागेर होला, हामीहरु आपस मा झनै धेरै कुरा गर्न थालेका थियौँ । ती ८ जना केटाहरु पनि नेपाल को बारेमा खुब चाख दिएर कुराहरु सोध्न थालेका थिए, २-३ जनालाई चाँहि नेपाल को बारेमा थाहा रहेछ । उनीहरु ले सोधेका कुराहरु हामीले पनि गज्जब ले बुझाएर भन्दियौँ ।

patna-to-bangalore-train-route
राती १० बजेतिर हामी ‘बेङ्लोर इस्ट’ मा उत्रियौँ । बेङ्लोर शहरमा पाइला टेकिसकिएको थियो, निकै अनौठो लागिरहेथ्यो । पटना देखि चेन्नइसम्म आउँदा, बाटोको छेउाछाउमा झुपडिहरु टन्नै देखिएको थियो तर बेङ्लोरमा मैले त्यस्तो देखिन । अन्य ठाउँका प्लेटफार्महरु फोहर थिए, बेङ्लोर इस्टमा त ‘थुक्न मनाही’ भनेर लेखिएको रहेछ । ३ जना साथीहरु होटलमा जाने हुनुभो, मैले चाँहि बेङ्लोर मा हुनु भएको दाइलाई फोन गरेँ । उहाँले लौ आउ भन्नु भो, ‘अटो’ लिएर जाने भएँ म । स्टेशनमै अटोवाला आइपुगेको थियो, उसले भन्यो तपाई पनि सँगै हिँड्नु त्यहाँबाट तपाई को ठाउँ अझै अगाडि हो, अनि बस वा अटो मा जानुहोला । उसको सल्लाह ठिकै लाग्यो, अनि दाइहरुले पनि जौँ जौँ भन्नुभयो । अटो ले ‘शिवाजीनगर’ को एक होटल मा ल्याइदियो ।

दाइहरुले ३ वटा वेड भएको एउटा कोठा हेर्नुभयो, म भने अब दाइहरुको मा जान्छु भन्ने सोचेर हिँड्नै लागेको थिँए । अटोवाला ले भन्यो, यहाँबाट अटो मा जानु भो भने महंगो पर्छ, पब्लिक बस चढेर जानु । ठाउँ थाहा छ भने, यतिबेला जानु हैन भने राती खोजेको खोजेकै भइएला ठाउँ भन्यो । मलाई उसको कुरा ठिक लाग्यो, बेङ्लोर को दाइहरुको फोन नम्बर र ठेगाना त थियो । तर यति ठूलो ठाउँमा आधिरातमा टेलिफोन बुथ खुलेको नहोला, फोन गर्ने ठाउँ नपाइएला भन्ने जस्तो लाग्यो । अनि त्यहिँ नै बस्ने निधो गरियो । छेउकै होटलमा गएर खाना खाइयो, अनि आएर घुप्लुक्क सुतियो ।
बिहानै मैले साथिहरु सँग बिदा लिएर अटो लिएर हिँडे । अटोवालालाई ‘मुर्गेसपाल्यम’ लगिदिनु भने, उसले हुन्छ भन्यो । झिसमिसे बिहान भएका कारण, बाटो खुल्लो थियो । करिव आधाघन्टा को अटो यात्रा पछि, अटोवाला ले एउटा चोक मा ल्याएर रोकिदियो, अनि भन्यो तपाईले भनेको ठाउँ यहि हो । ल ठिक छ उसोभए भनेर, अटोवाट ओर्लिएँ ।

ओर्लिएपछि कता जाने कता जाने भयो, त्यही पनि मुलबाटो क्रस गरेर अर्को बाटो समातेँ । करिब ५ मिनेट जति झोला भिरेर हिँडे, लुखुर लुखर । बेङ्लोर को रोडमा बिहान, पहिलोपटक म हिँडिरहेको थिँए, थाहा छैन म कुन ठाउँमा छु र कुन दिशा तर्फ गइरहेछु । तर पनि बेङ्लोर मा ठगहरु हुँदैनन् भन्ने सुनेको भएर मैले अटोवालाले भनेको कुरा मा विश्वास गरेको थिँए । साँच्चै, म मुर्गेसपाल्यम मै रहेछु, एउटा पसल को बोर्ड पढेर थाहापाएँ ।

मुर्गेसपाल्यम त आइपुगिएछ, तर यति धेरै घरमा दाइहरु कहाँ बस्नुहुन्छ थाहा थिएन । त्यहीपनि अघि बढिरहेँ । जम्मा हिँडेको ५-६ मिनेट त्यही नि मलाई धेरै हिँडे जस्तो लागिसकेको थियो, मैले बाटो छेउको एक चियापसलबाट फोन गरेँ । फोन गरेको केही समय दाइ आइपुग्नु भयो । मैले फोटोमा मात्र देखेको थिँए, फेसबुकमा दाइलाई । मैले चिनिहालेँ । त्यो कुरा भन्दा पनि बढि अचम्म त यो लाग्यो कि, मैले घर कै छेउबाट फोन गरेको रहेछु । र अहिलेसम्म पनि छक्क परिरहेछु, कसरी ठ्याक्कै घरै छेउमा आएर फोन गरेछु भनेर । मलाई बेङ्लोर आइपुगेँ भन्ने भयो, म दाइहरु बसेको घरमा आइपुगेको थिँए । घर आइपुगेर, नुवाइधुवाइ गरेर अफिसतिर हिँडियो।

म बेङ्लोर आइपुगेँ अनि मिति को हिसाबले भन्ने हो भने, आज ठ्याक्कै १ महिना भयो, यहाँ आइपुगेको । 
समाप्त !

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

2 comments :

  1. हहाहा.. म पनि मित्र राष्ट्रको भ्रमण योजना गरिराछु.. तर, समलिङ्गीको कुरा सुनेर झसङ भो.. पैसा लिने दाहेक अरू केही त गरेन ब्रोलाई ? ‘छक्का’हरूले... हाहाहा 

    ReplyDelete
  2. सर्ट लगाइएको छ भने, सर्ट को माथिल्लो गोजीमा चैँ केही नि नराखौँ है, फेरि गोजिभित्र माथिबाट हात हालेर, जे छ त्यै लग्दिन्छन् ! 

    ReplyDelete