रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna

टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्ने मा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिम को कुरा दिमाग आएको थिएन, भनौँ न कुनै किसिम को डर लागेको थिएन । त्यसमाथि ट्विटर मा निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिम को ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त, ट्विटर मा निरज र भोजराज दाइ ले दिएको सल्लाह कै आधारमा रक्सौल बाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्ना मा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिम को ढुक्क थिँए ।

बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टर मा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टर को मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर लगत्तै उसले भन्यो, ‘चलो, बसपार्क चल्ते हेँ’ । काउन्टरको एक घर पर्तिर रक्सौल को नयाँ बसपार्क थियो, जहाँ आधा दर्जन जति लोकल बसहरु थिए, जुन २०-२५ मिनेट को अन्तराल मा छुटिरहेका थिए । बसपार्क पुग्दा त्यहाँ सपना ट्राभल्स नाम गरेको दुईवटा बस थियो, एउटा स्लिपर सहित को र अर्को सिट मात्रै भएको,दुबै बस नयाँ झैँ देखिन्थे । वसपार्कमा काउन्टर का अन्य मान्छेहरु पनि रहेछन्, मलाई वसपार्क मा ल्याउने ले, त्यहाँ बस्नेलाई यो ‘प्यासेन्जर’ हो भनेर चिनाइदियो । एकछिन पछि अमरज्योती ट्राभल्स नाम गरेको बस, जुन बसको टिकट मैले काटेको थिँए, त्यो पनि आइपुग्यो । बस त्यहाँ बसपार्क मा देखेपछि, अब चाँहि पट्ना जुनसुकै हालत मा पुगिन्छ झैँ लाग्यो ।

raxual_new_bus_park
आफ्नो गह्रुङ्गो झोला पछाडि भिरेर म बसपार्कमा यता उता डुलिरहेँ । वसपार्कमा भएको काउन्टरमा एउटा आर्मी ले बोक्ने जस्तो टाटेपाटे ब्याग थियो । मैले अड्कल काटेँ, यो पक्कै पनि आर्मी को हुनुपर्छ । त्यत्तिकैमा  हाफपाइन्ट लगाएका एक व्यक्ति देखापरे, उनले त्यही ब्याग चलाउन थाले । यसो अनुहार हेर्दा मंगोलियन जस्तो लाग्यो, लगभग नेपाली दाइ नै हुनुपर्छ भन्ने गेस गरेँ । उनी अलि पर्तिर गएर बसे, मोबाइल बाट फोन लगाइरहे झैँ गर्थे । म वसपार्क मा घुमिघुमी उनको गतिविधि नियालीरहेको थिँए, मलाई त्यो मान्छे सँग गएर कुरा गर्ने हिम्मत जुटिरहेको थिएन, कारण म उ सँग मात्र हैन, स्थान र परिवेश सँग पनि अपरिचित थिँए । त्यतिकै मा बसको ड्राइभर ले सोध्यो, ‘आपको टिकट हो गया’, मैले ‘हो गया’ भनेँ । ड्राइभर को हाउभाउ हेर्दा निकै रमाइलो किसिम को मान्छे लाग्यो ।

अघि नियालिरहेको व्यक्ति को ३-४ फन्का लगाएपछि, नजिकै गएर सोधेँ, ‘तपाई इन्डियन आर्मी हो?’ । उसले हाँसेर जवाफ दियो ‘हो’ । चिनापर्चि सुरु भयो, मैले मेरो घर सर्लाही भनेँ । उसले सोध्यो, ‘अरे तिमी फलानो खड्कालाई चिन्छौ, जो बाइक एक्सिडटेन्टमा परेर मर्यो’ । मेरो दिमाग मा एक्कासी बत्ति बले झैँ भयो, ‘केही महिना पहिले घरमा बुवाले भन्दै हुनुहुन्थ्यो, फलानो खड्का को छोरा एक्सिडेन्ट मा परेर बित्यो’ । उसले सोध्ने बित्तिकै मैले, ‘हो हो, थाहा छ’ भनेर जवाफ दिँए । उसले भन्यो, ‘हामी सँगै थियौँ, बिचरा बिदा मा घर आएको बेला काठमाडौँ बाट घर फर्किँदै गर्दा, बाइक एक्सिडेन्ट भएर त्रिशुलीमा खस्यो’ । म उक्त खड्कालाई राम्रो सँग चिन्दिन थिँए तर बुवाले एक समय उनीहरुको बारेमा घरमा कुरा गर्नु भएको थियो, अत: मैले भने, हो उ पनि सर्लाही कै थियो । हामीले बसमा लगेर आफ्ना सिटमा झोला राख्यौँ । १८ नम्बर सिट भन्या पछाडि हुन्छ जस्तो लागेको थियो, तर रक्सौलमा त नेपाल को जस्तो ‘ए’ र ‘बी’ साइड भनेको हुँदैन रहेछ, अत: सिट बिचमै रहेछ । मेरो सिट दाँया साइड को झ्यालपट्टि थियो भने त्यो दाइको वायाँ साइड को झ्यालपट्टि रहेछ ।

मैले त्यो दाइको नाम सोधिँन अनि उनले पनि मेरो नाम सोधेनन् तर उनी बारम्बार साथिहरुलाई मिसकल दिइरहेका हुन्थे । साथीहरु सँग कुरा गर्दा ती दाइ भन्थे, ‘म ऋषि मामा, चिनेनौ’ । अत: मैले सोचेँ उनको नाम ऋषि गुरुङ हुनुपर्छ, कारण उनले आफू गोरखाको गुरुङ हो भनेर बताएका थिए । काठमाडौँ मा रहेकी श्रीमतीलाई भेटेर फर्पिङ को बाटो हुँदै बिरगंज आएका रहेछन् । उनले ईन्डियन आर्मी मा जागिर खाएको १० वर्ष भइसकेको रहेछ, रेञ्जर तालिम गरेका कारण उनी कमाण्डो रहेछन् । अनि उनीहरुको पोष्ट(स्थान) ३-४ महिना मै परिवर्तन हुँदो रहेछ । घर जानुभन्दा पहिले उनको पोष्ट सितामाढि मा रहेछ, तर उनी घरमा २ हप्ता को विदा मा जाँदा ‘वाडा’ हो कि के भन्ने ठाउँमा उनको पोष्ट सरिसकेको रहेछ, जुन ठाउँ उनले देखेका थिएनन् । अत: उनी साथिहरुलाई मोबाइल बाट सोधिरहेका हुन्थे, पट्ना बाट के गर्ने, कति बजे को ट्रेन छ, आदि इत्यादि ।

‘मेरो मुख त साह्रो चिलाएको जस्तो पो भो त’ उनले भने । अनि फेरि थपे, ‘बुढीले ओरिजिनल कोदो को झोल हाल्देकी छ, तिमी पनि खान्छौ?’ । कोदोको झोल अर्थात रक्सी को कुरो गरेपछि मैले भने, ‘म त खान्न त, अहिलेसम्म खाएकै छैन’ भनेँ । त्यसभए चाउचाउ खाउ न त । त्यति भनेर उनी प्लाष्टिक को ग्लास किन्न गए, मैले चाँही ‘कल’ (धारा) मा हात धोएँ । ती गुरुङ दाइले प्लाष्टिक को केही झोला लिएर बसबाट तल झरे । बसपार्क को छेउ मै एउटा सानो सानो कटेरो थियो, हिन्दी फिलिम हेर्ने भएकोले, सायद ‘ढावा’ भन्या त्यही होला जस्तो लाग्यो । हामी त्यही छेउ को पसलमा लाग्यौँ । उनले एउटा ‘वाइवाइ’ मलाई दिए । अनि उनले ‘कोक’ को बोतलमा हालेर ल्याएको ‘कोदो को झोल’ र चाउचाउ खान थाले । उनले बुंगुर को मासु पनि ल्याएका रहेछन्, मैले नखाने भनेँ । मैले चाउचाउ खाँए भने उनी चाउचाउ, बुंगुर को मासु र लोकल खाइरहेका थिए । १ गिलास खाएपछि त यसले त रमरम पो पार्छ त उनले भने । त्यसो भए धेरै नखानु है, अहिले झ्याप हुनुहोला मैले भनेँ । कुरा चल्दै गर्दा, ‘आफूले बियर भन्दा धेरै’ केही नखाएको भन्ने कुरा गरेँ, यति मात्रै भनेको थिँए उनले सोधे बियर किनौँ त, खाने हो ? भै’गो पर्दैन तपाई खानुस्, म यही चाउचाउ खान्छु, अहिले बस हिँड्ने बेलामा खाना पनि त खानु छ मैले भनेँ ।

अघिसम्म उजाड लागेको उक्त ढावावालाले टेबुल, कुर्सीहरु मिलाउन थाल्यो । भुँइमा पानी छर्किएर धुलो नउड्ने बनाइएको थियो । अँध्यारो बढ्दै गएपछि, ढावा-वाला ले, बिचमा ‘पेट्रोलम्याक्स’ बालेर झलमल्ल उज्यालो पार्यो । त्यो समय निकै रमाइलो लागिरहेको थियो । एक त एउटा साथि भेटेको थिँए पट्ना सम्म को लागि, दोस्रो कुरा त्यो पेट्रोलम्याक्स को उज्यालोमा पुरै बसपार्क नै रमाइलो देखिएको थियो । उनीहरु ले भात पकाइसकेर, रोटी पकाउने सुरसारमा थिए । बसमा चढ्ने र खाना खान आउने  व्यक्तिहरुले ढावा भरिँदै थियो । अर्को एकजना इन्डियन आर्मी का दाइ पनि देखा परे । अनि म सँगै रहेक गुरुङ दाइले पनि उसलाई चिन्दा रहेछन् । उनीहरु दुईजना कुरा गर्न थाले, उनीहरुको रमाइलो गफ मैले सुनिरहेँ । यस समयमा ट्विट गर्न पाए, अथवा घरमा फोन गरेर सबै ठिकठाक छ, राम्रो छ, पट्ना जाने साथि भेटियो भन्न पाए कति रमाइलो हुन्थ्यो होला भन्ने झैँ लाग्यो, कारण घरमा एकदमै चिन्ता गरिरहनु भएको छ भन्ने सहजै अनुमान गर्न सक्थेँ ।

८ बज्न लाग्दै थियो, अब खानुपर्छ भनेर ढावा-वालालाई सोधियो के के छ भनेर । उसले मटन, चिकन, दाल, रोटी, राइस आदि भन्यो । गुरुङ दाइले मलाई के खाने भनेर सोधे, तर गुरुङ दाइले आफू दाल र रोटी खाने भनेका कारण मैले पनि त्यही खाने भनेँ, अर्को दाइले चाँही ‘फिस’ (माछा) खाने भने । ढावावाला ले भन्यो, “तपाइहरु आउनहुन्छ भनेर, बडा प्यारसे हमने मटन, चिकन बनाया और आप दाल कहेरेहो, चिकन करी तो ले-लो’ । गुरुङ दाइले भने, ‘म चिकन खान्न’ । ढावावालाले मलाई हेर्दै भन्यो, ‘आप तो खाएङ्गे चिकन’ । गुरुङ दाइले भने, ‘ये स्टुडेन्ट भाइ भेज है’ । ढावावालाले चिकनकरी भनेर कर गर्दा र बिहान खाना नखाएका कारण खाइदिउँ न त ‘भात र चिकन’ जस्तो लागेको थियो । तर गुरुङ दाइले ‘ये भाइ भेज है’ भनेको ले गर्दा, मे तो दाल रोटी खाउङ्गा मैले भनेँ ।

गुरुङ दाइ र मैले दाल रोटी लियौँ, अर्को दाइले चाँहि माछा र भात लिनुभो । हामी खाना-खाँदै थियौँ । पछिल्लतिर बाट ‘आह र उहु’ को आवाज आउन थाल्यो। ‘उह उह, र आह आह’ को ‘भोल्युम’ झन् झन् बढ्दै थियो । के-हो यस्तो भनेर पछाडि फर्केर हेरेको त, ढावा को एकछेउ को ‘बेन्च’ मा बसेर बिहारी बुढाहरु ‘मोबाइल मा ब्लु’ हेर्दै रै’छन् । ४-५ जना बुढाहरु मोबाइलमा एकटक ले हेरिरहेका थिए । अनि मोबाइलबाट ‘सोही' आवाज निरन्तर आइरहेको थियो । खुल्लम खुल्ला, बुढाहरुले मोबाइल मा ‘पोर्न’ हेरेको देखेर छक्क परेँ । उनीहरुलाई वरिपरि भएका मान्छे कसैको मतलव थिएन, उनीहरु आफ्नै सुरमा हाँस्दै मजा लिइरहेका थिए । हामी पिरो तरकारी सँग रोटी निलिरहेका थियौँ । खाइसकेपछि गुरुङ दाइले सोधेका थिए, ‘तिमी त भेज मात्रै त हैन नि’ । मैले, ननभेज नि चल्ने कुरा बताएको थिँए । तिनै जनाले खाएको खाना को पैसो त्यही गुरुङ दाइले नै तिर्नुभयो । हामीले खाना खाँदै गर्दा करिब १ दर्जन जति नेपाली केटाहरु को समूह आइपुग्यो । हैदरावाद हिँडेका उनीहरु म जाने बसबाट नै पट्ना सम्म जाँदै रहेछन् । अत: नेपालीहरु को सङ्ख्या धेरै देखेर, सजिलै पट्ना पुग्छु भन्ने मनोबल बढेर आयो ।

बसपार्क बाट बस छुट्ने बेला, पुलिसहरु गाडि चढेर आइपुगे । पहिलोपल्ट भारतिय पुलिस देख्दा, एक किसिम को डर डर जस्तो पनि लागेर आयो । बस छुट्ने बेला हाम्रो तिर बसपार्कमा त्यसरी पुलिसहरु घुम्न आउँदैन थिए । साँच्चै भन्दा वसपार्क बाट बस छुट्ने बेला, नेपाल को भन्दा बेग्लै सिस्टम देखेर मन रमाइरहेको थियो । बस छुट्नुभन्दा अघि, काउन्टर का मान्छेहरु सबै कुर्सी राखेर बस को अगाडि बसेका थिए । उनीहरु एकदमै सौहार्दपुर्ण तवर ले कुरा गरिरहेका थिए । यस्तो लाग्यो, हाम्रो मा सिस्टम छैन, हाम्रो मा पनि यस्तै सिस्टम बसाले कति राम्रो हुन्थ्यो होला ।

बस निर्धारित समय भन्दा २० मिनेट ढिलो छुट्यो, म सँगै को सिटमा एउटा चस्मा लगाएको केटो रहेछ । मैले मेरो झोला आफ्नै सिट अगाडि राखेँ, आफ्नो खुट्टा राख्न मिल्ने गरि । गाडि हिँड्न थालेपछि सिटमा सँगै हुने ले सोध्यो, ‘आप कहाँ का रहेनेवाले हो’ । अन्त टाढा भन्दा यसले हेप्ने हो कि भनेर, ‘मे बिरगंज से आया हुँ’ भने । उसले सोध्यो, ‘बिरगंज कहाँनेर’ । अब परेन फसाद, त्यही नि आफूले ठाउँको नाउँ भुले झैँ गरि भने, ‘एक्चुल्ली, मेरे चाचाजी यहाँ पर रहेते है’ । ‘तो कोही तो एड्रेस होगा ना’ उसले फेरि भन्यो । मैले भनेँ, ‘मुझे नहिँ पता, मे काठमाण्डु से २ दिन पहेले आया हुँ, और २ दिन चाचाजी के पास ठहेरा’था, मुझे पता नहिँ कौन सा जगाह है’ । उसले भन्यो, ‘जहाँ भि हो, तुम्हारा चाचाजी ते हे ना, ओ जहाँ भि ठहेरे क्या फडक पर्ता हे, तुम आ’के ठहेरे और चले गए’ । उसले मेरो कुरा पत्याएपछि, मैले नि ‘हाँ, हाँ’ भनेर उसको कुरा मा सही थपेँ । उ रक्सौल कै स्थानिय रहेछ र काम चाँही हैदरावाद मा गर्दो रहेछ । निन्द्रा नलागुन्जेल, यस्तै त्यस्तै कुराहरु हुँदै गए ।

बस दक्षिण तिर दौडिन थालेपछि, मन फेरि एक पटक अमिलियो । म कहाँ जाँदैछु, जानु को उद्देश्य के हो ? आदि इत्यादि कुराहरु मनमा खेल्न थाले । नेपाली नम्बरप्लेट भएका टिफर र ट्रकहरुले निरन्तर गिट्टि बालुवा र ढुंगा बोकेर कुदिरहेका थिए । मलाई लाग्यो, सँधै नै साँझ मा यसरी नेपाल बाट बालुवा, ढुंगाहरु तस्करी हुन्छ होला । खाल्डाखुल्डि परेको सडकमा, धुलो उडाउँदै बस जोडसँग दक्षिणतिर हानियो । बसको खलासी ले, नाना पाटेकर भएको एउटा फ्लिम को सिडी राखेर भिडियो अन गर्यो । केही सिटका मान्छेहरु मुन्टो तन्काइ तन्काइ भिडियो हेरिरहेका थिए । वाँया साइडको झ्यालछेउमा हेरेँ, गुरुङदाइ मस्त सुतिरहेका रहेछन्, सायद उनलाई हल्का लागेको पनि थियो होला । मेरो पनि कति बेला आँखा लागेछ पत्तै भएन, बस मोतीहारी हुँदै मुज्जफपुरमा आएर एकछिन रोकियो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

7 comments :

  1. पोहोर म नि गाको थिए। आकारको कुरा पढदा रमाइलो लाग्यो.

    ReplyDelete
  2. सन २००४ को एउटा साझ हुनुपर्छ , ठ्याकै तिथिमिती त  बिर्सें , म आफु नि रक्सौल बाट पटना गएको छु पहिलो पटक । त्यतीबेला अहिले जस्तो नाइट बस को सुबिधा थिएन , ।  रात को करिब नौ बजे जिप मा कोचम कोच गरेर ।  त्यसपछी पनि  अरु दर्जनौ पटक हिडियो त्यो बाटो । आज  करिब सात बर्ष पछी आएर आकार अनुभब पढिरहदा तिनै पुराना दिन हरु आँखाभरी नाचिरहेछन र संगै याद आइरहेछन  रक्सौल का ढाबा र लाहुरेदाइ हरु को सम्झना  । धन्यवाद आकार - अरु अनुभब नि पढ्न पाइयोस । 

    ReplyDelete
  3. गत जनवरी मा काम को सिलसिला मा मुम्बई जानुथ्यो र ट्रेन पटना बाट थियो......पछिल्लो ३ महिना मा २ पटक पटना पुगिसकेको हुनाले मलाई पटना पानी काठमाडौँ जस्तै रमाइलो र आत्मीय लाग्न थालिसकेको थ्यो....तर त्यो अत्मिएता मैले आफ्नो बेबहार मा नि उतारे.....पैलो पटक २०० भारु तिरेर ट्रेन चडेको थिए रकसौल बाट पटना जादा......पछिल्लो पटक त अधिकांश भारतीय ले जस्तै बिना टिकेट कै हजिपुर सम्म यात्रा गरे....कसो बाटो मा टि टि भेटिएन :P 

    ReplyDelete
  4. Dherai ramro prastuti.
     

    ReplyDelete
  5.   
     आकार जीको रमाइलो यात्रा बर्णन पढ्दा यस्तो लाग्यो म पनि तपाई संगै यात्रारत छु। 

    ReplyDelete
  6. पहिलो पटक देश् बाहिर जादाको यात्रा बिवरण रमाइलो रैछ, तीन भाग नै पढे एकैपटक्। 

    ReplyDelete
  7. रमाइलो मानेर पढ्दै छु है ...

    ReplyDelete