पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna

बेलुका ८:२० बजेको ट्रेन चढ्न म पट्ना बसपार्कमा बिहान साँढे चार बजे ओर्लिएँ । बिहानको समय भएर होला, मौसम ठन्डा थियो । नौलो ठाउँ भएको र आफूले जिन्दगी मा कहिले ट्रेन नदेखेको र नचढेको कारण आफ्नो ट्रेन राती छुट्ने भएपनि बिहानै पट्ना आइपुगेको थिएँ । ‘गंगानदी’ पार गर्दै गर्दा पट्ना शहर मा बलेका बत्तिहरुले मलाई पट्ना शहर ठुलो होला भन्ने आभाष गराएको थियो । त्यति ठूलो शहरमा कहाँ जाने, स्टेशन कता छ, केही थाहा थिएन । तर पनि मेरो मनमा भने कुनै किसिम को प्लान थिएन, कुनै डर थिएन (अहिले सम्झिँदा आफैँलाई अचम्म लागिरहेको छ) ।

म त्यही बत्तिहरु हेर्दै शहर ठूलो होला भन्ने अनुमान गर्थेँ, अनि कुनै पनि चोक मा पुग्दा, रेल्वे स्टेशन पुग्ने बाटो त्यो होला भने जस्तो लाग्थ्यो । फेरि निरज ले ट्विटरमा, हनुमान मन्दिर नजिक स्टेशन छ भनेको थियो, अनि हनुमान मन्दिर भनेपछि आफ्नो दिमाग मा अर्कै किसिम को छाप परेको थियो । मलाई सर्लाही को हरिऔन मा भएको हनुमान को मुर्ति जस्तै मुर्ति भएको हनुमान मन्दिर पट्ना मा होला भन्ने लागेको थियो, र यो मेरो कोरा कल्पना थियो । हनुमान मन्दिर नजिक स्टेशन नभइ, स्टेशन नजिक हनुमान मन्दिर रहेछ भन्दा फरक नपर्ने रहेछ ।

बिहान साँढे चार बजे पट्ना बसपार्क मा ड्राइभर ले बस रोकेपछि सबै यात्रुहरु बसबाट ओर्लिए । मलाई अघिल्लो दिन खाना खुवाउने इन्डियन आर्मीका गुरुङ दाइ ले सोधे तिमी कता जाने? मैले गुरुङदाइलाई नै उल्टै सोधेँ, तपाई कहाँ जाने? उनले ट्रेन स्टेशन जाने बताए । मैले नि, स्टेशन नै जाने बताएँ । बसपार्क बाटै ‘अटो’ लिएर हामी ट्रेन स्टेशन तिर लाग्यौँ । हैदरावाद जाने नेपाली केटाहरु को समूह पछि नै छुटे, उनीहरु हिँडेर जाँदैथिए ।

स्टेशन को बाहिर पुगेर अटो रोकियो, सायद उत्तर तर्फ गएर अटो रोकिएको थियो, (दिशा पत्ता लगाउन अलि गाह्रो परेको थियो) । उनै गुरुङदाइ ले नै अटो को पैसा तिरे । अटो बाट झर्ने बित्तिकै आफ्नो अगाडि त मान्छे नै मान्छे भुँइभरि सुतिरहेको देखेँ । अनगिन्ति मान्छेहरु खुला आकाशमुनी सुतिरहेका थिए । सुरु मै त्यस्तो, दृश्य देख्दा, के हो के हो जस्तो लाग्यो आफूलाई । गुरुङ दाइ अघि लागे, म उनको पछि पछि लुरुलुरु लागेँ । गुरुङ दाइ गेट बाट भित्र छिरे, म पनि छिरेँ । त्यहाँ भित्रपनि मान्छे नै मान्छे सुतिरहेका थिए, खुट्टा टेक्ने ठाउँ थिएन भन्दा हुन्छ, खुब होशले हिँडनुपर्ने । त्यो घर भित्र छिरेर माथि ‘फ्लाइओभर’ बाट बाटो काट्न थाल्यौँ, त्यो ‘पुल’ मा पनि दायाँ-वाँया मान्छे नै मान्छे तन्ना, गम्छा ओच्छ्याएर सुतिरहेका थिए । लौ, मैले त्यस्तो केही कुरा लिएर आ’को छैन त भने जस्तो त्यतिखेर महशुस भयो । यसरी नै प्लेटफर्म मा सुत्नु पर्यो भने के गर्ने, कसो गर्ने भन्ने लाग्यो ।

फ्लाइओभर मा १,२,३… आदि प्लेटफर्म मा जाने नम्बर भनेर लेखिएको थियो । फ्लाइओभर को पल्लो छेउ पुगेपछि गुरुङ दाइले भने, म त प्लेटफर्म नम्बर १ मा जान्छु, तिमी कता जान्छौ ? म यसो अगाडि जान्छु, उता गएर बस्छु भनेर हात को इशारा गरेँ । ल त म लागेँ है, भनेर उनी फ्लाइओभर बाट प्लेटफार्म नम्बर १ मा उत्रिए, म सिधै अघि बढेँ र स्टेशन को कार्यालयहरु भएको, हनुमान मन्दिर भएपट्टि को स्टेशन मा पुगेछु । अब म नितान्त एक्लो भएँ, ट्रेन को नितीनियम देखि पुर्णत अपरिचित थिएँ । कहाँ गएर चढ्ने, कता चढ्ने, त्यति धेरै डिब्बाहरु हुन्छन्, कसरी आफ्नो सिट पत्ता लगाउने भने झैँ ला्ग्न थाल्यो । हुन त टिकटमा सबै लेखेको थियो, तर पनि टिकट मा लेखेको कुरा राम्रो सँग बुझेको जस्तो आफूलाई लागिरहेको थिएन ।

patna train station in the morning
अगाडि बढेँ, मान्छे नै मान्छे थिए । स्नानघर र बाथरुम भनेर लेखिएको थियो, बाथरुम जानुपर्यो भन्नुपर्ने सोचेँ, तर भित्र भित्तामा आफ्नो सामान को सुरक्षा आफैँ गर्नु भनेको थियो । आफ्नो अजंग को झोला नै बोकेर बाथरुम छिर्नु त भने झैँ लाग्यो, त्यतिबेला महशुस भयो, एउटा साथि भएको भए हुने रहेछ, कम्तिमा झोला त हराउने डर हुँदैन थियो । म बाथरुम तिर गइन,अगाडि नै बढेँ, हनुमान मन्दिर देखेँ । हनुमान मन्दिर तिर कै बाटो मा लागेँ, अटोवालाहरु ‘अटो’ ‘अटो’ भनेर कराइरहेका थिए । फेरि फर्केर स्टेशन को घर भित्र छिरेँ, मान्छेहरु भुँइभरि थिए । भित्र इन्क्वायरीमा पुग्दा फेरि गुरुङ दाइलाई भेटेँ, ए फेरि पो भेटियो भनियो, तर त्यसपछि भेटिएन ।

भोक लागेको लागेको जस्तो भएपछि स्टेशन बाहिर को एक पसलमा गएर चिया खाँए । अनि गाडि पार्किङ गर्ने ठाउँमा मान्छेहरु बसिरहेका थिए, रोडकै आड लिएर, म पनि त्यहि गएर बसेँ । मानवसागर नै देखिन्थ्यो, ट्रेन चढ्न आउने र जानेहरु को लर्को देखिन्थ्यो । म चुपचाप हेरिरहेँ । पत्रिका बेच्नेहरु ले पत्रिका ल्याए, ‘हिन्दुस्तान टाइम्स’ छ भनेर सोधेँ । छ तर हिन्दी मात्र, अंग्रेजी छैन, पत्रिका बेच्नेले भन्यो । खोजेको त अंग्रेजी थिएँ तर नपाएपछि हिन्दि नै पढ्छु भनेँ । पत्रिका लिएँ तर त्यो त अर्कै हिन्दुस्तान नाम गरेको पत्रिका परेछ । पत्रिका हेर्न नै दिक्क लाग्यो तर पनि त्यसैलाई ३-४ पटक ओल्टाइ पल्टाइ हेरिरहेँ ।

अब पट्ना घुम्छु भने झैँ लाग्यो र झोला बोकेर हिँडे । झोला साह्रै भारी थियो, त्यही नि कतै झोला राख्ने उपाय नभएको कारण, झोला नै सँगै बोक्नै पर्ने बाध्यता थियो । ख्यालख्याल मै मैले स्टेशन नजिकै को रोड हुँदै एकफन्को लगाएँ । खै, के के नाम थियो रोडहरु को याद छैन तर पनि झोला बोकेर करिब ३ किलोमिटर हिँडे झैँ लाग्छ । असिन पसिन हुँदै, पट्ना को रोडमा ३ किलोमिटर पैदल नै चक्कर लाएपछि फेरि ‘रेल्वे स्टेशन’ मा पुगेँ । स्टेशन भित्र छिर्दा पहिले प्लाटफर्म नम्बर १ मा पुगिन्थ्यो । एकछिन त्यही प्लाटफर्म मा बस्ने ठाउँ खोजि गरेँ, बल्लतल्ल एक ठाउँमा बस्न मिल्ने ठाउँ पाइयो । झोला राखेँ, बसे, जब म सँगै बसेका मान्छेहरु उठेर गए, मैले झोला को सिरानी बनाएर सुतेँ । म भुइमा नभइ, बेन्च जस्तो अग्लो बनाइएको ठाउँमा सुतेको थिएँ । पछि थाहा भयो, त्यहाँ भित्र त खाना खान पाइने होटलहरु रहेछन्, स्लिपर, एसी आदि क्लासमा जाने यात्रुहरुको लागि बस्ने छुट्टै यात्रु प्रतिक्षालयहरु पनि रहेछन् ।

overhead bridge at patna
ट्रेनहरु आउँदै जाँदै गरिरहेका हुन्थे । पट्ना को स्टेशन निकै ठूलो रहेछ, ८-९ वटा ट्रेन प्लाटफर्महरु रहेछन् । विभिन्न नाम गरेका ट्रेनहरु आउँदै जाँदै गरिरहेका थिए। मान्छेहरु ट्रेनबाट ओर्लिरहेका थिए, चढिरहेका थिए । २०-२२ वटा डिब्बाहरु भएको ट्रेन आउँथ्यो, म छक्क पर्थेँ, मान्छेहरुले आफ्नो सिट कसरी थाहापाउँछन् यति ठूलो ट्रेन मा । कुन डिब्बा को टिकट हो कसरी थाहा पाउने ? मेरो टिकट मा लेखिएको कुरा कसैलाई सोधौँ झैँ लाग्यो तर सोध्दा फेरि उल्टो भन्दिने हो कि, अहिलेसम्म ट्रेन नै चढेको रैनछ भनेर हेप्ने हो कि भनेर, कसैलाई सोधिन । बेलुका सम्म त बुझ्न सक्छु होला, कुनै आइडिया दिमाग मा आउला नि भने झैँ लाग्थ्यो । मिनरल वाटर र स्प्राइट को बोतल २-३ वटै किनियो । अनि त्यहि खाँदै बसियो, तर जब आफू बसेको भित्र होटल छ भन्ने थाहा भयो, गएर खाना खाँए । खाना हाइजेनिक नै भए झैँ लाग्यो र पैसा पनि सस्तो नै लाग्यो ।

कुन ट्रेन कहाँ बाट आउँदैछ, कहाँ जाँदैछ भन्ने कुरा प्लेटफार्म मा बारम्बार माइकिङ भइरहन्थ्यो । प्लेटफर्म मा दर्जनौँ स्थान मा ‘मनिटर’हरु राखिएको थियो, जहाँ ट्रेन को जानकारी बारम्बार प्रसारण गर्थ्यो, त्यसबाहेक २-३ वटा भोजपुरी फिल्म को प्रोमोहरु पनि बारम्बार प्रसारण गर्थ्यो जुन हेर्दा हेर्दा वाक्क र दिक्क भइएको थियो । प्लेटफार्म मा नै फोनबुथहरु पनि रहेछ, घरमा फोन गरेर सकुशल रहेको जानकारी गराएँ । बस्दा बस्दा दिक्क लागेपछि हनुमान मन्दिर तिर लाग्नु पर्ला भन्ने सोच बनाएँ । अगाडि हिँड्दै थिँए, एउटा जोगीले हात मेरो निधार तिर बढायो, बिहान त यस्तो गरि हात बढाउने जोगीलाई झुक्याउँदै हिँडेको थिँए । तर अहिले त हनुमान मन्दिर को जोगी होला, भनेर अडिएँ । उसले टिका लगाइदियो, हातमा डोरो बाँधिदियो, यति गरेपछि भन्छ “बाबा को ५१ रुपैये दे’दो” । परेन फसाद, के गर्ने के गर्ने भयो, उसले फेरि दोहोर्याएर माग्यो र अर्को पटक त धोती नै दान गर्नुपर्छ भन्न थाल्यो । अनि त्यसबाट छुटकारा पाउन ‘५१’ रुपैँया दिँए । यो देखेर होला अर्को जोगी पनि कुद्दै आयो, माता का प्रसाद भन्दै, मैले हम को नहिँ चाहिए भन्दै, त्यसलाई वास्तै नगरी हिँडे ।

बेक्कार बाहिर निस्केछु जस्तो भयो र फेरि प्लाटफर्म नम्बर १ तिरै लागेँ । प्लेटफर्म बाहिर बस्ने ठाउँको अभाव थियो, अत: स्लिपर क्लासका यात्रुहरु प्रतिक्षा गर्ने कोठाभित्र गएर बसेँ । कोठाभित्र टन्नै मान्छे थिए, अनि मान्छे पिच्छे २-३ वटा ठूला ठूला व्यागहरु हुनु त सामान्य थियो । कोठाको भित्रै बाथरुम रहेछ । स्लिपर का यात्रुहरु बस्ने कोठामा बस्दा ब्याग हराउने हो कि भनेर खासै डर लागेन । अनि दिनभरी डुल्दा डुल्दै, आफ से आफ ट्रेन मा कसरी चढ्ने, कहाँ चढ्ने भन्ने कुरा थाहा भइसकेको थियो । स्लिपर भा’को डिब्बा मा सयनयान/स्लिपर भनेर लेखिएको हुँदो रहेछ, अनि नम्बर पनि लेखिएको हुँदो रहेछ, त्यसपछि बाहिर बाट नै सिट यो हो भनेर थाहा पाउन सकिने रहेछ । मेरो टिकट मा S.3|17 लेखिएको थियो, अर्थात स्लिपर डिब्बा नम्बर ३ र सिट नम्बर १७ थियो, जुन सिटमा “आपतकालिन खिड्की” भनेर लेखिएको हुन्थो। प्लेटफार्म नम्बर चाँहि ट्रेन आउने बेला मा मात्र थाहा हुने थियो, र जुनसुकै प्लेटफर्म मा पनि सजिलै पुग्न सकिन्थ्यो । ट्रेन आएपछि आफ्नै डिब्बा मा आफ्नै सिटमा पुग्न सक्छु भनेर विश्वस्त भएपछि घरमा फेरि फोन गरेर आफू सजिलै जानसक्ने जानकारी गराएँ । पटना मा हुने साथीलाई पनि फोन गरेँ तर त्यही बिहान उ पट्नाबाट बाहिर गएको रहेछ, उसँग भेट भएन । म स्लिपर का यात्रुहरु बसेको कोठामा, आफ्नो ट्रेन कतिबेला आउँछ भन्ने प्रतिक्षा गरेर बसिरहेँ ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

3 comments :

  1. पढ्दै छु है म ;)

    ReplyDelete
  2. but Patna is also a very dirty place...no judgement...but still, it's a dirty place, isn't it?

    ReplyDelete
  3. अनी बेङ्लोरको कुरा नि लेखूम न यार 

    ReplyDelete