राष्ट्रिय जनगणना २०६८ र प्रभावकारिता #Nepal #Census

जेठ १ अर्थात 'मे १५' देखि नेपाल मा राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रिय जनगणना को लागि देशभरि साढे आठहजार सुपरिवेक्षक खटाइएका छन् । सुपरिवेक्षकले जेठ १८ गतेसम्ममा प्रत्येक घरपरिवारको मुली, पुरुष र महिलाको तथ्याङ्क संकलन गर्नेछन् ।असार ३ देखि १३ गते हुने  अन्तिम चरणको  यस जनगणना मा २ करोड ८० लाख ४३ हजारभन्दा बढी जनसंख्या हुने अनुमान गरिएको छ । पहिलो राष्ट्रिय जनगणना  सय वर्ष पहिले१९६८ सालमा भएको थियो ।

दश-दश वर्ष मा गरिने जनगणनामा मा विभिन्न विषय र क्षेत्रका बारेमा तथ्यांक लिने काम गरिन्छ । 'कोही नछुटौँ, कोही नदोहरिउँ' भन्ने नारा सहित सुरु गरिएको जनगणनामा हरेक व्यक्तिको नाम, थर, जात/जाति, लिङ्ग, उमेर, शिक्षा, पेशा लगायतको विवरण, छ महिनाभन्दा बढी समय बसोबास गर्ने स्थानबाट लिइने छ । विदेशमा रहेका परिवारको सदस्यको पूर्ण विवरण, जानुको कारण, गएको देशसमेत उल्लेख गरिनेछ । त्यसैगरी घरको बनोट, पक्की/कच्ची, क्षेत्रफल, छानोको किसिम, घरपालुवा पशु र पंक्षीसमेत उल्लेख गरिने छ, भनेर कान्तिपुर ले उल्लेख गरेको छ ।

पहिले पहिले को जनगणना मा घरमा रेडियो छ कि छैन भनेर सोधिन्थ्यो रे, अनि अहिले चाँही 'मोवाइल' छ कि छैन भनेर पनि सोधिन्छ रे ! अनि, यस पटक कुल गार्हस्थय उत्पादन दर (जीडीपी) बढाउनका निम्ति महिलाले गर्दै आएका 'घरधन्दा' कामसमेत तथ्याङ्कमा उल्लेख गरिने भएको छ ।

तर नेपाल मा गरिने जनगणना कत्ति को प्रभावकारी छ, त्यो भने भन्न सकिँदैन । हुन त पछिल्लो २०५८ साल को जनगणनालाई तथ्याङ्क भन्दा 'मिथ्याङ्क' नै भन्ने गरिएको छ । र त्यही कुरा फेरि यसपटक पनि नदोहरिएला भन्न सकिँदैन । जनगणनाका लागि स्कुल का शिक्षकलाई खटाइएको छ, पचासवटा प्रश्नहरु छन्, अनि दश भाषामा प्रश्न तयार गरिएको छ । सोचौँ न, पचास वटा प्रश्न भनेको थोरै हो ? एउटा 'गणक' ले दिन मा कति घर भ्याउँछ ? अनि कति पटक एउटै प्रश्न सबैतिर गएर दोहोर्याउँछ ? फेरि तयार गरिएका प्रश्न सबैले बुझ्छन् भन्ने पनि छैन ! थाहा छैन, 'गणक' लाई कस्तो प्रकार को तालिम या निर्देशन दिइएको छ । गणक ले सबै कुरा सोधेर, तथ्याङ्क लिन लाग्ने हो भने, एउटै घरमा १ घन्टा समय वित्न सक्छ । पचास वटा प्रश्न सोध्नुपर्यो, जवाफ दिने ले पनि समयमा जवाफ दिनुपर्यो । अनि कति वटा घर भ्याउँछ, एउटा गणक ले ?  थाहा पाएसम्म अमेरिका मा जनगणना को लागि एघार वटा प्रश्न सोधिन्छ, अनि भारत मा २९ वटा प्रश्न सोधिन्छ, तर हाम्रो मा सबै कुरा को तथ्याङ्क राख्न पचासवटा प्रश्न सोधिने रहेछ । मलाई लाग्छ, हाम्रो जनगणनामा सोधिने प्रश्नहरु धेरै भए, आवश्यकता भन्दा बढि भए । खर्च बढाउन दश - दश भाषामा प्रश्नपत्र तयार गरियो ।धेरै  प्रश्न र धेरै भाषामा हुँदैमा जनगणना प्रभावकारी हुन्छ र ?

जब प्रश्न धेरै हुन्छ, तब सोध्ने र जवाफ दिने दुवैलाई झिँझो लाग्ने कुरा मा कुनै दुइमत छैन । पचास वटा प्रश्न सोधिरहनु भन्दा, चाँडै गरौँ भनेर सबै प्रश्न नसोध्ने सम्भावना पनि उत्तिकै रहन्छ । अनि गाउँघरतिर हेर्ने हो भने, स्कुल का 'शिक्षक', 'शिक्षिका' ले प्राय: गाउँका सबैलाई चिन्ने हुँदा, 'शिक्षक', 'शिक्षिका' ले घरै बसेर गाउँ को सबै तथ्याङ्क नि भर्न सक्छन् । थाहा छैन, यस विषयलाई केन्द्रिय तथ्याङ्क विभाग ले कसरी लिएको छ ।हुन त सुपरिवेक्षण गर्न, सुपरिवेक्षकहरु त खटाएकै होलान् तर पनि यसमा 'गोलमाल' हुने सम्भावना धेरै नै रहन्छ ।

स्थानिय स्तरमा जन्मदर्ता, विहेदर्ता, सम्बन्धविच्छेद, बसाइसराइ, मृत्युदर्ता आदि नियमित गरिने हो भने, तथ्याङ्क को लागि, त्यति सारो तर्सनुपर्ने कुरा पनि केही थिएन । तर गाउँघर तिर स्थानियस्तरमा 'पञ्जिकरण' खासै गरिएको पाइँदैन, जन्मदर्ता र विहेदर्ता बाहेक ।साथै, जनगणना दश वर्षमा हुन्छ तर स्थानिय स्तरमा दिनहुँ जस्तो जन्मदर्ता गराइन्छ, ती सबैलाई केन्द्रिय तथ्याङ्क विभाग ले कसरी लिइरहेको छ ? नियमित रुपमा महिना या वर्षमा केन्द्र ले स्थानिय निकायबाट तथ्याङ्क लिने हो भने, जनगणनामा प्रश्नहरु को भारी कम हुने थियो होला ।

प्रश्नहरु धेरै हुँदैमा सही तथ्याङ्क आउँछ भन्ने के ठेगान छ र ? पचास वटा प्रश्न को उत्तर देशभरि बाट लिनु पर्यो, अनि त्यसलाई फेरि 'एनालाइसिस' गर्नुपर्यो ।पाइएका 'डाटा'हरुलाई 'प्रोसेस' गरे पछि मात्र हेर्न खोजेको तथ्याङ्क फेला पर्छ । अत: नेपालभरि बाट जम्मा पारिएको 'डाटा'लाई कहिले 'प्रोसेस' गरिसक्छ होला, तथ्याङ्क विभागले ।

अब पचास-पचास वटा प्रश्न सोध्ने नै भएपछि, घरमा कम्प्युटर छ कि छैन, इन्टरनेट छ कि छैन भन्ने प्रश्न पनि समावेश गरेको भए हुनेथियो, त्यो चाँही किन नगरेको होला ?

2 comments :

  1.  प्रश्न पढ्न पाको भए अहिले देखि उत्तर ठीक्क पारेर राख्न हुन्थ्यो नि। अनि अनलाइनबाट सोध्ने ब्यवस्था रहेनछ? त्यो भएको भए भरेर राखिदिने अनि उनिहरू आएसी लौ यति नँ को उत्तर हेर भनेर भन्दिने ब्यबस्था गर्‌या भा जाति हुने थियो नि है ? 

    ReplyDelete
  2.  प्रश्न पढ्न पाको भए अहिले देखि उत्तर ठीक्क पारेर राख्न हुन्थ्यो नि। अनि अनलाइनबाट सोध्ने ब्यवस्था रहेनछ? त्यो भएको भए भरेर राखिदिने अनि उनिहरू आएसी लौ यति नँ को उत्तर हेर भनेर भन्दिने ब्यबस्था गर्‌या भा जाति हुने थियो नि है ? 

    ReplyDelete