Trip To Kalinchok, Dolakha [Day–1]

बिहान को ८ बजिसकेको थियो, अनि कालिन्चोक हाइकिङ जानेभएकोले आज म चाँडै ६ नै बजे उठेको थिँए ! तर पनि काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले ढोका मा आएर कराउन थालेपछि, ढोका खोलेको थिँए । काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले होस्टेल का सबै साथीलाई उठायो । ९ बजे उठ्ने बानी लागेका केटाहरु, के समय मा उठ्थे ! धुलिखेलबाट ९ बजे नै चरिकोट को लागि बस चढिसक्ने भनिएको भएपनि, साथीहरु ढिलो उठ्दा र सबैलाई जम्मा पार्दा पार्दै होस्टल मै सवा नौ बजिसकेको थियो । २-३ जना को समूह गर्दै वनेपा मा १८ जना जम्मा भइयो र बस चढियो ।Image099

१८ जना को समूह, अनि बस पनि कहाँ पो खालि छ र ? अत: केही साथीहरु धुलिखेल कटेपछि छत मा चढ्यौँ । छत मा बसेर कराउँदै, फोटो खिच्दै, सुत्दै जाँदा खाडिचौर मा पुगेपछि माछा र च्युरा खाजा को रुप मा खाइयो । खाडिचौर बाट बस उकालो लाग्न सुरु गर्यो, अघि पहिले बसभित्र बसेका साथीहरु पनि छत मा आए, सायद भित्र भन्दा उनीहरुलाई बाहिरै रमाइलो लाग्यो होला ।  नागबेली सडक, उकालो बाटो मा फन्को लगाउँदै बस अघि बढ्यो । हामी बस को छतबाट डाँडाकाँडा र बाटो नियालीरह्यौँ । पर-पर डाँडाहरुमा हिउँ परेझैँ देखिन्थ्यो । कोशौँ पर हिउँ देख्दा हामी, ‘उ त्या हिउँ परेको’रैछ’ भनेर चिच्याउँथ्यौ । अझ हामी बेला बेला मा ‘अक्कु वेदर’ नामक ‘एप्लिकेशन’ मा दोलखा को मौसम कस्तो रहन्छ, हिउँ पर्छ कि पर्दैन भनेर हेरिरहन्थ्यौँ । ‘स्न्यापटु’ मा रहेको ‘अक्कु वेदर’ नामक ‘एप्लिकेशन’ ले भन्थ्यो, भोलि दोलखा मा पानी पर्छ । पानी पर्ने भएपछि भोलि पक्कै हिउँ पर्छ भन्ने अनुमान गर्दै हामी रोमाञ्चित बन्थ्यौँ ।

Image135Image185बाटा का छेउछाउ मा लालीगुँरास ढकमक्म फुलेका थिए । लालीगुँरास का बोटहरु को छेउ बाटै बस कुद्थ्यो, हामी छत मा बसेर चिच्याउँथ्यौ । बस ‘मुढे’ भन्ने ठाउँमा पुगेपछि भने हामीलाई चिसो को आभाष भएर आयो । सिन्धुपाल्चोक पार गरेर दोलखा प्रवेश गर्ने वित्तिकै, खरीढुंगा क्षेत्रमा हामीले हिउँ देख्यौँ । ‘रोड’ को छेउ मै हिउँ देखिएको कारण हामी चिच्यायौँ पनि । तर छत मा बसेको हामीलाई औधि चिसो हुनथाल्यो । सबैले टोपी लगाउन थाले, आफूले पनि पन्जा र टोपी लगाइयो । खरीढुंगा को कच्चीबाटो मा हावा पनि खाइयो, धुलो पनि खाइयो, त्यसमाथि बस ले बुत्रुक्क उफार्दा, हामी छत मा बस्नेलाई औधि पिडा हुन्थ्यो, केटाहरु चिच्याउँथे । छत मा चिसो हावा खाँदै, अनि बस को उफ्राइ सहँदै करिब ३ बजेतिर चरिकोट पुग्यौँ । चरिकोट मा पहिले एउटा लज खोजेर १८ जना कै झोला थन्क्याइयो र खाजा खान निस्किइयो ।

दोलखा भिमसेन को दर्शन

चरिकोट बाट केही उत्तर पूर्व मा रहेको ऐतिहासिक तथा पौराणिक मन्दिर दोलखा भिमसेन तिर हाम्रो डफ्फा हिँड्यो । करिब १ घन्टा को हिँडाइ पछि, दोलखा बजार पुगियो । ढुंगा छापेको बाटो र बाक्लो घरहरु भएको बस्ति हुँदै दोलखा भिमसेन मन्दिर मा पुगिँदोरहेछ । हामी पुग्दा मन्दिर को ढोका भने बन्द थियो, अत: बाहिर बाट मात्र घुमियो र दर्शन गरियो । भिमसेन को मन्दिर करिब सातौँ शताब्दी तिर निर्माण गरेको विश्वास गरिन्छ । देशमा संकट पर्दा भिमेसन को मुर्ती मा पसिना आउने गर्छ जनविश्वास र किम्वदन्ती छ । १०-१५ मिनेट को बसाइ पछि हामी चरिकोट नै फर्कियौँ, तर चरिकोट आइपुग्दा लोडसेडिङ भएको कारण बत्ति रहेनछ । भोलिपल्ट कालिन्चोक हिँडेरै जानुपर्ने भएका कारण, बाटो का लागि भनेर केही बिस्कुट, चकलेट, चाउचाउ र पानी सबैले किने ।

Dolakha Bhimsen

लोडसेडिङ नहुने दोलखा जिल्ला

चरिकोट जाँदै गर्दा आफूले जान्ने भएर चरिकोट मा लोडसेडिङ हुँदैन भनिएको थियो । तर बेलुका दोलखा भिमसेन बाट फर्किँदा चरिकोट अन्धकार भएपछि, केटाहरुले मेरो खुबै बिल्ला हानेका थिए । खिम्ती जलविद्युत आयोजना बाट निकालिएको विद्दयुत दोलखा हुँदै मुख्य प्रशारण लाइन मा जोडिएकोले, दोलखावासीहरु ले दोलखा मा लोडसेडिङ गर्न पाँइदैन भनेर केही वर्ष पहिले आन्दोलन गरेका कारण, दोलखा मा लोडसेडिङ हुँदैन भन्ने मलाई थाहा थियो । अझ त्यसमाथी होटल मा पनि, यहाँ लोडसेडिङ हुँदैन भनेको थियो अत: आफूले पनि केटाहरु को अगाडि शान सँग ले, चरिकोट मा लोडसेडिङ हुँदैन भनेको थिएँ, तर अफसोच बेलुका लोडसेडिङ रहेछ ।

Charikotदेशका अन्य क्षेत्रमा दैनिक १४ घन्टा लोडसेडिङ भएरै हुन सक्छ, करिब ३ दिन अघि देखि दोलखा मा पनि लोडसेडिङ हुन थालेको रहेछ । तर त्यहाँ दिन मा ४ घन्टा मात्र लोडसेडिङ हुँदोरहेछ, त्यो पनि २-२ घन्टा को दरले । १४ घन्टा को लोडसेडिङ खेपिरहेको हामीलाई ४ घन्टा त लोडसेडिङ नै लागेन, अझ त्यो लोडसेडिङ पनि जम्मा ३ दिन अघि देखि सुरु भएको रहेछ ।

भोलि बिहानै झिसमिसे मै कालिन्चोक जान डाँडा उक्लनुपर्ने भएकोले, साँझ को खाना खाइएपछि, बेड मा लम्पसार परियो ।

25 February 2011

क्रमश…

1 comment :

  1. tyastari bus ko chaat ma chadera ni jaane ho ?????

    ReplyDelete