सातवटा छोटा कथाहरू #short #stories

१.

उसका बा ले नयाँ रेडियो किनेर ल्याएका थिए । ३ वटा ठूलो ‘साइज’ को ब्याट्री लाग्ने ‘इण्डियन’ रेडियो को आवाज पनि ठूलै थियो । एफएम ब्याण्ड लाग्ने भएपनि, उसका बा रेडियो नेपाल मात्र सुन्थे । उ भर्खर ८ कक्षामा पढ्दै थियो भने, उसका बा ले पढेकै थिएनन् । त्यही पनि उसका बा सामान्य  नेपाली अक्षर भने पढ्न सक्थे ।

रेडियो मा गित बजिरहन्थ्यो तर उसका बा लाई केही मतलब लाग्दैन थियो । उसका बा रेडियो ध्यान दिएर सुन्दैनथे तर हरबखत रेडियो बजाइ नै रहन्थे । टाँइ, टुँई, साईँ, सुँई गरेर पनि रेडियो नेपाल बजिरहन्थ्यो ।story बिहान उठेर गोबर सोहर्ने, धन्दापात गरे देखि बजेको रेडियो राती अबेरसम्म बजिरहन्थ्यो, कहिलेकाँही उसका बा ले रेडियो बन्द गर्न बिर्सिँदा त रातभरि रेडियो स्याँ गरेको सुनिन्थ्यो ।

उसका बा रेडियो का सौखिन थिए तर पनि उसलाई थाहा थियो, उसका बा ले, रेडियो मा बजेका कार्यक्रम खासै बुझ्दैनन् र बुझ्नलाई खासै जोड पनि दिँदैनन् । बा ले रेडियो बजाएको देखेर कहिलेकाँही उसलाई साह्रै झर्को पनि लाग्थ्यो । बेलुका को ७ बज्दै थियो, टुकी बत्ति को उज्यालो मा, उ आफ्नो परीक्षा को तयारी गर्दै थियो ।

रेडियो नेपाल मा ८ बजेको संकेत आउँदै समाचार को धुन बज्न थाल्यो, एकैछिन मा एउटी केटी अंग्रेजीमा समाचार भट्याउन थाली । जाँच को टेन्सन, त्यसमाथि रेडियो बजेको, झनै गाउँ भर मै कसैले नबुझ्ने अंग्रेजी भाषा, उसले रेडियो बन्द गर्यो ।

गोठमा भैँसी दुहुँदै गरेका उसका बा कराए, “हैन ए ! रेडि’या कस्ले बन्द गर्यो?” । उ बोल्यो, “मैले गर्या, सुन्ने कसैले होइन, बुझ्ने कसैले होइन, किन बजाउनु पर्यो” ? उसका बा गोठै बाट कराए, “तँलाइ, रेडि’या बन्द गर्नु पर्या छ, खुरुक्क ब’जा त” । उ बोल्यो, “अंग्रेजी समाचार आइरा’छ” । उसका बा च्याँठ्ठिए, “सुन्दै गए पो अंग्रेजी बुझिन्छ” । उसले लुरुक्क परेर फेरि रेडियो बजाइदियो, रेडियो अंग्रेजीमा समाचार फलाकिरहेको थियो, उसका बा भैँसी दुहीरहेका थिए । उसलाई लाग्यो, सायद उसका बा अंग्रेजी बुझ्छन् क्या’र !

************************************************************************

२.

जाडो मौसम र निरन्तर को शितलहर, तराईले केही दिन देखि घाम को मुखै देख्न पाएको थिएन । जाडो छल्नलाई केही केटाहरुले गाउँमा घुर ताप्ने व्यवस्था गरेका थिए । घुर ताप्दै उसको बारेमा केटाहरु बिच छलफल चल्दै थियो । उ चोरी को आरोप मा बारम्बार पिटिएको थियो, केयौँ पटक जेल को चिसो छिँडि मा रात बिताइसकेको थियो । अपराधिक मानसिकताहरु बाट प्रेरित उसका हर्कतहरु ले उसको परिवार मात्र हैन, गाउँ नै आजित भइसकेका थिए। तर खै, किन हो, उ बिग्रिएको थियो । उमेर ले १६ पनि नकाटदै, धेरै पटक चोरी गरिसकेको थियो ।

एउटा ले भन्यो, “त्यो नपढेर बिग्रिएको हो” । अर्कोले पहिलोको कुरा काट्दै भन्यो, “हैन, त्यो बिग्रिएर नपढेको हो” । फेरि अर्कोले थप्यो, “त्यो त पढ्दै थियो नि हैन र ? स्कुल त गइरहेकै थियो” । उसकै कुरा मा सही थप्दै अर्को बोल्यो, “हो हो, स्कुल त जान्थ्यो” । एकपटक उसले भनेको थियो, “दाइ मैले आज जाँच मा चिट चोरेँ नी” । “के चोरिस् तैँले”, उ माथि प्रश्न वर्षिएको थियो । उसले जवाफ दिएको थियो, “आज अंग्रेजी को जाँच थियो, मैले आफ्नो नाम अंग्रेजी मा लेखेर चिट लगेको थिँए” । 

*********************************************************************

३.

उ एक समय को चर्चित चलचित्रकर्मी थियो । उ नेपाली चलचित्रहरु को चलेको खलपात्र थियो । उसले दर्जनौँ चलचित्रहरु मा आफ्नो अभिनय देखाएको थियो । पछिल्लो पटक त उसले चलचित्र को निर्माण मा समेत हात हालेको थियो । उसले चलचित्र निर्माण मा उड्ने, गुड्ने, उफ्रने, हामफाल्ने लगायत का दृश्यहरु समावेश गरिएको हुन्थ्यो । उसको आफ्नै सिनेमा हल पनि थियो ।

धेरै पछि, आज उसलाई सडकमा  देखियो । पत्याउन पनि गाह्रो पर्ने रहेछ त्यो मान्छे त्यही नै हो भनेर । कहाँ त्यो, पहिले को उ र आज को उ । उसले मदिरा पिएरै मोटरसाइकल चलाएको थियो । उसले पुल छेउ का ढुंगालाई पनि सडक नै देखेको थियो । उ घर नजिकै आउँदै थियो, बाटो सबै उसलाई थाहा थियो । उ यसरी सडक मा पछारिएको थियो कि, बाँच्ने सम्भावना थिएन । तर उसको धुकधुकी बाँकी नै थियो, घर खेत, गरगहना, सिनेमा हल, सबै सक्याएर भएपनि, उ बाँच्यो । उ मरेर बाँच्यो, तर उसको होस ठेगान मा छैन । खुट्टा ठाउँमा टेकिँदैनन् । उसका हात, खुट्टा र टाउको निरन्तर हल्लिरहन्छन् । उ हिँड्न सक्छ, बोल्न सक्छ । तर उ सँग अब केही बाँकि छैन । उ अरु को सहारा विना, हिँड्न सक्दैन । उसलाई चिन्नेहरु ले पनि, उसलाई चिन्न छोडेका छन् । देशमा दर्जनौँ, कलाकार संघ छन्, दर्जनौँ कला प्रतिष्ठान छन् । तर उसलाई कुनै संघ संस्था ले नचिन्ने भएका छन् ।

केही हप्ता को अन्तराल मा देशले ३-४ जना कलाकार गुमाइसकेको थियो । उनीहरुको मृत शरीर अगाडी उभिएर श्रद्धान्जली दिँदै, कलाकार का लागि हरसम्भव सहयोग गरिने, सरकार र संघ संगठन का मान्छेहरु भट्याइरहेका थिए । अनि उ ती दृश्यहरु टिभि मा देखेर, सोचिरहेको थियो, उसले सहयोग कहिले पाउँछ ? मरेर जाने त गै’गए, उ त अहिले सम्म जिवित नै छ ।

****************************************************************

४.

उ धेरै पछि आफ्नो पुर्ख्यौली थलो घुम्न गएको थियो । अजंग का पहाडहरु २-३ दिन लाएर हिँडेर जानुपर्ने, उसको पुर्ख्यौली थलो मा अब गाडी बाट एकै दिन मा पुगिने भएको थियो । उसको लागि पहाड को पुर्ख्यौलीथलो, विरानो हुँदै थियो । तर यातायात को सुविधा पुगे सँगै, कोदो पनि नफल्ने पाखोबारीहरु को मुल्य छुनै नसक्किने गरि अक्कासिएको थियो ।

उसले सोचेभन्दा निकै भिन्दै पाएको पुर्ख्यौली थलो का डाँडाहरु मा यत्रतत्र बाटो देखिन्थे । प्रत्येक गाउँ मा मोटर चल्ने बाटो पुर्याइएको थियो । ती मोटरबाटोहरु पनि ‘पिच’ हुँदै थिए । बाँदर लड्ने भिर मा समेत मोटर गुड्न थालेका थिए । वर्षेनी खेत बगाउने खोला को बगर मा ट्याक्टर, ट्रिपर र मोटरसाइकलहरु कुदिरहेका हुन्थे । केही वर्ष अघि सम्म असम्भव लाग्ने र कल्पना भन्दा बाहिर का कुरा लाग्ने, ती खोला मा कुदेका ट्याक्टर, ट्रिपर र मोटरसाइकलहरु देखेर उ छक्क परेको थियो । अचम्म लागेर उसले बोलेको थियो, “लौ, खोला मा पनि मोटरसाइकल कुदाउन थालेछन्” । प्रत्युत्तर मा उसले ठट्यौलो जवाफ सुनेको थियो, “आ ! मोटरसाइकिल ता’ वेपत्तै  पो’ दौडाउँछन्, त भेट्न सकिँदैन” ।

*******************************************************************

५.

उ मौन नै बसे पनि उसले, उसलाई वर्षदिन अघि देखि देखिरहेको थियो । उ, उ सित कहिले बोलेन तर उ उसलाई मन पराउँथ्यो । उ, उसको अगाडि पर्न डराउँथ्यो तर लुकीलुकी उसैलाई चिहाउँथ्यो । उ अरुहरुलाई भन्थ्यो, “त्यो मेरी हो” । उ सँधै, आज चाँहि पक्कै बोल्छु भन्थ्यो । अनि भन्थ्यो, “भोलि त भन्छु, भन्छु” । उसलाई अरुले ढिला नगर्न सुझाउँथे । उ, ‘तिमीहरु हतार नगरन’ भन्थ्यो । कहिले काँही चिया पसल मा आमने सामने हुँदा, उ टाउको लुकाउँथ्यो, नदेखे झैँ र वास्तै नगरे झैँ गरिदिन्थ्यो । उ पढ्न भन्दा, उसैलाई चिहाउन लाइब्रेरी धाउँथ्यो । उसले धुइँपत्ताल खोजेर, उसको नम्बर पत्ता लगाएको पनि थियो तर उसलाई फोन गर्ने कहिले हिम्मत आएन । उ भित्र भित्रै उसैप्रति आकृष्ट भएको थियो तर आफ्नो मन को कुरा भन्न त के, एकचोटि ‘हेल्लो’ भन्न समेत उसले सकेको थिएन । देख्दा देख्दै, उसको उ, अर्कै सँग देखिन थालेकी थिइ । उसलाई यो कुरा पनि थाहा थियो, अरुले पनि भनेका थियो । उसले आत्तिनु पर्ने केही छैन भन्दै आएको थियो ।

उसले ‘फेसबुक’ लाई सम्बन्ध को मानक मानेको थियो । तिन चार पटक को प्रयास र भनसुन पछि, उसले उसलाई ‘फ्रेन्ड’ को रुप मा ‘फेसबुक’ मा स्विकारेकी थिइ । उ त्यो दिन निकै खुशी भएको थियो । उसले त्यो दिन आफ्ना साथीहरुबाट फेसबुक को ‘वाल’ मा थुप्रै बधाइ सन्देशहरु पाएको थियो । उसले खुशी हुँदै, सबै साथीहरुलाई खाजा पनि खुवाएको थियो । फेसबुक बाट पनि, उ सँग बोल्न उसले निकै प्रयास गरेको थियो । फेसबुक ‘च्याट’ मा हुँदा पनि उसले कहिले ‘हाइ’ को ‘रिप्लाइ’ पाउन सकेन । भन्थ्यो, “के भनेर बोल्ने, जब उ एउटा हाइ को रिप्लाइ समेत फर्काउँदिन” ।

फेसबुक मा उनको ‘स्टाटस’, ‘सिङ्गल’ बाट ‘रिलेसनसिप’ मा गइसकेको थियो । तर उ अझै आशा मा थियो, एकदिन त उ सँग बोल्ने हिम्मत आउला नि । उसले आज पनि फेसबुक च्याट मा देखिएकी उसलाई ‘हाइ’ भनेको थियो र उसको “रिप्लाइ” कतिबेला आउला भनेर कुरीरहेको थियो । फेसबुक ‘होमपेज’ मा ‘एक्टिभिटि’ देखिने कारण उसलाई अर्को साथीले “भाउ खोज्ने केटीलाई बाल छैन” भन्ने फेसबुक “पेज” “लाइक” गर्न ‘सजेसन’ पठाइरहेको थियो ।

*****************************************************************************

६.

उनीहरुले सानै देखि आफ्नो जोडी बनाएका थिए । स्कुल सँगै गएका थिए, कलेज सँगै गएका थिए । सुख दु:ख साट्ने असल साथीहरु थिए । फोन मा घन्टौँ गफ गर्थे, सिनेमा हेर्न पनि प्राय: सँधै सँगै हुन्थे । उनीहरु को मित्रता उनीहरु बिच मात्र सिमित थियो । बाहिरी दुनियाँलाई उनीहरु को बारेमा थाहा थिएन । उनीहरु को मित्रता अघोषित रुपमा प्रेम मा परिणत भएको थियो । उनीहरु एक अर्कालाई आफ्ना प्रेमी को रुप मा देख्न थालेका थिए । जात पनि मिल्ने कारण, उनीहरु झनै उत्साहित थिए र आफ्नो भविष्य को बारेमा निश्चिन्त थिए ।

बाहिर को कुरा देखेर, सुनेर, थाहापाएर उनीहरु आज आफ्नो गोत्र पत्ता लगाउने कोशिश मा थिए । उनीहरुले, गुगल मा गोत्र बारे ‘सर्च’ गरेका थिए । पहिलो सर्च नतिजा पच्छ्याउँदै उनीहरु गोत्रबारे लेखिएको ‘विकिपेडिया पेज’ मा पुगेका थिए । नसोचेको कुरा त्यहाँ लेखिएको थिए । थर फरक भएपनि, गोत्र एउटै थियो । उनीहरुलाई थाहा थियो, यो गोत्र को नियम उनीहरुले तोड्नु हुँदैन । घरबाट पनि उनीहरुलाई प्रस्टै भनिएको थियो, बरु ‘इन्टरकास्ट’ हुन्छ तर एकै गोत्र भएकोमा सम्बन्ध गाँस्न हुँदैन । गोत्र एउटै हो भन्ने थाहा पाएपछि उनीहरु धेरै रोएका थिए । पिडा मा डुबेका उनीहरुले सम्बन्ध अघि नबढाउने सहमति गरेका थिए । गोत्र बारे लेखिएको ‘विकिपेडिया को पेज’लाई उनीहरु ले आफ्ना कम्प्युटर को ब्राउजरमा ‘बुकमार्क’ गरेर राखेका छन् रे !

****************************************************************

७.

उ हदै को सौखिन थियो । उ सामानहरु प्रयोग गर्न भन्दा पनि, कोठा को, घरको शोभा हुन्छ भनेर, सामानहरु किन्ने गर्थ्यो । सायद उसलाई सबै सामान को नाम थाहा छैन र त्यसको प्रयोग पनि थाहा छैन । तर उसका कोठामा दर्जनौँ किसिम का क्रिम का बट्टाहरु, स्प्रे का बट्टाहरु देखिन्छन् । उसले टाउको मा जेल र तेल लगाएको थाहा छैन तर तेल र जेल का बट्टाहरु उसको कोठाको ‘सो’ भएर रहेकाछन् । उसले प्रयोग गर्न नजान्दै, डेस्कटप कम्प्युटर किनेको थियो र अहिले पनि उसले झुक्किएर कहिले काँही कम्प्युटर ‘अन’ गर्छ । टिभि कार्ड किन्न सुझाउँदा, कोठामा ‘सो’ हुन्छ भनेर उसले टिभि र ‘डिभिडि प्लेयर’ किनेर राखेको थियो। धन्न उसले किन्डल र आइप्याड जस्ता उत्पादन बारे थाहा पाइसकेको छैन । डेस्कटप छाडेर, अब उ ल्यापटप किनेर कोठा को शोभा बढाउने योजना मा छ ।

6 comments :

  1. nice stories. no1 and no6 are special. Lively !

    ReplyDelete
  2. Liked it. UA.

    ReplyDelete
  3. एक से एक छन् । कलाकार को सम्मान सम्बन्धि को कथा अझ विशेष लाग्यो ।

    ReplyDelete
  4. nice stories. no1 and no6 are special. Lively !

    ReplyDelete
  5.  nice stories .........
    ..aafule lekheka laghu kathaharu k ma/(kun patrikama) prakashan garna sakinchha???..

    ReplyDelete
  6. छोटा-छोटा तर पूर्ण र पुष्ट कथा। सिमित शब्दहरुमा असिमित भावदशा र सामाजिक स्थितिलाई दर्शाउन सफल छन सबै कथा । लघुकथा भित्रका 'हाइ-टेक' परिवेशहरु पनि एकदमै प्रासंङ्गीक छन :)

    ReplyDelete