के इतिहासलाई मेट्दै जाने हो ? [सन्दर्भ : एकता दिवस] #opinion

If you want to understand today, you have to search yesterday.  ~ Pearl Buck

पर्ल बक ले भनेझैँ, आजलाई बुझ्न इतिहास खोज्नु पर्ने हुन्छ ! तर हामी यस्तो कालखण्ड मा आइपुगेका छौँ कि जहाँ हामी इतिहासलाई लत्याउँदैछौँ । हामी इतिहास का विर विरंगनाहरु ले बगाएको रगत र पसिना को अवमुल्यन गर्दैछौँ । तत्कालिन समय मा सही ठहरिएका र ठहराइएका कदमहरुलाई हामी अहिले ईतिहास को कालो धब्बा भनेर, हाम्रा पुर्खाहरुलाई तथानाम गाली गरिरहेका छौँ । उनीहरु को योगदान को कदर हामीले खै, गरेको ? आज पुष २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  तर हामी आज आएर उनै राष्ट्रनिर्मातालाई दोषी ठहर्याइरहेका छौँ । अनि यो ‘एकता’ भन्ने शब्दै मात्र पनि हामीलाई कुन चरा को नाम हो भन्ने भइसक्यो !

prithvi_narayan_bgराजतन्त्र फ्याँकेर मुलुक लोकतन्त्र हुँदै गणतन्त्र मा प्रवेश गर्यो । अघिल्लो वर्ष सम्म ‘एकता दिवस’, ‘पृथ्वी जयन्ती’ मनाइरहेकालाई, पछिल्लो वर्ष देखि पृथ्वी जयन्ती मनाउनु भनेको, महापाप हो भन्ने झैँ लाग्यो । पृथ्वी जयन्ती कै दिन एकता दिवस मनाइएको पनि, उनीहरुलाई चित्त बुझेन, कारण पृथ्वीनारायण शाह शाहवंशिय राजा थिए, अनि अहिले देशमा गणतन्त्र आएर राष्ट्रपति हुने प्रचलन छ ।

आज आएर एउटा कुरा ले मेरो टाउको निकै खाइरहेको छ । के पृथ्वीनारायण ले एकिकरण अभियान गर्नु ईतिहास कै सबैभन्दा ठूलो भुल हो त ? के उनले एउटै  राज्य बनाइदिएको कारण, नेपाल देश का हामी नेपाली नागरिक भन्दा कसैले गर्व को महसुश गर्दैन हो ? बाइसे, चौविसे राज्य जोडेर विशाल नेपाल को निर्माण कदम गलत थियो ? पृथ्वीनारायण ले, आफ्नै महत्वकांक्षा ले गर्दा, या अरु भन्दा शक्तिशाली र ठूलो  बन्ने सपना देखेर नै, या सन्कीपन देखाएर नै सबै राज्यहरु सँग युद्ध गर्दै हिँडे होलान् । तर तत्कालिन परिवेश मा के यो कदम सही थिएन र ? तत्कालमा मात्र होइन, अहिले पनि, विशाल नेपाल अनि हामी नेपाली भन्न पाउनु एउटा गौरव को विषय हैन र ?

historical_king_prithvi_narayan_shaha_showing_nuwakot_darbar_to_his_troopsअहिले का नेपाली नेता का सन्की मगज र केही नागरिक समाज भनिएका पार्टि का झण्डा उढेर बस्नेहरुले ईतिहासका ती महान नायक को खिल्ली उडाइरहेछन् । उनले सानातिना राज्यहरु माथि फट्याईगरे, बल र छल गरेर जिते, किर्तिपुरवासी को नाक काटिदिए, पाटन, भक्तपुर र कान्तिपुर मा पनि उपद्रो मच्चाए भन्दै उनलाई, ईतिहास कै सबैभन्दा खराब पात्र ठहर्याउने प्रयास भइरहेको छ । यति सम्म कि, शाहवंशिय राजाहरु का सालिकहरु तोडिए, फोडिए । त्यस समय मा पृथ्वी नारायण ले, एकिकरण अभियान को थालनी गरेर, विशाल नेपाल को निर्माण गर्न खोज्नु नराम्रो हो भने, के एकै देश भित्रका दाजुभाइहरु मारेर सत्ता मा पुगेको माओवादी को ‘जनयुद्ध’ भन्ने चाँहि  राम्रो हो त ?

माओवादीहरु कै हुटहुटी मा लागेर, अन्य सबै राजनितिक पार्टिहरु ले पनि आफ्नो कर्तव्य बिर्से, यति सम्म कि, ती नेताहरु अघिल्लो वर्ष सम्म ‘दाम’ चढाएर ज्ञानेन्द्र को दर्शन गर्दै थिए । यसले देखाउँछ नेपाली नेताहरु के देखि के सम्म गर्न सक्छन्, आफ्नो दुनो सोझ्याउन को लागि । यो सन्दर्भ मा  ‘दाम’ चढाएर उनीहरुको दर्शन गर भनेको हैन, ईतिहासलाई नबिर्स भन्न मात्र खोजिएको हो । राजा नै चाहिन्छ भन्न खोजिएको हैन र राजतन्त्र नै ठीक छ भन्न  पनि खोजिएको हैन । यहाँ मात्र इतिहासका नायक प्रति देखाइएको वितृ्ष्णा प्रति आफ्नो फरक मत राख्नखोजिएको हो ।

के कति कारण ले, हामीले राष्ट्रिय एकता का प्रतिक मानिएका पृथ्वीनारायण शाह को योगदानलाई लत्याउँदै छौँ ? के उनी शाहवंशिय राजा भएकै कारण, उनी प्रति यति धेरै वितृ्ष्णा उत्पन्न गराइएको हो ? के कारण ले उनले सुरु गरेको अभियानलाई हामी गलत भन्ने प्रमाणित गर्न सक्छौँ ? उनी गोरखा का राजा भएर पनि, काठमाडौँलाई राजधानी बनाएको बाट हामी उनी प्रति रुष्ट भएका हौँ ? या काठमाडौँ उपत्यकका राज्यहरु जितेर,अनि तत्कालिन जनता प्रति दुर्व्यव्यवहार गरेको भनेर, हामी उनी प्रति रुष्ट हुने हो ? यदि त्यसो हो भने, हाम्रो देशलाई १३ वर्ष सम्म युद्ध मा होमेर, नेपाल र नेपाली को दुर्व्यव्यवहार गराउने, देशलाई उधोगति मा लाने, हजारौँ हजार नेपाली को बलि दिने, शान्ती क्षेत्रलाई कुरुक्षेत्र बनाउने, सोझा साझा नेपाली जनतालाई लुटेर र भुटेर खाने, माओवादीलाई के भन्ने ? पृथ्वीनारायण को कदम चाँही जायज नहुने,तर यीनका मान्छे मार्ने उद्योग र उपद्रोलाई चाँहि जायज मान्ने हो ?

यहाँ माओवादी को तुच्छ मान्छे मार्ने कार्य र पृथ्वी नारायण को सिंगो नेपाल बनाउने अभियान को ‘कम्परेरिजन’ गर्न खोजेको  हैन । तर यहाँ माओवादी को कुरा किन उठाइरहेको छु भने, ईतिहास र ईतिहासका नायकहरुलाई उनीहरुले गलत ढंग ले परिभाषित गरिदिए । उनीहरुले नेपाल एकिकरण गर्नुलाई नै ठूलो गल्ति देखाइदिए र उनलाई सामन्ती को बिल्ला भिराइदिए । माओवादीले चाँही के गर्दैछ ? लुटकै र चोरी कै गाडी चढेर हिँड्दैछन्, मजदुर भनेका गलैँचा मा काम गर्ने कामदार हुन् भन्ने परिभाषा दिँदैछन् । पार्टि का केन्द्रिय नेता र जनता बिच कति खाडल छ भन्ने अनुमान सबैले लाउन सक्छन् । हामी काम्रेड प्रचण्ड को लवाइ, खवाइ र बसाइ हेर्न सक्छौँ, के कामरेड ले सबै नेपाली को प्रतिनिधित्व गरेका छन् त । कुरै गर्ने हो भने, हजारौँ मानिस अहिले पनि सडक मै सुत्छन्, सडक मै जिन्दगी बित्छ तर कामरेडहरु, त ठूलै महल मै बस्छन् हैन र ? हामीले उनीहरुलाई पनि सामन्ती भनेर बिल्ला भिराइदिए हुन्छ ? किनकी विचरा कार्यकर्ता ले जनताको लुटेर ल्याएको पैसा मै त ती नेताहरु पनि पौडीखेलिरहेकाछन्, ठूला ठूला भाषण ठोकिरहेकाछन् । यीनिहरु चाँहि सामन्ती नहुने,तर राज्य ठूलो पार्ने सपना देखेर युद्ध मोर्चा मा सँगै लड्न जाने तत्कालिन राजा चाँही सामन्ती र शोषकी भए ?  माओवादीले नै राष्ट्रिय एकता, पृथ्वी जयन्ती आदि का सम्बन्ध मा कुरा उठाएको हुनाले, ईतिहासलाई अतिरञ्जित बनाउने श्रेय माओवादीलाई नै जान्छ।

लौ, एकछिनलाई मानिलिउँ राजाहरु सामन्ती र शोषकी नै थिए तर यसो हुँदै मा के देशको इतिहास नै परिवर्तन हुन्छ र ? के उनीहरु को योगदान को कुनै कदर नै हुँदैन त ? राणाशासनलाई सबले नराम्रो ठहर्याउँछन् तर पनि देवशमशेर, गेहेन्द्र शमशेरलाई किन हामी राम्रो मान्छौँ ? सतिप्रथा को उन्मुलन गराउने चन्द्र शमशेरलाई हामीले भुल्न मिल्छ ? त्रिभुवन जोडिएकै कारण हामी विश्वविद्यालय को नाम परिवर्तन गर्न उद्यत छौँ । तर कुरा नाम परिवर्तन ले टुंगिदैन, जब सम्म आफूमा राम्रो संस्कार को विकास गर्न सक्दैन । जबसम्म ईतिहासले हामीलाई के दियो र हामीले देशलाई वर्तमान र भविष्य को लागि के दिइरहेका छौँ भन्ने मनन गर्न सक्दैनौँ, तबसम्म ईतिहासलाई मोड्न खोज्नु भनेको आफ्नै खुट्टा मा बञ्चरो हान्नु सरह हो । हामी ले वर्तमान मा युद्ध पायौँ अनि प्रतिगमनतिर बढ्दै गएको देश पायौँ । युद्ध ले हामीलाई फेरि ५० औँ वर्ष पछाडि धकेलिदियो, विकास को बाटो मा ।

कुरो र कुलो जता लग्यो त्यतै जान्छन् तर पनि हाम्रो आग्रह भनेको, ईतिहासलाई भुल्ने काम नगरौँ । हाम्रो वर्तमान ईतिहास को जग मा अडिएको छ, र बर्षौँ का अनुभवहरु बाट हामी अगाडि बढ्न सक्छौँ । ईतिहासका युद्ध  नराम्रो हो भन्ने हामी ठहर गर्छौँ भने,भविष्यमा फेरि फेरि युद्ध नगरिने प्रतिवध्दता हामीले गर्न सक्नुपर्छ । सक्नुस् राम्रो गर्नुस तर इतिहासलाई तोडमोड गरेर आफू अनुकल व्याख्या भने नगर्नुस् ।  हाम्रो ईतिहास हाम्रो चिनारी हो, हामी नेपालीहरु को गौरव र प्रतिष्ठा को विषय हो । आफ्ना पुर्खाहरु को योगदान को अवमुल्यन नगरौँ, उनीहरु को रगत पसिना को गलत व्याख्या नगरौँ । आफ्नो ईज्जत  र प्रतिष्ठा सँग जोडिएका ईतिहासका धरोहरहरुको सम्मान गर्न सक्दैनौँ भने अवमुल्यन पनि नगरौँ । उनीहरु त्यतिखेर थिए र त यतिबेला, नेपाल र नेपाली भनेर गर्व गर्न पाइएको छ हैन र ?

आज पुष २७, पृथ्वी जयन्ती ! राष्ट्रनिर्मातामा हार्दिक श्रद्धाञ्जली ! सबै साथीहरुमा राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना ! आजको एकता दिवस ले नेपाली राजनतिक पार्टिहरुका मगज मा ‘एकता’ भन्ने शब्द फेरि रोपिदियोस् । फेरि पनि शुभकामना !

5 comments :

  1. आकारजीको विवेचना ओजपूर्ण लाग्यो । इतिहासको विवेचना गर्दा राजनीतिक दाउपेच र सस्तो लोकप्रीयतालाई मात्र आधार बनाइनु राम्रो हैन । यदि पृथ्वीनारायण शाहको बृहत राज्य निर्माणको अभियानले कुनै जाति वा सम्प्रदायलाई चोट पुगेको भए तथ्यपरक भएर त्यसको पनि चर्चा गर्न सकिन्छ तर पृथ्वीनारायण शाह र उनको अभियानको मूल्याङ्कन आजका राजनीतिक वा सामाजिक आदर्शको कसीमा राखेर गरिनु हुँदैन ।

    ReplyDelete
  2. धेरै राम्रो लेख .. Keep it up!

    ReplyDelete
  3. I will leave it here!
    http://www.youtube.com/watch?v=QCq2T7zclXY

    ReplyDelete
  4. I will leave it here!

    http://www.youtube.com/watch?v=QCq2T7zclXY

    ReplyDelete
  5. विशाल नेपाल को निर्माण गर्न खोज्नु नराम्रो हो भने, के एकै देश भित्रका
    दाजुभाइहरु मारेर सत्ता मा पुगेको माओवादी को ‘जनयुद्ध’ भन्ने चाँहि
    राम्रो हो त ?
    ati gahakilo kuro

    ReplyDelete