हुने हार दैव नटार [Story]

“नमस्कार वकिल सा'ब !” भन्दै एकजना ६०-६५ वर्ष झैँ लाग्ने एक व्यक्ति अफिस मा छिर्छन् । 'नमस्कार' फर्काउँदै हात को इशारा ले बस्नुस भन्ने आग्रह गर्छु । मैले केही भन्नै नपाइ 'म त वर्वाद नै हुँला जस्तो छ,सर' भन्दै हात जोडेर कुर्सी मा बस्छन् । 'के भयो र, तपाईलाई?' म प्रश्न सोध्छु, उनी जवाफ दिन्छन्, “खेत बेचेँ, पास गर्दिसँके, पैसा चाँहि आधिमात्र लिएको छु, अनि आज बाँकि पैसा दिन्छु भन्थे, त्यै भ'र सदरमुकाम आ'को, ३ बज्न imageslose-lose-smallलागि सक्यो, खै अहिले सम्म पैसो पाइएन, पैसो पाइएन भने,के गर्ने भनेर, हजुरलाई भेट गर्न आ'को हजुर” । ए ! मैले टाउको हल्लाएँ ।

मंसिर महिना, मधुरो घाम लागिरहेको छ, अनि मन्द चिसो बतास चलिरहेको छ । मेरो कार्यालय को झ्याल खुल्लै छ, जहाँबाट प्राय: दिनहुँजसो गौरीशंकर हिमाल देखिन्छ। मधुरो घाम, र बादल नलागेको भएर, गौरीशंकर घाम को किरण मा सुनौलो रङ्ग ले टल्किएको छ । ठ्याक्कै शिव र पार्वती झैँ लाग्ने, आकृती मा पनि सुनौलो रङ्ग देखिएको छ । मन्द हावा का कारण, समय समय मा झ्यालबाट पर्दा बाहिर उड्न खोज्छ ।

धुलिखेल बजार मा पनि मैले एकान्त रोजेको छु । उता अलिपर पश्चिम पट्टि हेर्ने हो भने, काठमाडौँ विश्वविद्याल देखिन्छ । कहिलेकाँही त लाग्छ, काठमाडौँ विश्वविद्याल यहाँ नभएको भए, धुलिखेल यति धेरै चर्चित पनि हुने थिएन होला । यता माथि पूर्वपट्टि डाँडा मा बुद्ध को विशाल मुर्ती छ, कहिलेकाँही साँझपख डुल्नलाई त्यहीँ पुग्नेगर्छु । दिनभरी अदालत मा विभिन्न थरी का मुद्दा मामिलाहरु हेर्दा हेर्दा कहिलेकाँही त दिक्क लाग्छ । तर माथि डाँडा मा पुगेपछि, ती सबै दिग्दारीहरु भाग्छन्, शितलता को महशुस हुन्छ । मुद्दा पनि अनेक किसिम का पर्छन्, मान्छेहरु पनि के विधी पापी भएका होलान् ? तर सबै सज्जन भए भने हामी वकिलहरु कसरी बाँच्ने नि फेरि ?

'अनि किन सबै पैसा नलिएको पास गर्ने बेलैमा ?' मेरो प्रश्न ।

'पैसा त त्यै दिनै दिने भन्याथ्ये, फेरि पछि पैसा लिएर मान्छे आइपुगेन, अहिले पास गरौँ ६-७ दिन पछि बाँकी पैसा दिउँला भने, मैले नि हुन्छ भनेँ' - उनको जवाफ ।

'त्यसो भए, पैसो लिएर आउँदैहोलान् नि, किन आँत्तेको तपाई?'

'खै, अहिले सम्म आइपुगेन त्यो मान्छे, अनि गाउँमा नि सबैले कराए, पैसा सबै नलिइकन किन पास गर्देको भनेर, सबैले डर देखाउन थाले'!

पैसो नपाइने हो कि भन्ने पिर ले गर्दा उनको अनुहार को चमक सबै हराए झैँ देखिन्छ । गाला मा चाउरी परेका छन् । खुइलिएको, 'चेन' बिग्रिएको कलेजी रंग को ज्याकेट र पोलिस्टर को निलो पाइन्ट, खुट्टा मा गोल्डस्टार मा उनी सजिएकाछन्। गोल्डस्टार जुत्ता भित्रैबाट उनको बुढी औँलो, बाहिर निक्लिउँला झैँ गरिरहेको छ । उनले सेतो सेतो झैँ लाग्ने सर्ट लगाएका छन् । त्यै भएर पनि, सर्ट को कलर र बाहुला झनै काला देखिएकाछन् । ज्याकेट को माथिल्लो खल्ति उध्रिएर सेतो धागो ले सिएका रहेछन् । काँध मा सेतो मा कालो बुट्टा भएको गलबन्दी बेरेकाछन् । अनि टाउको मा नेपाली ढाकाटोपी सजिएको छ, त्यही टोपी पनि एकातिर बाट उध्रिँदै र खुइलिँदै गइरहेको छ । उनलाई पैसो नपाइने होला भन्ने ठूलो छटपटीले सताइरहेको छ ।

'महंगो जग्गा नि, खाँचै परेर सस्तै मा बेच्नुप'रो, झन् सबै पैसो पनि नपाउँदा म त रुनु न हाँस्नु भए हजुर, म के गरौँ' उनले रुलाँ रुलाँ झैँ गरे ।

'जे गल्ति नगर्नुपर्थ्यो, गल्ति त गरिसक्नुभएछ' । 'सबै पैसा नै नलिइकन पास गर्नुभएछ', जग्गा पास गर्ने हाकिम ले केही भनेनन् तपाईलाई त्यतिखेर ! मैले सोधेँ ।

“हामी गाउँघर तिर यसरी नै चलाउँथ्यौ । यो दिन दिउँला भन्यो, काम चलायो । यस्तो मामला मा कहिले लेखापढी गर्नुपर्दैन गाउँ तिर ।जहान ले अस्ति ल्याप्चे थिचेर गइ, जग्गा उनीहरु को भइहाल्यो । पैसो ल्याउने मान्छे आइपुगेन, पछि दिउँला आधि पैसा, अहिले जग्गा पास गरौँ भने, मैले नि, उनीहरुलाई गाह्रो परेको देखेर हुन्छ भनेँ । भित्र हाकिम ले पैसो को लेनदेन भइसक्या हो भनेर सोध्छ, हो भन्नु भन्याथ्यो । अनि हामीले नि,हाकिम ले सोध्दा हो भन्दिउँ, जहान ले ल्याप्चे थिची । अनि आज पैसा दिने दिन थियो, बिहानै ९ बजे नै सदरमुकाम आएँ, खै तिनेरु ले पैसो अहिले सम्म ल्याएनन् । धेरै सोझो नि हुनु-नहुनेरहेछ भन्ने अहिले थाहा भो । मान्छे को भर गर्न नहुने रे'छ ! अब मैले के गरौँ हजुर ?”

आफ्नो नाम मा भा'को जग्गा अर्कै ले बेचिदिने,कोही पैसा लिएर जग्गा नै पास नगरी फरार हुने, कोही जग्गा पास गरिसकेपछि पैसा दिन आलटाल गर्ने आदि थरिथरि का घटनाहरु घटिरहेको सन्दर्भमा उनको घटना नौलो त लागेन । तर उनको अवस्था देखेर, उनको बारेमा सोच्न बाध्य बनायो ।

“अनि जग्गा लिने मान्छेलाई चिन्नुभा'को छैन त ?”

“छ ! चिन्या छ, घर पनि देख्या छ”

“मान्छे चिनेको, घर देखेको भनेर विश्वास गरेर दिइसकेपछि, अहिले फेरि के भयो तपाईलाई, आउँदै होलान् नि त?”

“हुन त विश्वास गरेरै दे'को, जग्गा पास गर्दिसकेपछि, अनेक अनेक सुनियो, गाउँका ले नि कराए, कोही के भन्छन्, कोही के भन्छन्, झन् यसबेला सम्म पनि पैसा लिएर नआउँदा, कसरी मैले अब उनीहरुलाई विश्वास गर्ने? के आधार ले, मैले अब पैसो पाउने?”

“हेर्नुस् कानुनीरुप मा तपाई तल परिसक्नुभा'को छ । जग्गा पास गर्दे'छि सक्कियो, कागजपत्र नि केही गरेको छैन जस्तो छ, अनि हाकिमले सोध्दा पनि पैसो दि'सक्यो भन्नुभयो, हुन त पैसा दे'को छैन भन्या भए, तपाई को जग्गा पासै हुँदैनथियो । अब वकिललाई आएर के गरौँ भनेर सोध्नुहुन्छ भने पनि, यसै गर्नुस भन्न त सक्दिन । मुद्दा मामिला गर्नु'भो भने पनि, तपाई को खेतबारी सबै मुद्दा मामिलामै सकिन्छ । तपाई ले कसैगरी जित्न त सक्नुहुन्न नै । अब यति का दिन विश्वास गरेर बसिसकेपछि , अहिले यतिसारो आत्तिनु पनि भएन । राम्रो कुरा सोच्नुस राम्रै हुन्छ नि ! अनि फोन नम्बर होला, फोन गरेर सोध्नुस न ।”

“छ, छ, मोबाइल नम्बर नै छ ! बिहान फोन गरेको, हुन्छ धुलिखेल आउनुस् , म आइपुग्न लागेँ भन्या मान्छे अहिले ३ बजेसम्म पनि आइपुग्या छैन, फोन पनि लाग्दैन” - उनले भने !

“खै, नम्बर दिनु त” मैले भनेँ ।

उनले ज्याकेट को भित्री गोजी बाट कागज को सानो चिर्कटो निकाले । मैले आफ्नो फोन बाट, डायल गरेँ, उताबाट जवाफ आउँछ, 'तपाईले डायल गर्नुभएको मोबाइल अफ गरिएकोछ' । मोबाइल त अफ गरे जस्तो छ, मैले भनेँ ।

“आउँदै होलान्, बाटो मा गाडि बिग्रियो होला,तपाई न-आत्तिनुस्, पैसो आइपुग्छ होला, चिन्या मान्छे भन्नुहुन्छ फेरि, आफैँ धेरै शंका गर्नुहुन्छ, यसरी त भएन नि !”

“के गरौँ त सर ? विश्वास नगर्दा पनि नहुने अनि गर्दा पनि नहुने, ९ बजे आ'को मान्छे ३ बजिसक्यो,पैसो पा'को हैन । त्यै भ'र तपाई को अ'पिस खोज्दै आ'को ! पैसो पाइँन भने त म घर नफर्के पनि भइहाल्यो नि !खाँच्चै परेर, जग्गा सस्तो मै बेचेँ, त्यो पनि आधा मात्रै पैसा पाएँ !”

“तपाईले पहिले नै गल्ति गरिसक्नु'भो भनेर त भनि नै सकेँ ! मानिलिउँ उनीहरुले पैसो दिएनन् नै भने पनि, उनीहरुलाई समाउने आधार नै केही छैन । तर पनि तपाई धेरै नआत्तिनुस्, दिन ढल्न अझ बाँकी नै छ, पैसो लिएर आउँदै होलान्, बिहान सम्म विश्वास गरेको मान्छेलाई यत्ति छिट्टै अविश्वास त नगरिहाल्नुस् । यतिका दिन त पर्खिनु भयो भने, अझै ३-४ घन्टा पर्खिनुस् । आँत्तिएर काम बन्दैन नि हजुर ! बरु कहाँ आइपुग्छु भन्नु भाथ्यो, त्यहीँ गएर बस्नुस्‍, उनेरू नि तपाईलाई खोज्दै होलान् ।”

“भन्या त हो नि सर, तर कसैको मन मा पस्न सकिँदैन । गाउँले ले नि डर देखाइदिए ।” उनले अनुहार झनै अँध्यारो पारे ! 'हिजो आज त झन्, जग्गा को कारोबार मा ठगी भा'को कुरा धेरै सुन्छु' ।

“लौ धेरै नआत्तिनुस्, बरु जाउँ चिया खान, केही त्यस्तै पर्यो भने उपाय निकालौँला” भन्दै अफिस को झ्याल बन्द गरेँ । उनी र म बाहिर निस्कियौँ, ढोका लगाएँ र चाइनिज कालो ताल्चा झुन्ड्याइ दिँए । अफिस तल को चिया पसल मा चिया पिएर म आफ्नो कोठातिर लागेँ भने उनी पैसो पाइने झिनो आशा राखेर, धुलिखेत बसपार्क तिर लागे ।

आज को एक दैनिक पत्रिका को भित्री पृष्ठमा पढेँ,'एक वृद्ध सम्साँझै लुटिए' ! लुटिने मा त्यही हिजो मेरो कार्यालय मा आएका बृद्ध रहेछन् । 'पैसो पाइएन भनेर, पिर गरिरहेका ती वृद्ध ले जग्गा को पैसा त लिएछन् तर घर मा पुर्याउन सकेनछन्' ! उनी घर गए कि गएनन् पनि थाहा पाउन सकिएन, कसले लुट्यो पनि थाहा भएन, पैसा लिएर आउने मान्छे ले किन ढिला गरे पनि खुल्न सकेन । छक्क पर्छु, किन मान्छेहरु यति धेरै अपराधिक मानसिकता बाट प्रेरित भएका होलान्? अपहरण, लुटपाट र हत्या त साधारण भइरहेका छन् । देश, देश को सुरक्षा स्थिति, देशका जनता का बारेमा एकछिन घोत्लिएपछि, भारी मन लिएर, अफिस तिर उक्लिएँ !

4 comments :

  1. Bhim Prasad GhimireAugust 1, 2012 at 11:37 AM

    समाजमा ठगको बिगबिगीले सोझा निमुखा यसरी नै झेलमा पर्छन् । कथाको विषय मार्मिक छ । अझ उतर्रार्द्धमा कथा फरक मोडमा पुगेको छ । यो बलियो पक्ष लाग्यो । लेखन कार्य निरन्तर रहोस्  

    ReplyDelete
  2. AnuragFromDhulikhelAugust 1, 2012 at 11:40 AM

    "धुलिखेल बजार मा पनि मैले एकान्त रोजेको छु ।"....."कहिलेकाँही त लाग्छ, काठमाडौँ विश्वविद्याल यहाँ नभएको भए, धुलिखेल यति धेरै चर्चित पनि हुने थिएन होला ।".......यि वाक्याश पढेर छक्क परेँ म । काठमाडौं बिश्वोबिधालय धुलिखेलमा पर्नु नै बिश्वोबिधालयको भाग्य होला शायद। धुलिखेल आँफैमा चर्चित छ लेखक महोदय । Anyways...really nice Story......:)

    ReplyDelete
  3. दु:खान्त तर सफल कथा ।

    ReplyDelete