Skip to main content

“सिक्स क्यारेक्टर्स इन सर्च अफ एन् अथर” को असफल यात्रा

आज हामीले एकजना साथि राजन कठेत को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ ।

वैचारिक व्दन्द

अगस्ट २२, २०१० आइतबार

आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो ।

सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परिस्थितिले धमिरा लाउँदो रहेछ । अभ्यासको घडीले ढोका ढक्ढक्याउँदा हामी लगभग सेलाउन लागिसकेका थियौँ । सबै आ-आफ्नै दुनियाँ र कामहरुमा व्यस्त हुन थालिसकेका थियौँ । त्यो सुरुको जोस इतिहास हुने कुरा लगभग निश्चित जस्तै बनेर गिज्ज्याउन थालिसकेको थियो । फेरी नाटक संयोजनको अभिभारा मेरो थाप्लामा परेकाले मलाई ठूलै टाउको दुखाइ थियो ।

साथीहरु खासै गम्भिर देखिएका थिएनन् नाटकप्रति । सुरुसुरुमामा त फुरुक्क थिए तर काम गर्ने दिन आएपछि प्रायजसो टाँगोले तानेको बाँसजस्तै देखिन थालेका थिए । फेरी कोही के काममा व्यस्त थियो कोही केमा । सबैजना सबैकुरा भ्याउन चाहन्थे । नाटक गर्ने हो भने कि नाटक छाड्नुपर्ने अनिवार्यता थियो कि त काम । यो 6charactersimageकुरामा धेरैजसोको मुख हेर्न लायक नहुनु त शङ्काको विषय नै थिएन । “ल छोरा बल्ल बल्ल एउटा काम गर्न थालेको थिइस अब छोड्नु पर्ने नै भो तैँले”- मेरो मनले मलाई इसारा मात्र हैन आज्ञा नै गर्यो । केही मित्र आफ्नो कामप्रति शूरो र बफादार बन्न खोजे । कोही खिन्न र निराश हुन थाले सम्भावना न्यून देखिन थालेपछि ।

“अब थिएटरको सपनालाई यहिँ तुहाइदिने हो? क्यानसिल गरिदिने हो त ?”- सबैलाई यहि थियो मेरो प्रश्न । दोधार र प्रश्नचिन्हबाहेकका अरू सकारात्मक भावहरू कसैको अनुहारमा प्रस्फुटन हुने सङ्केत देखिएन । यो जोस मरेर गए फेरी पलाउने आधार कमै थियो । क्यान्सिल गरिहाल्न पनि गाह्रो थियो यसकारण । गर्ने भनेर तातिएपछि नछोडौँ । यो त एउटा मौका हो । यो मनको आवाज थियो यथार्थमा समस्याहरु यथावतै रहेता पनि । फेरी हामी कोही कोही त चौथो वर्षका विद्यार्थी । काठमाडौँ विश्वविद्यालयमा रङ्गमञ्चको अवसर हाम्रा लागि यति मात्रै थियो ।

लगभग क्यानसिल गर्ने पक्का भएपछि नाटक गर्ने नै निधो भयो । नतात्नु तातिहाल्यौँ अब नसेलाउँ । यहि निचोड निक्लियो अन्तिममा पुगेर । फेरी काठमाडौँ विश्वविद्यालयमा छँदा-रहँदा यस्तो अवसर र जोसको आगमन न्यून नै देखियो । आखिर भोलिको दिनबाट नै सुरु हुने भो कामकुरो । हाम्रो टिम र जोसलाई आउँदो दिनका लागि शुभकामना !

(९ पि.एम्.)

फजा भि है जवाँ जवाँ

अगस्ट २३, २०१० सोमबार

म आफ्नो समय नाटकलाई सुम्पिन तयार भन्नेहरुको जत्था आज दिउँसो ४.१० मा केयूमा भेला भयो । लगावले निरन्तरता पाएमा आगामी दिनमा यो जत्था कलाकार कहलिनेछन् भन्दा घमन्ड गरेको आरोप नलाग्ला । तर आगामी दिन भन्ने कुरो कति पर छ ! १३ जनाको यो जोसिलो टिमले इकोग्रस्त कोठामा लगभग दुई घण्टा वार्म अप गर्यो । नाटकको सारांशमाथि नजर गरियो । गुरू सुमन रायमाझी अर्थात साथी सुमनले संवादहरूको परिचयगत अभ्यास गराउनुभयो ।

आज ठूलो कुरा खासै केही पनि गरिएन । लछारपाटो लाउनु पर्ने कुरा नै के थियो र ? आज पहिलो दिन भएकाले गधा बन्न तयार हामीलाई गह्रुङ्गो भारी बोकाउनु जायज हुने थिएन । भोली सोही स्थानमा भेट हुने प्रण गर्दै सबैजना बिदावारी भइयो ।

रामदाईकोमा चियाको प्यास, पेटको भोक र केही दिनअघिदेखि लगातार जोतिइएको ज्यानको थकान कम गर्न बसेँ म पनि । चुराटमा मुख टाँस्न हड्बडाउन छाडेको मलाई मित्र शैल श्रेष्ठले द.कोरियाबाट ल्याएको मालबोरो चुरोटको धुवाँले पनि साथ दिन तयार भयो । मेरो मुखमा मालबोरो नसुहाएको भएतापनि मैले निष्फिक्रीसाथ मुखलाई जानीनजानी कोणकोणमा बङ्ग्याएर धुवाँ उडाइदिएँ ।

खलासीको भाषामा भन्नुपर्दा धुलिखेलदेखि काठमाडौँ जाने ‘लास्ट बस’मा चढ्यौँ हामी । ल यो गीत सुन भन्दै सँगै सिटमा बसेको साथी सुमनलाई म “फजा भि है जवाँ जवाँ” भन्ने हिन्दी गीत हिँजोसमेत गरेर दोस्रो चोटी सुनाउँछु । उसले काठमाडौँ पुगेर आ-आफ्नो बासस्थानका लागि नछुट्टिउन्जेल सम्म यही गीत लगातार बजाउन आग्रह गर्यो । यो गीत अत्यन्त मनगडा छ । असाध्यै मनछुने गीत । हिन्दी शब्दहरुमा चुर्लुम्म डुब्न नसकेपनि सङ्गीत र अनौठो स्वरमा म हराउन सक्छु आफूलाई । अरू यात्रीलाई डिस्टर्ब भए खबर गरिहाल्लान् । लज्जा त भन्दै मैले नि यो गीतलाई ‘रिपिट मोड’ मा राखिदिएँ ।

(१० पि.एम्.)

स्कृप्ट् रिडिङ्ग्

अगस्ट २५, २०१० बुधबार

बज्दै होला कतै वनमा मनै हर्ने गीत

मेरो वन त छाडीहाली मेरी मनचरीले

यो एक हरफ अनायासै फुरिदिएको छ । आफूलाई पनि साह्रै मन पर्ने यो हरफ नफुर्नु फुरिहाल्यो । यसलाई गीतको रूप दिनखोजेँ तर मन छुने सिर्जना हुन सकेन । अब सोचेर लेखेको कुराले मनलाई बिझाउन र रूझाउन हिम्मत गरेन । शब्दहरूको ताँती लाग्यो तर गीत बनेन । यो अपूरो हरफ थाती भोलीको दिनलाई ।

हिँजो आफ्नो डेरामा फर्किन नसकेकोले गर्दा मेरो यो पिरान्डेलो-दैनन्दिनी एक दिनले बासी हुन पुगेको छ । राति फर्किँदा अबेर भा’कोले गर्दा साथी शैल श्रेष्ठकोमा नै बसेँ । हाम्रो रिहर्सल आइत, सोम र मङ्गलबार मात्र हुन्छ । आज अर्थात बुधबारबाट शनिबारसम्म रिहर्सल हुँदैन । त्यसैले सजिलोको निम्ति भएपनि म हिँजोलाई आज भनेर सम्बोधन गर्दैछु ।

आज “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को ‘स्कृप्ट रिडिङ्ग्’ गर्यौँ । नाटकको रिहर्सल् अर्थात अभ्यास थाल्नुअघि नाटकको विषयवस्तु बुझ्नको लागि यो अध्ययन त अनिवार्य नै भयो । ६३ पेजको पढाइलाई लगभग साँढे तीन घण्टा लाग्यो । आज एउटी साथीले हिम्मत हारी । वा उसको समय नमिलेको नि हुनसक्छ । उसले म आउँदिन भनेर खबर पठाएकी थिई । हिमालको बीचसम्म चढेर आत्तिन थाल्नु भन्दा चढ्नु अघि नै हिम्मत नगरेको बेस । यो सबैको हितकारी निर्णय थियो । ल ठीकै छ यो पनि ।

आजकाल हामी नेपाङ्ग्रेजी बोल्छौँ । कोही कोही त नेपाहिङ्ग्रेजी पनि बकी हिँड्छौँ । पिराण्डेलोको यो नाटक जीवन र कलामाथि बनेको छ । मूल नाटक इटालिएन/ फ्रान्सेली भाषामा छ । हामीले यो नाटक इन्टरनेटबाट अङ्ग्रेजी भाषामा प्राप्त गर्यौँ । र अब हामीले मञ्चन गर्न लागेको यो नाटक नेपालीमा अनुवादित छ । समस्या नै यहि हो । जिजुबाको समयको यो नाटक अब स्पष्ट नेपाली भाषामा मञ्चन गर्नु पर्ने छ । नत्र यो नाटकले तेस्रो वर्गको नौटङ्कीको रुप धारण गर्न सक्छ ।

स्कृप्ट पठनको समयमा नै ताराहरू निक्लेको भान हुन थालेको थियो । आधुनिकीकरण भनौँ वा पश्चिमीकरण नै । बोल्दा जानी नजानी भए पनि बीचमा अङ्ग्रेजी त घुसाइहाल्नु पर्छ । हामीले नेपाली प्रष्ट बोल्न हिच्किचाउँदा हिच्किचाउँदै बोल्न नै बिर्सिन लागि सक्यौँ । नेपाली केबल निरक्षर मानिसहरूसँग बातचित गर्न मात्र प्रयोग हुन थालेको छ । धन्य हाम्रा विद्यालयका पाठ्यक्रम !

अब पिरान्डेलोले हामीलाई नेपाली भाषा अघाउँजी आस्वादन गर्ने मौका दिन लागेको छ । मञ्चको ‘कपुरी क’ पनि नजानेको हामीले पिरान्डेलोबाट सुरुवात गर्दैछौँ । गुरु सुमन हाम्रो आँट हो । उसले यो नाटक निर्देशन गर्न लागेको छ । उसले हिँजोका दिनमा यो क्षेत्रमा सफलता हासिल गरिसकेको छ । उसले पेशेगत कलाकार नभई अन्धा र कैदीका बच्चाहरू लिएर ‘ग्रीन फिङ्गर’ र ‘इनसाइड द ब्रेन,’ जस्ता सफल नाटक मञ्चन गरिसकेको छ । त्यसैले पिरान्डेलोको सामु सुमन हाम्रो आँट हो । तसर्थ पिरान्डेलोदेखि हामीलाई खासै डर भने लागेको छैन ।

नाटकको लागि करिब १९-२० जना कलाकार चाहिए पनि १४ जनाले काम चलाउने निर्णय भएको थियो । तर अब १२ जनाले नाटक धान्नु पर्ने भएको छ । नाटकमा ३-४ जनाको मूख्य भूमिका रहेको छ । जसमा म पनि सामेल छु । साइडमा बसेर संवादका लामा- लामा अनुच्छेदहरुले गिज्याइराखेका छन् । फेरी भर्खर सुमनले मोबाइलमा ‘टेक्स्ट्’ गरेको छ- ‘डाइलग पढिँदैछ हैन त ?’ त्यसैले म समयलाई यताउता गर्न चाहन्न । आजलाई यति नै । बिदा !

(९ पि.एम्.)

बहाना, बानी र प्रवृति

अगस्ट ३१, २०१० मङ्गलबार

अहिले टि.भी.ले देशमा बढेको अराजकतालाई फुकिरहेको छ । डाबर नेपालको रियल जुसले उपभोक्तामाथि गरेको वेवास्ता र ठगीलाई मिडियाले खुबै वास्ता गरेको छ । एउटा भद्र सभासद् डि.बि.थापा इन्सपेक्टर बनाइदिने आश देखाउँदै घूस खाँदै गरेको अवस्थामा रङ्गेहात पकडिएछन् । नेपाल टि.भि.ले महजोडीको पोहोरसालको गाईजात्रे विशेष ‘अभिनन्दन’ दोहोर्र्याएर दिइरहेको छ । ‘अभिनन्दन’मा अन्तराष्ट्रिय चोर दिवसको अवसरमा एउटा नामी चोरको अभिनन्दन हुन लागेको छ ।

नेपालमा अराजकताबाट अछुत सायदै केही होलान् । मानवअधिकारवादी पनि शङ्काको घेराभित्र पर्छ । पशुपतिनाथभित्र अराजक तत्वहरुले भगवानसँग मण्डप बाँडफाँड गर्छन् । देश हाँक्ने साँचो लिएकाहरु जनताको आँखा छलेर आफैँ ब्रेक फेल गरिदिन्छन् भने गाडीमा राति स्टुडेन्ट कार्ड चल्दैन भनेर पूरै भाडा उठाउने खलासीलाई के गाली गर्नु ‘बेसोमतिको’ भनेर ।

आज रिहर्सलको कामकुरो अघि बढेन । हिँजो जस्तै आज पनि अघिल्लो दिन काम परेर वा बहाना गरेर नआएका साथीहरुलाई गुरु सुमनले एकदुई कप चिराइतोको झोल खुवाउनु भयो । कुरा ठीकै हो । गुरुबा- गुरुमाहरुलाई बच्चैदेखि ठग्दै आएका हौँ हामी । हिँजो क्लास किन नआएको भन्दा पूर्ण दृढताका साथ फर्काइदिइहाल्छौँ सञ्चो थिएन भनेर । किन क्लास ढिलो आ’को भन्दा सोच्नको लागि समय नै नलाई बहाना बनाइदिहाल्छौँ गाडीको जाम थियो भनेर ।

यो बानी प्रवृति बनेर हामी नेपालीमा विकास भइसकेको छ । हावी भइसकेको छ हाम्रो पहिचानको एउटा पाटो भनेर । हिँजो दैनन्दिनीलाई यही प्रवृतिले गर्दा निरन्तरता दिन सकिनँ । यही नै हो नेपाल जुगौँले पछि पर्नुको कारण । हामीले अरुलाई हेर्दा शिर उँभो पार्नुपर्ने कारण । अब भोली जो-जो आउनेछन् रिहर्सलको लागि उनीहरुले चिराइतोलाई औषधिको रुपमा ग्रहण गरेको देखिइहाल्नेछ ।

२८ किलो देखि कोटेश्वर ओर्लियौँ । कोटेश्वरबाट सुकेधाराको लागि बल्लबल्ल भेटिएको बसको ‘फुल-भाडा’ तिरेर कपनस्थित आफ्नो डेरामा आएँ ।

झरी परेको दिन

सेप्टेम्बर १, २०१० बुधबार

एउटा साथीलाई हिँजोको चिराइतोले बिसाएछ । हामी ११ जनाको फौजमा सिमित भयौँ । आज फाइनल स्कृप्ट रिडिङ्ग् भयो । अर्को चोटी ब्लकिङ् अर्थात रिहर्सलको फर्स्ट् ड्राफ्टको काम सुरु गर्ने आज निधो गरिएको छ । कृष्णाजन्माष्टमीको कारण आज सार्वजनिक बिदा भएकाले दिनभर जसो नै स्कृप्ट रिडिङ्को काम गरियो । अनुवादक सिपि अर्याल हामीमाझ थिए । त्यसैले आज स्कृप्ट सच्याउने काम पनि गरियो ।

आज मलाई बबिन प्रधानको ‘झरी परेको दिन’ ले कब्जा गरेको छ । हवाइजहाज दुर्घटनामा प्रेमिका गुमाएर यो मन सेर्ने गीत निर्माण गरेका बबिनले आज गीतका हरेक शब्दहरुमा मलाई फनफनी पारिरहे ।

झरी परेको दिन

आकाश हेरिरहेँ

तिमी आउने दिन भनि

कत्ति पर्खिएँ ।

कालो बादलले

निलो आकाश ढाकिदियो

तिम्रो मुस्कानलाई पर्खिरहेँ ।

समय बितिसक्यो

तर तिमी आएनौ

एकैचोटी म आत्तिएँ ।

कहाँ गएछ

त्यो विशाल चरी

मेरो मायालाई लिएर ।।

पहाडको माझमा

एक्कासी झस्क्यौ होला

सेतो हिमालको काखमा

एक्कासी बिउँझ्यौ होला

पहाडको माझमा

एक्कासी झस्क्यौ होला

तिम्रो मुस्कान अनि हाँसो

कसरी बिर्सूँ …………..

दिन बित्दै गयो

रात बित्दै गयो

तिमी आउँछ्यौ भन्ने आशा रहेन

कता जाउँ अब, कहाँ खोजुँ अब

छातीभरी व्यथा लिएर ।।

यो मन भन्ने कुरा नि अजीब छ । कसैले देखेको छैन यसलाई त्यहि पनि हाँकिरहेको हुन्छ गिदीका ठेला बोकेका भनिएका सारा मानवजातीलाई ।

नाटकको संवाद पढाइ र घोकाइमा बढि समय खर्चिनु पर्ने भएकाले यो दैनन्दिनीलाई चित्त बुझ्दोगरी लम्ब्याउन र बिट मार्न सकिरहेको छुइनँ । स्वच्छ मनलाई भगवानले कल्याण गरिरहुन् । शुभरात्री ।।

(मध्यरातको ठ्याक्कै १२ बजेर दुई मिनेट गएको छ)

गुडबाई पिरान्डेलो

सेप्टेम्बर १८, २०१० शनिबार

‘ए! साँची मेरो पिरान्डेलो दैनन्दिनी । त्यो त अपूरै पो छ गाँठे हो । केजाती ‘फाइलनेम्’ राखेर सेभ गरेको थेँ कुन्नि । हत्तेरी ! सायद डिलिट गरेको छुईँन होला ।’

अब बुन्ने काम थालेपछि राम्रो-नराम्रो जे भएपनि बिट चाहीँ मार्दिऊँ न त है । जे पर्ला पर्ला । शिर उच्चा गरेर, नाक ठूलो पारेर थालेको यो पिरान्डेलो विशेष अब कुनै पनि हालतमा अगाडि बढ्न सक्दैन । इज्जतको फलुदा हुने नै भो । विश्वविद्यालयमा फोटोकपी गरेर बस्ने दाईले पनि नाटक मण्डली भनेर गिज्याउन थालेका थिए । तर आँट थियो केही नभए पनि र त्यहि आँटलाई भए पनि सलाम ।

‘सिक्स क्याराक्टर्स इन् सर्च अफ् एन अथर’ संसारका विभिन्न मुलुकहरुमा धेरैचोटी मञ्चन भइसकेको छ । तर हामीले पिरान्डेलोको त्यो युगान्तकारी सिर्जनालाई हाम्रो संस्करणमा जीवन दिनबाट चुक्यौँ । सकिएन समय व्यवस्थापन गर्न । सकिएन त्यो काँचो जोसलाई मूर्त रुप दिन । कुन दिन क्यानसिल गर्यौँ त्यो नाटकको सपना मलाई ठ्याक्कै याद छैन । थुप्रै दिन भइसक्यो । तँगाराहरु तेर्सिन थालिसकेका थिए हामीतिर । एकातिर दशैँभन्दा अगाडि मञ्चन गरिसक्ने भन्ने योजना र अर्कोतिर दगुर्दै आइरहेको दशैँ । दशैँभन्दा अगाडि केयूमा हुन लागेको ‘युथ सोलिडारिटी फेस्टिबल’ । एकातिर कलाकारको अपुग र अर्कोतिर एउटा मूख्य भूमिका निभाउन लागेकी एक साथीको शारिरीक अस्वस्थता । रिहर्सल सँगसँगै गाँज्न थालिसकेको खर्चको भार । दिमागी पीडा त यथावतै छ । अन्तमा मुखको कुखुरा गुमाउनु पर्दा पुछार लुकाएर कान्ला कान्ला निदाउरो भएर जङ्गल फर्किन बाध्य १३ जना स्यालहरूको एउटा सजीव चित्र ।

फस्ट सेमेस्टरबाट थिएटरको भूत चढेको थियो । दुईचोटी त आफैँ नाटक लेख्न कम्मर कसेको पनि हुँ । फेरी निबन्ध लेख्न ढङ्ग नभएको मानिसले लेखेको नाटक । मलाई लाज लाग्यो । लाज सँगसँगै कतै कुनामा माउले त्यो नाटकलाई धुजाधुजा पारिदियो ।

गुरुकुल धाउँदा- धाउँदा रङ्गमञ्चप्रति खह्रो नै हुन थालेको थिएँ । हुन त ४-५ कक्षा छँदै एकपटक नाटक गर्न जोस चढेको थियो । जोस पनि धेरै आए तर सधैँ त्यस्तै त्यस्तै भयो । अब हिँजो जे भएपनि केयूमा छँदा एकपटक जसरी नि नाटक गर्ने भन्ने विचार थियो । छैटौँ सेमेस्टरमा त उखरमाउलो नै हुन थालेको थियो । तर यो पटक पनि भाग्यले साथ दिएन । सपना अलिक ज्यादै नै ठूलो देखिएछ क्यारे ।

अब मेरो केयू रङ्गमञ्चको यात्रा यहिँ समापन हुन्छ । केयूमा हुन्जेल त अब रङ्गमञ्च असम्भव नै छ । भविष्यमा अवसर जुरे या अवसर सिर्जना गर्न सकेमा आफ्नो धोको पूरा गर्नेछु । त्यतिसम्मलाई बिदा !

(८ पि.एम्.)

** इतिश्री **

 

image source: benchtheatre.org.uk

Comments

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post