कारवाही गर्नै पर्छ निजी विद्यालयहरुलाई

हुन त कुरा समय समय मा उठिरहेको छ , निजी विद्यालयहरुले असुल्ने विद्यार्थी शुल्क को बारेमा । तर 'काग कराउँदैछ, पिना सुक्दैछ' भने झैँ भइरहेछ । अनि हामी सँग शिक्षा नियमावली नभएको पनि होइन, तर त्यो कार्यान्वायन भए-नभएको हेर्ने निकाय कान मा तेल हालेर बसेको आभाष हुन्छ । कुरा, निजी विद्यालय ले असुल्ने विद्यार्थी शुल्क कै बारेमा हो ।

हिजो राती एभिन्युज टेलिभिजन को रिपोर्ट हेरेको थिँए, निजी विद्यालय ले उठाइरहेको विद्यार्थी शूल्क को विषय मा । आज को कान्तिपुर दैनिक मा पनि "नियमविपरीत भर्ना शुल्क/ ४१ हजारसम्म असुल्छन्" भन्ने शिर्षक मा समाचार छापिएको रहेछ, यही विद्यार्थी शुल्क को बारेमा ।

समाचार मा लेखिएको छ:
विद्यालयले भर्नाबापत १० देखि ४१ हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क शुल्कका नाममा उनीहरूले १० देखि १७ हजार र धरौटीबापत १ हजार देखि २० हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क, भर्ना र धरौटीबापतको शुल्क सञ्चालकले निजी प्रयोग गर्छन् ।

मासिक शुल्क करिब २ हजार रहेको राजधानीको चेल्सी एकेडेमीले कक्षा १ को भर्ना शुल्क ३५ हजार लिने गरेको छ भने चाँदबागले २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यस्तै ललितपुरको युनाइटेड स्कुलले नयाँ भर्नाका लागि कक्षा १ मा २७ हजार रुपैयाँ लिने गरेको छ । यो स्कुलको कक्षा १ को मासिक शुल्क ७ सय रुपैयाँ छ । त्यस्तै २ हजार मासिक शुल्क भएको डीएभी सुशील केडिया स्कुलको भर्ना शुल्क ३८ हजार ४ सय ५० रुपैयाँ छ । जेभियर इन्टरनेसनलको भर्ना शुल्क ३५ हजार ८ सय रुपैयाँ छ । त्यस्तै रोजबड स्कुलले नर्सरीदेखि कक्षा १० सम्मको भर्ना शुल्क २५ हजार तोकेको छ । राजधानीकै पाठशाला नेपालले कक्षा १ का विद्यार्थी भर्नाबापत ३५ हजार ४ सय लिएको छ भने कक्षा ८ को भर्ना शुल्क ४१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

ललितपुरको शुभताराले कक्षा १ देखि ३ सम्मको भर्ना शुल्क ३५ हजार ४ सय रुपैयाँ तोकेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एनप्याब्सनकी अध्यक्ष गीता रानाको विद्यालय ग्यालेक्सीले भने सबै कक्षाको भर्ना शुल्क ३ हजार तथा कक्षाअनुसार वाषिर्क शुल्क ८ देखि १० हजार रुपैयाँ उठाएको छ । जिल्ला शिक्षा कार्यालय ललितपुरका एक कर्मचारीका अनुसार ललितपुरमा नाम चलेको लिटिल एन्जेल्सले नर्सरीमा ८ हजार ९ सय २५ रुपैयाँ भर्नाबापत लिने गरेको छ भने जेम्स स्कुलले कक्षा १ देखि ३ सम्मको भर्ना शुल्क १९ हजार ३ सय ५० तोकेको छ ।

समाचार पढिसेकपछि जो कोही को पनि दिमाग रन्थनिनु सामान्य नै हो । मेरो दिमाग पनि बेस्सरी रन्थनियो । कक्षा १ मा भर्ना हुँदा ४० हजार भर्ना शुल्क लाग्छ भन्ने खबर पढेर । के हिसाब मा ४० हजार तिर्ने हो, त्यो त थाहा भएन तर शिक्षा को आड मा ब्रम्हलुट गरिएको भने आँखै अगाडि देखियो, अनि लुट्ने लुटिरहेका छन्, लुटिने क्रम जारी छ, कारवाही कहिँ कतै बाट भएको छैन ।

कक्षा १ मा भर्ना गर्न ४० हजार लाग्छ, त्यसमाथि मासिक शुल्क २-३ हजार, सँगै जोडिएर आउँछ वार्षिक शुल्क, अनि बिच बिच मा लिइने परीक्षा पिच्छे अवस्थाहेरि ५ सय देखि २ हजार सम्म असुल्छन्, निजि विद्यालयहरु । यो सुन्दा पनि कति अचम्म लाग्ने खबर छ, के को लागि ४० हजार ? यसो हिसाब गरेर हेरेँ, यो त इन्जिनियरिङ र मेडिकल पढ्न भन्दा पनि बढि लाग्ने रहेछ, कक्षा १० सम्म पास गर्न ।

म सोच्थेँ, विद्यालयहरु ले कसरी काठमाडौँ जस्तो महंगो ठाउँ मा जग्गा किन्छन्, घर बनाउँछन्, गाडि किन्छन् भनेर । तर त्यसको जवाफ त यी भइरहेका ब्रम्हलुट ले दिइरहेकाछन्, नेपाली जनतालाई खुल्लम खूल्ला ठगिरहेकाछन् । जो ठगेर पैसो कमाउँछन्, उनीहरु कै इज्जत छ, उनीहरु नै ठूला कहलाइकाछन्, उनीहरु कै बोलवाला छ, उनीहरु कै स्कुल भव्य छ । यो कस्तो विडम्बना ? जति नै जे नै भएको भएपनि नेपालीहरु चुपचाप यो लुट हेरिरहेकाछन् ।

अब यी सम्पुर्ण निजि विद्यालय को शुल्क माथि अनुगमन गर्न जरुरी छ, अनुगमन गरेर मात्र भएन, कारवाही पनि तुरुन्त गर्न जरुरी छ, यी शिक्षा का नाम मा लुट गर्ने लाइसेन्स प्राप्त लुटेराहरुलाई । विद्यालय शिक्षा आर्जन गर्ने थलो हो, तर यसका सञ्चालकहरु को लागि भने यो लुट गर्ने थलो नै हो । अनि यो निजी विद्यालय मात्र होइन, निजी क्याम्पस र कलेजहरु ले पनि गुणस्तरीय शिक्षा को नारा को आड मा, नेपाली जनता को रगत, पसिना को कमाइ चुसिरहेकाछन् ।

साँच्चै हो, नियम विपरित शुल्क लिने विद्यालय र त्यसका सञ्चालकहरुलाई तुरुन्त कारवाही गर्न जरुरी छ । शिक्षा को आड मा जनता को ढाड सेक्न पाइँदैन, यी ब्रम्हलुट गर्ने विद्यालयहरु हामीलाई चाँहिदैन । नेपाल सरकार को सम्बन्धित निकाय ले, तुरुन्त कारवाही गरेर, शिक्षा शुल्क मा एकरुपता ल्याउन जरुरी छ ।

तर अब यहाँ 'समता निकेतन' जस्ता स्कुलहरु को आवश्यकता छ, उत्तम सञ्जेल जस्ता मान्छेहरु को आवश्यकता छ, जो न्युनतम शुल्क १ सय रुपैँया मा गुणस्तरिय शिक्षा दिन कटिबद्ध छन् ।

7 comments :

  1. sale haru ko brahmalut antya garnai parchha

    ReplyDelete
  2. ब्रह्मलुट गर्न सहयोग गर्ने त अभिभवक नै हुन नि नत्र के क लागि तिर्ने ४०००० हजार ?

    ReplyDelete
  3. AnuragFromDhulikhelApril 19, 2010 at 11:04 PM

    बोर्डइङ स्कुल भनेपछी आँखा चिम्लेर आफ्ना छोरा-छोरी सुम्पने अनी हजारौ पैसा खर्चने कथित(स्याल पल्काउने) अभिभाबकहरुलाई पनि कारबाही गर्नु पर्ने हो नी महाराज !!!!!!

    ReplyDelete
  4. AnuragFromDhulikhelApril 19, 2010 at 11:04 PM

    बोर्डइङ स्कुल भनेपछी आँखा चिम्लेर आफ्ना छोरा-छोरी सुम्पने अनी हजारौ पैसा खर्चने कथित(स्याल पल्काउने) अभिभाबकहरुलाई पनि कारबाही गर्नु पर्ने हो नी महाराज !!!!!!

    ReplyDelete
  5. @ Aakar

    मैले यहा बुझ्न नसकेको कुरा चाँही : बिद्यालय हरुले अनावश्यक (?) रुपमा महँगो शुल्क लिइ राखेको छन् भन्ने कुरा अभिभवक हरुलाई थाहा नभयेको होईन । राम्रो सँग थाहा छ । फेरी नीजी बिद्यालय हरुले बल्जफ्ती विद्यार्थी लियेर गयेका पनि छैनन् । नीजी बिद्यालय म नै अथवा महँगो नीजी बिद्यालय म नै पढाउनु पर्छ भन्ने पनि छैन । आखिरमा हामीलाई किन यस कुरा माथि येस्तो टाउको दुखाइ किन ? अभिभावक र बिद्यालय बीचको आन्तरिक कुरामा हस्तछेप गर्नु पर्ने जरूरी किन? राज्य ले सन्चालन गरेका बिद्यालय मा प्रति विद्यार्थी बराबर महिना को १३०० रुपैया खर्च हुन्छ , त्यो नीजी बिद्यालय ले प्रति विद्यार्थी बराबर लिने भन्दा बढी हो तर पनि राज्य ले दिने शिक्षा अत्यन्तै गुनस्तर्हिन छ , त्यो चै ब्यपरिकरन होईन ? त्यो चै ठगी होईन ? कम्सेकम नीजी बिद्यालय को शुल्क चित्त बुझेन भने अरको बिद्यालय जना सममा म स्वोतन्त्र छु तर राज्य ले दियेको शिक्षा नराम्रो भयो भनेर म कर तिर्दिन भन्न मैले पाउछु ?

    ReplyDelete
  6. @Surath
    सुरथ जी, तपाई को केही कुरा मा म पनि सहमत छु, तर जति पनि अभिभावक ले तिरिरहेका छन्, उनीहरु बाध्यता ले नै तिरिरहेकाछन् । वर्षै पिच्छे भर्ना र वार्षिक शुल्क भन्दै हजारौँ असुल्छन्, विद्यालय ले, मलाई भन्दिनुहोस् कति अभिभावक ले खुशि खुशि तिरेका होलान् ? यो त बाध्यता नै हुनजान्छ ।

    अहिले को जमाना मा प्रतिस्पर्धा धेरै हुन्छ भन्छन्, अत: अभिभावक ले आफ्ना छोराछोरीलाई सकेसम्म राम्रो विद्यालय मै पढाउँ भन्छन् । यो स्वाभाविक कुरा हो । सरकारी विद्यालय को गुणस्तर राम्रो छैन म मान्छु तर राम्रो छैन भन्दै मा निजी विद्यालय ले एकलौटि रुप मा नेपालीलाई चुस्न पनि भएन नि !

    जसरी माओवादीलाई उ मात्रै राम्रो लाग्ने, उसको मात्रै कुरा सुन्ने र मान्ने मान्छे चाहिएकोछ, दुनिँयालाई सरापेर, त्यसैगरि निजी विद्यालय ले पनि मनपरि शुल्क लिइरहेको छ, गुणस्तरिय शिक्षा भन्दै ।

    तपाई आफ्नो आत्मा साक्षि राखेर भन्नुस्, निजी विद्यालय मा त्यस्तो के हुन्छ, कि १ कक्षा मा भर्ना गर्दा ४० औँ हजार बुझाउनुपर्छ । जो कोही लाई विद्यालय को विशेषता सुन्दै मा भर्ना गर्नै ४० हजार तिरौँ तिरौँ लागोस्, यो कहिँ कतै होला ।

    "अभिभावक र बिद्यालय बीचको आन्तरिक कुरामा हस्तछेप गर्नु पर्ने जरूरी किन?" भनेर भन्नुभएछ, यी दुबै कुराहरु हाम्रा समाज भित्र कै कुरा र हाम्रै कुराहरु हुन् । हामी पनि त्यहाँ पढ्नुपर्छ, पैसो तिर्नैपर्छ । सायद, तपाई को कुरा माओवादी तर्फ लक्षित होला, तर म भन्दिहालौँ, एउटा नागरिक को हिसाब ले मैले यो कुरा लेख्दैछु । अनि हाम्रो शिक्षा नियमावली/कानुन मा पनि प्रस्ट लेखेको छ, विद्यालय को पुर्वाधार र लिइने शिक्षा शुल्क को बारेमा !

    सबै को आ-आफ्नै विचार हुन्छ, म आफ्नो विचार मा अडिग नै छु, विद्यालयलाई कारवाही त हुनैपर्छ, तर स्कुल बन्द गराउने माओवादी भने म होइन ।

    ReplyDelete
  7. ब्रह्मलुट गर्न सहयोग गर्ने त अभिभवक नै हुन नि नत्र के क लागि तिर्ने ४०००० हजार ?

    ReplyDelete