पेट्रोलियमको विकल्प : काठबाट तेल [Research]

पछिल्ला वर्षमा युवाहरू आफ्नो अध्ययन, अनुसन्धान र प्रतिभालाई सार्वजनिक गर्दै आएका छन् । चर्चा सुनिरहँदा कसैलाई अपत्यारिलो पनि लाग्छ । तर, वैज्ञानिक अनुसन्धानलाई अविश्वास गर्ने कुरै रहेन ।
यतिखेर तीन विद्यार्थी भावुक कोइराला, अनुराग रिजाल र बरुण प्रधान केही नयाँ कुरोको खोजीमा छन् । उनीहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बायोटेक्नोलोजी विषयको स्नातक अन्तिम वर्षका विद्यार्थी हुन् । साथमा छन्, गुरुद्वय अनुरूप मानन्धर र हेमन्तराज मैनाली ।
Anurag Rijal (Left) & Bhabuk Koirala in a Lab

उनीहरूको प्रोजेक्ट वर्क झन्डै सात महिनाको अन्तरालमा आकार लिन खोज्दैछ । काठ खानु नै धमिराको अवगुण हो । 'तर, यसमा पाइने जीवाणुलाई उपयोग गर्नसके इथानोल तेल उत्पादन सम्भव छ,' भन्ने प्रमाणित गर्दै उनीहरू प्रयोगशालामा जुटिरहेका छन् ।


यो पेट्रोलियम पदार्थको विकल्प खोजी हो । त्यसैले पाँच जनाको यो समूह झन्डै सात महिनादेखि प्रायः त्यही प्रयोगशालामा व्यस्त छन् । अनुसन्धान सफल भए काम नलागेर फ्याँकिएका काठजन्य वस्तुबाट इथानोलको औद्योगिक उत्पादन गर्न सकिनेछ र जुन जैविक इन्धनको रूपमा पेट्रोलियम मिसाएर गाडीमा प्रयोग गर्न सम्भव हुनेछ । 


इथानोल बन्ने प्रक्रिया कस्तो छ त ? धमिराको पेटमा काठलाई ग्लुकोजमा परिणत गर्ने जीवाणुहरू पाइन्छन् । ग्लुकोजकै कारण सबै प्राणी बाँचेका हुन्छन् । र, त्यही ग्लुकोजमा मर्चा -यिष्ट) राखेपछि इथानोल बन्छ, जुन इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ । 'त्यसैले इथानोल निकाल्ने कुरा निश्चित छ,' विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका शिक्षण सहायक मानन्धरले भने, 'तर थोरै लगानीमा उत्पादन गर्न सकेमात्र सफलता मानिनेछ ।'


धेरै काठ खानसक्ने धमिराको जीवाणु विकास गर्नु नै अनुसन्धानको अन्तिम चरण भएको उनले सुनाए । 'धेरै थरी जीवाणुले गर्ने काम एउटै गर्ने जीवाणु विकास गर्दैछौं,' मुख्य अनुसन्धानकर्तासमेत रहेका मानन्धरले भने ।
अर्को जीवाणुको डीएनए प्रत्यारोपण गरेर पनि शक्तिशाली बनाउन सकिने मानन्धर बताउँछन् । 'डीएनए प्रत्यारोपण गाह्रो पनि छैन,' उनी भन्छन् । उनीहरू अहिले धमिराको जीवाणु परीक्षण गर्दैछन् र अनुसन्धान अवधि डेढ वर्ष अनुमान गरेका छन् ।


सबै खाद्य वस्तुमा ग्लुकोज पाइए पनि इथानोल बनाउन महँगो पर्ने हुँदा त्यसबाट औद्योगिक उत्पादन गर्न सकिँदैन । धमिराले काठको 'सेलुलोज' पदार्थ खाने हो । काठ मात्र होइन, यो पदार्थ घाँस-पातमा समेत पाइन्छ । 'संसारमा सबैभन्दा बढी पाइने पदार्थ नै सेलुलोज हो,' अर्का अनुसन्धानकर्ता मैनालीले भने, 'तर यसको उपयोग कम मात्र भएको छ ।'


भर्खरै सर्लाहीको जंगलबाट ल्याएको काठबाट धमिरा निकाल्दै थिए उनीहरू । 'साल काठमध्येको बलियो भएकाले,' मैनालीले भने, 'यो पचाउने जीवाणुले अरू सजिलै पचाउँछ भन्ने सोचेका हौं ।' त्यतिखेर पाँचै जना प्रयोगशालामा व्यग्रतासाथ झुमिरहेका थिए ।


उनले त्यो सालका काठलाई एउटा डिब्बाभित्र राखेपछि त्यसको कपडाले बेरिदिए । 'धमिराले जंगलको वातावरण अनुभव गरोस् भनेर यसो गरेका हौं,' मैनालीले भने । धमिराबाट जीवाणु निकाल्ने, परीक्षण गर्ने र इथानोल बनाउने प्रक्रियासमेत सुरु भइसकेको छ । उनी भन्छन्, 'राम्रो तथ्यांक नआएसम्म यो दोहोर्‍याइरहने हो ।'


जैविक विविधताकै कारण नेपालको धमिरामा धेरै खाले जीवाणु हुनसक्ने उनले बताए । 'अरू देश र यहाँको धमिरा निकै फरक हुन्छ,' मैनालीको भनाइ छ, 'आफ्नै देशको स्रोतबाट आफैंले खोजौं भन्ने हो ।'


तथ्यांक राम्रो निस्किए यो उद्योगमा धेरैले लगानी गर्नसक्ने उनीहरूको दाबी छ । 'हामीले विश्वास दिलाउन सके लगानीको चिन्ता छैन,' मानन्धर थप्छन् । अरू देशमा पनि यस्तो अनुसन्धान भइरहेको हुनसक्ने भए पनि नेपालमा पाइने धमिराको जीवाणु फरक खाले हुनसक्ने उनीहरूले बताए । 'कतिले अनुसन्धान गर्दै होलान्, कतिले पत्ता लगाइसकेका होलान्, तर कसैले पनि बाहिर ल्याइहालेका छैनन्,' मानन्धरले भने ।


अहिलेको इन्जिन भएका गाडीहरूमा करिब २० प्रतिशतसम्म इथानोल पेट्रोलियममा मिसाउन सकिने अनुसन्धानकर्ता मानन्धर बताउँछन् । 'गाडीको इन्जिन 'मोडिफाइ' गरे त्योभन्दा ५० देखि ८० प्रतिशत इथानोल मिसाउन सकिन्छ,' उनले भने । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यो काम भइरहेको छ । आयोगले दुई लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ ।


विदेशबाट विभिन्न रसायनहरू झिकाउनुपर्ने भएकाले अनुसन्धान महँगो पर्ने गरेको उनीहरूको भनाइ छ । 'अनुसन्धान जो कोहीले पनि गर्न सक्छन्,' मैनालीले थपे, 'तर यसका लागि लगानी गर्न सक्नुपर्छ । सहयोग हुनु जरुरी छ ।'

----------------------------------------------------------------------------------------------------------------------------------

काठमाडौँ विश्वविद्यालय तथा हाम्रा सिनियर दाइहरु को रिसर्च सम्बन्धि खबरलाई हामीले फागुन १४  गते को कान्तिपुर बाट साभार गरेका हौँ । खबर, खुमानसिंह तामाङ ले लेख्नुभएको हो । काठबाट चाँडै नै तेल निकाल्न सकियोस भन्ने शुभेच्छा सहित हामीले आज यही रिपोर्टलाई यहाँ प्रकाशित गरेका छौँ !

8 comments :

  1. Wow ....this feels great to read...The youths are doing great....We have to publicize it...as much as possible...

    Wish you all , all the best ...

    ReplyDelete
  2. प्रयोगात्मक परिक्षण सफल भएपनि कमर्सीयल प्रोडक्सन चाही अलि असम्भव जस्तो लाग्यो तैपनि सफलताको कामना गर्दछु ।

    ReplyDelete
  3. 'बिरोधाभास 'March 2, 2010 at 7:53 PM

    कान्तिपुरमा छापियीसकेको खबर के राखेको हो फेरी ? हुनसक्थ्यो भने कान्तिपुरमा आउनु अगाडिनै राखेको भए राम्रो हुनेथियो । अरु केही त्यस्तो उल्लेख्निय प्रोजेक्ट हुँदै छैन र कम्रेड यो बासी खबर हालेको ? Engineering को electromechanics अनी Medical science तिर थुप्रै राम्रा काम हुँदै छन,खुमान लाई मैले भनिदिएको छु । शायद यो न्युज चाँही मनोजले लेख्छकी ..why don't you rush earlier and make new fresh blog कम्रेड आकार ????

    ReplyDelete
  4. 'बिरोधाभास 'March 2, 2010 at 7:54 PM

    good!

    ReplyDelete
  5. हा हा हा !
    खुमानदाइ लाई भन्नु को सट्टा मलाई भनेको भए, मै लेख्थेँ नि ! Rush गर्ने टाइम को अभाव छ !

    ReplyDelete
  6. साभार भए पनि 'कान्तिपुर' पढ्न ताल नपरेकाले पढ्न भ्याउने भए । यस्ता समाचार यथासम्भव फैलाउनुपर्छ । यसो गर्न सक्ता अनुसन्धाताको मनोबल बढ्छ भने सहयोगी र दाताहरू फेला पार्न पनि सजिलो हुन्छ ।

    ReplyDelete
  7. Dherai positive chha. Yo sambhab pani hudai jaos yahi shubh kamana chha.

    ReplyDelete
  8. हा हा हा !
    खुमानदाइ लाई भन्नु को सट्टा मलाई भनेको भए, मै लेख्थेँ नि ! Rush गर्ने टाइम को अभाव छ !

    ReplyDelete