नियात्रा : घान्द्रुक को घुमाइ - २

पहिलो दिन

आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ।

बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा हुँदो रहेछ। नेपालमै अत्याधिक बर्षाहुने ठाउँको हावासँग परिचय साटियो। नयाँ कुराको ज्ञान भयो। सायद सामान्यज्ञान पढेर नेपालमा सर्वाधिक बर्षाहुने ठाउँ लुम्ले हो भनि याद गर्नु परेको भए मस्तिष्कले निकै संघर्ष गर्नु पर्थ्यो तर आफैं लुम्ले पुग्दा मस्तिष्कले थाहा नै नपाई लुम्लेलाई मनमा बसाएछ। यहाँनेर विश्व साइकल यात्री पुष्कर शाहालाई सम्झन मनलाग्यो मलाई। पुष्करले भर्खर आफ्नो ११ बर्षे विश्व साइकल यात्रा पुरागरेका छन्। नाइल नदी देखेपछि पुष्करले भनेका थिए- ‘सायद अब मैले फेरि परिक्षामा नाइल नदीको बारेमा लेख्नुपर्यो भने २-४ नम्बर बढीनै ल्याउँछु होला’। सुन्नु र भोग्नुको सायद यहि भिन्नता छ, तृप्तीको भिन्नता।

मेरो मन लुम्लेमा रोकिए पनि बस रोकिएनछ। हामी गाडीले ओराल्दिने नयाँपुल पुगिसकेका थियौँ। गाडीबाट ओर्लेर सच्चा नयाँपुल पुग्न करिब आधा घण्टा लाग्यो। थाहै नपाई पदयात्रा सुरु गरिसकेछौं हामीले। केहि अगडी अर्थात वीरेथाँटीबाट अन्नपूर्ण संरक्षण क्षेत्र सुरु भएको थियो। वीरेथाँटीमा विदेशी पर्यटकले विवरण भर्नुपर्ने रहेछ। प्रेम छिरिङग्लाई चाइनीज भनेर चेक पोष्टका कर्मचारीले राहधानी माग्दा रमाइलो ठट्टा भएको थियो। मेरो दिमागमा नयाँपुल भनेको पक्की पुल होला भर्खर बनेको भन्ने थियो। तर पुल त उही पुरानै रहेछ, झोलुंगे पुल। मोदी खोलामाथि तुर्लुग झुन्डिरहेको।




नयाँपुल काट्ने बित्तिकै बाटो दुईतिर लागेको देखियो। दायाँ पट्टीको बाटो जाँदा एकैदिनमा घान्द्रुक पुगिने र बायाँ पट्टी लाग्दा चाहिं तिखेढुङ्गा, घोरेपानी, टाढापानी हुँदै घान्द्रुक पुगिने रहेछ। हाम्रो पदयात्रा पाँच दिनका लागि तय भएकाले हामीले लामो बाटो घान्द्रुक पुग्ने निधो गरि बायाँ पट्टीबाट पहाडको उचाई नाप्न थाल्यौं। पहिलो दिनको बास तिखेढुङ्गामा बस्ने निधो थियो। मेरो दिमागमा तिखेढुङ्गा कस्तो होला भनेर चित्रहरु कोरिन थालिसकेका थिए। एउटा तिखो ढुङ्गा जस्तो पहाडमा भएको गाउँहोला तिखेढुङ्गा भनि मनले ठम्यायो। पाइलाहरु अगाडि बढीरहेका थिए। एकपछि अर्को पाइला गर्दै म दिनको गन्तब्यका लागि अगाडि बढिरहेको थिएँ।

हिजो पोखरा बसेकोले होला पोखराको याद आयो। फेवाताल याद आयो। गीत सुनेको ठाउँ ‘बिजी बी’(Busy Bee) को याद आयो। ‘बिजी बी’ भनेको एउटा होटल/रेष्टुरेन्टको नाम हो। नेपाली तथा विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा उपस्थित भई ‘बिजी बी’मा गीत सुनेर रमाइलो गर्दा रहेछन्। गीतचाहिं स्थानीय गायन समुह (ब्याड) ले गाउँदा रहेछन् बेलुका ७:०० बजे देखि राति ११:०० बजे सम्म। हामी ‘बिजी बी’ गएको दिन, मात्र अङ्ग्रेजी गीत गाइयो। अङ्ग्रेजी गीत सुन्न मन नपर्ने भएकाले खासै रमाइलो लागेन मलाई। तर अरु मानिसहरुले ‘हेड ब्याङ्ग’ (जीउ निहुराएर टाउको हल्लाउने काम) गरेको देख्दा चाहिँ रमाइलो लाग्यो। ‘कस्तो घाँटी नदुखेको होला?’ मनले भनिरहेको थियो।

हिजो राति पैसा धेरै खर्च गरिएछ। झन्नै २००० रुपैयाँ उडाइएछ। धन्न जाँड, रक्सी खाइएन नत्रभने घान्द्रुक यात्रा पोखरामै टुङ्गीने थियो। जाँड नखाएपनि २००० रुपैयाँ सकिनुबाट पोखरा महङ्गो शहर रहेछ भनेर अड्कल काट्न सकिन्छ। ‘पर्यटकसँग पैसा लिने बानी परेका होटल ब्यवसायीहरु हुन’ भन्यो मनले।

पाइला निरन्तर अगडि बढिरहेका थिए। मोदी खोलामा मिसिन गइरहेको भुरुन्दी खोलाले सुसेलेको आवाज मिठो सङ्गीत बनि वातावरणमा मिसिरहेको थियो। भूरुन्दी खोलालाई देख्दा लाग्यो उ वेगसँग आफ्नो लक्ष्य भेट्टाउन अघि बढीरहेको छ। बाटोमा कतै, केहीबेरका लागी बाङ्गीएपनि लक्ष्य भेट्टाउने उसको उत्कट अभिलाषा प्रेरणादाई छ।

छेउमा खोला, वरिपरी हरियाली, पहाडको उकालो-ओलारो, हिड्न रमाइलो लागिरहेको थियो। अचानक फेरी मनमा हिजो खर्च गरेको पैसा याद आयो। छ भन्दैमा फजुल खर्च गर्यो भने कुवेरको भण्डारपनि रितिन्छ भन्ने कुरा थाहा हुँदा-हुँदै अनावश्यक पैसा खर्च गरेकोमा आफैसँग रिस उठ्यो। ‘काठमाडौं फर्किउन्जेललाई पैसा पुगेन भने के हुन्छ?’ भनि दिमागले तेर्साएको प्रश्ननको तगारोलाई बाँकि पैसा उपयोगी तरिकाले खर्च गर्छु भनि हटाएँ। बल्ल मलाई पदयात्रा भनेको आफ्नो निउन पुँजी र समयलाई सहि सदुपयोग गर्दै नयाँ ठाउँका बारेमा जानकारी लिन सिकाउने विधि रहेछ भन्ने थाहा भयो।

मन पोखरामा पाइला पदयात्रामा। दिन यसरि नै वित्यो। कहिले काहिँ आफूले पदयात्राको सम्पूर्ण मज्जा लिन नसकिरहेको आभास हुन्थ्यो तर मनको चिन्ता पदयात्रासँग नै सम्बन्धित रहेको र पदयात्राले सुरुमै ठुलो पाठ सिकाएको सम्झेर खुसी पनि लाग्यो। अब चाहिँ पैसाको सहि उपयोग गर्छु भनि मन एकचित्त गरें र सारा ध्यान यात्रामानैं केन्द्रीत गराउन थालें।

बाटोमा अनेकौं झरनाहरु देखिए। कोही लामा, कोही ठुला, कोही पातला। जे जस्ता झरना भएपनि सवै झरना समान थिए। पानि सबैको समान तत्व थियो। झरनाहरु आफूलाई भूरुन्दी खोलामा मिसाएर आफ्नो समुन्द्र भेट्ने लक्ष्यलाई अझ मगबुत बनाइरहेका थिए। कहीँ त पुरा खोला झरना जस्तो भएर उचाइबाट झरिरहेको देखिन्थ्यो। नेपालमा जलबिद्युतको सम्भावना र खेर गइरहेको पानि दुवै विचार एकैपटक मनमा आयो। नेपाल प्रकृतिको ठुलो निगाहा बक्स भएको देश हो तर एउटा लायक छोरो पाउन सकिनन् नेपाल आमाले। म त्यो लायक छोरो हुनसकुँ। यहि इच्छा भयो मलाई।



साथीहरु बाटोको हरियाली, डाँडाकाँडा, सुन्दर झरनाहरु सबैलाई क्यामराको सहयोगबाट कैद गर्न ब्यस्त देखिन्थे। सबैको अनुहारमा चमक थियो पदयात्राले दिएको।

वीरेथाँटीबाट माताथाँटी, लाम्दुवाली, रामघाई, दाङसिङ, सुदामे हुँदै हामी हिले पुग्दा साझको ४:५५ बजिसकेको थियो। हामी वीरेथाँटीमा खाना खाएर १:१५ बजे दिउँसो, उकालो लागेका थियौं। तिखेढुङ्गा पुग्न अझै कति बाँकि छ भन्ने कुरा हामीलाई हिलेमै प्रप्त भएको पदयात्राको नक्साले बताइदियो।

हिलेपछि तिखेढुङ्गा आउँछ भन्ने थाहा पाएपछी साथीहरु धेरै खुसी भएका थिए। सायद उनीहरुलाई तीन घण्टाको नियमित यात्राले थकाएको थियो होला। आधा घण्टापछी अर्थात ५:३० बजे हामी दशै जना तिखेढुङ्गा पुग्यौँ। निला घरहरु भएको एउटा सानो गाउँ रहेछ तिखेढुङ्गा। तिखेढुङ्गामा होटल पाउन गाह्रो भएन हामीलाई। फेरी सस्तो होटलपनि पायौं हामीले। होटल खोज्दा ‘सादा खानाको कति?’ ‘एउटा खाटको कति?’ भनेर टुङ्गो लगाएर मात्र बस्ने निधो गरेका थियौं हामीले। पैसा सबै कुरा नभएपनि चाहिने कुरा चाहिँ रहेछ।

बेलुका भरी साथीहरु सबै गफिंदै बस्यौं। एक-अर्कालाई गिज्याउने, आफ्ना बारेमा साथीहरुलाई थाहा नभएको कुरा भन्ने सुनौलो अवसर भयो तिखेढुङ्गाको वास। राति भने खाना खाने बित्तिकै सबैजना सुति हाल्यौं। तीनवटा खाटमा पाँच जना। केटीहरुपनि त्यसरीनै सुते।


क्रमश...
- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

4 comments :

  1. साह्रै रमाईलो लागीरहेको छ यो यात्रा-संस्मरण!

    ReplyDelete
  2. I am equally enjoying the post

    ReplyDelete
  3. lagchha ma nai hide jasto...memorable raichha yatra!!

    ReplyDelete