काम का कुरा

केयु क्याफे मा भर्खर छिरेको मात्र थिँए ! फोन आयो, सरिश्मा को फोन रहेछ । उनी भन्दैथिइन्, भोलि एउटा कार्यक्रम छ आउनुहोला है, यो युवा अभियान हो । मैले सोधेँ कस्तो कार्यक्रम हो, उनले भनिन टायर जुलुस ! ओहो, टायर जुलुस पो, लौ ठिकै छ मौका मिले आफू पनि टायर गुडाउन आउने कुरामा सरिश्मालाई आश्वस्त बनाएँ ।

परिक्षा झन् झन् नजिकिँदैछ, लाइब्रेरी मा बस्दा बस्दा अल्छि लागेर चिया खाने बाहानामा केही सिँढि ओर्लदैँ केयु क्याफे मा छिरेको थिँए । लाइब्रेरी नि भन्नुमात्र हल्लै बढि हुन्छ, रवि ले भन्यो । मैले भने पढ्ने नै भए, रिफ्रेन्स सेक्सन भित्र जानुपर्छ, म त त्यहीँ छु । खुब पढ्नेभइस्, रवि ले जवाफ लाइहाल्यो । केयु क्याफे बाट पश्चिम तिर आँखा डुलाएँ, हाम्रो होस्टल प्रस्ट ले देखिन्छ, त्यसभन्दा पछाडि एसओएस भिलेज र आइटिपार्क पनि देखिन्छ तर त्यो पश्चिम पट्टि को डाँडो बाट घाम डुब्न लागेको भएर, छाँया परेको छ । ए ! लौ आज को दिन पनि बितेछ, साथिहरु भन्न थाले, खै पढेर खाइएला जस्तो छैन । अर्को ले थप्यो, उसोभए खाएरै पढौँन त, उसले दुई प्लेट मम अडर दिहाल्यो । सबै हाँस्न थाले, कत्ति न ठूलो काम गरिस् भनेर !

साँच्चै हामी कुरै मात्र गर्ने भयौँ काम पटक्कै नगर्ने भयौँ । फ्रि मा पाएको मम काँटा ले घोचेर अचार मा डुबाउँदै, मुखमा हाल्दै सरोज बोल्यो । अर्को डल्लो क्वाप्प खाँदै, मैले नि हो मा हो मिलाएँ । मैले अघि भर्खर पाएको फोन को बारेमा बताएँ, केटा हो भोलि त टायर जुलुस छ रे, युवा को दवाव अभियान ! टायरले गुड्न पाउनुपर्छ भन्दै आन्दोलन गर्दैछन् रे काठमाडौँ मा । केटाहरु ले उल्टै मलाई उल्ल्याए, खुब गुडाउने भइस टायर भनेर । फेरि कुरा उठ्यो, कुरा हैन काम गर्नुपर्योँ । बेक्कार मा त्यो भोलि को समय किन टायर जुलुस मा गएर बिताउने बरु त्यसको सट्टा बन्द को बेला सबै नै सडक मा निस्केर बन्द को बिरोध गरे हुँदैन र ? सबैले बन्द को अवज्ञा गर्दै गए भने, कुन चाँहि ले बन्द गर्ने हिम्मत गर्छन् । यहाँ परिस्थिति अनुसार बन्द चाहिएको हुन्छ । अघि देखि चुप रहेको रवि बोल्यो, भोलि इन्टरनल परीक्षा छ भने, अनि हामीलाई गाह्रो लागेको छ भने बन्द चाहिन्छ हामीलाई नै ! फेरि हाँसो को फोहोरा छुट्यो । त्यो त हो तर यस्तो बानी लागेको भएर मात्र हो, सँधै बन्द हुन्छ अझ जहिले परीक्षा आउँछ त्यही बेला बन्द को हल्ला बन्द हुन्छ, अनि के गर्ने त, सँधै दुविधा हुन्छ, सँधै प्रेसर हुन्छ, सरोज बोल्यो । मैले नि सरोज कै कुरा मा हो मा हो मिलाएँ, त्यतिखेर सम्म प्लेट को मम सफाचट भइसकेको थियो ।

भोलिपल्ट बिहानै उठेर, २८ किलो हुँदै काठमाडौँ को एक्सप्रेस गाडि समातेर काठमाडौँ लागे ‘कुरा हैन काम गरौँ’ भन्ने एउटा कार्यक्रम मा सहभागि हुन । सरिश्मा लाई फोन गरेर, टायर गुडाउन आउन नपाउने भएँ पनि भन्दिँए । काठमाडौँ सम्म पुग्दा कति ठाउँमा जाम मा परियो, त्यसको हिसाब म सँग त थिएन तर काठमाडौँ पुग्दा धुलो ले मेरो कालो रङ को ज्याकेट सेतो भइसकेको थियो । गाडि बाट ओर्लेर टक्टक्याएँ, कैले बन्ने होला धुलो नउड्ने बाटो भन्दै ! टाइम को एकदम ख्याल राख्ने मान्छे परियो, अत: कार्यक्रम सुरु हुनुभन्दा अघि नै म पुगिसकेको थिँए तर उनीहरु त भर्खरै पो स्टेज मिलाउँदै थिए, एउटा ले भन्यो, ओहो आइसक्नु पो भएको रहेछ हामीले त यतिखेर भन्दा मान्छेहरु एक डेढ घन्टा ढिलोँ आउँछन् भनेर पो यो टाइम भनेको त, कार्यक्रम सुरुहुन अझै एक डेढ घन्टा जति लाग्छ है । ‘कुरा हैन काम गरौँ’ भन्ने अभियानकर्ता को बोलि सुनेर मनमनै हाँसे अनि छेउछाउ को वातावरण नियाल्न थालेँ, अनि अलि अलि मोबाइल फोटोग्राफी पनि गर्दैरहेँ, क्लिक क्लिक ।

नभन्दै दुई घन्टा पछि कार्यक्रम सुरु भयो । अतिथि को आसन ग्रहण पछि, उद्घोषक भन्न थाले, दिनहुँ भइरहने बन्द अनि हड्ताल, बढ्दै गएको महंगी, गुम्दै गएको अवसर देखेर युवाहरु मा ब्रेनड्रेन को समस्या देखिएको छ, युवाहरु विदेश पलायन हुँदैछन्, यो बन्द को संस्कृति रोकिनुपर्छ । मेरो आँखा स्टेज मा नाच्न थाल्यो, स्टेज मा केही कैला कपाल र गोरा छाला भएका विदेशी अनुहारहरु पनि थिए, मलाई लख काट्न कुनै गाह्रो परेन, यो कार्यक्रम आइएनजिओ मार्फत नै गरिएको रहेछ । मेरा छेवैका एक भलाद्मी ले अर्कासँग कानेखुशि गर्दै भन्दैथिए, कति डलर आकोथियो, पचाए सबै कार्यक्रम को निहुँमा !

अर्का वक्ता आए बोल्न का लागि, उनले ‘कुरा हैन काम गरौँ’ अभियान को बारेमा प्रस्ट पारे । बोल्नलाई जो पनि बोलिदिन्छन् तर काम कोही गर्दैनन्, सायद उनको आक्रोश नेताहरु प्रति लक्षित थियो । ताली को गडगडाहट भयो । उनले बन्द रोक्न सकिने, एक सय एक उपायहरु आफूसँग भएको पनि धाक दिए, राजनितिक अस्थिरता हुँदाहुँदै पनि, विभिन्न देशहरुले गरेको प्रगति सुनाए, हामीलाई त एकछिन सपनामै डुलाइदिए । यसो घडि हेरेँ, उनले बोल्न लागेको १ घन्टा जति हुन लागेछ । कोही हाइ हाइ गर्दैथिए, कोही मसिनो स्वर मा, भयो भयो, हामीलाई सबै थाहा छ भन्दै थिए । वक्ता भन्दैथिए, ‘कुरा हैन काम गरौँ’ आज यता त्यता जता हेरे पनि काम भन्दा कुरा बढि गर्ने देखिन्छन्, बोलेर केही काम पारलाग्दैन । त्यो वक्ता को लम्बेतान गफ सुनेर, एकजना सहभागि को पारो तातेछ, उनले वक्तालाई बिच मै रोक्दै सोधे । हैन हो, महोदय, यो संसारमा हामी नेपालीलाई थाहा नभएको कुरा केही होला । के राम्रो के नराम्रो, के गर्नुपर्ने, के भइरहेको छ, सबै नेपालीलाई थाहा छ । हामी तपाई को गफ सुन्न आएको हैन, तपाई ले लगभग डेढ घन्टा बोलिसक्नु भयो, अनि तपाईले बोलेका कुराहरु कुन नेपालीलाई थाहा छैन होला । यत्रो त भनिसक्नुभो, अब यत्ति भन्दिनुहोस्, यो ‘कुरा गर्ने काम’ बाहेक तपाई ले आफ्नो तर्फबाट देश र समाज का लागि के कति काम गर्नुभएको छ ? समाज को लागि आफ्नो तर्फबाट केही काम गर्नुभएको छ भने भन्नुहोस्, हामी सुन्न तयार छौँ । वक्ता एकछिन वाल्ल परे, अनि फेरि बोल्न थाले, म चाँहि कार्यक्रम छोडेर बाहिर आएँ, ती वक्ता अझै बोल्दै थिए ‘कुरा हैन काम गरौँ’।

बेलुका रेडियो मा खबर सुनेँ, युवाहरु ले टायर जुलुस गरेछन्, बन्द सँस्कृति का विरुद्ध । रिपोर्ट मा प्रहरी बोल्दैथिए, निकै गज्जब लाग्यो हामीलाई पनि अरुबेला आन्दोलन भनेपछि, टायर खोसाखोस गर्नुपर्थ्यो, बलेका टायर निभाउँदै हिँड्नुपर्थ्यो, नाक थुन्दै तर आज भने निकै अचम्म भयो । नेपथ्य मा युवाहरु को आवाज गुन्जिरहेको थियो, टायरलाई सडक मा गुड्नदेउ । बन्द गर्न पाइँदैन, बन्द संस्कृति हामीलाई चाँहिदैन । बन्द विरुद्ध को टायर जुलुसलाई, काम मान्ने कि नमान्ने म आफैँ अलमल मा परेँ ।


6 comments :

  1. भाइको रिपोर्टिङ्ग राम्रो लाग्यो। विषय पनि राम्रो लाग्यो।

    ReplyDelete
  2. गज्जब रमाइलो लाग्यो,यो लेख पढेर| धन्यवाद छ है आकारजीलाई!

    ReplyDelete
  3. आकार जी, बन्द सँस्कृतिको हामीले विरोध गर्नैपर्छ । नेपालीहरु आशक्त भइसकेका छन् । तर अझैपनि कुनै पनि पार्टीको म्याडेण्ड बनेको छैन ‘बन्द विरोध’ बारे । उतिखेर माओवादी सरकारमा भएको बेला बन्द गर्ने प्रवृत्ति त्याग्नुपर्ने भनेर फुइँ लाउँथ्यो अहिले सरकारबाट कुलेलम ठोकेपछि सबैभन्दा बढी बन्द गर्ने पार्टीमा पर्ने गर्छ । मलाई लाग्छ जबसम्म पार्टीहरुका बन्द मनस्थितिहरुमा परिवर्तन आउँदैन तब सम्म बन्द सँस्कृतिले पश्रय पाइरहन्छ ।

    खैर जे होस्, बन्दको विरोध गर्ने कार्यक्रम निकै राम्रो लाग्यो । ति युवाहरु जो सडकमा टायर गुडाएर बन्द सँस्कृतिको विरोध गरे, सडकमा गाडी कुद्न दिनुपर्छ भन्ने नारा घन्काए यो अवश्य पनि सकारात्मक कार्य तर यो कत्तिको प्रभावकारी हुन्छ त्यो हेर्नै बाँकी छ है । सचेतनात्मक टाँसोको लागि तपाईलाई हार्दिक धन्यवाद ।

    ReplyDelete