नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ।

सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ।

घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई प्रदान गरियो। उत्तरमा हामीले नक्सा सहितको ५ दिनको घान्द्रुक यात्राको प्रस्ताव पायौं। यहाँनेर हामीले पाएको प्रस्तावलाई निर्णय भनेपनि हुन्थ्यो किनकी हामीलाई गौरब र प्रेमले छानेको लगभग जुनसुकै ठाउँपनि घुम्न जानको लागि मञ्जुर थियो। यसरी हामी ५ दिनको घान्द्रुक पदयात्रामा जाने निर्णय भएको थियो।



१० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो भएको थियो। सबै कुरा निधो गरेझैं भयो। ‘नेपाली टाइम’को परम्परागत प्रवृति भत्किदै गएकोमा खुसी लाग्यो। नेपालीहरुले समयको महत्तव बुझ्न थालेको थाहा पाउँदा कुन नेपाली हुनुमानै गर्व गर्ने नेपालीलाई सुखदायक हुँदैन र?

काठमाडौंदेखि मुङलिङ, मुङलिङदेखि पोखरा। विच-विचमा खाना र खाजा। त्रिशुली, पहिरो गएको ढुङ्गे डाँडाहरु, केवुलकार, झोलुङ्गे पुलहरु। यत्तिमात्र वर्णन गर्छु काठमाडौँदेखि पोखरा छिर्नु अघिको यात्राको बारेमा, है। विषेशणहरु भुरुन्दी खोला, पुनहिल, घान्द्रुक, हिमालहरुका लागि बचाउन मन लाग्यो क्या।

हामी पोखरा उप-महानगरपालिका छिर्दा सेती खोला पोखरा घमेर बाहिर निक्लिरहेको थियो। ‘सेती खोलालाई त्यसको पानीले गर्दा सेती भनिएको हो’ पाँच कक्षामा पढ्दा शिक्षिकाले सेतीको वर्णनगर्दा भनेको कुरा याद आयो। पानी साच्चिकै सेतो थियो। कर्णालीले कोइला बगाएको भन्थे, सेतीले सायद चुनदुङ्गा बगाएको होला भनेर सोच्दा देशले सदुपयोग गर्न नसकेको प्राकृतिक सम्पदाका बारेमा चिन्ता लाग्यो। घुम्न आएको मान्छे, आफ्नै झोला भारी हुने डर थियो त्यहि भएर चिन्तालाई बोकिन र तत्कालको लागि चिन्ता बिसाइदिएँ।

गाडि बेगसँग अगाडि बढिनै रहेको थियो। पोखरा नजिकै रहेको आभास बाटोको दुईपट्टी नै देखिएका फाटफुट घरहरुले गराइरहेको थियो। यसो उठेर गाडिको अगाडिको सिसाबाट बाहिर हेर्दा साना-ठुला घरहरुले उभ्भिएर हाम्रै गाडितिर आखाँ लगाइरहेकोझैँ लाग्यो। पहिलो पटक पोखरा आउन पाउँदा आफू निकै खुसी भएको मलाई आफैंलाई थाहा भइरहेको थियो।

पोखराको बस-बिसौनीबाट लेकसाइड पट्टीको सस्तो लज- लुगा फेर्ने कार्यक्रम- खाजा खाने आतुरता। यस्तै त हो नि लामो यात्रापछि।


फेवातालको वर्णन गर्न मन छैन मलाई। फेवाताल नराम्रो लागेकाले हैन। विशेषण बचाउन पनि हैन। कत्ति गर्नु वर्णन फेवातालको। पुग्ने गरि वर्णन भइसकेको छ पोखराको, पातले छाँगोको, सारङ्गकोटको, बेगनास तालको, महेन्द्र गुफाको, शान्ति स्तुपाको, तालबाराहीको, चमेरे गुफाको, विन्दवासिनीको अफ भयो। पोखरा वर्णन नगर्नुको अर्को कारण पनि छ- म पोखरा घुमेको पनि त छैन। फेवातालको किनारमा उभ्भिएर जे देखें त्यत्ति मात्र त हो मैले पोखरा देखेको। जे भएपनि, जतिभएपनि टुङ्ग्याउँछु अब- सुन्दर पोखरा ।
क्रमश...




- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

3 comments :