Download Bulbul : Episode-13



Listen to Bulbul Episode-13 [November 25,2009].

आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  ।

शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो ।

मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन ।

मन त्यसै व्यग्र भइदिन्छ, मान्छे त्यसै चिन्तित भइदिन्छ अनि समय त्यसै अप्ठ्यारो भइदिन्छ । एक थोपा पानीको मूल्य रेगिस्तानमा पुगेपछि थाहा हुन्छ । वस्तुको मूल्य अभावमा मात्र खुल्छ । सागरमा पुग्दा पानीको के दुख ? अनि के फिक्रि ? त्यसैकारण बन्यो होला नेपाली उखान "नपाउनेलार्इ कस्तोमा कस्तो, पाएपछि सस्तो" । त्यसैकारण उब्ज्यो अर्को उखान बुझ्नेलार्इ श्रीखण्ड, नबुझ्नेलार्इ खूर्पा बींड ।

पानीलार्इ "थोपा" एकाइमा नापे जस्तै माया र प्रेमलार्इ कुनै एकाइमा नापिंदो हो भने किटेर भन्न सकिन्छ प्रेमको सबभन्दा सानो एकाइको मूल्य तब खुल्छ जब प्रेमबाट मान्छे वञ्चित रहन्छ । कोही बोलेको मन पर्दैन, कुनै कुरामा ध्यान जाँदैन, भोक लागेको हो कि तिर्खा अहँ स्पष्ट हुँदैन, जति खेर पनि अव्यक्त केही खोजी गरिरहन्छ मनले । त्यसै त्यसै रित्तोपन एम्प्टीनेसले सताउँछ ।

प्रेम केलार्इ भन्ने ? बाटो घाटोमा देखेका आफूभन्दा विपरीत लिंगीप्रतिको आकर्षणलार्इ प्रेम भन्ने कि एक टुक्रा कागजमा ४ थोपा मसी खर्च गरेर लेखेको शब्दलार्इ प्रेम भन्ने ? स्कूल, कलेज वा अफिसमा आफूसंगै पढ्ने वा काम गर्ने आफूलार्इ सबैभन्दा राम्रो लागेको ठिटो अथवा ठिटीसंग सामीप्यता खोज्न उठेको चाहनालार्इ प्रेम भन्ने कि बाबुआमाले शिशु अवस्थादेखि आफूलार्इ हुर्काउन गरेको परिश्रमलार्इ प्रेम भन्ने ? संगै बसेर काँधमा काँध, हातमाथि हात राखेर गरिएका वाचा कसमलार्इ प्रेम भन्ने कि एक अर्काका विरह व्यथालार्इ बर्बरी आँखाबाट आँसु झार्दै व्यक्त गरिएका अभिव्यक्तिलार्इ प्रेम भन्ने ?

प्रेमको अर्थ अप्ठ्यारो छ, परिभाषा अस्पष्ट छ अनि प्रेम प्राप्तिको तरिका पृथक छ । कसैलार्इ देखेर देख्ने बित्तकिै कल्पेको भावना पनि प्रेम, Love at First Sight, आफ्ना राम्रा कुराको प्रशंसा सुनिरहँदा उठेको उभार पनि प्रेम, आफूलार्इ दिक्क लागेको दिन आफ्नो प्रकृति अनुरुप दिक्कतालार्इ हटाउन कसैले चालेको कदम पनि प्रेम । जब इच्छाले सन्तुष्टि प्राप्त गर्छ, त्यहीं जन्मन्छ प्रेम,.....त्यहीं भइदिन्छ । जब इच्छाहरु दमित गर्नुपर्ने हुन्छ, जब असन्तुष्टिहरु व्यक्त गर्ने समयको अभाव हुन्छ, जब खल्लोपनामा झन् रसशुन्य भएर केही पेश हुन्छ, त्यहीं जन्मन्छ वैराग, त्यहीं शुरु हुन्छ व्यग्रता अनि त्यहीं हुन्छ असन्तुष्टि ।

गुलाब पत्र पत्र हुने थियो
प्रत्येक कोपिला टुक्रा टुक्रा हुने थिए
तिमीले आफ्नो तीक्ष्ण दृष्टि दिइनौ र पो
नत्र अमृत पनि मदिरा हुने थियो

गुलाब पत्र पत्र के होला र ?
प्रत्येक कोपिला छरप्रष्ट कसरी होलान्
जसले संसारका लाखौं सौन्दर्य भोगिसकेको छ
तिमी एकमा आएर नियत कसरी खराब होला खै !

समय अप्ठ्‍यारो भइदिन्छ, कठीन समय गुजि्रदिन्छ मान्छेको जीवनमा । समय, वक्त अर्थात्‍ टाइम्‍ । सारा समय, सारा वक्त भरिमा कठीनता त्यो समयमा रह्यो अर्थात्‍ अन्तमुखीले च्यालेञ्ज गर्न नसकेको कठीन समय दुर्इवटा रह्यो । एउटा समय त्यो जहाँ उ अर्थात्‍ आत्मीय आउनु भन्दा अघिको अवधि छ र अर्को समय त्यो जहाँ उ अर्थात्‍ आत्मीय गएपछिको अवधि छ । त्यही दुर्इवटा अवधिमा जीवन गुज्रन्छ । त्यसैमा कठीनता आएपछि, खै त जीवनमा सन्तोष र सुख ? खै त जीवन बाँच्नुको सरसता ? खै जीवनको मूल्य ? खै जीवनको सारभूत तत्व ?

साइकोलोजीले मान्छेलार्इ दुर्इ प्रकारमा बाँडेको छ - बहिरमुखी र अन्तरमुखी । यसलार्इ प्रकार भन्दा पनि गुणको मात्राको रुपमा लिउँ होला । अन्तमुखी अधिकाँश समय दुखी बनाउँछ आफूलार्इ, मानसिक संघर्ष दिमागभरि बोकेर हिंड्‍छ, अनि त्यसैमा डुबिरहन्छ । कहिलेकाँही जब यो मानसिक संघर्ष चर्केर आउँछ तब योजना बनाउँछ आत्महत्याको पनि । प्रयत्न समेत गर्छ तर सफल हुँदैन । अन्तमुखीले आत्महत्या कहिल्यै गर्न सक्दैन किनकि उ प्रेम गर्छ आफैंसंग, आत्मासंग, आफ्‍नो निजत्वसंग ।

कहिलेकाँही यही अन्तरमुखी चाहन्छ - उसको आत्मरति, अझ भन्दा उसको आत्म-प्रेम उ कसैमा प्रतिस्थापन गर्न चाहन्छ । उसलार्इ अब एउटा विश्वासिलो हमसफर चाहिन्छ जोसंग उ आत्मीयता गाँस्न सकोस्‍, जसलार्इ उ आफ्‍ना सारा गोप्यताहरु खोल्न सकोस्‍ - निश्चिन्त भएर । उ संगको सामीप्यताले सधैं उसलार्इ सुरक्षाको प्रत्याभूति देओस्‍ - तब मात्र आफ्‍नो इच्छाको पूर्णता प्राप्त गर्छ - अन्तमुखी मान्छे ।

अन्तरमुखीका लागि उसको आत्मीय व्यक्तिसँग नजिक रहन मात्रै पाउनु पनि उसको सौभाग्य हो । त्यो व्यक्ति जसमा सारा भावना प्रतिस्थापन गर्न सकिन्छ उ प्रतिको मोह यति बढ्‍छ कि लाग्छ - उ बिना संसार छैन । जसले उसलार्इ पायो त्यही भाग्यमानी ठहर्छ । यस्तो लाग्छ त्यो मान्छे । जब कुनै अन्तमुखीले आफ्‍नो इच्छा र आकाँक्षा प्रतिस्थापन कसैमा गरेर ढुक्क हुन्छ र निश्चिन्त । त्यसपछि उसको आत्मा उ संग रहन्छ, सोच्छ अब म मणी बिनाको सर्प हुँ । जोसंग मेरो मणी छ उसले कहिले धोखा दिने छैन । तर जब त्यो विश्वास लिने अर्थात्‍ मणी लिनेले धोका दिन्छ, अर्थात्‍ जब तबियतको दिन आउँछ, तब म मृत्युको दिन नजिकै हुन्छ – अन्तरमुखी का लागि ।

- अच्युत घिमिरे  'बुलबुल' को रात्री गन्थन बाट !

Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-13 [November 25,2009]

0 प्रतिक्रिया :

Post a Comment