आक्रमण र विरोध

मिडिया जगत माथि माओवादिले युद्धकाल देखि नै धावा बोल्दै आएका छन् । माओवादी मात्र नभनौँ सम्पुर्ण पार्टि, दल र संघ संगठनहरुले समय समय मा प्रेस विरुद्ध धावा बोल्दै आइरहेका छन् । प्रेस विरुद्ध उनीहरु त्यतिखेर खनिन्छन्, जब प्रेस मा कसैको बारे नकरात्मक टिका टिप्पणी आउने गर्छन् । हैन अचम्म लाग्छ, कसैलाई पनि आफ्नो बारेमा नकारत्मक कुरा सुन्ने हिम्मत किन नभएको होला ? प्रायस पत्रकारहरुले पत्रकारिताको धर्म निर्वाह गरेर नै रिपोर्टिङ गरिरहेका हुन्छन्, तर पनि किन उनीहरु सँधै निशाना बन्न पुग्छन् ।

हरेक संगठनहरु आफू सँधै प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध छु भन्ने गर्छन् । चाहे माओवादी होस्, या चाहे तराईका कुनै शसस्त्र संगठन सबैले प्रेस स्वतन्त्र हुनुपर्छ भन्ने गरेकाछन् । नेपाली कांग्रेस त्यही भन्छ, एमाले पनि त्यही भन्छ, प्रेस स्वतन्त्रता को ग्यारेन्टि हुनुपर्छ । प्रेसमाथि अनावश्यक धावा बोलिनु हुँदैन । भन्न त ज्ञानेन्द्र ले पनि आफ्नो शासनकाल मा प्रेस स्वतन्त्रताको त ग्यारेन्टि गरेकै थिएन नि, उनका मन्त्रिहरु टंक ढकाल र श्रीष शमशेर ले पनि प्रेस स्वतन्त्रता कै वकालत गरेका थिए, गाइडलाइन पनि दिएका थिए । प्रत्येक प्रेस र स्टेशन मा सुरक्षाकर्मी तैनाथ गरिदिएका थिए, सुरक्षा का लागि उनीहरुले ।

प्रेस मा भएको आक्रमण को सर्वत्र विरोध भैरहँदा, बिरगंजमा एमाले कै संगठन युथफोर्सले पत्रिका मा आफ्नो नाम मुछेको भनेर पत्रिका जलाएर आगो तापीरहेको छ । अनि यहाँ उपत्यकामा, एमाले का नेताहरु हिमाल मिडिया माथि भएको आक्रमण को व्यापक विरोध गरिरहेकाछन्, आक्रमण को विरोधमा आफ्नो एक्यबद्धता जनाइरहेकाछन् । यस्ता कुराले सोचमग्न बनाउँछ, हैन हरेक कुरामा किन राजनिति गरिन्छ ? प्रेस को धज्जी उडाउँदै किन बारम्बार प्रेस स्वतन्त्रताकै दुहाइ दिइन्छ ? आखिर साँच्चैको प्रेस स्वतन्त्रता को आभाष चाँहि कहिले गर्न पाइन्छ ?


माओवादीले पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टि दर्जनौँ पटक गरिसक्यो । उसले कति पटक माफि मागिसक्यो होला गनेर साध्य छैन । हिँड्दैछ, पाइला मेट्दै झैँ भएको छ । अघिल्लो दिन गरेको प्रतिबद्धता भोलिपल्ट नै निकै नौलो हुने गर्छ यहाँ । भनिन्छ नि, “नौ दिन मा नौलो, बिस दिनमा बिर्सन्छ” सायद यही लागु हुने होला सबैमा । विगतमा कतिपटक यस्ता घटनाहरु घटिसकेका छन्, यसको कुनै लेखा जोखा नै छैन । युद्धका बेलामा पनि कति पत्रकारहरु मारिए, राज्य पक्ष र विद्रोही पक्ष दुवैतिर बाट, अनि कति पत्रिकाहरु बन्द भए, थला परे कहिले उठ्न नसक्ने गरि ।

पत्रकारहरु सँधै निशाना हुने गरेका छन्, रिपोर्टिङ गरेकै आधार मा, आँकडा त छैन म सँग कति मारिए, माओवादी पक्ष बाट । यसको सवाल जवाफ गर्ने हो भने माओवादीले, मजदुर र मालिक को कुरा बाट सुरु गरेर त्यो कुरा पत्रकार कृष्ण सेन ‘इच्छुक’ सम्म पुर्‍याउँछन् । अनि अन्तिम मा भन्छन्, आइन्दा यसो गरिने छैन, माफी माग्छन् गोहिका आशुँ झार्छन् बस् खत्तम । सबै कुरो सकिन्छ, भोलिपल्ट त्यो प्रतिबद्धता बिर्सन्छन् ।

युद्धकाल मा त पत्रकार ले ज्यान गुमाए नै त्यसपछि पनि माओवादीले प्रेसलाई सँधै आफ्नो निशाना बनाइरहेको छ । जसरी ज्ञानेन्द्र ले आफ्नो अनुकुल मिडियालाई बनाउन खोजेका थिए, ठीक उसै शैली मा माओवादी त्यो बाटो मा लागिरहेको छ । उसको विरुद्ध मा लेख्न र बोल्न निकै होश पुर्‍याउने कुरा पनि नेताहरु बेला बेला मा बोलिरन्छन् ।

“उहीलेका कुरा खुइले” भन्ने हो भने पनि, पोहोर विरेन्द्र साह मारिए, अस्ति भर्खर पनि पश्चिमका पत्रकार को हत्या भएको छ । त्यस्तै मजदुर युनिएन को नाममा कान्तिपुर, अन्नपुर्ण पोष्ट, समाचारपत्र आदि मा आक्रमण भैसकेको छ । एचबिसी एफ एम त बन्द नै भयो, कहिले खुल्छ कि खुल्दैन ठेगान छैन । केही दिन अघि मात्रै पनि रामारोशन एफएम माथि आक्रमण भएको थियो, अनि अस्तिको दिन त्यो हुरी हिमाल मा आएर पनि बज्रिएको छ ।

लगातार रुपमा सुनियोजित किसिम बाट पटक पटक मिडिया मा आक्रमण भैरहेकाछन् अनि साथ-साथै, प्रेस स्वतन्त्रताको ग्यारेन्टि पनि गरिरहेकाछन् । हैन, उनीहरुको डिक्सनरीमा प्रेस स्वतन्त्रताको अर्थ फरक छ कि क्या हो ???

हुन त मिडियामा माओवादी मात्र बाट मात्र नभै विभिन्न संगठनहरुबाट पनि आक्रमण भैरहेका छन् । लिम्बुवान, खुम्बुवान क्षेत्रमा शसस्त्र गतिविधि गरिरहेकाहरुले पनि प्रेसलाई नै गोदिरहेकाछन्, कहिले पत्रिका जलाउँछन् त कहिले कार्यालय, अनि कहिले पत्रकार लाई नै लाइदिन्छन् मुक्का । त्यस्तै तराइका दुई दर्जन भन्दा बढि समूहहरुले पनि, प्रेसलाई नै दु:ख दिइरहेको समाचार बनेर हरेक दिन दैनिक पत्रिका मा प्रकाशित हुने गरेकाछन् । विरगंज, विराटनगर, जनकपुर, बुटबल, नेपालगंज जस्ता मोसफलका प्रेसहरु पनि धेरै पिडित छन्, यिनीहरुको प्रेस स्वतन्त्रता बाट । कति ले कुटाइ खाएका छन्, कति अपहरण मा परेका छन्, भनेर साध्य छैन । साँच्चै भन्दा साह्रै दुखिया चाँहि पत्रकारहरु नै हुन्छन् कि जस्तो लागेको छ । कहिले सरकार पक्षबाट त कहिले अन्य पक्ष बाट सँधै प्रेस पिडित हुने गरेका छन् ।

ज्ञानेन्द्र को पाला मा पनि, प्रेस स्वतन्त्रताको दुहाइ धेरै दिएका थिए, सत्तामा बस्नेहरुले । तर उनीहरुले नै लुटे, रेडियो सगरमाथा र कान्तिपुर एफएमलाई । एफएम मा समाचार नै बन्द गरिएको थियो, त्यस समयमा नेपाल एफएम ले देखाएको साहस को प्रसंशा जति गरेपनि कम नै हुन्छ । प्रेसलाई मर्यादित र व्यवस्थित बनाउन निजि सञ्चारमाध्यमले खेलेको भुमिका सह्रानिय छ । सायद प्रेस स्वतन्त्रताको अर्थको बुझाइ फरक परेर होला, सँधै प्रेस पिडित बन्ने गरेको । यहाँ माथि लेखिएका कुराहरु त प्रतिनिधी घटनाहरु, बाहिर नआएका घटनाहरु कति छन् कति । अझ कान्तिपुर, हिमाल जस्ता मिडियामा यस्ता घटनाहरु घटेपछि झन् सारा संसार कै चासो बढेको छ ।

प्रेस मा भएको आक्रमण को सर्वत्र विरोध भैरहँदा, बिरगंजमा एमाले कै संगठन युथफोर्सले पत्रिका मा आफ्नो नाम मुछेको भनेर पत्रिका जलाएर आगो तापीरहेको छ । अनि यहाँ उपत्यकामा, एमाले का नेताहरु हिमाल मिडिया माथि भएको आक्रमण को व्यापक विरोध गरिरहेकाछन्, आक्रमण को विरोधमा आफ्नो एक्यबद्धता जनाइरहेकाछन् । यस्ता कुराले सोचमग्न बनाउँछ, हैन हरेक कुरामा किन राजनिति गरिन्छ ? प्रेस को धज्जी उडाउँदै किन बारम्बार प्रेस स्वतन्त्रताकै दुहाइ दिइन्छ ? आखिर साँच्चैको प्रेस स्वतन्त्रता को आभाष चाँहि कहिले गर्न पाइन्छ ?

हिमाल माथि या भनौँ प्रेस माथि भएको आक्रमण को विरोधमा सबै एक जुट भैरहेकाछन्, सारा संसारबाट एक्यबद्धता जनाइरहेकाछन्, आक्रमण का बिरुद्ध । तर पत्रकारहरु किन, “जो अगुवा, उही बाटो…” जस्तो गरिरहेकाछन् । माओवादिको आक्रमण को विरोधमा निकालिएको जुलुस मा फेरी प्रहरीले लठ्ठि बर्साएको छ । माइतिघर मन्डला, निशेधित क्षेत्रहो भन्ने जान्दा जान्दै, सम्झाउँदा सम्झाउँदै पनि पत्रकारहरुले किन मिचाहा व्यवहार देखाएका हुन् ? विचरा प्रहरीले अनि लठ्ठि बर्साउन बाहेक अरु के नै गर्न सक्थ्यो र ???

हैन भने, पत्रकार महोदयहरु किन निशेधित क्षेत्रमा आफ्नो तागत देखाउन थाल्नुभयो । काठमाडौँ उपत्यकामा भएको केही राम्रो देखिने त्यहि एउटा माइतिघर मण्डला छ त्यो पनि बारम्बार को जुलुस र सभा ले गर्दा साह्रै विरक्त लाग्दो भैसकेको छ ।

कुनै पनि पक्षबाट प्रेसमा आक्रमण हुनु निन्दनिय छ तर किन निहुँ खोजि खोजि पत्रकारहरु नियम उल्लघंन गर्न तम्सिरहेका छन् । सबैलाई सुसुचित गर्ने अनि देश को चौथो अंग कहलिएको संगठन आफैँ नियम को पालना गर्दैन, मिचाहा प्रवृति देखाउँछ भने के भन्ने ??? त्यही देश भरि आन्दोलन चर्काउने निहुँ ले, हिजो प्रशासन सँग जोरी खोजेको हो, पत्रकार महोदय ??? अन्यथा, आज सम्पादकिय खालि राख्न सक्ने पत्रिका अनि शिर्षक नै नभनि समाचार भन्न सक्ने रेडियो र टिभि लाई यसो गर्न हिजो किन बुद्धि आएन ? यसबाट केही सुँइको मिल्दै छ, कतै प्रेस नै राज्य असफल बनाउन त लागिरहेको छैन ? सुने र जाने सम्म, प्रेस ले नै देश को राजिनितक उतारचढाव को मार्गदर्शन गर्ने गर्छ, प्रेसले जे लेख्छ त्यही हुन्छ । प्रेस को पावर कति छ भनेर, मैले भन्दा “ईन्द्रका अगाडि स्वर्ग को बयान” गरेजस्तो होला । तर आफूलाई एउटा समस्या पर्‍यो भन्दैमा अरु कुरा पनि अस्तव्यस्त त गर्नुभएन नि, पत्रकार महोदय ।

सभ्य राष्ट्र र सभ्य समाज निर्माणको लागि, पत्रकार महोदयहरु कानुन को परिपालना गरिदिनुस् न । अरुले जंगलि प्रवृति देखायो, कानुन मानेन भन्दैमा तपाईहरु जस्तो जान्ने बुझ्ने ले पनि कानुन नमान्ने हो त ?

अन्त्यमा प्रेसमाथि भएको आक्रमण निन्दनिय छ भन्ने कुरा दोहोर्‍याउँदै दोषिलाई कारवाही गर्न जोडदार माग गर्दछु, साथै पत्रकार महोदयहरुलाई पनि संयमित रुपमा आन्दोलन गर्न हुन आग्रह गर्दछु ।

9 comments :

  1. any amount of condemnation on these type of attacks are insufficient.

    ReplyDelete
  2. कान्तिपुरमा धर्ना: प्रकाशन काम ठप्प पार्ने चेतावनी
    विराटनगर, पुस ८ - सत्तारूढ दल नेकपा माओवादीआबद्ध मजदुर संगठनहरू अखिल नेपाल संचार छापाखाना र प्रकाशन मजदुर संघले कान्तिपुर क्षेत्रीय कार्यालय विराटगरमा मंगलबार दिनभर धर्ना दिदैँ अन्य कर्मचारी एवम् सञ्चारकर्मीलाई कार्यालय प्रवेश गर्न निषेध गरे । प्रवेशद्वारमा धर्ना दिएर बसेका उनीहरूले कार्यालयभित्र रहेका कर्मचारीहरूलाई बाहिर निस्कन भनेका थिए । कान्तिपुरकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालयमा बस्नुपर्ने बताएपछि उनीहरूलाई धम्कीपूर्ण भाषामा चेतावनी दिइएको थियो र बाहिरबाट प्रवेश गर्न खोज्नेलाई प्रवेशद्वामै रोकिएको थियो । नाराबाजी गर्दै जदुर संघका कार्यकर्ताले कान्तिपुरकर्मीलाई गालीगलौज पनि गरेका थिए । धर्नामा बसेकाहरू कान्तिपुरसम्बद्ध कर्मचारीबाहेक नयाँ अनुहार भएको क्षेत्रीय कार्यालय प्रशासनले जनाएको छ । कान्तिपुर मुख्यालयबाट नियमित आउने गरेको पार्सल प्रवेशद्वारमै खोलेर कान्तिपुर दैनिक र काठमाडौं पोस्ट्का राष्ट्रिय संस्करण नियन्त्रणमा लिइएको थियो । तर पार्सलभित्र रहेका कार्यालयका महत्वपूर्ण पत्रहरू भने ४ बजेपछि मात्र कार्यालयलाई फिर्ता दिइएको थियो । विभिन्न १२ सूत्रिय माग राखी आन्दोलन थालेको बताएका उनीहरूले सोमबार दुई घन्टा कार्यालयमा धर्ना दिएका थिए । सरकारले वृद्धि गरेको तलबभत्ता पाउनुपर्ने, दुई सय ४० दिन सेवा अवधि पुगेका कर्मचारीलाई स्थायी गरिनुपर्नेलगायत माग उनीहरूको छ । मजदुरहरूको आन्दोलन कार्यक्रमअनुसार बुधबार पत्रिका वितरणमा दुई घन्टा ढिलाई गर्ने र १० देखी ५ बजेसम्म धर्ना दिने जनाइएको छ । बिहीबारबाट कार्यालय र प्रकाशनसम्बन्धी काम अनिश्चितकालीन बन्द गर्ने जनाएको छ ।

    ReplyDelete
  3. युथ फोर्सले पत्रिका जलायो

    वीरगंज, पुस ८ - सत्तारूढ दल एमालेसमर्थित कार्यकर्ताहरूले वीरगंजबाट प्रकाशित हुने अंकुश पत्रिका मंगलबार जलाएका छन् ।
    जाली नोट कारोबारमा आफ्नो पार्टीको नाम मुछेको भन्दै युथफोर्स वीरगंजका संयोजक अजय कुशबाहाले नेतृत्व गरेको एक टोलीले पत्रिका जलाएको हो।
    एमालेको भातृ संगठन युथ फोर्सले मंगलबार अपरान्ह सो दैनिकको कार्यालयमा प्रवेश गरेर नयाँ तथा पुराना गरी करीव २५ सय पत्रिका वीरगंजको घण्टाघरमा लगेर जलाएका हुन् ।
    -------------------

    ReplyDelete
  4. आकार जी ले समय सान्दर्भिक प्रस्तुति पस्कनु भएको छ । सही कुरा उठाउनु भएको छ , अनि राम्रो बिचार विमर्श पनि ।
    राजनैतिक दलहरुको द्रैध चरित्र ले जनतालाइ छाहारो हाल्ने काम गरेकोछ - ।
    अब त खोई कस्लाई विश्वाश गर्ने ? 'जुनै जोगी आए पनि कानै चिरिएको' -जस्तो भा'छ नेपाली जनतालाई ।

    अनि तपाईको ब्लोगिंङ्को रफ्तार निकै गतिलो छ ।

    ReplyDelete
  5. अत्यन्त सान्दर्भिक टिपोट! जबसम्म स्वतन्त्र मिडियाको अस्तित्व रहिरहन्छ तबसम्म कसैको जबर्जस्ती वा अधिनायकबाद टिक्न सक्दैन। त्यसैले अधिनायकबादी सोच हुनेहरुको पहिलो निशाना जहिले पनि मिडिया हुन्छ।

    ReplyDelete
  6. कसैले विना दोष, विना बिराम घरमा घुसेर हमला गर्छ भने त्यस्तो अबस्थामा पत्रकारहरुको संयमता धरमराउनु केहिहद सम्म स्वभाविक पनि हो ।

    तर अपसोच त यसमा छ कि कस्ता नियत भएकाहरुलाई सत्तामा ल्याईएछ । वाक स्वतन्त्रतामै ठाडै आक्रमण गर्नेहरु कसरी प्रजातन्त्रवादी हुन सक्छन !

    ReplyDelete
  7. "हिँड्दैछ, पाइला मेट्दै छ" । एकदमै सही चित्रण

    ReplyDelete
  8. आकार जी धेरै राम्रो र खोजमुलक प्रस्तुती ल्याएर सञ्जालमा समाबेस गर्नु भएको मा मुरी धन्याबाद, तपाइको लेखहरु पढ्नमा अर्कै मजा आउँछ।

    ReplyDelete
  9. युथ फोर्सले पत्रिका जलायो

    वीरगंज, पुस ८ - सत्तारूढ दल एमालेसमर्थित कार्यकर्ताहरूले वीरगंजबाट प्रकाशित हुने अंकुश पत्रिका मंगलबार जलाएका छन् ।
    जाली नोट कारोबारमा आफ्नो पार्टीको नाम मुछेको भन्दै युथफोर्स वीरगंजका संयोजक अजय कुशबाहाले नेतृत्व गरेको एक टोलीले पत्रिका जलाएको हो।
    एमालेको भातृ संगठन युथ फोर्सले मंगलबार अपरान्ह सो दैनिकको कार्यालयमा प्रवेश गरेर नयाँ तथा पुराना गरी करीव २५ सय पत्रिका वीरगंजको घण्टाघरमा लगेर जलाएका हुन् ।
    -------------------

    ReplyDelete