उप-राष्ट्रपतिलाई काम

काम कै लागि कति नेपाली साथिहरु बाहिरिनु भएको छ । जसलाई सोधे पनि काम नै छैन, नेपाल मा अनि किन बस्नु भन्छन् । नेपाल - नेपाल भनेर अंगालो हालेर मात्रै हुँदैन क्यारे, हिमाल टोक्न मिल्दैन, पहाड मा ओत लाग्न मिल्दैन, झन्डा ओढ्न मिल्दैन भन्ने चोटिलो जवाफ हुने गरेको छ नेपालीहरुको, काम नपाएको सन्दर्भमा ।

बेलाबेला मा निक्कै चर्चामा आउने हाम्रा उपराष्ट्रपति ले पनि काम पाएनन् रे भन्ने सुन्दा अचम्म लाग्छ । उनी पनि काम को खोजी मा छन् रे । हाम्रो कस्तो अचम्म को देश है, उपराष्ट्रपति ले पनि काम पाएनन् रे, अस्ति विराटनगर हो कि, कता यसै भन्दैथिए । अत: यहाँ ऋतुराज को विचार राख्दैछु, हिमाल खबर पत्रिका बाट ।

हाम्रा उप-राष्ट्रपतिले पद पाएर पनि काम पाएका छैनन्। धेरै जना केही काम नभए पनि निक्कै काम गरे जस्तो देखाउने गर्छन्। दुनियाँलाई झुक्याउने त्यस्तो काम नगरी उनले सीधा भनिदिए उनको काम छैन। काम नपाएर उनी बोर भएका छन् र केही काम गर्न चाहन्छन्। उपराष्ट्रपति हुनुअघि सरकारी सेवामा रहेर निमकको सोझ्ो गरिरहेका उनलाई बिना काम यसै महिनावारी तलब थाप्न असजिलो लाग्यो होला। त्यसैले उनले दुनियाँलाई गुहार्दै आफूलाई काम चाहिएको बताए। यसरी आफैं काम खोज्ने कर्मठ प्रवृत्ति र प्रकृतिका उप-राष्ट्रपति पाउनु त राष्ट्रको भाग्य हो। लाग्छ, उनी कामलाई पूजा मान्छन् र काममा तल्लीन हुन पाउँदा नै परमानन्द अनुभव गर्छन्।

उप हुँदैमा कोही सानो र नगण्य हुँदैन। खाली एउटा उप-बुज्रुक हो खराब। बाँकी त सबै सम्मानयोग्य र उपयोगी नै हुन्छन्, जस्तैः उप-सचिव, उप-सभापति, उप-प्राध्यापक, उप-प्रधानमन्त्री। झ्न् उनी त राष्ट्रपतिका उप हुन्। चानचुने उप होइनन्।



हामीले सबै कुराको सिको गर्ने छिमेकी भारतको उप-राष्ट्रपतिको काम संविधानले नै तोकेको छ। राष्ट्रपति बाहिरफेर जाँदा कार्यवाहक हुने मात्र नभई त्यहाँको उपराष्ट्रपति माथिल्लो सदनको पदेन सभाध्यक्ष हुने गर्छ। त्यस जिम्मेवारीले गर्दा उप-राष्ट्रपतिले जिब्रो तिखारिरहने र फट्कारिरहने राम्रो मौका पाउँछ।

दुर्भाग्य, यहाँ त्यस्तो भइदिएन। हाललाई जम्माजम्मी एउटा मात्रै सदन छ, जसको आफ्नै सभाध्यक्ष छ। हाम्रा उप-राष्ट्रपतिले आफ्नो जिब्राको खसखस मेटाउने ठाउँ नै भएन। वास्तवमा यस कुरालाई अघिबाटै बुझ्ेर अन्तरिम संविधानमा उप-राष्ट्रपतिले गर्ने कामहरू तोकिदिनुपर्थ्यो।

उप-राष्ट्रपतिले गर्न सुहाउने कामहरू धेरै छन्। कला, सङ्गीत, साहित्य, खेलकुदसित सम्बन्धित उद्घाटन, प्रदर्शन, पुरस्कार वितरण, विमोचन, सम्मान यावत् कार्यक्रमहरूको पूरै जिम्मेवारी उप-राष्ट्रपतिलाई दिन सकिन्छ।

हालै मात्र प्रधानमन्त्रीले माउन्टेनबाइक रेस प्रतियोगिताको उद्घाटन गरे। एक हप्ताभित्रै उप-प्रधानमन्त्रीद्वारा भएको लोकसङ्गीत र नाटकको अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन समारोहमा त यो टुँडोबाज पनि गएको थियो। गृहमन्त्रीसमेत रहेका उप-प्रधानमन्त्रीको त्यस्ता कलाकर्महरूसित के सरोकार? उनले त ट्राफिक मिलाउने, अपराधी समूहहरूलाई समात्ने, नाइटक्लबहरूलाई कज्याउने, क्यासिनोहरूलाई तह लगाउने, सडक बन्द गर्नेहरूलाई ठीक पार्ने काममा पो समय लगाउनुपर्ने हो। अनि प्रधानमन्त्री भएर पनि के बाइक-साइकको चक्करमा परिरहने?

हो, यस्ता सबै क्रियाकर्महरू संविधानले नै उप-राष्ट्रपतिको जिम्मा लगाइदिनुपर्ने हो। यसो गर्नाले उप-राष्ट्रपतिजीको दैनिकी व्यस्त रहने थियो र उनलाई पनि ट्राफिक सफा गरेर साइरन बजाउँदै एक ठाउँबाट अर्को ठाउँ जाँदाको सुख मिल्ने थियो।
त्यस बाहेक हाम्रा उप-राष्ट्रपतिजीको हिन्दी भाषाप्रतिको अनुरक्तिलाई दृष्टिगत गरी प्राइभेट-पब्लिक पार्टनरसीप प्रोग्राम अन्तर्गत एउटा हिन्दी भाषा प्रचार-प्रसार महाविद्यालयको स्थापना गरेर उनले त्यहाँ रोज प्रवचन दिने व्यवस्था पनि मिलाउन सकिन्छ।

केही ढिलो अवश्य भयो, तर धेरै ढिलो भइसकेको छैन।

उप-राष्ट्रपतिलाई व्यस्त राख्ने व्यवस्था तत्काल गर्न सरकारले ध्यान दिन्थ्यो कि?

1 comment :

  1. मैले देखेको हाम्रा उप‍-राष्ट्रपतिको हिन्दी साँच्चै राम्रो छ। भारतका हिन्दी भाषी भन्दा पनि उहाको स्व-स्फुर्त हिन्दी अब्बल छ । तर उनले 'सबैले बुझुन' भनेर नेपालमै हिन्दि बोले पनि म हाल दक्षीण भारतमा भएको र करिव विगत ४-५ बर्ष देखि लगातार भारत आवत-जावत गरीरहेकोले मेरो अनुमानमा भारत मै पनि ६०% मानिसले हिन्दि बुझ्दैनन् ।

    हाल उनको काम पनि छैन त्यसैले उनलाई भारतमा 'भिजिटिङ प्रोफेसर' बनाएर हिन्दी सिकाउन पठाउने की?

    ReplyDelete