पर्खि बसेँ

नेपाली चलचित्रले दर्शक पाउँदैनन्, यो नै सत्य हो । सँधै एकैप्रकार का कथा, उही प्रस्तुती, उही होहल्ला अनि प्रसंगविहिन व्दन्द का दृश्यहरु, अनि दर्शकलाई झुक्याउने खेल । नेपाली चलचित्रका संवादहरु निकै वनावटि हुन्छन् जुन हामी साधारण बोलिचाली मा प्रयोग गर्दैनौं, अनि ती दृश्यहरुनै भद्दा लाग्न पुग्छन्, भाषा नै नाटकिय हुने भएपछि कलाकार ले त्यसमा डुबेर अभिनय गर्न सक्दैन, अनि निर्देशन पनि नाम मात्र को हुन्छ ।काम न काज का चलचित्र बनाउनेलाई अहिले सुपरहिट निर्देशक भन्ने पगरी गुथाइएको छ । नेपाली चलचित्रमा केही हेर्न लायक हुँदैन, मात्र नायिका को छोटो छोटो लुगा बाहेक । यस्तै यस्तै कुरा गर्दैजाने हो भने नेपाली चलचित्र हेर्ने दर्शकले पनि चलचित्र हेर्न छाड्लान भन्ने पिर ।

कथा र प्रस्तुती निकै फितलो हुने भएकोले म नेपाली चलचित्र विरलै हेर्नेगर्छु । चलचित्र हेर्दैछु भनेपनि म पहिले चलचित्रको निर्देशक, कलाकार भन्दा पनि चलचित्रको नामतिर ध्यान दिन्छु । विशेषत: नेपाली चलचित्रको नाम र टिभी मा देखाइने प्रोमो कै आधारमा चलचित्र को भविष्यवाणी गर्न सकिन्छ अनि प्राय: अनुमानहरु मिल्नेपनि गरेकाछन् । खैर प्रसंगमा आउँ, म यहाँ नेपाली चलचित्र “पर्खि बसें” को कुरा गर्दैछु ।

“पर्खि बसें” भन्ने नाम अलिक भिन्न लाग्यो मलाई, लाग्यो कुनै वियोगान्त चलचित्र हो जसमा कसैले जिवनभर पर्खिरहन्छ या लामो पर्खाइपछि बिछोडिएकाहरुको मिलन हुन्छ । त्यसमाथी नयाँ अनुहार अनि पत्र-पत्रिका मा पनि लामै चर्चा गरिएको सांगितिक चलचित्र भन्दै, फेरी १०० दिन मनाउँदै गरेको भनेर झ्याली पिटिएकोले पनि चलचित्र हेर्ने ईच्छा लाग्यो र हेरियो पनि । चलचित्र सरसर्ति हेर्दा, कथा राम्रै लाग्यो, आम नेपाली चलचित्र भन्दा । सायद यो चलचित्र को कथा व्यावसायिक भनिएका काम न काज का नेपाली चलचित्रका कथा लेख्ने लेखक ले लेखेको होइन भन्ने मेरो बुझाइ छ । (नाम चाँहि बिर्सिएँ लेखकको- अनि यहाँ म कथा लेख्न गइरहेको पनि छैन, मात्र म चलचित्र हेरिसकेपछि आफ्नो मन मा उब्जिएका केही कुराहरु लेख्दैछु ।)

साँच्चै भन्ने हो भने कथा राम्रो छ अनि नयाँ अनुहार राजबल्लभ कोइराला र युना उप्रेती को अभिनय स्तरिय छ केही दृश्य बाहेक मा । मलाई यस चलचित्रमा निर्देशन पक्ष नै कमजोर लाग्यो अनि काम न काज का व्दन्दका दृश्यले पनि दिक्क बनायो । हो, यसमा सुपरहिट निर्देशक भनेर कहलिएका दिपक श्रेष्ठ ले केहि गर्न सकेका छैनन् । साँच्चै भन्दा कथा को भाव अनुसार चलचित्र बनेको छैन । कथाले जुन मर्म बुझेको थियो, अनि कथालाई जसरी मैले बुझेँ, त्यसअनुसार चलचित्र बनेको छैन । साथै, विनाकाम का व्दन्द का दृश्यले पनि चलचित्र को गुणस्तर खस्काएको छ ।

जस्तो कि नायक राजलाई, राती काठमाडौँ मा एक्कासी गुण्डाहरुले पिट्छन् । के यो साधारण जिवन मा यस्तै हुन्छ ? के कसैलाई कुनै कारण विना नै पिट्छन् ? गुण्डा ले हमला गर्दा पनि केहि कारण त अवश्य नै हुन्छ, जस्तो कि पैसा लुट्न या अन्य कुनै दुश्मनि, तर यस्तो केही छैन । राज हिँडिरहेको बेला एक्कासी गुण्डाहरु निस्किएर उसलाई कुट्छन्, अनि उसलाई बचाउन अर्का नायक निखिल उप्रेती आइपुग्छन् मोटरसाइकल मा उभिएर । (म छक्क पर्छु, स्टन्ट राख्ने पनि कुनै ठाउँ हुन्छ नि, हैन र ?) सुरु मै यस्तो दृश्य देखेपछि बेक्कार मा चलचित्र हेर्न आइएछ भन्ने लाग्यो । स्टन्ट भन्दैमा कुठाउँ मा स्टन्ट राखिएको ले चलचित्र को सुरुवाती दृश्य मा नै “पहिलो गाँस मै ढुंगा” भनेझैँ बनाउँछ । त्यस्तै अन्य व्दन्द का दृश्यहरु पनि निकै नसुहाउने छ, लाग्यो कथाको भावलाई निर्देशकले बुझेका रहेनछन् । यहाँ निर्देशक लाई के लाग्छ भने, कसैलाई खराब चरित्र को देखाउनु छ भने यस्ता मारपिटका दृश्य राखिदिने, बस कुरा खत्तम । जस्तो कि यहाँ नायकलाई नायिका को आँखाम खराब देखाउन अन्य कुनै उपाय गर्न सकिन्थ्यो तर के गर्ने व्दन्द का दृश्य राखिदियो भने केही गर्नै पर्दैन भन्ने लाग्छ हाम्रा निर्देशकहरुलाई, अनि हालिदिए प्रसंग विहिन व्दन्द का दृश्यहरु, जसले चलचित्र को सारा राम्रा कुरालाई नै छेकिदिन्छ ।

कथा राम्रो हुँदा हुँदै पनि चलचित्र उत्कृष्ट भने बन्न सकेन । चलचित्रमा नसुहाउने र दर्शकलाई उल्लु बनाउने धेरै दृश्यहरु छन् । जस्तो कि, नायक काठमाडौँ आउँदा, नायक चक्रपथ घुम्ने मिनिबस बाट झरेको देखें, अनि निर्णायक विहिन सांगितिक कार्यक्रम पनि देखें, त्यस्तै चलचित्र को अन्तिम दृश्यमा भएको सांगितिक कार्यक्रम को होर्डिङ बोर्ड मा BICC लेखिएको थियो तर पुर्याए सभागृह । त्यस्तै नायिका युना ले कलेज स्तरिय प्रतियोगिता जितेपछि उनको फोटो पत्रिका मा छापिन्छ, छाप्न त छापियो तर अचम्मै सित ले, कान्तिपुर मा अर्थ-वाणिज्य पेज मा अनि समाचारपत्र मा पहिलो पृष्ठमा । त्यस्तै एउटा दृश्यमा नायक ले पाकेटमार लाई लखेट्दै कम्पाउण्ड भएको क्याम्पस भित्र छिर्नु, अनि नायिका सँग ठोक्किनु, अनि नायिका को टाउको मा चोट लाग्न पुगेर अन्धि बन्नु पनि किनै नाटकिय लाग्छ ।

भन्छन् कलाक्षेत्र मा अत्याधिक कल्पनाशिलता हुनु पर्छ तर खै, चलचित्र मा त्यस्तो केही छैन, अनि केही कलात्मक पनि लाग्दैनन् । त्यस्तै यस चलचित्र को अन्तिम दृश्यलाई बेजोड र सम्झन लायक बनाउन सकिन्थ्यो तर अहँ, यो दृश्यबाट पनि केही आश गर्न सकिएन । अन्तिम दृश्य निकै मार्मिक हुनुपर्थ्यो कथा अनुसार, तर सब आशा निराशा मा परिणत भए । त्यस्तै अर्का नायक निखिल उप्रेती को चलचित्रमा केही काम छैन । मारकाट का दृश्यमा जहाँ भएपनि आइपुग्छन्, गोद्छन् अनि जान्छन्, काम खत्तम, उनको पहिरन देखि लिएर अभिनय सम्म केही राम्रो छैन, मलाई चाँही पटक्कै मन परेन । त्यस्तै ३ जना हाँस्यकलाकार हुँदैमा दृश्य हाँस्न लायक बन्दैन भन्ने कुरा चलचित्र निर्माण पक्ष ले बुझ्न सकेको देखिएन । धेरै कराउँदैमा र अनुहार बिगार्दैमा हाँस्न सकिँदैन, त्यो दृश्यलाई राम्रो मान्न सकिएला, जुन दृश्य मा हामी संवाद का कारण नै हाँस्न बाध्य हुन्छौँ तर चलचित्रमा गतिला संवाद छैनन्, नायक-नायिका को संवाद त ओजपुर्ण छैन भने, संम्बाद लेख्ने ले के लेख्थ्यो र हाँस्यकलाकार का लागि ।

परिवन्द ले नायक जेल पर्नुले चाँही हाम्रो वास्तविकता झल्किएको छ, अनि त्यो कुरा धेरै नेपालीहरुले भोगेका छन् । तर जेल मा के कस्तो व्यवहार भएको थियो देखाएको भए चलचित्र ले धेरै नेपालीको पिडाहरु बोल्ने थियो होला । सबैले युद्धकाल को झझल्को पाउने थिए । अर्को चित्त नबुझेको कुरो, ५ वर्ष को अन्तराल मा पनि कसैमा केहि परिवर्तन छैन, अनि नायक जेल परेपछि कसैले खोज-खबर गरे नगरेको त्यो पनि प्रष्ट छैन । चलचित्र मा नायक को प्रेम र संगितलाई सँगसगैँ बढाइएको छ । मैले पहिले पनि भने कि, कथा राम्रो छ तर त्यसअनुसारको प्रस्तुतिकरण भएन ।

गित संगित केही हदसम्म ठिक छन् तर पनि सम्झनेलायक गित भने छैनन् । चलचित्र हेरुन्जेल भने गितहरुलाई पचाउन सकिन्छ तर त्यसपछि गितको काम छैन । चलचित्र मा नायक नायिका नै गायक बनेका छन् । त्यस्तै अर्को कुरा, चलचित्र को अन्तिम दृश्यमा राखिएको “हे हे हा हा” भन्ने आलाप ले कुमार सानुले विभिन्न हिन्दि गित तथा चलचित्र मा गाएको आलाप को सम्झना गराउँछ ।

हरेक नेपाली चलचित्र मा यस्तै प्रत्येक दृश्यमा उडन्ते कुराहरु हुने भएपछि, नेपाली चलचित्र किन हेर्नु ? अनि नेपाली दर्शकले नेपाली चलचित्र हेरेनन् भनेर किन चित्त दुखाउनु ?? “जस्तोलाई त्यस्तै ढिंडोलाई निस्तै” भन्ने त उखानै छ । करिब २ घन्टा को चलचित्र, जसको कथा राम्रो भएर पनि, चलचित्र को प्रस्तुती को कारण चलचित्र ले मलाई कुनै असर गर्न सकेन । मात्र मलाई लाग्यो, मेरो जिवन को केही समय मैले व्यर्थै मा बिताएछु । काम बिग्रने सानोतिनो भुल ले नै हो, जुन नगण्य लाग्छ तर वास्तविकता मा त्यसैको कारणले नै धेरै ठूलो दुर्घटना हुने गर्दछ । खै, नेपाली चलचित्र निर्माणकर्मीहरु ले कुरो बुझ्ने कहिले ???

Releated Post:Guff-Gaff

3 comments :

  1. होस्टलमा पनि ल्याउनुपर्यो नि त यो फिल्मलाई । हामीले पनि त हेर्नुपर्यो नि !!

    ReplyDelete
  2. फिल्म बारेमा पढ्दा मलाई त खासै हेरु हेरु लागेन। विशेष काम या उद्देश्यले हेरिएमा अर्कै कुरो। तर आकारजीको विश्लेषणात्मक शैलीकै कमाल होला उजेलीजीलाई फिल्म हेर्ने रहर चलेछ। यो पनि राम्रो पक्ष हो।

    ReplyDelete
  3. मैले देखेको नेपालि चलचित्रको राम्ररि विकास हुन नसक्नुको मुख्य कारण यहि नै हो । अनावश्यक द्वन्द, अप्राकृतिक संबाद, 'बनाउने' भन्दा 'चोर्ने' मात्रै ध्यान हुनु आदि आदि... ।

    अनी आर्को रमाईलो कुरा; नेपाली चलचित्रका निर्माता र निर्देशक पहिला त नेपाली चलचित्रको राम्रो बजार छैन भन्छन, अनि बजार देखाई दिएमा त्यो बजारमा छिर्ने लागानि छैन भन्छन।

    एकजना मदारीले बाँदर नचाउँदा त तुरुन्तै भिड जम्मा हुने ठाँउमा स्तरिय चलचीत्रको दर्शक नहुने कुरै छैन, तर पहिला नक्कल छाडेर अक्कल लगाउनु पर्‍यो हैन र?

    ReplyDelete